विचार

महाकवि देवकोटा र नेपाली साहित्य

विमल सिटौला |
जेठ १४, २०७९ शनिबार १४:३८ बजे

महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउने बहुप्रतिभाशाली साहित्यिक हस्ती हुन् । प्रकृति र मानव जातिका पुजारी कवि देवकोटा सर्वोच्च कोटिका युगौँ युगका केन्द्रीय कवि हुन् । उनले कृतिमार्फतका दिन खोजेको चेत आज पनि ब्रम्हाण्डका सच्चा मानवका लागि होस् या सच्चा नेपालीका लागि अनुकरणीय रहेको पाइन्छ । उनका साहित्यिक कृतिबारे हामी थोरधेर परिचित त छौँ नै । 

तर, उनको शास्त्रीय जीवन, नेपाली भईकन अंग्रेजी मोह र उनका अरु विलक्षण क्षमताबारे कम लेखिएपश्चात् आजको दिनमा उनका योगदानबारे कम तलास गरिएको महसुस उँचो हुँदै छ । आजको यो लेख उनका यस्तै ओझेलिएका वा नखोतलिएका विषयको केन्द्रीयतामा फन्फन घुम्नेछ । फलस्वरूप, त्रिसठ्ठी वर्षपश्चात् महाकविप्रति उत्तिकै उच्च सम्मान प्रकट गरिनेछ ।


शास्त्रीय वातावरणमा हुर्किएका देवकोटा

सुदूरपश्चिमबाट गोर्खा जिल्ला आइपुगेका देवकोटा वंश काठमाडौँभित्रै भोटाहिटीबाट त्यो ताका डिल्लीबजारमा बसाइँ सरेका थिए । र, देवकोटा त्यहीँ जन्मिएका थिए । सर्वविदितै छ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजार धोबीधारा टोलमा भयो । नामकर्ममा तीर्थमाधव देवकोटा भए पनि उनी लक्ष्मीपूजाको साँझ जन्मिएकाले लक्ष्मीको प्रसादका रूपमा उनलाई ग्रहण गर्दै लक्ष्मीप्रसाद भनि बोलाउन थालियो । फलस्वरूप, परिवारमा अरु सदस्यमध्ये उनलाई एक ज्योतिपुञ्जका रूपमा हेर्न थालियो ।

दोस्री आमा अमर राज्यलक्ष्मीका कोखबाट जन्मेका दर्जन सन्तानमध्ये उनी साहिँला सन्तान कहलिए । सायद ठूलो पारिवारिक घरानामा उनले सबैको हई–हाई पाए होलान् । अर्कोतिर, उनका पिता तिलमाधव देवकोटा भने दरबारमा नेपाली र संस्कृत भाषा अध्यापन गराउँथे । यसप्रकार, निवासको वातावरण पठनका लागि एकदम शास्त्रीय भएको स्वतः अनुमान गर्न सकिन्छ । पिताको पाण्डित्य अंशको झिल्को कलिलो उमेरदेखि उनीभित्र झिलिक्क भइसकेको थियो । साथसाथै, उनी घरको जीर्ण आर्थिक अवस्थासँग कलिलै उमेरमा राम्ररी भिजिसकेकाले आफ्ना अभिभावक (पिता र दाजु) को पदचाप पछ्याउन सुरु गरिहाले ।

उनका पिताले उनलाई भक्ति रसका श्लोकहरू सार्न दिन्थे र कलिलै उमेरमा अति आकर्षक अक्षरमा सार्दै र साथसाथ कण्ठस्थ गर्दै जान्थे । यसप्रकार, वि.स १९७७ सालको अन्त्यतिर दरबार स्कुलमा एकैचोटि पाँच कक्षामा भर्ना गराइए । भर्ना हुनुपूर्व गुरुस्तुति, रघुवंश, अमरकोश आदिलाई आफ्नो मगजमा खुत्रुक्क घुसाइसकेका देवकोटाले त्यहाँ कविताहरू रच्दा र सुनाउँदा सुरुताकामा ‘सुकुल गुन्डो’ वा ‘नक्कली मयूर’ भनेर सहपाठीहरूले खिसिटिउरी गरेका प्रसङ्ग पढ्न पाइन्छ । यद्यपि, समय बित्दै जाँदा उनलाई एक प्रचुर कल्पनशीलता भएका कविका रूपमा चिन्न थालिसकेका थिए जब उनले सहपाठीहरूलाई विभिन्न शीर्षकका (जस्तै, दरबार स्कुल) कविता सुनाएर चकित बनाए । 

यसरी देवकोटाको बाल्यकाल एक ब्राह्मण कुलमा शास्त्रको रसस्वादन गर्दै एक सशक्त अध्येता भएर बित्यो । यसकारण पनि उनले खेलमा त्यति रुचि देखाएनन् । दश वर्षकै अपक्क उमेरमा उनले संसारको रित उजागर गर्ने लयमय कविता ‘संसार दुःख सागर’ रचना गरे । जे होस्, उनलाई उनका पिताले एक पण्डित बनाउन चाहे पनि, उनी प्रत्यक्ष शास्त्रीय वातावरणको एक अभिन्न अङ्ग भएर आफ्नो काँचो बाल्यावस्था बिताउने भाग्यमानी महापुरुष हुन् । 

अंग्रेजी मोहले तानिएका अध्येता

देवकोटामा अंग्रेजी मोह जाग्यो कि जगाइयो भन्ने सवाल महत्वपूर्ण हुन जान्छ । मलाई लाग्छ, बालबालिका काँचो माटो हुन् र जस्तो सोच्यो त्यस्तै रूपमा ढाल्न सकिन्छ । उनलाई पनि सर्वप्रथम दरबार स्कुलमा भर्ना गराइदिएकाले कलिलो उमेरमै अंग्रेजी साहित्यको आस्वादन गर्ने वातावरण मिल्यो । यसको श्रेय पितालाई नै जान्छ । पिताको सम्बन्ध दरबारियासँग दरिलो थियो । आमा र जेठा दाजुको आग्रहमा आधुनिक शिक्षाप्रति चासो उत्पन्न भएकाले उनले पनि जोड गरेका हुँदा हुन् । यसरी देवकोटालाई काँचो उमेरबाटै अंग्रेजी मोहले पनि तानेको तान्यै लग्यो र कक्षा सातमा आइपुग्दा फाट्फुट अंग्रेजी कविताहरू लेख्न सुरु गरे । देवकोटाले तेर्ह वर्षको उमेरमा अंग्रेजी कविता सृजना गरिसकेका थिए भने बिस्तारै उनले अंग्रेजी भाषाको ज्ञान पनि हासिल गर्दै गए । १९८८ सालतिर एम.ए. गर्न उनी पटनामा पुगे । त्यसपछि त उनीमा पाश्चात्य साहित्यप्रतिको मोह झन् चुलिएर गयो ।

लेखनाथमा जसरी संस्कृतको भूत सवार भयो त्यसरी नै देवकोटामा अंग्रेजीको रुमानी शैलीको छाँया आरुढ देखिन्छ । भनौँ, उनले अंग्रेजीका व्यापक रोमान्टिक कविताहरू, कथाहरू, लेखहरू छिचोल्ने सौभाग्य प्राप्त गरे । यो सौभाग्य त उनले त्रिचन्द्र कलेजमै पाएका थिए । तर, बृहत्तर रूपमा भने पाएका थिएनन् । यसरी युरोपबाट सुरु भएको रुमानी प्रवृतिको प्रभावले कालान्तरमा देवकोटालाई स्वच्छन्दतावादी कविका रूपमा विश्वभर परिचित गरायो ।
 

सुरुताका उनले वि.सं १९९६ सालमा प्रसिद्ध तेह्र वटा अंग्रेजी निबन्ध अनुवाद गरे जसको नाम प्रसिद्द प्रबन्ध संग्रह रह्यो । उनको वि.सं. २००६ सालमा गान्धीलाई विषयवस्तु बनाएर लेखिएको अंग्रेजी कविता संगालो ‘बपु एण्ड अदर सनेट्स’ हो । उनका यी कविताहरू गान्धीको हत्यापछि तिनको सरलता र महानतालाई सम्झँदै र श्रद्दासुमन अर्पण गर्दै लेखेका थिए । 

यसरी देवकोटालाई अंग्रजी साहित्य र नेपाली साहित्यको मौलिक रसलाई आदानप्रदान गर्ने एक सेतुको रूपमा मान्न सकिन्छ । सायद त्यही भएर पो सांकृत्यान (१९५३) ले देवकोटा नेपालीका प्रसाद, पन्त र निराला तीनै हुन् भनेका हुन् कि ? जे होस् उनको अंग्रेजी मोहले गर्दा नै आजका साहित्यमा लागेका युवाहरू साहित्यको एकै खुड्किलोमा अल्मलिरहनु परेन । धन्य देवकोटा !

गीतकार अवतारमा उत्रिएका देवकोटा

सर्वविदितै छ– उनी विराट् प्रतिभा मात्र नभएर बहुआयमिक व्यक्तित्व पनि हुन् । उनी कवि, त्यसपछि क्रमशः निबन्धकार, उपन्यासकार, कथाकार, समीक्षक, अनुवादक, गीतकार आदि हुन् । कविता प्रवाहमा अब्बल देवकोटा गीत लेखनमा उतिकै पोख्त थिए । गीतको कुरा गर्दा उनका दुई गीति संग्रह प्रकाशित छन् । ती हुन्; गाइने गीत (२०२४) र लक्ष्मी गीतिसंग्रह (२०४०) उनका गीतहरूले उमेरको खुड्किलोलाई प्रभावपूर्ण कसिमा बाँधेका छन् । बाल चेतनादेखि प्रौढ चेतनासम्म सम्पृक्त उनका गीतहरूले प्रकृतिका विविध स्वरूपको चित्रण गरेका पाइन्छन् । उनका सम्पूर्ण गीत रचनाकाल वि.सं. २००० पछि देखिन्छ ।

यसरी लयको संसारमा उनको हृदय बाल्यकालबाटै मरिहत्ते गरे पनि करिबन चौँतिस वसन्त पार गर्दा मात्र उनले गीतहरू जनमानसमा आए । केही गीतहरू गायक रत्नदास प्रकाशद्वारा गाइएका छन् भने उनका केही शास्त्रीय कवितालाई गीति लयमा उतारी गाइएका छन् । उनका गीतहरू नियाल्दा घाँसदाउरा, मेलापातको दैनिकीलाई त टपक्कै टिपेका छन् नै, साथसाथै युगिन चेतना र प्रकृति प्रेम अनि राष्ट्रिय एकताको पक्षमा विगुल पनि फुकेका छन् । स्वच्छन्दतावादी प्रकृतिचेतना प्रधान पाइन्छ । नेपाली भाषाप्रतिको गहन सम्मान र प्रेम उनका गीतहरूमा पाइन्छन् । अन्याय, अत्याचार, शोषित र पीडितका पक्षमा उनका गीतहरू लयबद्ध हुन मन पराएका छन् ।

यसका अतिरक्त्त उनमा संगीतमा विशेष अभिरुचि थियो । वाल्यकालमा उनले आफ्न पिताको मुखराविन्दुबाट शास्त्रीय छन्दहरू तथा भक्तिभावका कविताहरू लय हालेर सुनेका र गाएका थिए । उनले प्रवासमा बस्दा संगीतका कक्षाहरू लिएका थिए रे । नेपाल आएर पनि उनले त्यो अभ्यास गरेको प्रसंग विभिन्न पुस्तकमा पढ्न पाइन्छ ।  

व्यक्ति एक व्यक्तित्व अनेक भएका देवकोटा

प्रसङ्ग त माथि नै आइसक्यो कि देवकोटाको व्यक्त्तित्व अचाक्ली छ । उनले युगीन मागअनुसार कल्पनाको उडान भरेको उनका सृजनामार्फत हामी मूल्याङ्कन गर्न सक्छौँ । उनमा कवितामै संवाद गर्न सक्ने क्षमता मात्र नभएर विचारपरक निबन्धका माध्यमबाट अनेकन् क्रान्ति प्रवाहित गर्न सक्ने तागत पाइन्छ । कहिले कवि त कहिले कथाकार, कहिले अनुवादक त कहिले समीक्षक, कहिले गीतकार त कहिले निबन्धकार, कहिले नाटककार त कहिले उपन्यासकार ।

यी विविध विधामा पकड राख्नु सानोतिनो तपस्याले हुने कुरा होइन । अनेक विधामा पकड राख्ने देवकोटाभित्रको विविधतापूर्ण अन्तचक्षु अनुकरणीय रहेको छ । उनी समयको मागअनुसारका विषयमाथि उतिकै चुस्तदुरुस्त बन्न मन पराउने र सैपरी सृजनाका लहरहरू उठाउने स्रष्टा हुन् । उनी लेखनमा पूर्वीय कथादेखि ग्रीसेली कथासम्म र आधुनिक सहरी तामझामदेखि लोकलयसम्म पुगेका छन् । यति मात्र होइन, उनी ब्राह्मण कुलमा जन्म लिए पनि आर्यवेत्तर समुदायको रहनसहन र संस्कृतिलाई उतारेका पाइन्छ । उनका सृजनामा प्रेमका अनेक रूपहरू प्रकट भएका छन् ।

पौराणिक वा एतिहासिक पक्षलाई जोडेर आधुनिक जनमानसका चेत खुलाउने देवकोटाका काव्यकृति नियाल्दा साँच्चै नै विलक्षण क्षमताका थिए । सांस्कृतिक चेतना तीव्रतर पार्ने देवकोटाका रचनामा नारी चिन्तन पनि उतिकै फस्टाएको पाइन्छ । यसरी देवकोटाको पचास वर्षे जीवन यात्रालाई मिहिन ढङ्गले खोतल्ने हो भने पचासभन्दा बढी विविधता भेटाउन सकिन्छ ।

उनको लेखन दश वर्षको कलिलो उमेरमै भएको यथार्थले उनी अद्वितीय क्षमता भएका विलक्षण साहित्यिक हस्ती हुन् भन्न त माथि नै सकियो । त्यसमाथि, महान् काव्य शाकुन्तल तीन महिनामा, दश दिनमा सुलोचना र एक रातमा कुञ्जिनी जस्ता असल काव्य सृजना गर्नुलाई तिलस्मी लेखन क्षमता भएका देवकोटा नभनेर के भन्ने ? यसका अतिरिक्त उनी फरक विधामा आफ्ना विचारलाई पस्केर चेतना जागृत गर्ने लेखक हुनुलाई पनि यससँग जोड्न उपयुक्त हुन्छ । यसरी विद्यार्थी कालमा प्रखर कवि हुँदै प्राध्यापक मात्र नभएर उनी नेपालकै शिक्षामन्त्री हुनु र नेपाली भाषा र संस्कृतिको सेवामा सम्पूर्ण जीवन समर्पित गर्नु चानचुने कुरो होइन । ‘पूर्वीय दर्शनको उच्च भूमि नेपाल हो’ भन्ने देवकोटा गद्य र पद्य दुबैमा पकड राख्ने कवि हुन् । नेपाली र अंग्रेजी दुबैमा कलम चलाउने लेखक हुन् । जुनसुकै अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा नेपाली संस्कृतिलाई जुरुक्कै बोकेर बडो ओजस्विलो तवरले बोल्ने अलौकिक वाक्कला भएका प्रतिनिधिसमेत हुन् । अतः यी विविध कलाले भरिपूर्ण देवकोटा व्यक्त्ति एक व्यक्तित्व अनेक हुन् ।

उपसंहार

उनका कृतिहरूको मूल्याङ्कन या समग्र उनको जीवनकाललाई फरक जोड र कोणबाट गोचर गर्दा उनी युगीन अग्रगामी चेतनाबाट प्रभावित विराट् सर्जक त हुन् नै। साथसाथै सौन्दर्य चिन्तनको मधुमय पकड, समाजवादी यथार्थवादतिरको सङ्क्रमण, विद्रोही बीजको हर्ताकर्ता, मानवता, स्वतन्त्रता र मुक्तिउन्मुख सोपान पनि हुन् । कवितामा हठात् विजीत बिम्बको प्रयोगले कवितालाई कलागत वा भावगत समष्टिको उचाइमा पुर्याउने देवकोटा युगमा विरलै जन्मिन सक्ने स्रष्टा हुन् । शास्त्रीय जगभूमिमा हुर्किएर स्वच्छन्दताबादलाई प्रश्रय दिने कवि मात्र नभएर सबै विधामा उत्तिकै पकड राख्न सक्नुका साथै देशदेशान्तर युगगुग ब्रम्हाण्ड डुलिरहन मन पराउने नेपाली माटोका अमूल्य वैभव हुन् । अस्तु !

 

सन्दर्भ सामाग्री :पाण्डे, नित्यराज, महाकवि देवकोटा, (दोस्रो संस्करण), ललितपुर: साझा प्रकाशन, २०७७ । बन्धु, चूडामणि, देवकोटा (चौथो संस्क. ) ललितपुर: साझा प्रकाशन, २०६७ ।


Author

विमल सिटौला

सिटौला त्रिवि केन्द्रीय शिक्षा विभागअन्तरगत स्‍नातकोत्‍तर तहमा अध्ययनरत छन् ।


थप समाचार
x