विचार-वार्ता

इकागज संवाद

‘निर्मला र भागरथीका दोषी दण्डित हुन्छन्, ढुक्क भए हुन्छ’

नवराज पनेरु |
माघ २६, २०७७ सोमबार १२:४० बजे

धनगढी : बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत फेला परेको पाँच दिन भइसकेको छ । भागरथी वेपत्ता भएको छ दिन र मृत फेला परेको पाँच दिन बितिसक्दा पनि अपराधी पत्ता लागेको छैन् । मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्‍ने अडान लिएका छन् । 

झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन् र अहिलेसम्म दोषी पक्राउ परेका छैनन् । भागरथीको घटनामा संलग्‍न पनि उम्केलान् भन्‍ने चिन्ता धेरैमा छ । तर सुदूरपश्चिम प्रहरीले भने दोषीलाई दण्डित गर्न अनुसन्धानको दायरा साँघुरो बनाइसकेको जनाएको छ । 


यसै विषयमा इकागजका सुदूरपश्चिम प्रतिनिधि नवराज पनेरुले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहसंग कुराकानी गरेका छन् । 

भागरथी भट्टको शव भेटिएको पाँच दिन भइसकेको छ । प्रहरीको अनुसन्धानले के भन्छ ? 
बिहीबार राति भागरथी मृत फेला परेकी हुन् । त्यो दिनेखि नै प्रहरी संवेदनशिल भएर घटनाको अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । 

उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुग्‍नुभएको छ । हामी अनुसन्धानको दायरा साँघुरो बनाइरहेका छौँ । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउँछौ ।  

पोष्टमार्टमको रिपोर्टले के देखाउँछ ? बलात्कारपछि हत्या भएको पुष्टि भएको हो ? 
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका थियौँ । आज रिपोर्ट प्राप्त हुने जानकारी आएको छ । डाक्टरबाट रिपोर्ट आएपछि मात्रै मृत्युको कारण भन्न सकिन्छ । हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।

‘क्राइम सिन’ हेर्दा के देखाउँछ ? 
प्रहरीले क्राइम सिनको अध्ययन र विश्लेषण पनि गरेको छ । तर क्राइम सिनको अध्ययनले मात्रै अनुसन्धान पूर्ण हुँदैन् । ‘कज अफ डेथ’ पोष्टमार्ट रिपोर्टले भन्ने हो । त्यसैले डाक्टरको रिपोर्ट हामी पनि पर्खिरहेका छौ । 

निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ । दोषीलाई कानुनी दायरामा ल्याउँछौ । भागरथीको केशमा पनि अनुसन्धानको दायरा साँघुरो बनाइरहेका छौँ । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउँछौ ।

 

घटनास्थलमा भागरथीले प्रयोग गर्दै आएको मोबाइल फेला परेको थियो । केही ‘क्लू’ भेटियो ? 
मोबाइलमा फेला परेका प्रमाणका आधारमा हामीले धेरै व्यक्तिसंग सोधपुछ गरेका छौ । अहिले नै कसैलाई पक्राउ नगरे पनि सोधपुछका लागि दर्जन बढी व्यक्तिलाई ल्याएका थियौँ । यसले पनि अनुसन्धानमा सजिलो भएको छ । संकास्पद व्यक्तिलाई अनुसन्धानको दायरमा ल्याएका छौ । 

भगरथीको पनि कतै निर्मलाको जस्तो हविगत त हुँदैन् भन्‍ने आशंका छ नि ? 
निर्मलापछि र निर्मलाअघि थुप्रै दुखद घटना घटे । ढिलो अवश्य भएको हो तर निर्मला पन्तका दोषीलाई पनि हामी कानुनी दायरामा ल्याउँछौ । निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ । 

त्यो समयमा प्रहरीले समाजबाट फ्लेवर नपाउँदा अनुसन्धानमा केही समस्या भएको हो । निर्मला घटनापछि पनि दुखद घटना घटे कतिपयमा प्रहरी सफल भयो त केही घटनामा प्रहरीको अनुसन्धान जारी छ । 

त्यसैले प्रत्येक घटनामा असफलतालाई मात्रै सम्झिनुभन्दा प्रहरी सफल भएका घटनालाई पनि हेर्न आवश्यक छ । त्यसैले भागरथीको घटनामा पनि प्रहरी सफल हुन्छ । ढुक्क भए हुन्छ ।


Author

थप समाचार
x