विचार-वार्ता

हाम्रा ‘हास्य’ टेलिफिल्म : रुँरुँ लाग्‍ने कला, कान थुनूँथुनूँ लाग्‍ने भाषा

निशान निष्कर्ष |
माघ १८, २०७८ मंगलबार ८:२८ बजे

‘ब्याक बेन्चर’ नामक एउटा टेलिशृङ्खला यो लेख तयार पार्दासम्म १६ औँ भागमा पुगेको छ । जहाँ कलेजका विद्यार्थीहरू अन्तिम बेन्चमा बसेर हल्ला गरेको र शिक्षकलाई कुटपिटसमेत गरेको विषयलाई प्रस्तुत गरिएको छ । उक्त सामग्री द पि के भाएन्स नामक युट्युब च्यानलबाट प्रसारण हुन्छ । यस शृङ्खलालाई नवनवीन खतिवडा, प्रज्वल र नवीन थापाले निर्देशन गरेका छन् भने नेपाली सिने बजारमा म्याकुरी नामले परिचित पवन खतिवडाको अवधारणा र लेखनमा यसको निर्माण भएको छ । यसमा कलाकारहरू पनि विशेषतः यिनै पात्रहरू नै छन् । यहाँ प्रयोग भएको भाषा न नेपाली समुदायलाई पाच्य छ, न त नेपालको कलेजहरूमा यस प्रकारको भाषा र दृश्यको प्रयोग हुन्छ । (त्यहाँ प्रयुक्त भाषा आफैँले लेख्‍न नसक्ने भएर यहाँ उल्लेख गरेको छैन ।)

उल्लिखित सन्दर्भ एउटा नमुना मात्र हो । यी र यस्ता धेरै सामग्री नेपाली हास्य टेलिशृङ्खलाको बजारमा फेसनकै रूपमा चलेको छ । कति सिरियलहरू नेपालको नाम चलेका टेलिभिजनबाट नै प्रसारण हुँदै छन् भने कति चाहिँ युट्युब च्यानलबाट मात्र प्रसारण भएका छन् । एकपटक कलाकार विष्णु सापकोटाको निर्देशनमा निर्मित ‘पुतलीको भट्टी’ नामक यस्तै हास्य टेलिशृङ्खला निर्माण र प्रसारण भएको थियो । नारीप्रति गरिने व्यवहार र नारीमाथि प्रयुक्त भाषा यति तल्लो स्तरमा थियो नि त्यहाँ हेर्न र सुन्‍न सकिने दृश्य कुनै पनि थिएनन् ।


नेपाली बजारमा टेलिशृङ्खलाहरूमा सम्भवतः सबैभन्दा बढी हेरिने सिरियल होला कुमार कट्टेल र अर्जुन घिमिरे निर्देशित सिरियल ‘सक्किगो नि’ । उक्त सिरियलमा गरिब पात्र पाँडेको भूमिकामा रहेका घिमिरेले नै प्रयोग गरेको भाषा के नेपाली समाजलाई पाच्य रहन सक्ला र ? गरिब हुनु भनेको भाषामा केही पनि नजान्‍नु र उसले प्रयोग गर्ने भाषा निम्न स्तरको नै हुनुपर्छ भन्‍ने हो र ?

यही मानसिकताबाट माथि उठ्न नसकेको अर्को टेलिशृङ्खला हो बल्छी धुर्बे नामले परिचित मरिचमान श्रेष्ठ र राजु मास्टर नामले परिचित राजु पौडेल निर्देशित ‘हल्का रमाइलो’ । बल्छीधुर्बे गरिब पात्रको रूपमा छ । उसलाई गाली गर्दा प्रयोग गरिने शब्दहरू समाजमा पाच्य पक्कै पनि छैनन् । माथि उल्लिखित टेलिशृङ्खलाका नाम र घटनाहरू केही नमुनामात्र हो । यहाँ त यस्ता धेरै टेलिशृङ्खलाहरू छन्, जसमा भाषाको मर्यादा के हो र साहित्य (टेलिशृङ्खला) मा भाषाको प्रयोग कसरी गर्नुपर्दछ भन्‍ने हेक्का नै छैन । ‘भद्रगोल’, ‘गाह्रो छ हो’, ‘मेरी बास्सै’, ‘हर्के हल्दार’ आदि सबै सबै टेलिशृङ्खलाहरूमा असभ्य भाषाको भरमार प्रयोग छ ।  

नेपाली हास्य टेलिशृङ्खलामा सबैभन्दा धेरै लामो समय त मह जोडीले नै बिताए । दृश्य सामग्रीको माध्यमबाट हेर्ने हो भने उक्त जोडीलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रका मातापिता नै मान्‍न सकिन्छ । उनीहरूले बनाएका हरेक दृश्यमा भाषाको मर्यादा र महिमालाई निकै सम्मानजनक रुपमा प्रयोग गरेको पाइन्छ । उनीहरूबाट केही न केही त पछिल्लो पुस्ताले सिक्नैपर्ने हो तर यहाँ त न अग्रजको सम्मान छ न भाषाको ? त्यतिमात्र कहाँ हो र ? शृङ्खलाहरू निर्माण गर्दैगर्दा थेगोको नाममा प्रयुक्त वाक्यांशहरू कति असहज र भद्दा सुनिन्छ भन्‍ने कुरा त हामीले विचार नै गरेका छैनौँ । प्वाक्क मुखाँ हानुम् जस्तो । यो थेगोले ‘जिरे खुर्सानी’ नामक टेलिशृङ्खलालाई चर्चित त बनायो होला तर यसले समाजमा कस्तो प्रकारको प्रभाव पार्‍यो भन्‍ने कुरा उक्त टेलिशृङ्खला निर्माण पक्षले कहिल्यै सोचेनन् । आज टेलिशृङ्खला बन्द हुँदा पनि बालबालिकाहरू उक्त थेगोलाई प्रयोग गरिरहेका छन् । 

कुनै टेलिशृङ्खला तयार पार्दा पात्र हाम्रै समाजबाट लिनुपर्छ । समस्या हाम्रै समाजको हुनुपर्छ । यस कुरामा कसैको दुई मत रहन्‍न । तर कुनै हेपिएको समुदायको पात्रलाई उठाएर उसैलाई हेयको कोणबाट प्रस्तुत गरी उसैमाथि प्रयोग गरिएको भाषा समाज परिवर्तनका वाहक नभई ती र त्यस्ता पात्रहरूको मानवीय संवेदनामा चोट पुर्‍याउने काममात्र हो । कुनै पनि पात्र फरक चरित्रमा प्रस्तुत हुनुपर्छ । चरित्र विशेष हुनु भनेको थेगो हाल्नु होइन, चिच्याउनु होइन, गालीको भाषा प्रयोग गर्न उद्यत हुनु होइन । 

अहिले उमेरले त्यस्तै दश एघार वर्षमा पाइला चाल्दै गरेकी बाल कलाकार छिन् शुयसा खनाल । उनी विशेष गरेर लकडाउनको समयमा धेरै नै चर्चित भइन् । उनले भनेका कुराहरू एक अर्थमा उपयुक्त होला तर त्यहाँ प्रयोग भएको भाषा र उनलाई दिइएको चरित्र बालबालिकाको कोणबाट हेर्ने हो भने कति उपयुक्त छ त ? उनले भूमिका निर्वाह गरेको एउटा दृश्यमा अनलाइन पढ्न समस्या भएको, सबैको घरमा नेटको पहुँच नपुगेको सन्दर्भलाई देखाई बोर्डिङ स्कुलहरूले नपढाएर पनि मासिक शुल्क माग्दा उनको परिवारले उक्त शुल्क दिन नसक्ने सन्दर्भलाई देखाइएको छ ।

विषयवस्तु समयसापेक्ष छ तर उनले प्रयोग गरेको भाषामा यति असभ्यपन देखाइएको छ कि त्यो न हेर्न सकिन्छ न सुन्‍न नै । घरपरिवारमा आफूभन्दा ठूलासँग बोल्ने भाषा, स्कुलको शिक्षकसँग बोल्ने भाषा कस्तो हुनुपर्छ भन्‍ने कुराको सिमाना नै बिर्सिएर उनको भूमिका निर्माण गरिएको पाइन्छ । यसमा कलाकार शुयसाको भन्दा पनि उक्त सामग्री निर्माण गर्ने टिमको कमजोरी भेटिन्छ । साना बालबालिकाहरूलाई त जे सिकायो त्यही गर्ने नै त हो नि । तर भूमिकामा रहेको कुरा सबै बालबालिकाले प्रयोग गरे भने कहाँ रहन्छ हाम्रो संस्कार र संस्कृतिका कुराहरू ? अनि कहाँ रहन्छ भाषाको माध्यमबाट गरिने सम्मानजनक सभ्यताको पहिचान । 

कान्तिपुर टेलिभिजनबाट ‘कमेडी च्याम्पियन’ नामक रियालिटी सोको दोस्रो सिजन पनि सकिएको छ । उक्त सिजनमा सम्भवतः सबैभन्दा बढी चर्चित व्यक्ति भनेको भरतमणि पौडेल र विक्की अग्रवाल हुन् । विक्की अग्रवालको एउटा प्रस्तुतिलाई लिएर नेपाली बजारमा हङ्गामा नै मच्चियो । यसमा पनि विशेष गरेर निर्णायकको भूमिकामा रहेका नेपालका बहुचर्चित हास्य कलाकार सन्तोष पन्तको मूल्याङ्कनलाई लिएर । भनियो, गाली गलौजको मात्र मूल्याङ्कन गर्न जानेका नेपाली कलाकारले पेन्टो माइम प्रस्तुति किन मन पराउँथे ? वास्तवमा देखिएको पनि त्यस्तै थियो । कसैलाई हेप्नु र नेताहरूलाई मात्र गाली गर्दा खुसी हुने हाम्रो समाजमा नयाँ कुरा किन पच्‍न सक्थ्यो र ? हामी टेलिशृङ्खलाहरूमा तुच्छ भाषाको प्रयोग सुन्‍न बानी परिसकेको नेपाली बनेका छौँ । यसले कति असर गर्छ भन्‍ने कुरामा हेक्का नै राखेका छैनौँ । 

नेपाल कोरोनाको महामारीबाट अलिअलि तङ्ग्रिएको छ । मेला महोत्सवहरू सुरु हुन थालेका छन् । मेला महोत्सवहरूमा कलाकारको राम्रो उपस्थिति रहन्छ । त्यस्तो स्थानमा कलाकारहरूले हँसाउने नाममा भद्दा मजाक गर्ने शैली परम्परा नै बनेको छ । समाजलाई जागरूप बनाउन व्यङ्ग्य गर्नुपर्छ, त्यसका लागि भाषाको प्रयोग गर्न जान्‍नुपर्छ । समाजमा पाच्य नहुने शब्द बोल्दैमा त्यो हास्य हुन्छ भन्‍ने मानसिकताबाट जबसम्म कलाकारहरू बाहिर आउँदैनन तबसम्म हास्यव्यङ्ग्य क्षेत्रमा सुधार आउने छाँटकाँट देखिँदैन । 

कुनै पनि देशमा सिनेमा र टेलिशृङ्खलाहरूलाई सभ्य बनाउने सेन्सर बोर्ड हुन्छ । त्यसमा केकस्ता सामग्रीको प्रयोग गर्ने, कस्तो भाषाको प्रयोग गर्ने र कसरी त्यसलाई सभ्य बनाउने भन्‍ने जिम्मा उनीहरूको पनि हो । पछिल्लो समय प्रविधिको विकाससँगै धेरै मानिसहरूले आफ्नै सामाजिक सञ्जाल बनाएका छन् र त्यहाँ कति सामग्रीहरू आफै प्रसारण गरिरहेका छन् तथापि त्यस्ता साम्रगीहरू कत्तिको उपयोगी छ र त्यसलाई सेन्सरले सुझाव दिन पर्ने भए के सुझाव दिने भन्‍ने पक्षमा चाहिँ काम नभएको देखिन्छ ।

पछिल्लो समय यस्ता सामग्रीहरू जहाँबाट जसरी प्रसारण भए पनि प्रसारित सामग्रीहरूले नेपाली भाषाको आँच र औचित्यलाई नै धराशयी बनाएको छ । यहाँ प्रसारणका जिम्मा लिएर बसेका र निर्माण भएका सामग्रीहरूको छानबिन गर्न संगठित निकायहरूले राम्रा सामग्रीहरूलाई प्रोत्साहन र असभ्य, अतिरञ्जित र अश्लील भाषाको प्रयोग भएका सामग्रीहरूमा रोक लगाउने व्यवस्था हुन जरुरी छ । 

भाषा कुनै पनि राष्ट्रको पहिचान हो । कुनै पनि भाषामा रहेर निर्माण भएका सामग्रीहरूले त्यस भाषालाई कति बलियो बनाउने भन्‍ने कुरामा प्रभाव पार्दछ । कुनै भाषाको लेख्य सामग्री होस् वा दृश्यका रूपमा निर्माण भएका सामग्री, त्यसले भाषाको उन्‍नयनमै प्रभाव पार्ने हो । त्यसैले पछिल्लो समय टेलिशृङ्खलाहरूमा प्रयुक्त भाषा सुधार हुन नितान्त जरुरी छ नत्र हाम्रो सबै भाषा ध्वस्त हुनेमा दुई मत नै छैन ।

र, यो पनि


Author

थप समाचार
x