विचार

यो सोच-संरचनाले मानसिक बिरामी पनि पार्छ

सरिता दाहाल |
चैत १७, २०७७ मंगलबार १६:५८ बजे

अंग्रेजी नयाँ वर्ष सन् २०२० को प्रारम्भ सँगसँगै चीनको वुहान राज्यबाट जन्मिएर छोटो समयभित्र विश्वभरि फैलिएर सिंगो मानव समुदायको जीवनमाथि नै चुनौती प्रहार गर्न खोजेको एउटा सूक्ष्म जीवाणु हो, कोरोना भाइरस । जसलाई पछि कोभिड-१९ भनी नामकरण गरिएको थियो । जसका कारण आजसम्म विश्वभरिका करिब २० लाख मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् भने करिब सात करोड ४९ लाख मानिसले यससँगको युद्ध जितेर आफूले पुनर्जन्म पाएसरह भएका छन् । त्यसैगरी विश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारीअनुसार संसारभरिका करिब १० करोड मानिसमा यसको संक्रमण फैलिसकेको छ । वैज्ञानिकहरूको अथक प्रयास र मेहनतस्वरूप केही खोप निर्माण भई प्रयोगमा आए पनि त्यो चाँडै विश्वका सम्पूर्ण राष्ट्र र मानवसमक्ष सर्वसुलभ रूपमा उपलब्ध हुने कुरा त्यति सहज छैन । त्यसैले अझै पनि कोरोनासँगको मानव जीवनको युद्ध समाप्त कहिले हुने हो, थाहा छैन । 

यसैगरी हाम्रो समाजमा शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन असर वा कार्यगत सीमितता र वातावरणीय अवरोधका कारण अन्य व्यक्तिसरह पूर्ण र प्रभावकारी रूपमा सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति पनि रहेका छन् । जसलाई अपांगता भएका व्यक्ति भनिन्छ । यसै वर्गभित्र अपांगता भएका महिला पनि पर्छन् । नेपालको अपांगता अधिकार ऐन, २०७४ को वर्गीकरणअनुसार नेपालमा १० प्रकारका अपांगता भएका व्यक्ति छन् । जस्तै, शारीरिक अपांगता, दृष्टिसम्बन्धी अपांगता, सुनाइसम्बन्धी अपांगता, श्रवण-दृष्टिविहीन, बौद्धिक अपांगता, अटिजम, हेमोफिलिया आदि रहेका छन् । 


यसरी हेर्दा सारा विश्व मेरो मुठीमा राख्न सक्छु भन्‍ने दम्भ बोकेका शक्ति सम्पन्न भएकाको मनमा नै भूकम्प ल्याउने गरी कोरोना महामारीले भय र त्रास जन्माइरहेको अवस्थामा अपांगता भएका व्यक्ति त्यसमा पनि महिलाको अवस्था कस्तो रह्यो होला भन्‍ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । जब विश्वमा कोरोनाले आफ्नो आधिपत्य जमाउने ध्येयले विचरण गरिरहेको थियो । यसविरुद्ध खोपको आविष्कार हुने क्रम जारी थियो, त्यसबेला बरु चराचुरुंगीहरू भयरहित वातावरणमा खुला आकाशमा उडिरहँदा मानिस भने घरको चार दिवारभित्र लुकेर बाँच्न विवश थियो ।

 

परिवार नियोजनका साधन सहज ढाँचामा सर्वसुलभ रूपमा उपलब्ध हुन नसक्दा कतिपय अपांगता भएका महिलाले अनिच्छित गर्भधारण गर्नुपरेकोजस्ता अत्यन्तै मार्मिक र जटिलतापूर्ण बाध्यात्मक परिस्थितिको पनि सामना गर्नुपरेको देखिन्छ । 

कोरोनाको कहरले जन्माएको लकडाउन र बन्दाबन्दीका कारण सिंगो राज्यकै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि प्रायः ठप्प बनेको अवस्थामा अपांगता भएका महिला पनि यसको प्रत्यक्ष प्रभावबाट अछुतो रहन सकेनन् । जसको परिणामस्वरूप अपांगता भएका महिलाले बेरोजगारी, मानसिक तथा मनोसामाजिक समस्या, शिक्षा प्राप्तिमा समस्या, स्वास्थ्यसम्बन्धी समस्या, सहायक सामग्रीको अभाव, घरेलु तथा यौनजन्य हिंसाको सिकार आदिजस्ता विभिन्न प्रकृतिका समस्याबाट प्रताडित हुनुपरेको थियो । कोरोनाको संक्रमण फैलने भय र सन्त्रासका कारण मानिस एकअर्कासँग नजिक नहुने, भेटघाट नगर्ने, सामाजिक दूरी कायम राख्नुपर्नेजस्ता बाध्यात्मक परिस्थितिका कारण झन्डै मानवता र मानवीय गुण नै संकटमा पर्न लागेको भान हुन्थ्यो । जुन अवस्थामा अरूको सहायताले हिँडडुल तथा दैनिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने अपांगता भएका महिलाका लागि दैनिक दिनचर्या सञ्चालन ज्यादै कठिन र कष्टकर बनेको थियो । 

प्रायःजसो अपांगता भएका महिलाको जीविकोपार्जनका क्षेत्र दोहोरी साँझ, होटेल, रेस्टुरेन्ट, व्यापार-व्यवसाय आदि देशमा भएको लकडाउनका कारण बन्द हुन पुगे । जसबाट उनीहरूको जीवनमा आर्थिक संकट चुलिँदै गयो । यसरी एकातिर भएको रोजगारीका स्रोत बन्द हुनु, अर्कोतिर खर्चका बाटाहरू बढ्दै जानु, स्वतन्त्र भएर हिँडडुल गर्न नपाउनु, लामो समयसम्म आफन्तसँग भेटघाट हुन नपाउनु आदिजस्ता कारणले मनमा तनावको स्थिति सिर्जना भई विभिन्न प्रकृतिका मानसिक तथा मनोसामाजिक रोगको सिकार हुनपुगेका तीतो यथार्थ हामीमाझ छन् । 

यसैगरी कतिपय अपांगता भएका महिला जो नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोग भएकाहरूले समयमा औषधि नपाएको, स्वास्थ्य परामर्श लिन नपाएको हुँदा उनीहरूले भोग्नुपरेको कष्टप्रद जीवनलाई शब्दमा व्यक्त गर्नै सकिन्न । मानिसको सबैभन्दा ठूलो धन नै स्वस्थ शरीर हो, तसर्थ यसका लागि चाहिने पौष्टिक आहार, खानपिन, व्यक्तिगत सरसफाइ, महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध नहुँदा एउटा कोठामा डेरामा बसेर जीवन निर्वाह गर्न विवश अपांगता भएका महिलाका लागि यी सबै कुरा जुटाउनु पनि चुनौतीपूर्ण रह्यो । त्यसैगरी यस समयमा अपांगता भएका महिलामाथि हिंसाका घटना जस्तै, यौनजन्य हिंसा, बलात्कार, घरेलु हिंसा आदि पनि निकै मात्रामा बढेको पाइन्छ । त्यस्तै परिवार नियोजनका साधन सहज ढाँचामा सर्वसुलभ रूपमा उपलब्ध हुन नसक्दा कतिपय अपांगता भएका महिलाले अनिच्छित गर्भधारण गर्नुपरेकोजस्ता अत्यन्तै मार्मिक र जटिलतापूर्ण बाध्यात्मक परिस्थितिको पनि सामना गर्नुपरेको देखिन्छ । 

 

मानिसको सबैभन्दा ठूलो धन नै स्वस्थ शरीर हो, तसर्थ यसका लागि चाहिने पौष्टिक आहार, खानपिन, व्यक्तिगत सरसफाइ, महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध नहुँदा एउटा कोठामा डेरामा बसेर जीवन निर्वाह गर्न विवश अपांगता भएका महिलाका लागि यी सबै कुरा जुटाउनु पनि चुनौतीपूर्ण रह्यो ।

यसरी कोरोनाका कारण अपांगता भएका महिलामा परेका नकारात्मक प्रभावका साथसाथै यसले केही सकारात्मक प्रभाव वा सन्देश पनि छोडेर गएको तथ्यलाई स्मरण गर्नैपर्ने हुन्छ । जसमध्ये प्रमुख चाहिँ प्रविधिसँग निकट वा साक्षात्कार हुन सक्नुपर्छ भन्‍ने कुराको अवगत गराएको छ । मानिसहरू भौतिक रूपमा उपस्थित भएर विभिन्न तालिम, सभा-सम्मेलन आयोजना गर्न असम्भव भएका बेला अपांगता भएका महिलाले घरमै बसेर जुम, माइक्रोसफ्ट टिम, गुगलमिटजस्ता प्रविधिको समीपमा रहेर अनलाइनको माध्यमबाट प्रशस्त ज्ञान, सीप र अनुभव हासिल गर्न सफल भएको देखिन्छ ।

त्यसैगरी फोन सम्पर्क र अनलाइनको माध्यमबाट टाढा रहेका आफन्त र साथीभाइसँग कुराकानी गर्ने, विभिन्‍न अनलाइनका समूह निर्माण गरी त्यसमा आबद्ध रहेर विभिन्न मनोरञ्जनात्मक र रचनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्नुलाई पनि यसको सकारात्मक पक्षका रूपमा लिन सकिन्छ । त्यसैगरी लामो समयसम्म रोजगारी तथा अध्ययनको सिलसिलामा घरपरिवारबाट बाहिर बस्नुपरेका महिलाले यस परिस्थितिमा परिवार तथा आफन्तलाई समय दिन पाएको देखिन्छ । यसै सन्दर्भमा उनीहरूले घरमै बसेर केही सीप वा काम गरी अर्थोपार्जन गरून् भन्‍ने ध्येयले केही गैरसरकारी संस्थाले बीउपुँजीसमेत वितरण गरेको र अप्ठ्यारोमा परेका महिलालाई सरकारी तथा अन्य संस्थाको समन्वयमा राहत सामग्री वितरण गर्नुलाई पनि सकारात्मक पक्षका रूपमा लिन सकिन्छ । 

समग्रमा भन्नुपर्दा कोरोना कहरले अधिकांश अपांगता भएका महिलाको जीवनयापनमा गम्भीर असर पार्ने खालका नकारात्मक प्रभावका साथसाथै केही सामान्य सकारात्मक प्रभाव पनि छोडेको देखिन्छ । हुन त अहिले पनि विश्वमा कोरोनाको नयाँ-नयाँ प्रजाति जन्मिएका छन्, भय र सन्त्रासको स्थिति छँदै छ । कतिपय देशमा अझै पनि दोस्रो र तेस्रो चरणको लकडाउन कायमै छ । यद्यपि मानवीय क्रियाकलाप बिस्तारै सहज बनाउँदै सुरक्षाका हरेक उपाय अवलम्बन गरी सकेसम्म भौतिक दूरी पनि कायम गर्दै जनजीवन सामान्यतर्फ उन्मुख हुन थालिसकेको छ । जुन परिस्थितिमा अब घरपरिवार, समाज, विभिन्न सरकारी तथा गैरसरकारी सम्पूर्ण निकायले कोरोनाले दिएको चोट र सिकाएको पाठ दुवैलाई मनन गरी सम्पूर्ण अपांगता भएका महिलाको जीवनस्तर माथि उठाउन आ-आफ्नो स्तरबाट सकेसम्मको पहलकदमी चाल्दै विशेष किसिमको खाका तयार पारी गोरेटो कोर्नु अति आवश्यक र अपरिहार्य छ । (स्वयं दृष्टिविहीन रहेकी दाहालको यो लेख प्रयत्न नेपालबाट प्राप्त ।)


Author

थप समाचार
x