सम्पादकीय
नियतमा खोटैखोट, निगमलाई चोटैचोट
नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी एक महिनाभन्दा बढी समयदेखि कतारको दोहामा ‘स्टल’ भएर थन्किएको छ । दिनको करोडौं रुपैयाँ आम्दानी गर्ने जहाज महिना दिनदेखि थन्किँदा पनि न पर्यटन मन्त्रालय, न निगम व्यवस्थापन न त निगमका सञ्चालक समितिका सदस्यहरूलाई चित्त दुख्छ । ‘गए जाओस् सरकारकै त हो नि’ भनेजस्तै पदमा बसेका व्यक्तिहरू बेपरवाह देखिन्छन् । निगमको ठाउँमा हिमालयन एयरलाइन्सको जहाज त्यसरी महिनौंसम्म बिग्रेर थन्किएको अझैसम्म सुनिएको छैन । तर राजनीतिक दलका नेताले नियुक्त गरेका निगमका पात्रहरूलाई कुनै चित्त दुखाइ हुँदैन ।
जहाजको देब्रे इन्जिनमा नराम्रोसँग क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । तर के कारणले इन्जिन नै ‘ड्यामेज’ भयो भन्ने थाहा पाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एउटा कमिटी गठन गरे, तर उल्टो । विमान उडाउने पाइलटलाई बिग्रेको इन्जिनको छानबन गर्न कमिटीको संयोजक बनाएका अधिकारीले त्यो कमिटीबाट प्रतिवेदन पाउन सकेका छैनन् ।
उक्त कमिटीले दुईपटक पनि बैठक नै राख्न सकेको रहेनछ । तर नेकपमा समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको आशिर्वादले कार्यकारी अध्यक्ष भएका अधिकारीले उचित कमिटी गठन गर्न समेत सकेनन् । उनमा कार्य अक्षमता देखियो । यस्ता व्यक्तिलाई कार्यकारी बनाइएको छ, यिनले निगमलाई अरु कति क्षति तुल्याउने हुन् आउँदा दिनमा देखिने नै छ ।
सक्दो छिटो छानबिन गरेर इन्जिन मर्मत गर्नुपर्नेमा सिंगो पर्यटन मन्त्रालय वास्तै नगरी बसेको छ । अघिल्ला पर्यटन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका सञ्चालक समितिका अधिकांश पात्रहरू विवादास्पद छन् । उनीहरूलाई निगम छिर्न त्यहाँका कर्मचारी युनियनहरूले रोक लगाएका छन् । यसले गर्दा महिनौंदेखि सञ्चालक समितिको बैठक बस्न सकेको छैन ।
यति समूह, बतास समूहका मान्छेहरूलाई सञ्चालक समिति सदस्य बनाइएको छ । उनीहरूको ‘स्वार्थको द्वन्द्व’ का कारण निगमले उचित निर्णय गर्न सकेको छैन । कहिले निगमलाई नै अरु निजी कम्पनीमा विलय गर्ने प्रस्ताव रातारात पारित हुन्छ । कहिले निगमले सञ्चालन गरिरहेको एयरपोर्ट ह्याण्डलिङ यति समूहलाई दिने निर्णय आउँछ । यी र यस्त निर्णय आखिर किन भइरहन्छन् ? थन्केका जहाज थन्केको थन्कै किन हुन्छ ? सहज छ— निजीलाई पोस्न ।
यस्ता पात्र चार, चार जना निजी क्षेत्रको ‘प्रतिनिधित्व’ गर्ने गरी निगमको सञ्चालक समितिमा छन् । नारायणहिटी संग्रहालय जसरी बतास समूहलाई तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले दिए, त्यसैगरी यति समूह र बतास समूहका मान्छेलाई सञ्चालक समिति सदस्य र प्रबन्ध निर्देशक पनि उनैले भर्ती गरे । त्यसैको परिणाम हो— निगमका जहाज महिनौंसम्म बिग्रेर थन्किएको ।
ओली सरकारपछिका देउवा सरकारका पर्यटन मन्त्री प्रेम आलेले पनि हिजो भट्टराईले जे गरेका थिए त्यही गरे । अर्थात् उनले पनि व्यावसायिक र स्वच्छ छवि भएको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेनन् । आफ्ना नेता खनालको आज्ञा शिरोपर गरेर अहिलेका अधिकारीलाई ल्याए । उनको कार्य क्षमता एक महिनामै देखियो । उनले गठन गरेको कमिटीले काम गर्दैन भन्ने उनलाई थाहा थियो र नै जहाज उडाउनेलाई इन्जिनियरिङको छानबिन गर्ने जिम्मा लगाए । अध्यक्ष अधिकारीलाई पनि निगमको जहाज उडाउनु छैन । निगमको जहाज थन्किँदा, उड्न नपाउँदा निगमका प्रतिस्पर्धी निजी कम्पनीलाई ठूलो राहत भइरहेको छ । हिजो नियमित उडान नभएका बखत निगमले निजीको तुलनामा चाटर्ड उडान पाएन ।
अब निगमले देब्रे इन्जिन भाडामा लिने भएको छ । जहाज भाडामा लिने, इन्जिन भाडामा लिने प्रकरणमा ठूलो कमीसनको खेल हुँदै आएको छ । लाउडा, चेज, धमिजा काण्डले इतिहास रचे । अब पालो भएको छ— इन्जिन भाडाको । प्रतिघण्टा न्यूनतम २ हजार अमेरिकी डलर पर्ने भाडा लम्ब्याउन पनि निगमले छानबिन अघि नबढाएको देखिन्छ । यसरी नियत साफ छैन । जताततै खोटै खोट छ । त्यही भएर निगमलाई जहिले पनि चोटै चोट पर्दै आएको छ ।
तत्काल निगमलाई खाडलबाट झिक्न असल नियत भएका, बुद्धि भएका, व्यावसायिक र प्रतिष्ठित व्यक्तिहरूलाई सञ्चालक समितिमा ल्याउनुपर्नेमा ‘राजनीतिक स्टन्ट’ गर्दै आएका पर्यटन मन्त्री प्रेम आलेले आफ्ना नेता खनालले सिफारिस गरेका पात्रलाई कार्यकारी अध्यक्ष बनाए । यसको अर्थ हो निगम आगामी दिनमा सुध्रिनेवाला छैन । कम्तीमा हाललाई थन्केको विमानको छानबिन गरी छिटो उडाउनेतर्फ लाग्न पर्यटन मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया