'मैले सपना बाँडेको छैन, बोलेको पूरा गर्छु'
स्थानीय निर्वाचन हुन अब चार दिन समय बाँकी छ । निर्वाचनमा खडा भएका उम्मेदवारहरू यतिखेर घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाताको घरदैलोमा पुगेर मत माग्नेदेखि आफूले विगतमा गरेका कामका फेहरिस्त प्रस्तुत गर्दै मतदाता खुसी पार्न तल्लीन छन् । राजनीति सँगसँगै सामाजिक संघ–संस्थामा पनि आबद्ध प्रेम लामालाई यसपालि एमालेले काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका अध्यक्ष प्रतिस्पर्धामा उतारेको छ । गाउँपालिकामा भौतिक विकास गर्ने, रोजगारी उपलब्ध गराउने, सुशासन युक्त, हिंसामुक्त, सुन्दर, हरियाली र विकसित गाउँपालिका बनाउने योजनासहित लामा अध्यक्षको उम्मेदवार बनेका हुन् । गाउँपालिकामा पिछडिएका समुदायको जीवनस्तर उकास्ने, कृषिमा अनुदान र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने योजना लामाले राखेका छन्। लामासँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीः
भुम्लु गाउँपालिकाकाको अध्यक्ष उम्मेदवार बन्नु भएको छ, मतदानको दिन आउन केही मात्र बाँकी छ । मतदाताका घरदैलोमा पुगिरहँदा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
स्थानीय मानिस भएकाले सबैको भावना बुझिरहेको छु । म आफैसँग जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जिल्ला समन्वय समितिको सदस्य भई काम गरेकाले यसअघि पनि जनताको घर–दैलोमा पुगिसकेको छु । ज्येष्ठ, महिला तथा युवा युवतीहरूको मुख्य मुद्दाहरू के के हुन् त्यसलाई बुझिरहेको छु । त्यहीँ मुद्दालाई कसरी कार्यान्वय गर्न सकिन्छ भनी ध्यान अगाडि बढिरहेको छु । उम्मेदवार भएकाले सपना बाँडिरहेको छैन । बोलेको कुरालाई कार्यान्वय पनि गर्नु छ । सबैको घरमा पुग्न सकेकाले उहाँहरूको मप्रति सबै मतदाताहरूको समर्थन र ऐक्यबद्धता पाएको छु । जनताले आफ्ना समस्या र गुनासाहरू सुनाइ रहनुभएको छ । उहाँहरूले म प्रति अपेक्षा र आशाका कुरा पनि गर्नुभएको छ । ती सबै कुरालाई मैले सम्बोधन गर्नेछु ।
तपाईंलाई गाउँपालिका अध्यक्षमा विजयी गराउनु पर्ने त्यस्तो बाध्यता के छ मतदाताहरूसँग ?
चुनावी मैदानमा रहेका उम्मेदवारहरूमध्ये म उत्कृष्ट छु । मतदाताले विगतमा रहेका नेतृत्वहरू भन्दा फरक तरिकाले काम गर्न सक्ने बुझेका छन् । असल चरित्र भएको र सामाजिक जीवनमा पनि सक्रिय रहेको छु । कोभिड–१९ महामारीमा राहत तथा उद्धारका कार्यमा खट्न निरन्तर लागि परेको थिए । भुम्लु जनताको पीडामा मल्हम लगाएको छु । भुम्लुबासीको मनमा बस्न सफल भएकाले सबैको माया र साथ पाइरहेको छु । यी सबै कारणले गर्दा बैशाख ३० गते मतदाताले मलाई भोट दिनुहुन्छ ।
विजयी हुने आधारहरू के–के देख्नुहुन्छ ?
असल र सुस्पष्ट कर्म बोकेको पार्टी पंक्ति छ र पार्टीभित्र पनि मजबुत एकता छ । म आफैँ पनि जनताको काम गरिरहेको मानिस हुँ । आजसम्म यो गाउँपालिकाको यस ठाउँमा रहँदा पनि मतदाताको दुःखमा साथ दिएको एक इमान्दार मानिस हुँ । हरेकको घरमा पुगेर विकासका कुरालाई प्राथमिकतामा राख्नुपर्छ भनेर हिँडेको मानिस हो म । मैले यो ठाउँको दुःख के हो भनेर बुझेको हुनाले पनि मलाई मतदाताले विश्वास गर्नुहुनेछ भनेर आशा गरेको छु । कर्म गरेकाले पनि विजयी हुने आधार प्रशस्त बनाएको छु ।
सत्ता गठबन्धनको उम्मेदवार तपाईको प्रतिष्पर्धी छन् । विजयी हासिल गर्न तपाईले कति चुनौती ठान्नु भएको छ ?
एमालेविरुद्ध फरक विचार राख्ने पार्टीको गठबन्धन बनेको छ । विचार र काम नमिल्नेहरूको गठबन्धन बनेको हो । व्यवहार नमिल्नेहरूको समूह बनेकाले हामी खासै फरक पार्दैन । त्यस्तो गठबन्धनले खासै प्रभाव पार्ने छैन । समाज विकास गर्न गठबन्धन बनेको भन्दा पनि नेता व्यवस्थापन बनेको हो । जनता पनि हामीसँग छन् । गठबन्धन पनि राजनीतिक रुपमा देखिएका हुन् । हामी जनताको गठबन्धनमा छौँ । तत्कालीन माओवादीका नेता साथीहरूको समेत हाम्रो पार्टीमा प्रवेश भएकाले हाम्रो लागि राम्रो बनेको छ । त्यसैले मलाई खासै फरक पर्दैन । जनताले गठबन्धन गरेका छैनन् ।
भुम्लु गाउँपालिका भौतिक विकासका दृष्टिकोणले केही पछि परेको छ । विकास गर्न कस्तो योजना बनाउनु भएको छ ?
विकासका दृष्टिकोणले केही पछि परेको अवश्य छ । तर, विकासको चरणमा पनि प्रवेश गरेको अवस्था छ । यहाँको मुख्य आवश्यकता सडक हो । त्यसलाई मुख्य सडकसँग जोड्ने हो । जनताले खोज्ने रोजगार र आम्दानी कसरी बढाउन सकिन्छ । त्यस्ता कुराहरू पनि खोजिरहेका छन् त्यस्ता कुराहरू बढी भन्द बढी जनतालाई उपलब्ध गराउनु छ । रोजगार कसरी सिर्जना गर्न सकिन्छ त्यसलाई प्राथमकितामा राखेर काम गर्न सकिन्छ त्यसलाई मुख्य ध्यानमा राखिएको छ । आम्दानीलाई जोड्न सकिने स्रोतहरू के–के छन् त्यसको अध्ययन गरेर अगाडि जाने छौँ । सामूहिक पशुपालन तथा व्यवसायिक पशुपालनलाई कसरी कार्यान्वयन गर्न सकिने भनेर अध्ययन गरिरहेका छौँ । व्यवसाय गर्न अनुदान दिएर ठूला ठूला फारम बनाउने छौँ । सामूहिक कृषि प्रवर्द्धन गर्न योजना बनाएका छौँ । प्रविधिमा बढी जोड दिनुपर्छ भनेर लागेका छौँ । अनुदानलाई पहिलो प्राथमकितामा राखेर अगाडि बढ्छौँ । लिन र दिन खोज्ने प्रथालाई पहिलो प्राथमिकतामा राख्छौँ । गाउँपालिकाले बढी मात्रामा दिनुपर्छ भन्ने छौँ ।
खानेपानीको समस्या कस्तो छ, सबै गाउँपालिकाभर खानेपानी पुर्याउन कस्तो योजना बनाउनु भएको छ ?
हो, कतिपय ठाउँमा खानेपानीको समस्या छ । एमालेको नेतृत्वमा खानेपानी पुर्याउन छुट्टै बजेटको व्यवस्थापन गरिरहेका छौँ । अधिकांश घरमा एक घर एक धाराको योजना ल्याएका छौँ र कार्यान्वय समेत गराएका छौँ ।
यसभन्दा अघि पनि जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । तपाईले त्यस्ता अनुभवलाई कसरी कार्यान्वय गर्ने सोचाइमा हुनुहुन्छ ?
जिल्ला समन्वय समितिको सदस्य पनि थिएँ । प्रवक्ता भएर काम गर्दा देशभरका विभिन्न ठाउँमा पुगेर अध्ययन र अवलोकन गरेको छु । अन्य स्थानीय तहमा भएका विकासका नमूनाहरू हेरेको छु । त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर सुक्ष्म रुपमा अध्ययन गरेर अगाडि जाने योजना बनाएको छु ।
तपाईंको गाउँपालिकामा मानवीय सूचकाङ्को आधारमा पछि परेका समुदायहरूको पनि बसोबास छ । तपाईं अध्यक्ष बनेपछि उहाँहरूको जीवनस्तर उकास्न के/कस्तो योजना बनाउनु भएको छ ?
यो गाउँपालिकामा प्रहरी, दलित र माझी समुदायहरू छन् । उहाँहरूको सूची मानवीय सूचकाङ्क दृष्टिकोणले पछाडि परेको देखिन्छ । त्यो समुदायका लागि पहिलो प्राथमिकतामा राखेर विशेष योजना ल्याउँछु । कसरी उनीहरूको जीवनस्तर उकास्न सकिन्छ त्यसमा ध्यान दिनेछु । विशेष योजना बनाई घोषणा गरी कार्यान्वय गर्नुपर्ने अवस्था छ । जसले गर्दा उहाँहरूको जीवनस्तर उकास्न सहयोग गरोस् ।
निर्वाचन अघि र पछिको तपाईमा केही अन्तर हुन्छ कि ? बोली र व्यवहारमा फरक हुन्छ भनिन्छ नि !
म जनताको सेवा गर्न लागेको मान्छेको हुँ । म कहिले पनि बदलिन्नँ । प्रेम हुँ र गाउँपालिकाको अध्यक्ष भएर म भित्र प्रेम बाड्न चाहन्छु । आज जस्तो छु भोलि पनि त्यस्तै रहन्छु । मैले जनतासँग गरेका वाचा र प्रतिवद्धता पूरा गर्छु । भुल्दिनँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया