मलाई किन भैरव अर्याल टाइप फिल भइरहेको छ ?
शान्त ठाउँमा एक पहेँलो घर छ । त्यो घरमा ८ जना आत्माहरू लामबद्द छन् । एउटा आत्माले सोध्छ, ‘के म मरिसकें ?’ यस्तै अन्य आत्माहरु पनि अन्तर्वार्ता दिन त्यही पहेंलो घरमा छन् । घरमा एउटा अफ्रिकन मुलको ज्याङगो मानिस छ, जो त्यहाँको ‘बोस’ हो । तर ऊ आफूलाई ‘बोस’ भनेको रुचाउन्न ।
यो सुरुवाती दृश्य हो अंग्रेजी फिल्म ‘नाइन डेज’को । ‘नाइन डेज’ अर्थात् नौ दिन । यही नौै दिन भित्र उनीहरूको भाग्य निर्धारण हुँदैछ । यही नौ दिन भित्रमा उनीहरू पृथ्वीमा फर्कन लायक हुन्छन् कि हुँदैनन् , फिल्म यही उत्सुकतासँगै अगाडि बढेको छ । बोसले ती ८ आत्मा मध्ये एकलाई पृथ्वीमा पठाउँछ । र यो ९ दिनमा त्यही कालो मानिसले एउटा आत्मा छान्छ, जोमार्फत् उसले संसार हेर्नेछ । त्यो रुपरङमा कालो वर्णको त्यो पुरुषको विवशता के हो भने कुनै समय ऊ आफैँ पनि सांसारिक मायाबाट आजित भएर आत्महत्या गरेर आत्मामा रुपान्तरित भएको थियो । अहिले उ पृथ्वीका अनेक नामधारी बोसको नक्कल गर्दै आकाशलोकमा आएका आत्माहरूलाई अन्तर्वार्ता लिँदै पृथ्वी पठाउने जिम्मेवारीमा छ । पास भएका ती आत्माको आँखाबाट उसलाई पृथ्वी अवलोेकन गर्नुछ ।
०००
यो फिल्म हेरिरहँदा मलाई बाल्यकालको एउटा किस्सा याद आयो । मैले सानोमा आफैंलाई सोध्थें, ‘म कहाँबाट आएँ ? म जन्मिनु अगाडि कहाँ थिएँ ?’ मलाई लागेको थियो हाम्रो विद्यालयमा जस्तै माथिपनि परीक्षा लिन्छन् होला । अनि जो पास हुन्छ त्यसलाई मात्र यो धर्तीमा पठाइन्छ ।
मैले सानोमा जे सोचेको थिएँ, त्यस्तै त्यस्तै केही दुरुस्तै सोचेर फिल्म बनाइएको रहेछ । फिल्म हेर्दा धेरै चोटि म तर्सिएँ पनि । रोएँ पनि । तर त्यो रोदनमा मजा थियो । मजा मानी मानी रोएँ, रुँदै–रुँदै मजा मानेँ ।
फिल्म सकिँदा म पूरै लठ्ठिएको थिएँ । मलाई थाहा छैन, किन । तर म फिल्ममा चुर्लुम्म डुकेको थिएँ । दिमाग शान्त, अशान्त भएको थियो । म शून्यमा पुगेको थिएँ । म सुत्न सकिनँ ।
फिल्म यहीँ सकिन्छ । बाँकी जे कुरा म गर्र्दैछु, त्यो फिल्म हेरेपछि सिर्जित भावना हुन् । फिल्म र तिनको बीचमा पटक्कै साइनो नभेट्न पनि सक्नुहुन्छ ।
हजर, मलाई के लाग्यो भने मलाई कसैले हेरिरहेको छ । मैले विभिन्न तस्बिरहरू भिज्युअलाइज गर्न थालेँ । म आफैंलाई प्रश्न गर्न थालेँ । म सोच्न थालेँ, त्यो फिल्ममा जस्तै के म पनि एउटा दौड जितेर आएको हुँ त ? के म साँच्चै नै तगडा हो ? जीव विज्ञानका आधारमा त म पनि एउटा दौड जितेरै आएकै हो । करोड वीर्यको दौड । मेरो आमाको पाठेघर पनि एउटा साक्षी हो त्यो दौडको । आमा भन्दा बढी विश्वसनीय के हुन सक्छ ?
जसरी हुर्किया,े त्यसरी नै सोचिन्छ । जे भनिन्छ , त्यही पत्याइन्छ । मलाई पृथ्वी गोलो छ भनेर पढाए, मैले पत्याएँ । तर मैले अन्तरक्षिमा गएर देखेको त छैन । मलाई विश्वास छ, यो संसार गोलो छ । त्यस्तै मेरो छेउछाउमा धेरै नकारात्मक सोचाइ भएका मानिस थिए, उनीहरुको सोचाइ नै न्यून थियो । सानो जीवन, सानो आकांक्षा । त्यसबाट मलाई पनि यस्तैयस्तै वस् यस्तै यस्तै गुण आयो सायद । तर म त्यहाँ जान चाहन्नँ ।
सोच्दै जाँदा धेरै कुरा सोचिन्छ । यो सब प्रश्नहरू मलाई फिल्म हेरेर आएका हुन् ? लौन ! म त साँच्चै बहुलाएँ कि के ? अब तपाईंलाई लाग्ला यो लेखक को हो ? कस्तो छ ? काले ? गोरे ? माथि हेर्न सक्नुहुन्छ, यो मेरो सबैभन्दा नराम्रो तस्बिर हो । तर मलाई अचम्म लाग्छ, मान्छेहरू कोहीलाई कस्ता नराम्रो गरी राम्रो, नराम्रो भनी व्याख्या गर्छन् ? ए बाबा ! एउटा प्राणी नौ नौ महिना उसको आमाको पेटमा बसेर डिजाइन भएको हुन्छ । यो प्रकृति विचित्रको छ हेर्नुहोस्, कसरी एउटा शिशु पाठेघरमा डिजाइन हुन्छ ? त्यो सानो कुरा त होइन, र यस्तो लामो समय र मिहिनेत गरेर निस्किने जीवनलाई राम्रो या नराम्रो भनेर भन्न मिल्छ त ?
यो लेख्न थालेको करिब दुई दिन भो । हिजो लगभग ४ सय शब्द लेखेँ, घर पुग्दा थकाइ लाग्यो सुतेँ । आज मलाई किनकिन रमाइलो लागिरहेछ । म दंग छु । मलाई किनकिन भैरव अर्याल टाइप फिल भइरहेको छ । यी भैरव अर्याल बाजेलाई मैले नेपालीको कोर्सबुकमा पढेको थिएँ ।
‘आलु’ ‘जयभोलि’ आदि आदि । उनको सुसाइड नोट पनि पढेको छु । एकै खाले कुरा समेटिएका नेपालीमा यी बाजेलाई पढ्दा ‘हटके’ टाइपको फिलिङ आएको थियो । त्यसैले नेपालीमा पढेका थुप्रै बाजेहरूका गन्थन नसम्झिए पनि अर्याल बाजे म सम्झिरहन्छु । घरि घरि आफैं भैरव अर्यालको पुर्नजिवन हुँ जस्तो पनि लाग्दिन्छ । यसरी बाजेको बारेमा सोचेर २ मिनेट दंग परेपछि मैले फेरि सोचें । म अलिक धेरै उत्साहित त भइँन ? कहाँ अर्याल बाबै ! कहाँ म ? मैले पनि कुनै दिन आत्महत्या गरेँ भने त्यस्तै स्टाइलमा चाहिँ गर्छु । थुथुथु...त्यस्तो नहोस् । प्रश्नहरुको अन्त्य नै हुँदैन, मेरो प्रश्न पनि केही यस्तै थिए । अब जे हुन्छ, हुन्छ, जे परेपनि अनुभव गरिहालिन्छ ।
साँच्चै नै यो चलचित्रले मन चाहिँ जितेकै थियो । रेटिङ् हेरेको ६.९ रहेछ । साँच्चि यसरी अन्तर्वार्ता लिएर चित्रगुप्तले यमलोक पुगेका मान्छेलाई पठाउने हो भने मत्र्यलोकमा कस्ता कस्ता मान्छे यो दौडमा सामेल हुँदा हुन् ? अनि झट्ट उत्तर पनि आइहाल्यो, नेपालमा त नेता नै पृथ्वी फर्कन तँछाडमछाड गर्दा हुन् । पृथ्वी लोकमा रहँदा कमिसन खाँदा खाँदा मुख र घाँटी एकै भइसकेको हुँदा हो । तर पनि उनीहरूमा खाने तृष्णा बाँकी रहँदै माथि जानु परेको हुँदो । पाए यिनीहरूनै फर्केर आउँदा हुन् । धत ! नेतालाई सम्झियो कि यस्तै नेगेटिभ नेगेटिभ कुरा मात्र आउने । पोजेटिभ कुरा किन नआको होला है ?
भयो, म लास्ट नेगेटिभ हुन थालेँ । म अब योभन्दा बढी सोच्दिन । तर यत्ति भन्छु, कसैलाई फरक फिल्म हेर्न मन छ भने चाहिँ यो फिल्म हेर्न सक्नुहुन्छ । ‘नाइन डेज’ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया