विचार-वार्ता

तीर्थ गुरुङसँग सप्रसंग-संवाद

मन परेको लेखक भेट्दा प्रेम भए त ठीकै हो, नत्र त बोरै हुन्छ

लक्ष्मण कार्की |
फागुन १५, २०७७ शनिवार ६:५० बजे

पहिलो उपन्यास ‘पाठशाला’को प्रकाशनपछि एकाएक नेपाली साहित्य वृत्तमा स्थापित तीर्थ गुरुङ थोरै बोल्ने सरल खालका मान्छे हुन् । पछिल्लो समय बुकहिल प्रकाशनले नै बजारमा ल्याएको उनको ‘आपा क्हार्प’ कथा सङ्ग्रह विमोचन समारोहमा उनी व्यस्त थिए । गुरुङ साहित्यिक मञ्चका साथीहरू र आफन्तमाझ माला र खादामा पुरिएका उनलाई आफ्‍ना स्कुले सहपाठीहरूले लेखनमा प्रोत्साहन स्वरूप तीन लाख रूपैयाँभन्दा धेरै रकम पनि दिएका थिए । महिना दिनपछि पोखरा न्युरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा उनीसँग मेरो अर्को चरणको लामो भेट भयो ।

उनी त्यहाँ नियमित जस्तो गइरहन्छन् । त्यहाँ उनले अरु बेला जस्तै कागती चिया लिए । सन्चो-बिसन्चोको कुरा पछि अलि एकान्तको कुनै नयाँ क्याफेमा जाने भनेर हामी निस्कियौं । औपचारिक रूपमा लखनचोक भनिए पनि पुरानै नामले प्रसिद्ध पृथ्वीचोकतिरबाट एक चक्कर लगाएर सुरुकै विन्दुमा आउँदा पनि उनको नजरमा कुनै क्याफे देखापरेन । जाडो भएर मात्र नभई कपाल पातलो भएकाले क्याप लगाउन थालेका उनलाई बाटोमा हिँड्दै गर्दा मैले सोधें, ‘कति वर्ष पुग्‍नुभयो ?’ उनले हाँस्दै जवाफ दिए, ‘पाठशालाका चरित्रहरू स्कुलका मेरै सहपाठीहरूका नाममा राखेजस्तै त्यसमा उल्लेख हुने अन्तर्राष्ट्रिय सेलेब्रिटीहरू मेरा दौंतरी उमेरका हुन् ।’ यहाँ पहिला मीठो मःमः पाइन्थ्यो भन्दै उनले मलाई एउटा रेस्टुराँमा लगे । मेनु पल्टाएर हामीले मःमः नै मगायौं ।


पोखराबाट करिब ४० किमि कच्ची बाटो पूर्वोत्तर पर्ने सिक्लेस गाउँमा एउटा कोदो बारीमा जन्मेका तीर्थ गुरुङ लाहुरेहरू भएको घरमा हुर्के । उनका बुबाका तीन भाइले भारतीय सेनामा राइफल बोकेर परिवार पाले पनि तिनका एघार जना छोराहरूले भने कुनै ठाउँमा बुट बजारेनन् । बाल्यकालमै पूर्वोत्तर भारतको नागाल्यान्डमा असम राइफलको तालिम केन्द्रमा सैनिक जीवन देखेका मात्र नभई वामपन्थी आन्दोलनको बाछिटाले भेट्टाएको हुनाले पनि बाउबाजेका कदमलाई उनले पछ्याएनन् । 

पाठ्यक्रमबाहेक अतिरिक्त पुस्तक घरमा नहुँदा उनी आफूभन्दा ठूला कक्षाका दाइहरूका किताब पढ्नसमेत इच्छुक रहन्थे । कक्षा-कोठामा कान समातेर उठबस गर्नबाट जोगिन वा शिक्षकको हातमा भइरहने सिस्‍नु वा लौरोसित डराएर उनी त्यतिबेला जेहनदार विद्यार्थी भएर निस्के । तर कलेज जीवनमा भने उनी उनकै शब्दमा कुहिराको कागजस्तै भए र स्नातक तहमै उनले औपचारिक अध्ययन त्यागिदिए । किनभने त्यसअघि नै उनी अध्ययन खर्च जोहो गर्न मात्र नभई पेट पाल्न पनि बोर्डिङ स्कुलहरूमा होमिइसकेका थिए । लेखक तीर्थ गुरुङसित गरिएको वार्ताको सम्पादित अंश :

सञ्चै हुनुहुन्छ दाइ ? यो औपचारिकताका लागि मात्र हैन, तपाईं अस्ति भर्खरै कोाभिड-१९ बाट गुज्रिनुभयो । मिर्गौला प्रत्यारोपण भएकाले रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ भनेर तपाईंले फेसबुकमै लेखेको देखेको थिएँ ?
सञ्चै छु । मांसपेसीमा हल्का पीडा अझै पनि छ, शरीरको तागत फर्केर आइसकेको छैन । हो, इम्युनोसप्रिसेन्ट्स सेवन गरिरहेको हुँदा कोभिड भइहाल्यो भने मेरा लागि त मैले अँध्यारो मात्र देखेको थिएँ तर यसले सत्र अठार दिन सुतायो, नराम्रोसित तर्सायो र जीवनप्रति पुनः अनुगृहीत हुन सिकायो । त्यतिमात्र नभई परिवार र साथीहरूको निःसर्त माया पनि पुनः देखाइदिएर गयो ।

तपाईं युवाकालमा लेख्नुहुन्थ्यो कि लेख्नुहुन्थेन ? कि अस्वीकृत हुनुभएको थियो ? आफ्‍नो सहपाठी भूपिन नेपाली साहित्यमा स्थापित भइसकेको धेरै समयपछि बल्ल तपाईं आउनुभयो नि ? कुन कुराले लेखनमा, त्यसमा पनि आख्यानमा आउन प्रेरित गर्‍यो ?
युवाकाल ? के म अहिले युवा हैन ? पहिले मैले लेखिनँ भन्दा पनि हुन्छ । दाल, भात र डुकुका लागि हिँडिरहनुपर्ने भएर पनि मैले यतातिर ध्यान दिन पाएको थिइनँ । तर मेरो हाइस्कुल पोखराको तत्कालीन भद्रकाली प्रस्तावित माविको स्मारिकामा ‘पिक्निकले फर्काएको मन’ नामको एउटा कथा छापिएको थियो । पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन संकायका साथीहरूले निकाल्ने पत्रिकामा पनि मेरो ‘विरोधाभासहरू’ नामको कविता छापिएको थियो । त्यसपछि ‘मधुपर्क’ र ‘गरिमा’मा नगन्य रूपमा कथा-कविता पठाएँ तर ठेगाना गल्ती भएर हो कि मेरो रचना नै झूर भएर हो, ती कहिल्यै छापिएनन् । पोखराका केही स्थानीय पत्रिकामा एकाध कविता छापिए, त्यसअघि भूपिनले दिएको सूचना र सुझावअनुसार पोखरेली युवा सांस्कृतिक परिवारको नियमित रचनावाचन कार्यक्रममा गएर मैले पहिलोपटक कविता भनेको थिएँ । कार्यक्रम सकिएपछि सरुभक्त दाइले कविताको प्रशंसा गर्दै परिष्कारका लागि पनि सुझाउनुभएको थियो । त्यो साक्षात्कार धेरै महत्वपूर्ण थियो ।

वास्तवमा सम्पादन गर्ने बेला पुनर्लेखन हुन्छ । अथवा पुनर्लेखन भन्‍नु नै सम्पादन होला ।

त्यसको भोलिपल्टको पत्रिकामा रोशन शेरचन दाइले लेख नै लेख्नुभएको थियो जसमा उहाँले म र सरिता तिवारीबारे टिप्पणी गर्नुभएको थियो । पत्रिकामा आफ्‍नो नाम पहिलो पटक छापिएको पाउँदा म अत्यन्त हर्षित र भावुक भएको थिएँ । त्यसपछि त संरक्षण कविता आन्दोलनमा हिँड्न थालियो । जे. अस्मिता, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठ ‘सरु’, धनप्रसाद तामाङहरूबाट मैले निकै कुरा सिक्न पाएँ । चितवनबाट निस्किने ‘चरैवती’ र हेटौँडाबाट प्रकाशित हुने ‘अक्षर’मा पनि एकेकवटा कथा छापिएका थिए । म लेखनमा सक्रिय हुन नसके तापनि भविष्यमा एउटा कविता सङ्ग्रहसम्म चाहिँ निकाल्छु जस्तो लागेको थियो तर त्यसका लागि म कम्मर कसेर लागेको चाहिँ थिइनँ । आख्यानमा आउन चाहिँ मलाई नारायण वाग्लेको ‘पल्पसा क्याफे’को जबर्जस्त प्रवेशले धेरै घच्घच्यायो । वास्तवमा त्यसपछि नै मैले पाठशाला लेख्न थालेको थिएँ तर अन्य कारणले म अगाडि बढ्न सकिनँ ।

ओहो, त्यतिबेलै लेखेको उपन्यास धेरै पछि मात्र आउनुको कारण के थियो ? अनि ‘पाठशाला’मा चाहिने जति विद्यार्थी भर्ना भए जस्तो लाग्छ तपाईंलाई ?
म बोर्डिङमा पढाइरहेको थिएँ । गणित र विज्ञानको मास्टर भए पनि मैले ट्युसन पढाएर अतिरिक्त कमाइ गर्न सकिनँ । व्यवहारले थिच्दै गएपछि म खाडी मुलुक कतार पुगेँ । तीन वर्ष काम गरेर फर्किंदा मिर्गौला बिग्रिसकेका थिए । प्रत्यारोपण गरेपछि आराम गरेर बस्ने बेला मैले ‘पाठशाला’ लेखेँ । जहाँसम्म पाठशालाको चर्चाको कुरा छ, त्यो ठीकै होला । नामचीन लेखक वा समालोचकको नजरमा अझै नपरे पनि पाठकको माया प्रशस्तै पाएको जस्तो लाग्छ । कति पुस्तक आउँछन् र पतै नपाइकन हराएर जान्छन् । त्यो रुख मास्ने काम जस्तो मात्र हुन जान्छ । त्यस मामिलामा ममाथि वातावरण विनाशको आरोप त नलाग्ला नि । तर मैले अपेक्षा गरेअनुसारको प्रतिक्रिया चाहिँ पाएको छैन र यसलाई मैले लेखनमा सुधारको आवश्यकता छ भनेर बुझेको छु ।

नेपालमा पुस्तक छाप्‍न लेखकले नै खर्च गर्नुपर्छ पनि भनिन्छ, तपाईंले के गर्नुभयो ? पहिलो कृतिबाट रोयल्टी स्वरूप केही रूपैयाँ पनि प्राप्त गर्नुभयो ? त्यसो भयो भने त्यसले के किन्‍नुभयो ? अनि कोही भन्छन् लेखेर बाँच्‍न सकिन्छ । कोही चाहिँ त्यसलाई नकार्छन् । तपाईंको हकमा चाहिँ कुन कुरा लागू हुन्छ ?
हो, पहिला-पहिला त्यही नै थियो लेखकले आफ्‍नो गोजीबाट खर्चेरै पुस्तक प्रकाशन हुन्थ्यो । अहिले पनि त्यस्ता कुरा नसुनिने हैनन् तर मैले त्यस्तो गरिनँ । आर्थिक समस्या नहुने तर पुस्तक छपाउन ठूलो रहर गर्नेले त्यसो गर्न सक्छन् । प्रकाशकले पैसा माग्छ भने त्यो लेखकको समस्या हो । मैले रोयल्टीको नाममा केही रकम पाएको छु । पहिलो पुस्तक भएकाले कुनै सम्झौता भएको थिएन । नियमित औषधि खानुपर्ने भएकाले मैले त्यस्तो उल्लेखनीय केही किनिनँ । जहाँसम्म लेखेर बाँचिने कुरा छ, त्यो अहिलेलाई गाह्रो नै देख्छु । हाम्रो जनसङ्ख्या सानो छ, करिब ६८ प्रतिशत जनता साक्षर भए पनि नगन्य सङ्ख्या मात्र पठन संस्कृतिको नजिक छन् । यस्तो अवस्थामा एक लाख मान्छेले मात्र पनि किनेर पुस्तक पढिदिने हो भने, लेखेरै मात्र बाँच्ने सम्भावना बन्ला । तर अधिकांशलाई कसरी पैसा मात्र थुपारौँ भन्‍ने छ भने कति अझै त्यही हातमुख कसरी जोड्ने भन्‍ने चिन्तामा छन् । तर पनि पाँच हजार पुस्तक बिक्री हुन लाग्ने समयले पनि हामी पश्चिमाहरूका तुलनामा कहाँनेर छौं भनेर सहजै आँकलन गर्न सकिन्छ ।

तर पनि फेरि अर्को किताब निकाल्नुभयो है ? तपाईंको त उपन्यास आउँदै छ भन्‍ने सुनेको थिएँ तर कथासङ्ग्रह पो आयो । कसरी यस्तो हुन गयो ?
लेख्‍न खोजेको उपन्यासको सेटिङ चाहिँ गुरुङहरूको पुख्र्यौली थलो क्व्होला सोंथर हो । बाह्रौं शताब्दीतिरसम्म गुरुङहरू यहाँ बसोबास गरिरहेको प्रमाण छ । त्यसपछि गुरुङहरू दक्षिणतिर रहेका अहिलेका गाउँहरूमा बसाइँसराइ गरेको मानिन्छ । यो निकै लेकमा हो जहाँ म सजिलै जान सक्दिनँ । स्थान अवलोकन नगरेकाले यसमा मैले काम गर्न सकिनँ । अनि कोरोना भयो त्यसले मनस्थितिलाई नराम्ररी खल्बल्याइदिएकै हो । लकडाउन जस्तो अस्थिर समयमा एउटै विषयवस्तुमा काम गर्न सायद जटिल काम हुन सक्थ्यो । त्यसैले गर्दा कथामा काम गरेँ, तीन-चारवटा पुराना कथा पनि भएकाले पुस्तक आकारमा आउन सजिलो भयो भनौं न । ‘आपा क्हार्प’भित्र १५ कथा छन् । शीर्षकथा त गुरुङ मिथ भइहाल्यो । वि.सं. २०९५, फ्‍ल्याट नोज बेबिज फेनोमेना जस्ता कथाहरू विज्ञान कथा जस्ता लाग्छन् ।

तपाईंले डब्बुलाई फेरि ल्याउनुभएको छ, किन ? त्यसमा त्यो तोते बोल्ने बालिकाको कथा पनि नौलो लाग्यो । सर्पहरूसितको सुताइ जस्तो लामो कथा पनि छ जसको भाषा तपाईंको जस्तो लाग्दैन । सङ्ग्रहबारे केही बताउनुहुन्छ कि ?
राम्रो प्रश्न । विभिन्‍न मुड र समयमा लेखेकाले विविधता हुनु स्वाभाविकै हो । सबै कथा एकैनासका हुन गए त उपन्यासै लेखे पनि हुने होला । पहिलो कथा खासमा अन्तिममा लेखिएको कथा हो । त्यो मैले बिमार परेको बेला पलङमा पल्टेर मोबाइलमा लेखेको थिएँ । पोखरामा भएको अघिल्लो साहित्य सम्मेलनको एउटा सेसनमा कम्प्युटरले बनाएको कला देखाइएको थियो । आर्टिफिसियल इन्टेलिजेन्सको त्यो चमत्कृत पार्ने खालको कला भए पनि मलाई मन परेन, एक किसिमले विरक्त जस्तो लागेको थियो त्यो विरक्तता मैले ‘कृत्रिम कविता’को कविमार्फत पोखेको छु ।

मलाई लाग्छ, जीवन के रहेछ भनेर सोच्‍नलाई मान्छेसित गाँस र बासको चिन्ता हुनु हुँदैन ।

डब्बुको पुनर्आगमनमा प्रश्न गर्नुभयो । कतिपय साथीभाइले पाठशालाको अर्को भागको माग गरेका थिए । अर्को उपन्यासबारे सोच्‍न नसकेर मैले ‘लेक लोलिता र लाइफबोट’ भन्‍ने कथामा डब्बुलाई ल्याएँ । यसमा डब्बु अलि ठूलो भइसकेको छ, साथीहरू सेटल्ड भए पनि उसको स्पष्ट ठेगान भइसकेको छैन ।  

मेरो मामाघरको कान्छाबाजे दोस्रो विश्वयुद्धका भेटरन थिए । रक्सी पिएको बेला उहाँले मलाई गाउँको गफसँगै युद्धको गफ पनि सुनाउनुभएको थियो । टर्कीको युद्धमा घाइते भएका मेरा बाजेको प्रेम उतैकी एकजना परिचारिकासित बस्यो, त्यसलाई मैले ‘बाजे जमदार’ नामको कथामा आख्यानीकृत गरेको छु ।

हामी सधैं राजा इडिपस, सिसिफस, गोलाइथ आदि चरित्रलाई उदाहरणमा ल्याउँछौं । हामीसँग, भन्‍नाले गुरुङसित पनि असङ्ख्य मौखिक मिथ छन् जसमध्येको एउटा हो क्हार्प जसलाई उनकै नौ भाइ छोराहरूले मार्ने षड्यन्त्र बुन्छन् । क्हार्पको कथा गुरुङका परम्परागत पुरोहित पच्युहरूले पढ्छन् । गाउँअनुसार यो कथा थोरै फरक पर्न सक्छ । यो मैले मेरो अत्यन्त नजिकको साथी सोल्टी पोल गुरुङबाट लिएको हुँ ।

केही अघि अस्ट्रेलियामा तीनवटा आँखा भएको सर्प भेट्टिएको खबर नेटमा पढेको थिएँ । त्यसैलाई बिउ बनाएर एउटा लामो कथा लेखें, ‘सर्पहरूसितको सुताइ’ । यो एउटा डिस्टोपियोन कथा हो जहाँ एकजना तानाशाहको शासन छ जहाँ सहरमा सर्पको बिगबिगी छ र केही लेखक र कलाकारहरूले अपहरणपश्चात् आफूहरूलाई एउटा टापुमा पाउँछन् । यो त्यही टापुमा घट्ने प्रेम, आसक्ति र स्वीकारोक्तिहरूको कथा हो ।

तपाईंको लेखनसम्बन्धी केही कुरा बताइदिनुस् न । जस्तै तालिका, प्रतिबद्धता, पुनर्लेखन, राइटर्स ब्लक आदि ?
मेरो त्यस्तो कुनै तालिका हुँदैन । लेखन स्वस्फूर्त हुनुपर्छ जस्तो लाग्छ । म त एक्लै हिँडिरहेका बेला मनमनै पनि लेख्छु । राति केही खतरै सपना देखेमा मोबाइलमा नोट गर्छु जुन पछि काम लाग्न सक्छ । आज यति शब्द लेख्छु भनेर प्रतिबद्ध भएमा लेखन कस्तो हुन्छ, मलाई थाहा छैन । पुनर्लेखन आवश्यक कुरा रहेछ । वास्तवमा सम्पादन गर्ने बेला पुनर्लेखन हुन्छ अथवा पुनर्लेखन भन्‍नु नै सम्पादन होला । राइटर्स ब्लक भएको बेला अरु कुरा पढ्नु उचित होला । लेख्ने बेला म गम्भीर खालको कुरा वा कुनै महान् लेखकको कृति पढ्दिनँ त्यसले मेरो लघुताभासको पुनरावृत्ति गराउँछ, जुन निकै खतरनाक हुन्छ ।

किताबसँग जोडिएका कुनै रमाइला-नरमाइला घटना छन् ?
किताबसँग जोडिएका घटना पनि रमाइला र नरमाइला त कसरी होस् र ? ती सबै कालान्तरमा प्रिय हुन जान्छन् । तपाईंले भन्‍न खोजेको नरमाइलो कुरा गर्नुहुन्छ भने राजाले संकटकाल लगाउने बेलातिर हो । वार्डेन नभएकाले स्कुलको होस्टलमा राति सुत्न जाने पालो परेको थियो । म बेलुकी आठ बजेतिर पाकिस्तानी लेखक सिद्दिक सालिकको ‘प्रेसर कुकर’ नामको उपन्यास बोकेर गइरहेको थिएँ । बाटोको अस्थायी सैनिक पोस्टमा एकजना सैनिक जवानले मलाई रोक्यो र  किताब ओल्टाइपल्टाइ हेर्‍यो । पुस्तकको शीर्षकको कारण मलाई एकछिन डराएर उभिरहनुपरेको थियो ।

रमाइलो चाहिँ कतारमा भएको थियो । मैले काम गर्ने डन्किन डुनटमा तीनजना इन्जिनियर कफी पिउन आइरहन्थे । एकजना क्यानडेली थियो, एकजना इजरेली र अर्को चाहिँ टर्केली । त्यो टर्केलीलाई मैले गफ दिएँ, म तिम्रो देशको ओह्रान पामुकलाई चिन्छु । अचानक ऊ महिना दिन हरायो । पछि आउँदा उसले मलाई पामुकका चार कृति स्तानबुल, स्नो, माइ नेम इज रेड र द न्युलाइफ ल्याइदियो । उसले के भन्यो भने पामुकलाई टर्कीमा त्यति रुचाइन्‍न तर नेपालजस्तो देशमा पनि पामकलाई चिन्‍ने मान्छे हुँदो रहेछ भनेर उसले मलाई उपहार ल्याइदिएको रे ।

हामी सायद थोरै आत्मकेन्द्रित छौं ।

तर सधैं त्यस्तो भएन । एक दक्षिण अफ्रिकी श्वेत दम्पतीलाई मैले जे. एम. कुट्सीबारे सोधेको थिएँ । मण्डेलालाई नसोधेर मैले मण्डेलाको अपमान गर्‍यो भन्दै श्रीमान् त्यसै बिच्कियो । एकछिन म अवाक् नै बनेँ । देश छोडेर अस्ट्रेलियाको नागरिक भएको पनि तीन वर्ष बढी भइसक्यो भनेर श्रीमती चाहिँले मलाई हाँस्दै बताइन् । अपडेट नभएकामा आफैँसित लाज लाग्यो र रिस पनि उठ्यो ।    

एक रात, यदि बाहिरको कुनै अर्को लेखकसँग बस्‍न पाउनुभयो भने कसलाई छान्‍नुहुन्छ ?
पछिल्लो पटक पढेका लेखकमध्येबाट छान्‍ने हो भने ‘लिङ्कन इन द बार्डो’का लेखका जर्ज साउन्डर्सलाई लिन सकिन्छ । उनी रमाइलो र बोलक्कड लेखक मानिन्छन् । तर उनको बार्डोवाला उपन्यासमा रमाइलो छैन, यो त शोकको कथा हो । मलाई सोध्न मन लागेको छ, उनको ‘टेन्थ अफ डिसेम्बर’मा भएको ‘इस्केप फ्रम स्पाइडरहेड’ कथाको आइडिया बेन ओकरीको ‘स्टार्स अफ द न्यु कफ्‍र्यु’बाट आएको पो हो कि ?
मलाई इलिफ शफाकसँग पनि केही सोध्नुछ, ‘द फोर्टी रुल्स अफ लभ’को जक्स्ट्रापोजिसनले म निकै प्रभावित भएको थिएँ । मलाई त उनी आधुनिक इब्सन लागिन् ।

सन २०१८ की नोबेल पुरस्कार विजयी ओल्गा तोकर्चुकसँग उनको ‘ड्राइभ योर प्लाव ओभर द बोन्स अफ द डेड’लाई केन्द्रमा राखेर बोल्दा रमाइलै होला किनकि उनी मलाई शाकाहार, पशु अधिकारबारे बताइरहँदा स्वाभाविक किसिमले म उनीभित्र बूढी जनिनालाई खोजिरहेको हुनेछु  ।

अथवा मलाई डगलस स्टुअर्टसित भेट्न मन लाग्ला र हाम्रो बाल्यकाल, गरिबी र पुस्तकबिनाको घरबारे कुरा आदानप्रदान होला । र अन्तमा मेरा लागि केही लुगा डिजाइन गराई पनि हालुँला । अहिले म उनको डेब्यु ‘शग्गी बेन’ पढ्दै छु, जसले अघिल्लो वर्षको बुकर जितेको थियो ।

तर वास्तवमा भन्‍ने हो भने म लेखकहरूसित घुलमिल हुन चाहन्‍न । लेखकहरू पढिनका लागि मात्र हुन् जस्तो लाग्छ, सुनिन र भेटिनका लागि होइनन् किनकि पुस्तक पढिरहने बेला हामीले बनाइरहने धेरैजसो लेखकप्रतिको धारणा वा सम्मान नै भनौं न त्यसपछि क्रमशः भत्किन थाल्छ । प्रेम भए त ठीकै होला, त्यसको स्थान वितृष्णाले लियो भने बोर नै हुन्छ ।

तपाईंलाई प्रभाव पारेका लेखक वा पुस्तक कुन-कुन हुन् ?
प्रभाव पार्न नसक्ने किताब म बीचैमा छोडिदिन्छु, त्यसैले धेरै किताबले मलाई प्रभाव पारेका छन् अल्पकालीन वा दीर्घकालीन । अल्पकालीन प्रभाव पार्ने किताबको चर्चा नगरौं । एसएलसी दिएपछि धान खेतमा पानी हाल्ने जाने बेला पढेका म्याक्सिम गोर्कीका आत्मजीवनीहरू ‘बाल्यकाल’, ‘मान्छेहरूको माझमा’ र ‘मेरा विश्वविद्यालयहरू’ जस्ता कृतिहरूको प्रभाव अझै पनि छ । लु शुनका छोटाछोटा कथा र निबन्धले पनि मलाई प्रभाव पारे । त्यही बेलातिर पढेका बीपी कोइरालाका ‘सुम्निमा’, ‘हिटलर र यहुदी’जस्ता कृतिको प्रभाव अझै पनि अनुभव गर्छु । जर्ज अर्बेलको ‘एनिमल फार्म’ र ‘१९८४’ ले त मेरो वामपन्थी रुझानमा नै खलल पुर्‍याउन खोजेको कुरा स्वीकार्छु ।

आख्यानमा आउन चाहिँ मलाई नारायण वाग्लेको ‘पल्पसा क्याफे’को जबर्जस्त प्रवेशले धेरै घच्घच्यायो ।

ग्याब्रिएल गार्सिया मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ कुनै लामो कविता जस्तो लाग्छ । त्यो पढिसकेपछि मलाई आफू लिलिपुटबासी जस्तो पुड्को अनुभव भएको थियो, खानासमेत मन लागेको थिएन । सरुभक्तको ‘पागल बस्ती’ र ‘समय त्रासदी’ पढिसकेपछि मेरो मनमा पहिलो पटक लागेको कुरा थियो, नेपालमा पनि विश्वस्तरका लेखक छन् तिनको सही अनुवाद मात्र टाढा छ । ध्रुवचन्द्र गौतमका विभिन्‍न कृतिहरू र पारिजातको ‘शिरीषको फूल’ले मलाई शैलीगत रूपमा पनि लोभ्याउँछ । जे. डि. सालिन्जरको ‘क्याचर इन द र्‍याइ’को प्रभाव ममाथि धेरै परेको चाहिँ हैन तर त्यो शैली र किशोर मनोविज्ञान भएको उपन्यास नेपालीमा पनि हुनुपर्छ जस्तो लागेर नै मैले पाठशाला लेखेको कुरा तपाईँलाई पनि दोहोर्‍याउँछु । त्यस्तै अन्य किताब पनि छन् जस्तैः अल्बेयर कामुको ‘आउटसाइडर’, फ्रान्ज काफ्‍काको ‘मेटामर्फोसिज’, जोसेफ हेलरको ‘क्याच —२२’, फ्‍योदोर दोस्तएभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’, सल्मान रुश्दीको ‘मिडनाइट्स चिल्ड्रेन’, हरूकी मुराकामीको ‘काफ्‍का अन द शोर’, हार्पर लीको ‘टु किल अ मकिङबर्ड’, भ्लादिमिर नाबोकोभको ‘लोलिता’, जोन स्टेन्बेकको ‘द ग्रेप्स अफ व्राथ’ इत्यादि ।

अहिलेको नेपाली आख्यान विश्व साहित्यको कति टाढा, कति नजिक पाउनुहुन्छ ? हामीले बाहिरका लेखकसित प्रतिस्पर्धा गर्ने बेला कहिले आउला ?
कथा, शैली र प्रयोगको हिसाबले हाम्रो आख्यान पनि कम छैन । तर यो कुरा हामीले भन्‍ने हैन । बाहिरका पाठकले निक्र्योल गर्ने कुरा हो । हामी सायद थोरै आत्मकेन्द्रित छौं । हामी अरुलाई सम्पादन गराउन अलि हिच्किचाउँछौं अथवा हामीले सही र व्यावसायिक सम्पादक पो पाइरहेका छैनौं कि ? आफ्‍नो स्थानीय कथा भन्दाभन्दै पनि हामीले जलवायु परिवर्तन, ग्लोबलाइजेसन, भोक, क्यान्सर, महामारी जस्ता विश्वव्यापी मुद्दालाई जोडेर लेख्यौं भने हाम्रो आवाज त्यहाँसम्म पुग्न सक्छ होला जस्तो लाग्छ । गज्जबका किताबलाई तुरुन्तै अङ्ग्रेजी वा अन्य भाषामा अनुवाद गरिनुपर्छ । विश्वविद्यालय, एकेडेमी र पब्लिकेसन हाउसहरूले यतातिर धेरै गम्भीर भएर काम गर्न सक्छन् । खुसीको कुरा ‘आज रमिता छ’, ‘शिरीषको फूल’ ‘राधा’, ‘अनुराधा’, ‘सेतो बाघ’, ‘जीवन काँडा कि फूल’, ‘पल्पसा क्याफे’ आदि अनुवाद भएका छन् । यी पुस्तक अनुवाद मात्र भए कि संसारका पाठकका हातमा पनि पुगे, थाहा भएन । यिनलाई बाहिरका पाठकले कसरी लिए त्यसको जानकारी पनि सर्वसुलभ भएन । ‘कर्नाली ब्लुज’ अब छिट्टै पढ्न पाइएला । मलाई त ‘प्रेतकल्प’, ‘मोक्षान्त : काठमाडौं फिभर’, ‘लू’ ‘काठमाडौंमा एक दिन’ आदि पनि अनुवाद हुनुपर्ने कृति लाग्छन् ।

अन्त्यमा, जीवनमा धेरै आरोह-अवरोह खेप्‍नुभयो । पटक पटक मृत्युसँग मुठभेट गर्नुभयो । वास्तवमा के रहेछ जीवन ?
यो त निकै दार्शनिक प्रश्न भइगयो होला भाइ । आरोह त के हुनु र केही अवरोह छन् र बाँकी त सरल रेखामा चलिरहेको छ भन्दा पनि हुन्छ मेरो जीवन । मलाई लाग्छ, जीवन के रहेछ भनेर सोच्‍नलाई मान्छेसित गास र बाँसको चिन्ता हुनु हुँदैन । हामीलाई आफ्‍नो बाआमा वा छोराछोरीको स्वास्थ्य र शिक्षाको चिन्ता रहिरहन्छ । यस्तो बेला जीवन के हो भन्‍ने चिन्तन गर्ने समय नै हुँदैन । अर्कोतिर मैले समाज र जीवन बुझ्‍न खोज्‍न थालेबाट हामीकहाँ सधैंजसो राजनैतिक अस्थिरता भइरह्यो । राजनैतिक आन्दोलनहरूले नेता त धेरै उत्पादन गरे तर स्वतन्त्र र प्रोएक्टिभ विचारक र दार्शनिक चाहिँ नगन्य मात्रमा जन्माए । हाम्रो अवस्थाले मलाई कतिसम्म पङ्गु बनाएको रहेछ भने म आफैँले मात्र स्वीकार गर्ने खालको जीवनको परिभाषा दिन सक्दिनँ । अरु थुप्रै कमजोरीसहितको म पनि राजनैतिक अस्थिरताको शिकार हुँ । केवल छोटो अनुभव र कोरा भावुकताले जीवन यस्तै हो भन्‍न म असमर्थ छु । मेरो लागि जीवन के हो भनेर भन्‍नु कविताको परिभाषा दिनुभन्दा गाह्रो काम हो, प्रेमको अर्थ भन्‍नुभन्दा पनि कठिन ।


Author

थप समाचार
x