विचार-वार्ता

नीलाम्बर आचार्यसँग मिडिया संवार्ता

त्यसबेला पनि काम नलाग्ने पत्रकारहरू थिए, अहिले पनि छन्

विश्वसनीयता गुम्दै गयो भने त्यो फर्काउन सकिँदैन

विमल आचार्य | अनिष भट्टराई |
पुस १९, २०७८ सोमबार १९:२० बजे

नीलाम्बर आचार्य आजभन्दा ६१ वर्ष पहिले बीपी सरकारका बेला पढ्न रुस पुगे । इन्जिनियरिङ पढ्न गएका उनी बिदामा नेपाल आए, पञ्चायती व्यवस्थाले गर्दा उनकै शब्दमा नेपाल ‘उराठ’ देखे । अनि राजनीतितिर चासो बढेपछि उनले पत्रकारिता पढ्न थाले । पत्रकारिता पढेर आएर उनी यहाँ पत्रकार बन्न चाहन्थे । ‘गोरखापत्र’मा विज्ञापन शाखामा नियुक्ति पाएपछि दुई महिनामै राजीनामा गरे तर पत्रपत्रिकामा भने लामै समय उनले लेख लेखे । आचार्य पूर्वमन्त्री हुन्, पूर्वराजदूत हुन्, पूर्वसभासद् हुन् तर पूर्व विशेषण जोड्न नपर्ने गरी पूर्वलेखक भने होइनन् । ‘प्रजातन्त्रमा संक्रमण : द्वन्द्व, अवरोध र अप्ठ्याराहरू’ तथा ‘समय चेतना’ पुस्तक लेखेका, रुसी साहित्य नेपालीमा अनुवाद गरेका अधिवक्ता आचार्यले भारतबाट राजदूत भएर फर्किंदा एक ट्रक किताब भर्खरै घर ल्याए । तिनै किताब मिलाइरहेका, तिनैमा घोरिइरहेको अवस्थामा बानेश्वरथित आफ्नो निवासमा इकागजका विमल आचार्य अनिष भट्टराईले उनीसित विविध विषयमा लामै संवाद गरेका छन् । ती सबै संवादको पहिलो शृंखलामा उनको अध्ययन र अनुभव पनि भएको विषय पत्रकारिताबारेका प्रश्नोत्तर पेस गरेका छौँ:

तपाईं रुसबाट पत्रकारिताको उच्च डिग्री लिनुभएको विद्यार्थी । आफ्नो अध्ययन र अनुभव पनि भएको विषयबारे केही भन्नुहुन्छ ?

नेपालमा पहिलो जननिर्वाचित सरकार भएका बेला १७ वर्षकै उमेरमा म पढ्न रुस गएँ । त्यो बेला नेपालमा दलीय व्यवस्था थियो । पहिलो निर्वाचित सरकार थियो । म त्यहीँ पढ्दा पढ्दै नेपालमा बहुदलीय व्यवस्था अन्त्य भयो । दलहरूमाथि प्रतिबन्ध भयो । प्रधानमन्त्री, मन्त्री गिरफ्तार भए । संसद् विघटन भयो । स्वतन्त्रता हनन भयो । त्यसपछि म छुट्टीमा नेपाल आएँ । नेपाल आउँदा देश मलाई उराठ लाग्यो । मैले सोचेँ- म इन्जिनियर भएको भए, एउटा पुल बनाउँथेँ । एउटा बाटो बनाउँथेँ । तर देश विकास त्यसले मात्रै हुने थिएन किनकि स्वतन्त्रता नै थिएन, व्यवस्था ठीक थिएन । अनि मैले पञ्चायतको बन्द व्यवस्था देखेपछि राजनीतिक विषयमै जानुपर्छ भन्ने सोचेँ । मेरो लाइन बदलियो । 


त्यतिबेला डाक्टर, इन्जिनियरको नै बढी इमान हुन्छ भन्ने थियो । र एक हिसाबले पैसा पनि थियो त्यतातिर । तर, मलाई त्यो लोभमा लाग्न मन लागेन । मैले पत्रकारिता विषय रोजेँ । मुलुकमा राजनीतिक स्वतन्त्रताको अभाव भएकाले इन्जिनियरिङबाट सीमित क्षेत्रमा लाग्नुभन्दा पत्रकारिताबाट विश्वव्यापी ज्ञान हुन्छ र प्रश्न गर्न पाइन्छ, सोचाइको दायरा फराकिलो हुन्छ भन्ने सोचेर म पत्रकारिता पढ्न लागेँ । 

पत्रकारिताको कोर्स पाँच वर्षको थियो । मैले एक वर्ष रसियन भाषा पढ्नुपथ्र्यो । भाषा सिकेँ । रमाइलो कुरा के भने, त्यति पहिले सिकेको भए पनि रसियन भाषा अहिलेसम्म बिर्सेको छैन मैले । पत्रकारिता मूल विषय भए पनि विश्व साहित्य, इतिहास, दर्शन, राजनीतिको व्यापक पढाइ हुन्थ्यो । यी सबै सँगसँगै चल्दै गए । 

विश्वविद्यालयको कक्षाकोठाभित्र पत्रकारिता पढिरहँदा बाहिर त फेरि उही बन्द व्यवस्था नै थियो हैन र ? 

हो, व्यवस्थालाई साथ दिने खालकै पत्रकारिता थियो । व्यवस्थालाई प्रश्न गर्ने पत्रकारिता त्यहाँ पनि थिएन । कम्युनिस्ट राष्ट्र भए पनि कक्षाभित्र भने अलिकति स्वतन्त्रता थियो । त्यहाँ वादविवाद चल्थ्यो । रसियन सहपाठीहरू पनि स्वतन्त्र नै थिए । कक्षामा आलोचनाले ठाउँ पनि पाउँथ्यो तर पत्रकारिता भने नियन्त्रित नै थियो । 

रसियामा पत्रकारिता पढ्दा पढ्दै मैले नेपालमा थाहा नपाएको साहित्य पढ्न पाएँ । रसियन, फ्रेन्च, जर्मन साहित्यबारे बुझियो । फ्रेन्च साहित्यले त मलाई द्रबिभूत नै बनायो । विश्व इतिहास, सभ्यताबारे जानकारी पाएँ । त्यस्ता साहित्य पढ्न लागेपछि मलाई त त्यहाँका पार्टीगत कमी–कमजोरी, नियन्त्रणबारे मतलब नै भएन । 

तपाईं पत्रकारिता पढेर नेपाल आइसकेपछि कस्तो परिस्थिति पाउनुभयो ?

२०२४ सालमा म नेपाल फर्कें । मैले पहिला सरकारी तहबाटै रुस  पढ्न गएकाले फर्केपछि सरकारी मिडियामै काम मागेँ । तर पाइएन । ‘गोरखापत्र’मा काम नपाएपछि म देश घुम्छु भनेर लागेँ । पूर्व–पश्चिम घुम्न लागेँ । धेरै त पूर्व नै घुमेँ । काठमाडौँदेखि पूर्व झापासँग घुमेँ । अनुभव सँगाले । त्यसबीचमै मैले आफ्नै प्रेस चलाउँछु भनेर प्रेस किनेँ । पत्रिका चलाउँछु भनेर स्वीकृति मागेँ । दुवैका लागि अनुमति पाइनँ । 

म देशदौडाहा गरेर आएपछि मलाई सिंहदरबारबाट बोलावट भयो । ‘मैले त त्यो जागिर खान्छु भनेकै थिएँ, मलाई दिनुभएन’ भनेँ । अरु उम्मेदवार रहेछन्, अन्तर्वार्ता पनि रहेछ । उनीहरूले रित त पुर्‍याउनु पर्‍यो नि भनेँ । पछि मलाई गोरखापत्रमा नियुक्त गरियो । दुई महिनासम्म विज्ञापन शाखामा बसेँ । चित्त नबुझेपछि राजीनामा दिएँ । मैले संवाददाताको पद मागेको थिएँ । राष्ट्रिय समाचार समितिमा स्वेच्छिक तरिकाले केही समय संवाददाताका रुपमा काम गरेँ । 

मैले ‘समाज’, ‘समीक्षा’, ‘कमनर’मा लेख लेख्न थालेँ । रसियामै हुँदा मस्को रेडियोमा पनि काम गरेको थिएँ । रेडियोे मस्कोमा नेपाली सेवा सुरु गरेका थियौँ हामीले । माधव शर्मा, कृष्णप्रकाश श्रेष्ठ, मीना आचार्य लगायत थियौँ । सोभियत व्यवस्था रहँदासम्म चलेको थियो त्यो । पछि बन्द भएछ । 

त्यतिबेला लेख लेख्दा पारिश्रमिक पाउनुहुन्थ्यो ? 

कसैले दिन्थे । कसैले दिँदैनथे । पारिश्रमिक भन्दा पनि आफ्नो विचार छापियो भनेर खुसी हुन्थेँ ।

पत्रिकामा स्तम्भ लेख्दाका केही तीता-मीठा अनुभव ?

मैले लेख्ने ‘समीक्षा’ पत्रिका झन्डै बन्द भएको छ । पटकपटक समस्या झेल्यो त्यसले । कारबाही नै भएको थियो । केशवराज पिडालीले ‘समीक्षा’मा लेखेको लेखका सन्दर्भमा व्यवस्थाले प्रश्न उठाएपछि त्यसको बचाउ गर्न वकिल भएर बहस पनि गरेँ ।

कम्युनिस्ट–कांग्रेस सबैको पत्रिकामा लेखेँ । मैले मस्कोमै हुँदा पनि लेखहरू गोरखापत्रमा पठाउँथे । साहित्यसम्बन्धी लेखेको लेख गोरखापत्रले छापेको थियो ।   

अहिलेको हाम्रो पत्रकारिताबारे के भन्नुहुन्छ ? 

अहिले पत्रकारिताको पहँुच बढेको छ । सीपयुक्त जनशक्ति बढेका छन् । प्रविधिको पनि ठूलो साथ छ । सञ्चारका माध्यम पहिलेभन्दा व्यापक पनि छन् । अहिले त पत्रकारिता पत्रमा मात्रै सीमित छैन, त्यसैले अब पत्रकारितालाई अर्कै नाम पनि दिन सकिन्छ । 

पत्रकारिताले मानिस होस् वा जुनसुकै विषयलाई बनाउने र बिगार्ने दुवै गर्न सक्छ । राम्रो मान्छेलाई बदनाम गराइदिन पनि सक्छ । त्यसैले पत्रकार बढी उत्तरदायी बन्नुपर्छ । पाठक-दर्शकहरूको संख्या पहिलेभन्दा ह्वात्तै बढेको छ । मिडियाको प्रभाव व्यापक भएको छ । 

कमजोर पक्ष के-के देख्नुहुन्छ ? 

पत्रकारितामा गैरजिम्मेवार लेखन पनि बढेको छ । आफ्नो जिम्मेवारी बोध नहुँदा पत्रकारिताले जति सकारात्मक योगदान दिन सक्नुपर्ने हो, त्यो कतै छुटेको छ । बाटो बिराएको जस्तो पनि भएको छ । विरोधाभाष बढेको छ किनभने एकातिर स्रोत, साधन, जनशक्ति, बौद्धिक क्षमता, प्रविधि, पहुँच, रोजाइ बढेको छ भने अर्कोतिर जिम्मेवारी लिने पक्षमा भने ह्रास आएको देखिन्छ । अहिले त व्यावसायिक मिडिया भन्छन् । म सोध्छु- व्यावसायिक भनेको के हो ? मैले त पत्रकारितामा यसको कुनै व्याख्या देख्दिनँ ।

म के देख्छु भने यहाँ त समाचारमा पत्रकार वा सम्पादक वा लगानीकर्ताले आफ्नो मन्तव्य वा दृष्टिकोण घुसाएको हुन्छ । त्यसले पाठकको सोचाइलाई निर्देषित गर्न सक्छ । चिज के भनेर पत्रकारले विनापूर्वाग्रह राखिदिएपछि निष्कर्ष त पाठक आफैँ निकाल्छन् नि ! यहाँ हरेक मिनेट–मिनेटमा घटना बदलिइरहेको हुन्छ । कुन घटना तपाईं रोज्नुहुन्छ, त्यसले पनि तपाईंको झुकाव कता छ भन्ने देखाउँछ । तपाईं सनसनीपूर्ण समाचार लेख्नुहुन्छ तर महत्वपूर्ण समाचार लेख्नुहुन्न भने तपाईं पत्रकार कम, मनोरञ्जक बढी बन्नुहुन्छ ।

फेरि मैले अहिलेको सबै पत्रकारितामा जिम्मेवारीबोध छैन भनेको होइन । तर समग्रतामा हेर्दा म विश्वसनीयतामा ह्रास भने देख्छु । सनसनीपूर्ण समाचारको खोजमा साँचोपन, वस्तुपरकताको क्षति नहोस् भन्नेमा पत्रकार चनाखो हुनुपर्छ ।

पत्रकारितामा धेरै समस्या छन् भन्नुभयो, सुधार गर्न के गर्नुपर्ला ? 

सुधारका प्रयास पनि भइरहेको देख्छु । प्रशिक्षणहरू भइरहेका छन् । समाजको फोहोरमैलाबाट जोगिनुपर्‍यो । योग्य पत्रकारहरू निस्किनुभएको छ । अहिले योग्य पत्रकाहरू पनि धेरै हुनुहुन्छ, ठूलाठूला किताब लेख्नुभएको छ । त्यतिबेला त सम्झनालायक पत्रकारहरू कम थिए, औँलामा गन्न सकिने थिए । समीक्षामा मदनमणि दीक्षित हुनुहुन्थ्यो । उहाँ त पहिले पनि साहित्यिक काममा हुनुहुन्थ्यो । समीक्षा बन्द भएपछि फेरि उहाँ साहित्यमा फर्कनु भयो । समीक्षामै पनि उहाँले एउटा पृष्ठ साहित्यका लागि छुट्टयाउनु भएको थियो । मदनमणिजीहरूलाई नयाँ पत्रकारले पढ्नु, बुझ्नुपर्छ । 

मदनमणि दीक्षितको प्रसंग आइहाल्यो । उहाँका सम्पादकीय र केही लेख-स्तम्भ संकलन गरेर हालै किताब निकालिएको छ । उहाँलाई ज्ञानको खानी, शैलीको स्पष्टता र प्रखर आलोचकका रुपमा लिइन्छ । तर हुँदाहुँदा अहिले त अवस्था कस्तोसम्म आएछ भने, उहाँको निधन हुँदा उहाँले शुद्ध भाषामा श्रद्धाञ्जलिसमेत पाउनु भएन । मदनमणि दीक्षितको ठाउँमा कमलमणिको फोटो, नाम पनि अशुद्ध थियो... 

त्यही त । सबै पत्रकारलाई एउटै घानमा हाल्न मिल्दैन । तर के भने त्यसबेला पनि काम नलाग्ने पत्रकारहरू थिए नि । अहिले पनि छन् । तर, पत्रकारिता अरु पेसाभन्दा धेरै छिटो र टाढासम्म प्रभाव छोड्ने पेसा भएको हुँदा यसमा जथाभावी गर्नुहुँदैन । पत्रकारले सबैभन्दा धेरै पढ्नुपर्छ, प्रतिपश्न गर्ने सीपका लागि ज्ञान त बढाउनुपर्छ नि । विश्वसनीयता गुम्दै गयो भने त्यो फर्काउन सकिँदैन । 
 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x