विचार-वार्ता

छाला जोगाएर खेलौँ होली

प्रा. डा. धर्मेन्द्र कर्ण |
चैत ३, २०७८ बिहीबार ७:३९ बजे

होली रङको पर्व हो । यो दिन विभिन्न किसिमका रङ एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ । तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होली लगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन् । होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ । 


होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ । हर्बल रङले छालालाई नोक्सान गर्दैन । छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ । छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्तक्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ । होलीमा छालालाई रङको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ । हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउनुपर्छ । म्वइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ । 

जति बेला अहिले जस्तो व्यावसायिक रूपमा रङ उपलब्ध हुन्थेनन्, त्यति बेला होलीमा पानको पात, गुलाबपत्र, सयपत्री, पालुंंगो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो । 

कालो रङमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङमा पारो(मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ । यी तत्वले हाम्रो छालामा असर गर्छन् । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ । कालो रङले किड्नीमा असर गर्छ । हरियो रङले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ । सिल्भर कलरले छालाको क्यान्सरको जोखिम हुन्छ । नीलो रङले एलर्जी र रातोले स्किन क्यान्सरको खतरा रहन्छ । 

रङलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ । रङले छालामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ । प्रत्यक्ष रूपमा गर्ने असर रङमा रसायन मिसिइने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ । जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउ खटिरा छ भने रङ दल्दा अझै बढेर जान्छ । रङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ । एक्जिमाका रूपमा पनि देखापर्न सक्छ । कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ । 

अप्रत्यक्ष रूपमा गर्ने असर 
छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ । त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ । छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ । डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ । कपालमा रङ लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ । नङको कापमा रङपर्दा नङ पाक्ने समस्या देखापर्छ । रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ । घाउ खटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ । 

होली खेल्नुअघि
आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ । होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ । हात खुट्टामा भ्यासलिन लगाए बेस हुन्छ । पूरै शरीर ढाक्नेगरी खुकुलो कपडा लगाउनुपर्छ । शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन । होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ । सकेसम्म कम रसायन मिसिएको रङ छनोट गर्नुपर्छ । 

होली खेलेपछि 
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ । नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ । नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ । रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ । होली खेलिसकेपछि शरीरमा लागेको रङ हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउनुपर्छ । नुहाउँदा रङ लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्नुपर्छ । त्यसपछि केही समय राखी सुक्न दिनुपर्छ । सुकेपछि सफा पानीले पखाल्नुपर्छ । यसले शरीरमा लागेको रङलाई हटाउ मद्दत गर्छ ।

(सौन्दर्य तथा छाला रोग विशेषज्ञ डा. कर्णसित सृजना खड्काको कुराकानी ।)


Author

प्रा. डा. धर्मेन्द्र कर्ण

कर्ण छाला तथा सौन्दर्य विशेषज्ञ


थप समाचार
x