म एक बाहुन पुरुषको बकपत्र
म ब्राह्मण परिवारमा जन्मिएँ । यो न त मेरो ‘पूर्वजन्मको पुण्य, न कर्मको फल’ । न त मेरो रोजाइ । केवल एक संयोग मात्र । म जन्मेकै छिनमा, जन्मेकै दिनमा कत्तिको जन्म भयो होला । जन्मिँदा हामी उही होऔँला तर हुर्किंदा भने ‘अर्कै’ भयौँ ।
म ब्राह्मणले पाउने ‘सार्वजनिक स्वकार्यता’ कथित तल्लो जातको भन्दा निक्कै उच्च थियो । मैले कहिल्यै जातीय विभेद सहनु परेन । अपमानित हुनु परेन । कहिल्यै अमानवीय व्यवहार सहनु परेन । जुन मेरै दलित साथीहरूले हामीबाटै भोग्नुपर्यो ।
म पुरुष भएर जन्म लिएँ । बाहुन परिवारमा जन्मे जस्तै यो पनि संयोग । मैले स्कुल–कलेज पढ्दा ‘आमा म आज साथीकोमा छु है, आज यतै बस्छु’ भन्न सजिलै सकेँ । हेर्दा यो सामान्य देखिन्छ, तर यो अत्यन्तै सामान्य कुरो थिएन । यो सुविधा मेरा दिदी–बहिनी, केटी साथीलाई थिएन । अर्थात् महिला भएकैले झेल्नुपर्ने धेरै अवरोध मैले पार गर्नुपरेन ।
मैले चरम गरिबी भोग्नुपरेन । खेतबारी प्रशस्त नभए पनि हामी आफैँ खेती गथ्र्याैं । आटो–भात–रोटी गरेर जेनतेन खान पुग्थ्यो । कुखुरा पालेर, खसी बेचेर, दूध बेचेर खर्च जुटाइन्थ्यो । स्कुल जाँदा बजारमा तरकारी बेच्न लगेर खर्च जुटाइन्थ्यो । पशुपालन र तरकारी खेतीका यी आय ‘भूमि’सँग जोडिएका छन् । भूमिहीनै त हुनुपरेन । बस्ने घर थियो । तर आफ्नो नाउँमा एक टुक्रा जमिन नभएका र बस्ने बासको टुङ्गो नभएकाहरूको जस्तो चरम गरिबी र अनिश्चित भविष्य मैले भोग्नुपरेन । भूमिको स्वामित्व मैले दुःख गरेर, नङग्रा खियाएर कमाएको हैन । प्रकृतिप्रदत्त यो सम्पत्ति प्रारम्भमा टाठाबाठा मानिसले आफ्नो नाउँमा दर्ता गरे । कतिले शासकबाट बक्सिस पाए । जो कमजोर पारिएका थिए, सत्ता र शक्तिको पहुँचबाहिर पारिएका थिए, तिनीहरूले केही पाएनन् ।
मलाई भाषिक लाभ पनि मिल्यो । मैले मातृभाषैमा पढ्ने सुविधा पाएँ । तर एउटा मगर वा थारु वा अवधीभाषी बालक, जसले आफ्नो मातृभाषाको परिधिलाई जबर्जस्ती छोड्नुपर्यो । उनीहरूले हामीले अंग्रेजी सिके जसरी नेपाली भाषा सिक्नैपर्ने भयो । मातृभाषामा सिकाइ कति महत्वपूर्ण हुन्छ भन्ने कुरा युनेस्को जस्तो संस्थाले उसै भनेका त होइनन् होला । खस नेपाली मातृभाषा भएका र नभएकाले बराबर प्रतिस्पर्धा गर्दै आउनुपरेकै है ।
मैले अपाङ्गता भएकाले भोग्नुपर्ने कठिनाइ भोग्नु परेन ।
मैले यी सबै संरचनात्मक लाभ आफ्नो पराक्रम र पुरुषार्थले कमाएको हैन । अब हामी जस्ता निःशुल्क यस्ता लाभ लिएकाहरू नै संरचनाको पिँधमा रहेका वर्ग समुदाय (दलित, महिला, चरम गरिबी, भाषिक अल्पसंख्यक, अपाङ्गता भएका) को उत्थानका लागि सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने हो । हामी त्यो वर्गप्रति कृतज्ञ हुँदै समभाव राखेर व्यवहार गर्नुपर्ने हो । उनीहरूको आत्मसम्मान बढाउने गरी व्यवहार गर्नुपर्ने हो ।
महिना दिन पहिले हुम्लाका चन्द्र कामीले कथित उपल्लो जातकी केटीसँग भागी बिहे गरे । त्यसपछि केटी पक्षबाट आएर ती किशोरीलाई फिर्ता लगे । त्यसपछि ती चन्द्र कामी एक हप्ता हराएपछि सम्पर्कमा आए । अब यहाँ के कुरा उचालियो भने नाबालक केटीलाई जबर्जस्ती ती दलित केटाले भगाए भन्ने आरोप लगाइयो । जबकि कर्णाली प्रदेशमा ५२ प्रतिशत विवाह बालविवाह नै हुने गर्छन् भन्ने रिपोर्ट आइसकेको छ । मैले बाल विवाहको पक्ष लिएको होइन । अब यहाँ केटी पक्ष (जसले माथि उल्लेख गरिए जस्तै सबै संरचनात्मक लाभ पाएको छ) ले ती केटा पक्षलाई कतिसम्म मानसिक दबाब दियो होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अब यहाँ दलित समुदायले भोगेको अपमान, यातना, क्रुरताप्रति पूरै बेवास्ता गर्दै सबैजना बालविवाहतर्फ मोडिएर मूल विषयलाई निमिट्यान्न पार्न लाग्यौं । यो अत्यन्तै दुःखद् कुरो हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत धेरै कम्युनिस्ट घटकले दाबी गरेअनुसार सबैको जोड्दा ३५/४० लाख सक्रिय कार्यकर्ता छन् । ती सबै दलले आफूलाई प्रगतिशील र समाजवादी लक्ष्य बोकेको दाबी गर्छन् ।
यी पार्टीहरूका कार्यक्रमका नाउँ हुन्छन्, ‘कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम’ । भेटघाट सामान्य कुरो नै भयो । प्रशिक्षण चैँ के दिन्छन कुन्नि ? आफूलाई प्रगतिशील र समाजवादी भनिसकेपछि सामाजिक न्यायका यी आधारभूत मुद्दामा कार्यकर्तालाई प्रशिक्षिण गर्नुपर्ने होइन ?
प्रशिक्षणको सन्दर्भमा एउटा रोचक अनुभव भनिहालौँ । स्नातक तह पढ्दै गर्दा सायद हामी केही साथी अनेरास्ववियुमा जोडिएका थियौँ । स्ववियु चुनावको फन्को पारेर तत्कालीन अखिल उपाध्यक्ष रामकुमारी झाँक्री हामी पढ्ने सरस्वती बहुमुखी क्याम्पस ठमेलमा आउनुभो प्रशिक्षण दिन । तिनताक माओवादी निकटका विद्यार्थी नेता–कार्यकर्ता अति नै उग्र थिए । झाँक्रीको प्रशिक्षण सुरु भयो । हामी ‘प्रशिक्षार्थी’ ३०/३५ को संख्यामा थियाैँ । गरमागरम चुनावी माहोल छ । प्रशिक्षण पनि तात्तिँदै गयो : ‘इँटको जवाफ पत्थरले दिनुपर्छ । भौतिक रूपमा कसैले आक्रमण गर्छ भने त्यसको जवाफ पनि हामीले त्यसरी नै दिनुपर्छ । त्रिचन्द्र कलेजमा ऊ यी भाइ जत्रै (मतिर सङ्केत गर्दै) भाइ छन् । सधैँ खुकुरी बोकेरै कलेज आउँछन् । कसैले भौतिक आक्रमण गर्छ, बल प्रयोग गर्छ भने त्यसको बहानामा डराएर चुनाव हार्ने छुट छैन हामीलाई ।’
थप प्रशिक्षण दिनुभयो, ‘तिनले (माओवादी निकट विद्यार्थी) बल प्रयोग गर्छन् भने हाम्ले पनि गर्नुपर्छ । तिनले खुकुरी बोक्छन् भने हाम्ले पनि बोक्नुपर्छ । केही भए पार्टीले हेर्छ ।’
तिनताक समिक बडाल नाउँ गरेका त्रिचन्द्र कलेजका एक जना अखिल कार्यकर्ताको औंला छिनालिएको थियो । झाँक्री दिदीले अझै उत्तेजित ‘प्रशिक्षण’ दिँदै थिइरहिन् हामीलाई ।
त्यो क्याम्पस जस्तो प्राज्ञिक थलोमा केही नवीनतम विचारको छलफल, प्रगतिशील तर्क–वितर्क, विचार–मन्थन केही थिएन । थियो त केवल जसरी हुन्छ शक्ति, सत्ता आर्जन गरौँ । अहिले पनि अविछिन्न रूपमा भइरहने ती ‘प्रशिक्षण’को मूल चरित्र यही हो ।
यो देशमा दुई तिहाइभन्दा बढी मतदाता ‘कम्युनिस्ट’ छन् तर जातीय, लैंगिक, क्षेत्रीय, भाषिक विभेद र असमानता उस्तै छ । कि ती कम्युनिस्ट होइनन् कि जातीय, लैंगिक विभेद उनीहरूका नजरमा प्रगतिशील कदम हो ? आफूलाई कम्युनिस्ट वा बीपीको कांग्रेस दलको पनि भनिरहेको छ, अनि जात र लिंगका आधारमा हुने के हो खासमा, म तीकछक परेको छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया