विश्व क्यान्सर दिवस
खानपान र वातावरण यस्तै भइरहे क्यान्सर बढेको बढ्यै हुन्छ
परिवारका एक जनालाई क्यान्सर लाग्नु पूरै परिवारलाई क्यान्सर लाग्नु हो
आज विश्व क्यान्सर दिवस । फेब्रुअरी ४ का दिन विश्व भर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ । यो वर्ष ‘आई एम एन्ड आइ विल’ अर्थात् ‘म सक्छु र म गर्छु’ भन्ने नारासहित क्यान्सर दिवस मनाइदैछ । यसै सन्दर्भमा नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेसँग इकागजकी सृजना खड्काको संवाद :-
विश्व क्यान्सर दिवस किन मनाउने गरिन्छ ?
विश्व भरि क्यान्सरको विषयमा जनचेतना जगाउन क्यान्सर दिवस मनाइन्छ । त्यस्तै, क्यान्सरको बारेमा व्यक्तिलाई मात्र नभएर सरकारलाई समेत झकझकाउननिम्ति यो दिवस मनाउने गरिन्छ । धेरैले ३६५ दिनमा एक दिन यस्तो दिवस मनाएर के हुन्छ भनी प्रश्न पनि गर्छन् । क्यान्सर दिवस ३६४ दिन गरेको कामको मूल्याङ्कन गर्ने दिन हो ।
यो दिवस सरकारलाई झक्झकाउन पनि हो, भन्नुभयो । क्यान्सरको सन्दर्भमा नेपाल सरकार कत्तिको झक्झकिएको छ त ?
क्यान्सरको बारेमा अहिले धेरैलाई थाहा भइसकेको छ । ग्रामीण भेगमा मानिसहरूलाई पनि यसको बारेमा जानकारी छ । तर, यसबाट बच्न सकिन्छ । यसको उपचार पनि सम्भव छ भनेर धेरैलाई थाहा छैन । १० वर्षको तथ्यांकलाई पल्टाएर हेर्ने हो भने सरकारले क्यान्सरसम्बन्धी धेरै कार्यक्रम ल्याएको छ । उपचारमा सहुलियतका कुरा आएका छन् । पछिल्लो समयमा सरकारी तवरबाट खोलिएका अस्पतालको पनि स्तरोन्नति भएको पाइन्छ । तर, क्यान्सरजस्तो खर्चिलो र उपचारमा लामो समय लाग्ने रोगमा जति धेरै काम गरे पनि कम नै हुन्छ । त्यसैले, सरकारले उपचारमा भन्दा पनि अब क्यान्सर हुन नदिनको लागि के गर्न सकिन्छ भन्ने कुरामा जोड दिनुपर्छ ।
सामान्य भाषामा बुझ्न खोज्दा क्यान्सर के हो ?
शरीरको कुनै पनि अंगमा चहिनेभन्दा बढी मासु पलायो भने त्यसलाई हामी क्यान्सर भन्छौँ । तर, त्यो मासु एकठाउँबाट अर्को ठाउँमा फैलिने खालको हुनुपर्छ । नङ र कपालबाहेक क्यान्सर शरीरको जुनसुकै भागमा लाग्छ सक्छ । क्यान्सर जो कोहीलाई पनि हुन सक्छ ।
नेपालमा यसको अवस्था कस्तो छ ?
अस्पतालहरूको मात्रै तथ्यांक हेर्ने हो भने वर्षमा २० हजार क्यान्सरका बिरामी थपिएको देखिएको छ । वर्षैपिच्छे क्यासरका बिरामी बाढेका बढ्यै छन् । त्यसमा सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन् । त्यसपछि महिलाहरूमा हुने पाठेघरको क्यान्सरका बिरामी पनि धेरै छन् ।
धेरैजसो मानिस क्यान्सर फैलिसकेपछि मात्रै अस्पताल पुग्ने गरेको पाइन्छ, यसको कारण के हो ?
क्यान्सर हुँदा दुख्ने पोल्ने हुँदैन । हाम्रोमा दुख्ने, पोल्ने भएपछि मात्रै अस्पताल जाने चलन छ । अरु रोग लाग्दा लक्षण देखिन्छ । कसैलाई ज्वरो आउँछ, कसैलाई रोग लागेको ठाउँमा पीडा हुन्छ । तर, क्यान्सरको हकमा त्यसो हुँदैन । मासु पलाउँदै जान्छ । तर, आफूलाई थाहा हुँदैन । त्यस्तै, थाहा भए पनि धेरैजना डाक्टरकहाँ जान हिँचकिचाउँछन् । यो गल्ती कदापि गर्नुहुँदैन । कोठीमा परिवर्तन आउनु, लगातार खोकी लाग्नु, स्वर लगातार परिवर्तन हुनु, शरीरमा गाठागुठी बढ्नु, दिसापिसाबको बानीमा परिवर्तन आउनुु, चाँडै महिनावारी हुन थाल्नु जस्ता लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा जचाउन गइहाल्नुपर्छ । तर, क्यान्सरका रोगीमध्ये ७० प्रतिशत रोग फैलिसकेपछि मात्रै अस्पताला आउँछन् ।
क्यान्सर नलागोस् भन्नेलाई तपाईंको सल्लाह के हुन्छ ?
सन् २०१९ देखि २०२१ सम्मको विश्व क्यान्सर दिवसको नारा ‘आई एम एन्ड आइ विल’ भन्ने छ । यो नाराले मुख्यतया क्यान्सर रोकथाममा जोड दिन्छ । आफू र आफ्नो समाजको लागि के गर्न सकिन्छ भनेर सबैलाई झकझकाउँछ । सुरुको स्टेजमा उपचार गरायो भने सामान्य जाँचले काम गर्छ । जुन अंगमा क्यान्सर भएको हो, त्यसको मात्र जाँच गरे पुग्छ । त्यसका लागि अपरेसन, रेडियोथेरापी र किमोथेरापी जस्ता महँगा उपचार पद्धति अपनाउनु पर्दैन । त्यस्तैले बेलाबेलामा जाँच गराइरहनुपर्छ । जीवनशैली, खानपान र व्यायममा पनि हामीले उत्तिकै ध्यान दिनुपर्छ ।
हाम्रो जीवनशैली, वातावरण र खानपान क्यान्सरसँग कसरी जोडिएको छ ?
वातावरण, जीवनशैली र खानपान क्यान्सरसँग प्रत्यक्ष जोडिएको छ । क्यान्सरलाई धूमपान र मद्यपानले धेरै असर गरिरहेको हुन्छ । सुर्ती चुरोट सेवन गर्नेलाई फोक्सो मात्रै नभएर शरीरको जुनसुकै अंगको क्यान्सर हुन हुन्छ । त्यस्तै, मद्यपानले कलेजोको क्यान्सर गराउँछ । ढुसी आएका खानेकुराले पनि क्यान्सरलाई बल पु¥याइरहेको हुन्छ । ‘बार्बिक्यू’ भनेर आजभोलि पोलेको मासु खाने चलन एकदमै बढ्दै गइरहेको छ । त्यो पनि क्यान्सरको लागि राम्रो मानिदैन । चिल्लो, बोसो भएका खानेकुराभन्दा सागसब्जी, फलफुल र गेडागुडीमा बढी जोड दिनुपर्छ । त्यस्तै शारीरिक व्यायमले पनि क्यान्सर हुन सक्ने संभावना घटाउँछ । हामी जति फुर्तिलो हुन्छौँ, त्यति हाम्रो स्वास्थ्य पनि फुर्तिलो हुन्छ ।
पछिल्लो समय कोभिड-१९ ले गर्दा क्यान्सरलाई कत्तिको असर गरेको छ ?
कोभिडले गर्दा बिरामी अस्पतालसम्म जान सकेनन् । कोभिड लाग्ने डरले धेरै बिरामी अस्पताल जान डराए । उपचारमा जानेलाई पीसीआरको बोझ थपियो । पीसीआरको बोझले आर्थिक भार बढाइदियो । क्यान्सरको उपचार उसै पनि खर्चिलो छ । यसको उपचार पद्धति अपरेसन, रेडियोथेरापी र किमोथेरापीको माध्यमबाट हुन सक्छ । यी तीनै उपचार पद्धति सस्ता छैनन् । आज उपचार गरेर भोलिदेखि पूर्ण रूपले निको हुनुभयो भनेर भन्न सकिदैन । फेरि बल्झिन सक्छ । जति नै सफल उपचार भए पनि हामीले बिरामीलाई ‘ढुक्क भएर जानुस्’ भन्न सक्दैनौँ । बेलाबेलामा जचाउन आइरहनुपर्छ । एकचोटि रेडियोथेरापी गर्दा एक महिना छुट्याउनुपर्छ । पैसाको खर्चसँगै समयको खर्च पनि त्यति नै हुन्छ ।
विश्व क्यान्सर दिवस मनाइरहँदा क्यान्सरको हकमा विश्वबाट हामीले सिक्न सक्ने कुरा के-के हुन् ?
‘प्रिभेन्सन इज बेटर देन क्योर’ भन्ने वाक्यलाई विश्व ले जस्तै हामीले पनि आत्मसात् गर्नुपर्छ । विदेशबाट हामीले सिक्ने कुरा यही हो । क्यान्सरको रोगमा उपचारमा मात्रै जोड दिएर कहिल्यै उभो लागिदैन । यसमा उभो लाग्नको लागि रोकथाममा काम गर्नुपर्छ । क्यान्सर कतिपय अवस्थामा वंशाणुगत भएकाले यो पूर्ण रूपमा निर्मुल हुँदैन । विकसित देशहरूले धेरै खर्च गरेर त निर्मूल गर्न सकेका छैनन् । तर, क्यान्सर लागिहाले पनि निको हुने संभावना भने हुन्छ । एक जनालाई क्यान्सर लाग्नु पूरै परिवारलाई क्यान्सर लाग्नुसरह हो । यसले परिवारका हरेक सदस्यलाई शारीरिक मानसिक र आर्थिक रूपले असर गरिरहेको हुन्छ, पीडा दिइरहेको हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया