आठौँ मानवशास्त्र दिवस
हामी ‘आर्मचेयर’ कि ‘प्यारासुट’ मानवशास्त्री ?
आज विश्वले आठौं मानवशास्त्र दिवस मनाउँदै छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो बिहीबारका दिन मनाइने यो दिवस यसवर्ष फेबु्रअरी १७ तारिखका दिन परेको छ । यस वर्षको थिम ‘सेलिब्रेट, इंगेज, इन्सपायर’ अर्थात् ‘मनाउनुहोस, संहभागी हुनुहोस, प्रेरित गर्नुुहोस’ भन्ने रहेको छ । मानवशास्त्रको उपलब्धिका बारेमा कुरा गरेर तथा मानवशास्त्र झल्किने खाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । कोभिड महामारीका कारण कतिपय स्थानमा भर्चुअलरुपमै यो दिवस मनाइंँदै छ ।
अमेरिकी मानवशास्त्र संघले सन् २०१५ मा राष्ट्रिय मानवशास्त्र दिवस सुरु गरेकोे थियो तर लगत्तै पछिका वर्षहरूमा यो दिवसलाई विश्व मानवशास्त्र दिवसका रुपमा मनाउन थालियो । किनभने मानवशास्त्र अमेरिकाका लागि मात्र होइन सम्पूर्ण विश्वका लागि नै महत्वपूर्ण छ । मानवशास्त्र दिवसको मुख्य उद्देश्य मानवशास्त्रका उपलब्धिहरूलाई हाम्रो वरपरको संसारसँग साझा गर्नु हो । यो दिवस मानवशास्त्रीहरूले आफ्नो विधाबारे जनसमुदायलाई जानकारी गराउने अवसर पनि हो ।
नेपालमा पनि विगत केही वर्षदेखि यो दिवस मनाइँदै आएको छ । सन् १९८१ देखि त्रिभुवन विश्वविद्यालयले समाजशास्त्र/मानवशास्त्र विभाग खोलेर यो विषयको अध्ययन अध्यापनलाई अगाडि बढाएको थियो । आज नेपालमा समाजशास्त्र÷ मानवशास्त्रको अध्ययन अध्यापन हुन थालेको ४० वर्ष भइसकेको छ तापनि यो विधाका बारेमा आम समुदायमा खासै जानकारी छैन । यो लेखमा मानवशास्त्रको छोटो परिचय प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
के हो त मानवशास्त्र ?
मानवशास्त्र हाम्रैे विगत, वर्तमान र भविष्यको समाज र संस्कृतिको अध्ययन गर्ने विधा हो । मानवशास्त्रले मुख्यतः व्यक्ति, समूह र समाजको सामाजिक तथा साँस्कृतिक वातावरणको सम्बन्धमा मानव क्रियाकलापहरूको अध्ययन गर्दछ । विविधता मानव समाजको विशेषता हो । हामी सामाजिक, साँस्कृतिक, भाषिक, भौगोलिक, ऐतिहासिक तथा उत्पत्तिका हिंसावले भिन्न छौं । हाम्रा सांस्कृतिक प्रथा, परम्परा र मुल्य मान्यता भिन्न छन् । अमेरिकी मानवशास्त्री रुथ बेनेडिक्टका अनुसार, मानवशास्त्रको उद्देश्य ‘मानव विविधताका लागि संसारलाई सुरक्षित बनाउनु हो’ । यस सन्दर्भमा एउटा व्यक्ति तथा समुदायको आस्था, विश्वास, बानी व्यवहार तथा मूल्य मान्यतालाई उक्त व्यक्ति तथा समुदायको संस्कृतिका आधारमा बुझ्नु पर्दछ भन्ने सांस्कृतिक सापेक्षतावादको अवधारणाको महत्व छ । मेरै संस्कृति ठीक अर्थात् मेरै गोरुको बाह्रै टक्का साँस्कृतिक सापेक्षवादको विपरित हो । यसैबाट थाहा हुन्छ, मानवशास्त्रमा न्याय लुकेको छ र यो मानवीय छ ।
मानवशास्त्रका विशिष्टकृत विधाहरू
मानवशास्त्रका विशिष्टकृत शाखाको कुरा गर्दा खासगरी सामाजिक तथा साँस्कृतिक मानवशास्त्र, जैविक तथा भौतिक मानवशास्त्र, भाषाशास्त्र, र पुरातत्वशास्त्रको चर्चा गर्ने गरिन्छ । विभिन्न समय र स्थानमा मानव समाज र संस्कृतिको विविधता अध्ययन गर्ने शाखालाई सामाजिक तथा साँस्कृतिक मानवशास्त्र, मानिस तथा प्राणीहरूको उद्विकास, पारिस्थितिकी प्रणाली, जैवसांँस्कृतिक भिन्नता तथा विविधताका बारेमा अध्ययन गर्ने शाखालाई जैविक तथा भौतिक मानवशास्त्र भनिन्छ । कसरी भाषाले सामाजिक जीवनलाई प्रतिविम्बित गर्दछ तथा प्रभावित गर्दछ भन्ने अध्ययन गर्ने शाखालाई भाषा मानवशास्त्र, र ऐतिहासिक तथा प्राग ऐतिहासिक सामाग्रीहरू, वास्तुकला, भुदृष्य तथा जिवावशेषको माध्ययमबाट अतीतको अध्ययन गर्ने शाखालार्ई पुरातत्वशास्त्र भनिन्छ ।
यी शाखाका अलावा मानवशास्त्रका अन्य थप उपशाखाहरूको विकास हुँदै गएको देखिन्छ । विभिन्न सांस्कृतिक परिवेशहरूमा मानिसहरूको स्वास्थ्यलाई प्रभाव पार्ने कारकहरूको अध्ययन, विश्लेषण तथा व्याख्या गर्ने चिकित्सा मानवशास्त्र; ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक परिवेशहरूको फराकिलो दायरामा मानव समाजको शक्ति संरचना, नेतृत्व र प्रभावको अध्ययन गर्ने राजनीतिक मानवशास्त्र; मानवको आर्थिक व्यवहार तथा उत्पादन, उपभोग र वितरणलाई व्याख्या गर्ने आर्थिक मानवशास्त्र; उपभोक्ता, संगठनात्मक परिवर्तन तथा नवीनताका बारेमा अनुसन्धान गरेर व्यापारसम्बन्धी समस्याहरूको समाधान खोज्ने व्यापार मानवशास्त्र; विकासको बहुआयामिक प्रक्रिया बुझ्न मानवशास्त्रका अवधारणाहरू, दृष्टिकोण तथा सिद्धान्तहरूको प्रयोग गर्ने विकास मानवशास्त्र; मानिसहरू वातावरणसँग कसरी अन्र्तक्रिया गर्छन्, प्रतिक्रिया गर्छन् तथा वातावरणलाई कसरी बदल्छन् भनेर अध्ययन गर्ने वातावरणीय मानवशास्त्र; अपराधको अनुसन्धानमा प्रयोग हुने वैज्ञानिक परीक्षण तथा प्रविधिहरू, अस्थिपन्जर, सडेको तथा अज्ञात मानव अवशेषहरूमार्फत मृत्युको कारणको पुष्टि गर्ने विषयको अध्ययन अनुसन्धान गर्ने अपराधशास्त्र अर्थात् फरेन्सिक मानवशास्त्र; फोटो, फिल्म तथा भिडियोहरूको प्रयोग गरेर मानिसहरूको व्यवहारको वर्णन, विश्लेषण तथा व्याख्या गर्र्ने दृष्य मानवशास्त्र; मानवको शारीरिक तथा साँस्कृतिक पक्षहरू प्रतिविम्बित गर्ने सामाग्रीहरूको संग्रह, प्रदर्शनी तथा शैक्षिक कार्यक्रममार्फत अनुभव र वैज्ञानिक आविष्कारहरू बारे अवगत गराउने संग्रहालय मानवशास्त्र जस्ता विभिन्न उपक्षेत्रहरूको विकास भएको छ ।
फिल्डवर्कको परम्परा र गुणात्मक अनुसन्धान
फिल्डवर्क अर्थात् स्थलगत अध्ययनको परम्परा मानवशास्त्रको विशेषता हो । मानवशास्त्रको अध्ययन अनुसन्धानको परम्परा हेर्दा सम्बन्धित ठाउँमै गएर, बसेर, त्यहाँको भाषा संस्कृति बुझेर अध्ययन गर्ने जुन पहिलेपहिलेकोे मानवशास्त्रीय परम्परा थियाे, त्यो अद्वितीय नै थियो । सहभगितामूलक अवलोकन, लामो स्थलगत अध्ययनको परम्परा र समग्रतामा अध्ययन, साँस्कृतिक समूहको विस्तृत विवरण अथवा एथ्नोग्राफी मानवशास्त्रको बलियो पक्ष हो । फिल्डवर्क, सहभागितामूलक अवलोकन र एथनोग्राफीको परम्पराले नै मानवशास्त्रलाई अध्ययनका अन्य विधाभन्दा फरक पहिचान दिएको छ ।
फिल्डवर्कको उदाहरण दिनु पर्दा आज पनि पहिला पहिलाका मानवशास्त्रीहरूले लामो समयसम्म आदिवासी समुदायमा बसेर गर्ने गरेको अध्ययनको स्मरण गर्ने गरिन्छ । त्यतिबेला स्थलगत अध्ययन नगरी घरमै वा पुस्तकालयमा बसेर अध्ययन गर्नेहरूलाई ‘आर्मचेयर एन्थ्रोपोलोजिस्ट’ भनेर बदनाम गर्ने गरिन्थ्यो । आजभोलि ‘झट मगनी पट विवाह’ भने जस्तो गाडीमा सरर फिल्ड घुम्यो, त्यसैलाई अवलोकन गरेको भन्यो अनि १÷२ वटा समूह छलफल गर्यो, अनि केहीलाई बनिबनाऊ प्रश्न सोध्यो अनि आएको उत्तरलाई विश्लेषण गरेर रिपोर्ट लेख्ने चलन पनि देखिन थालेको छ । अनि कतिपय अवस्थामा संचारकर्मीहरूले सम्बन्धित ठाउँमा पुगेर रिपोर्टिङ गरेको जस्तो किसिमले पनि अध्ययन गर्ने गरेको पनि देखिएको छ । यस्तो अनुसन्धानलाई प्यारासुट एथ्नोग्राफीको नाम दिएर व्यंग्य गर्ने गरिन्छ । कतिपय अवस्थामा एउटा समूह बनाएर तथ्याङ्क संकलनका विभिन्न विधिहरू जस्तो समूहगत छलफल, नक्सांकन, अवलोकन, संक्षिप्त सर्वेक्षण गर्ने विधि जसलाई ¥यापिड एथ्नोग्राफी भनेर पनि भनिन्छ, यसकोे प्रचलन पनि बढ्दो छ । जे होस् एउटा सकारात्मक पक्ष अहिले के देखिन आएको छ भने फिल्डवर्कको मानवशास्त्रीय परम्परा तथा गुणात्मक अनुसन्धानको महत्व अन्य विधामा पनि बढ्न थालेको छ ।
हेपिएको वर्ग समुदायप्रतिको झुकाव
आदिवासी जनजाति समुदायहरूको रहनसहन, भाषा, धर्म संस्कृति बुझ्ने कामका लागि मानवशास्त्रीहरूलाई सााम्राज्यवादी शक्तिले आफ्नो औपनिवेशिक शासन व्यवस्था टिकाउनका लागि प्रयोग गरेको इतिहासलाई देखाएर मानवशास्त्रले साम्राज्यवादी तथा उपनिवेशकहरूको हितमा काम गरेको दृष्टान्तहरू नभएका होइनन् तर मानवशास्त्रीहरूको लगाव चाहिँ विषयवस्तुलाई स्थानीय जनसमुदायकैे आँखाले हेर्ने (जसलाई इमिक पर्सपेक्टिभ भन्ने गरिन्छ) र झुकाव चाहिँ हेपिएको वर्ग समुदायप्रति नै रही आएको छ । हो, मानवशास्त्रको दुरुपयोग नभएको होइन तर आजको मानवशास्त्रले स्थानीय जनसमुदायको हक अधिकारको पक्षमा काम गरेको देखिएको छ । आजका मानवशास्त्रीहरू पहिला पहिलाको जस्तो सांस्कृतिक रुपले अनौठो लाग्ने आदिवासीहरूको गाउँबस्तीमा गएर अनुसन्धान गर्ने मात्र होइन मानव समुदाय र संस्कृतिमा हाम्रो बुझाइलाई अझ परिस्कृत गराउने तथा मानव समुदायले जुधिरहेका जटिल समस्याहरूको समाधानमा उल्लेखनीय योगदान पु¥याइरहेका छन् । शैक्षिक प्रणालीमा सुधार ल्याउन, स्वास्थ्य सेवामा पहुँच तथा गुणस्तर बढाउन, प्राकृतिक श्रोतहरूको प्रभावकारी तथा दिगो व्यवस्थापन गर्न, प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षण गर्न, दैनिक आवश्यकताका वस्तु तथा सेवाहरूको स्वरुप तयार गर्न, प्राकृतिक विपत्ति तथा महामारीमा मानवीय सहायोग पुर्याउन मानवशास्त्रीहरूको योगदान रहेको छ ।
हाम्रै देशको केन्द्रीय समाजशास्त्र÷मानवशास्त्र विभागले पनि जनजातिहरूको अधिकारका सवालहरूका बारेमा अध्ययन अनुसन्धानलाई नयाँ उचाइ दिएको जग जाहेर छ । केही अगाडिसम्म एउटै विभागमा रहेको समाजशास्त्र\मानवशास्त्र विभागलाई जनजातिको सवाललाई उचालेको भन्ने आरोप नलागेको होइन तर पिछडिएका समुदाय र खासगरी आदिवासी जनजातिहरूको समावेशीकरणको सवाललाई उजागर गर्नमा समाजशास्त्र\मानवशास्त्र विभागको महत्वपूर्ण भूमिका रहेको छ । समावेशिकरणको मुद्धामा आज जे जति प्रगति भएको छ त्यसको आंशिक श्रेय पक्कै पनि विभागलाई जान्छ ।
अन्तर्विधात्मक अध्ययन अनुसन्धान
आज मानवशास्त्र दिवस मनाउँदै गर्दा नेपाली मानवशास्त्रको पिताको रुपमा चिनिने डोर बहादुर विष्टको झल्झल्ती याद आएको छ । उनले मानवशास्त्र विभागको स्थापना हुनुभन्दा धेरै पहिले नै विभिन्न जनजातिहरूका गाउँबस्तीमा गएर स्थलगत अध्ययन गरेका थिए । डोर बहादुर विष्टका ‘सबै जातको फुलवारी’ र ‘पिपुल अफ नेपाल’ लाई एउटा नेपाली मानवशास्त्रीको आधारभूत एथ्नोग्राफी मान्न सकिन्छ अनि ‘डेभलपमेन्ट एन्ड फ्याटलिजम’ समाजशास्त्र तथा मानवशास्त्रका विद्यार्थीहरूलाई मात्र नभएर अन्य विधाका विद्यार्थी तथा अध्येताहरूलाई महत्वपूर्ण अध्ययन सामाग्री बनेको छ ।
प्राज्ञिक सफलताको कुरा गर्दा मानवशास्त्रमा के कस्ता अध्ययन अनुसन्धान भए अनि त्यसले समाजमा के परिवर्तन ल्यायो भनेर हेर्नुपर्ने हुन्छ । नेपालमा समाजशास्त्री तथा मानवशास्त्रीहरूको उत्पादन नभएको होइन तर यो उत्पादन कत्तिको गुणस्तरको छ भन्ने सवाल पनि छ । यो दिवस मनाउँदै गर्दा नेपालमा हामीले मानवशास्त्रमा के त्यस्तो उपलब्धि हासिल गर्न सकेका छौँ भन्ने जानकारी गराउनु गौरवको कुरो हुने थियो । पहिलाको तुलनामा नेपालमा मानवशास्त्रको अध्ययन अध्यापन गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आज विद्यालय तहदेखि समाजशास्त्र\मानवशास्त्रको बारेमा पढाइ हुन थालेको छ । थप क्याम्पसहरूमा यो विषयको विस्तार हुँदैछ । समाजशास्त्र\मानवशास्त्रको महत्व बुझेरै हुनु पर्दछ हाल आएर कानुन, शिक्षा, कृषि, वनविज्ञान, नर्सिङ, जनस्वास्थ्य तथा चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमहरूमा पनि समाजशास्त्र÷मानवशास्त्रको विषय समावेश गर्ने गरिएको छ ।
यति हंँदाहुँदै पनि मानवशास्त्रीहरूका अनुसन्धानमुलक कृति तथा प्रकाशनको हिंसावले यो विधा नेपालमा पछाडि परेको देखिन्छ । यसै विषयमा वर्षौंसम्म अध्ययन अध्यापनमा समर्पित भए पनि हाम्रा प्राज्ञहरूबाट मानवशास्त्रीय ज्ञानको उत्पादन तथा प्रसारणमा खासै उल्लेख्य प्रगति हुन सकेको देखिँंदैन । यस्तो देख्दा कता कता हाम्रा सरकारी मानवशास्त्रीहरूमा जागिरे मानसिकता बढि नै भयो कि भन्ने लाग्छ । आज मानवशास्त्रको दिवस मनाउँदै गर्दा नेपालमा मानवशास्त्रमा के त्यस्तो उल्लेखनीय उपलब्धि हासिल भयो भनेर जनसमुदायलाई हाम्रा मानवशास्त्रीहरूले जवाफ दिन सक्नु पर्दछ । होइन भने भोलि मानवशास्त्रको इतिहास लेख्ने बेलामा आजका हाम्रा सरकारी मानवशास्त्रीहरूले जागिरै खाएर जिन्दगी विताएका रहेछन् भनेर बुझ्नु पर्ने हुन्छ । यसो हुन नदिन डोर बहादुर विष्ट लगायत मानवशास्त्रका अग्रजहरूबाट प्रेरणा लिँंदै जिम्मेवारीबोधका साथ मानवशास्त्रलाई अझै अगाडि बढाउन आ–आफ्नो क्षेत्रबाट थप प्रयत्नको प्रण गर्नु आवश्यक छ ।
एउटै विभागमा समाजशास्त्र र मानवशास्त्रको पठनपाठन हुँदै आएकोमा सन् २०१५ देखि समाजशास्त्र र मानवशास्त्रका अलग अलग विभागको स्थापना भएको छ । हरेक विधाको आफ्नै महत्व छ । विषयगत दक्षताका लागि अलग अलग विभागको स्थापना तथा पठनपाठनलाई सकारात्मकरुपमै लिन सकिएला तर समाजशास्त्र र मानवशास्त्रको एकापसको विषयगत सामीप्यता अनि अहिलेकोे बहु तथा अन्र्तविधात्मक अध्ययन अनुसन्धानको महत्व एवं आवश्यकताको आलोकमा हेर्दा आफ्नो विषयगत कोक्रोबाट बाहिर निस्केर एकअर्काका विधाका राम्रा कुराहरूको अध्ययन अध्यापन गर्ने कुरालाई निरुत्साहन पो गरिंदै छ कि भन्ने आशंका पनि छ । त्यसैले मानवशास्त्रको विषयगत विशिष्टताका साथै समाजशास्त्रलगायत अन्य विधाका विचार, दृष्टिकोण, अवधारणा तथा सिद्धान्तहरूको संश्लेषणलाई पनि महत्व दिनु आवश्यक छ ।
(सुवेदी चिकित्सा मानवशास्त्री हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जवाहरलाल नेहरू विश्वविद्यालयबाट बिद्यावारिधि गरेका छन् )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया