नेपाल-अमेरिका सम्बन्ध
नेपालको दुई फिट लामो खुकुरी, अमेरिकाको स्वतन्त्र राष्ट्रको मान्यतापत्र
अमेरिकाको भ्रमण गर्ने र वासिङ्टनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा नै पुगेर अमेरिकाका राष्ट्रपतिसँग भेट गर्ने पहिलो नेपाली प्रतिनिधि हुन्, सिंहशमशेर जबरा । उनीभन्दा पहिले कुनै पनि नेपाली प्रतिनिधिले राष्ट्रपति कार्यालयमा नै पुगेर भेटेको जानकारी छैन ।
१९४५ अक्टोबर २६ मा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस.ट्रुमेनलाई भेट्न बेलायतका लागि नेपाली राजदूत जनरल सिंहशमशेर नेपाल सरकारको विशेष प्रतिनिधिका रूपमा त्यहाँ पुगेका थिए ।
उनको साथमा लन्डन दूतावासको टोली थियो, जसमा लन्डन दूतावासका प्रथम सचिव (पछि नेपालका परराष्ट्र सचिव) नरेन्द्रमणि आचार्य दीक्षित समेत थिए ।
सिंहशमशेरले तत्कालीन अमेरिकी राष्ट्रपति ट्रुमेनसँगको भेटमा उनलाई आफ्नो तर्फबाट गैँडाको सिङ उपहारसमेत टक्र्याएका थिए । त्यस्तै ट्रुमेनले भने आफूहरूको भेटको संयुक्त तस्बिर फ्रेममा राखेर सिंह शमशेरलाई दिएको कथन ‘दी न्युज लिडर’ले ३ नोभेम्बर १९४५ मा छापेको छ ।
अमेरिकाको तर्फबाट नेपाल आउने पहिलो औपचारिक प्रतिनिधि भने भारतको दिल्लीस्थित अमेरिकी दूतावासमा चार्ज डि अफेयर्स रहेका जर्ज आर.मेरेल हुन् । उनी सन् १९४५ नोभेम्बर १६-२२ मा तत्कालीन प्रधानमन्त्री महाराज पद्मशम्सेर जबरालाई दोस्रो विश्वयुध्दमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पुर्याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको सम्मान लेजन अफ मेरिट (Legion of Merit) टक्राउन नेपाल आएको विषय स्टेट डिपार्टमेन्ट बुलेटिनमा नै छ ।
दोस्रो मण्डल नेपाली सेनाको
नेपालका वरिष्ठ कमान्डिङ जनरल बबर शमशेर जबरा नेतृत्वको प्रतिनिधि मण्डल नै अमेरिकाको औपचारिक भ्रमण गर्ने र त्यहाँका राष्ट्रपतिसँग भेट गर्ने दोस्रो नेपाली प्रतिनिधिमण्डल थियो । उक्त टोलीमा मेजर जनरल एकराज शमशेर जबरा र मेजर किरण शमशेर जबरासमेत सहभागी थिए ।
सन् १९४६ को मे महिनामा नेपालबाट सिधा बेलायतका लागि प्रस्थान गरेको उक्त टोली ८ जुनका दिनका दिन लन्डनमा सम्पन्न ‘भिक्ट्री डे परेड’मा सहभागी भएको थियो । १२ जुनमा बेलायती सम्राट् जर्ज छैटौँसँग भेट गरेपछि युरोपका अन्य मुलुक घुम्दै अमेरिका पुगेका थिए । अमेरिकी स्टेट डिपार्टमेन्टको निमन्त्रणामा बबर शमशेर नेतृत्वको सैनिक प्रतिनिधि मण्डलले नेपाली २५ जुलाई देखि १ अगस्टसम्म साताव्यापी लामो अमेरिकाको भ्रमण गरेको थियो ।
२५ जुलाईको दिउँसो न्युयोर्क उत्रिएको टोली बेलुकी ८ बजे वासिङ्टन पुगेको थियो । जहाँ उनीहरूलाई अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए भने उनीहरूको बसाइँको प्रबन्ध सोरेहाम होटेलमा गरिएकोसम्मका विषय दी इभिनिङ स्टारले २६ जुलाई १९४६ मा छापेको थियो ।
२९ जुलाईका दिन नेपाली प्रतिनिधि मण्डलको सम्मानमा अमेरिकी विदेश मन्त्री डिन एचेसनले कार्ल्टन होटेलमा दिवा भोजको आयोजना गरे । त्यहाँका कूटनीतिक वृत्तका अधिकारी, विदेश मन्त्रालय र सञ्चारकर्मीहरू सम्मिलित दिवाभोजमा विदेश मन्त्रीले नेपाली प्रतिनिधिमण्डलले परिचय गराउनुका अलावा दुवै विश्वयुध्दमा नेपालले पुर्याएको योगदानबारे चर्चा गरे ।
साथै त्यहाँ अमेरिकी कंग्रेसका विदेश मामिला समितिका सदस्यहरू र अमेरिकाको युध्द विभागका प्रमुखको समेत उपस्थित थियो । तिनका अलावा पछि त्यहाँको राष्ट्रपति भएका दोस्रो विश्वयुध्दका नायक तत्कालीन सेना प्रमुख जनरल ड्वाइट डी. आईजनआवार सँगै हवाई एवं जलसेनाका प्रमुखहरूको समेत उपस्थित रहेको दी इभिनिङ स्टारले नै ३० जुलाई १९४६ मा छापेको थियो ।
३० जुलाई १९४६ का दिन राष्ट्रपति ट्रुमेनसँगको भेटमा नेपाली प्रतिनिधि मण्डलले ट्रुमेनलाई दुई फिट लामो नेपाली खुकुरी र दुई फिट अग्लो हिन्दु देवी (सुब्रमण्या) को सुन्दर मूर्तिसमेत उपहार दिएका थिए । त्यहाँबाट बाहिरिँदै गर्दा टोली नेता बबर शमशेरले आफूहरूको सद्भावना भ्रमणमा नेपालका राजा त्रिभुवनको तर्फबाट अमेरिकाका लागि सद्भाव र मित्रताको सन्देश राष्ट्रपति ट्रुमेनलाई सुनाएको साथै आफूहरूलाई आमन्त्रण गरी आतिथ्य प्रदान गरेकामा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएको दी इन्डियन एक्स्प्रेसको २ अगस्ट १९४६ को अंकमा लेखिएको छ ।
अस्वस्थ हुँदाहुँदै राष्ट्रपति आइजनआवर राजा महेन्द्रलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए । हिजोआज संयुक्त राष्ट्रसंघको वार्षिक महाधिवेशनमा भाग लिन न्युयोर्क पुगेका नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री दम्पती हात मिलाउन र तस्बिर खिच्न जति समय लाग्छ, त्यति नै समय पाउँछन् ।
त्यस्तै अमेरिकी अधिकारीका अनुसार नेपालले मैत्री सम्बन्ध स्थापना गर्न यथाशीघ्र अमेरिकी प्रतिनिधि मण्डललाई नेपालमा स्वागत गर्न आतुर भएको सन्देश दिएको पनि उल्लेख छ । उक्त प्रतिनिधि मण्डलले अमेरिका भ्रमणका क्रममा त्यहाँको वेस्ट पोइन्टमा रहेको सैन्य तालिम केन्द्रको अवलोकनसमेत गरेको थियो । जहाँ उनीहरूलाई अमेरिकी सेनाको आधुनिक सैन्य तालिम एवं अत्याधुनिक हातहतियारहरूको अवलोकन गराई उनीहरूलाई त्यसबारे जानकारी गराइएको थियो ।
तालिम केन्द्रका सुपरिटेन्डनको उपस्थितिमा क्याम्प बंकरमा भइरहेको ‘समर क्याडेट’ तालिमको समेत अवलोकन गरेका थिए । त्यस्तै त्यहाँ नेपाली प्रतिनिधि मण्डलका सामुन्नेमा ‘फोर्थ क्लास’ परेडसम्म खेलाइएको थियो । साथै उनीहरूले अर्को ‘फोर्ट बेनिङमा’ रहेको सैन्य तालिम केन्द्रको समेत भ्रमण गरेको दि न्यूवर्ग न्युज ८ अगस्ट १९४६ मा उल्लेख छ ।
आएको अमेरिकी प्रतिनिधि मण्डल
२२ मार्च १९४७ का दिन अमेरिकी विदेश मन्त्रालयले मन्त्रालयका एक अधिकारी जोसेफ सी. साथरवेटको नेतृत्वमा एक अमेरिकी प्रतिनिधि मण्डल नेपाल पठाउने घोषणा गर्यो । राष्ट्रपति ट्रुमेनको प्रतिनिधिका रूपमा मन्त्री स्तरीय हैसियतमा नेपालसँग शान्ति तथा मैत्री सन्धि गर्न उक्त प्रतिनिधि मण्डल नेपाल पठाइएको थियो । साथरवेटले सोही ३० मार्चमा वासिङ्टनबाट बम्बई उडान भरेका थिए ।
साथरवेट नेतृत्वको प्रतिनिधि मण्डलका अन्य सदस्यहरूमा अमेरिकी दूतावास नयाँ दिल्लीका इकोनोमिक अफेयर्स काउन्सेलर स्यामुएल एच. डे, नयाँ दिल्लीका प्रमुख सार्वजनिक मामिला अधिकारीहरू क्रमशः रेमन्ड ए. हेयर र विलियम सी. जोन्स्टन जुनियर त्यस्तै नयाँ दिल्लीका सैनिक सहचारी लेफ्टिनेन्ट कर्नेल नथानियल आर.हास्कट साथै बम्बईका भाइस कन्सुलर जे. जेफर्सन जोन्स तृतीय र कराँचीका भाइस कन्सुलर चाल्र्स डब्ल्यु. बुथ थिए । वासिङ्टनबाट बम्बई हुँदै ६ अप्रिलमा दिल्ली पुगेको प्रतिनिधिमण्डल दिल्लीबाट ११ अप्रिलमा प्रस्थान गरी १३ अप्रिलमा काठमाडौँ आइपुगेको टोली २६ अप्रिलसम्म काठमाडौँमा थियो ।
२१ अप्रिलमा अमेरिकी प्रतिनिधि मण्डलका नेता साथरवेटले हनुमान ढोका दरबारको गद्दी बैठकमा राजा त्रिभुवनलाई भेटेर अमेरिकी राष्ट्रपति ट्रुमेनका तर्फबाट अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको पत्र टक्र्याए । त्यस्तै नेपालले समेत अमेरिकालाई अलग स्वतन्त्र सार्वभौमसम्पन्न राष्ट्रका रूपमा स्वीकार गरेर नै सम्बन्ध स्थापनाका लागि अमेरिकी प्रतिनिधि मण्डललाई आमन्त्रण गरेको थियो । यसरी एकले अर्काको सार्वभौमसत्तालाई स्वीकार्दा दुई अलग अलग सार्वभौम सम्पन्न राष्ट्रले समानताका आधारमा दौत्य सम्बन्ध स्थापना गर्ने आधार तयार भयो ।
एग्न्युको भ्रमणमा भियतनाममाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोध गर्दै उनलाई विमानस्थलबाहिर कालो झन्डा देखाइएको थियो ।
२४ अप्रिलमा नेपाल र अमेरिकाबीचको लामो छलफलबाट वाणिज्य तथा मैत्री सन्धिको मस्यौदा टुंगो लाग्यो । तर त्यस बेलाको हाम्रो परम्पराअनुसार सन्धिमा हस्ताक्षर गर्न साइत हेराइयो र शुभ साइतको समय जुर्यो, २५ अप्रिल १९४८ दिउँसो २ बजेर १३ मिनेटमा । यसरी पूर्वनिर्धारित शुभ साइतमा नेपालका तर्फबाट महाराजा प्रधानमन्त्री पद्म शमशेर जबरा र अमेरिकाका तर्फबाट साथरवेटले ‘वाणिज्य तथा मैत्री सन्धि’मा हस्ताक्षर गरे । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खुल्ला गर्यो ।
राजदूत खटाउने सहमति
सन् १९४७ अप्रिलमा नेपाल र अमेरिकाबीच ‘मैत्री तथा वाणिज्य’ सन्धिमा हस्ताक्षर भई सुरु भएको नेपाल अमेरिका सम्बन्धमा सन् १९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दुवैले एकअर्काको मुलुकमा मिनिस्टर तहमा राजदूत खटाउने पारिस्परिक सहमति गरे । त्यसैअनुसार नेपालले बेलायतका लागि नेपाली राजदूत रहेका कमान्डिङ जनरल केशर शमशेर जबरालाई तत्कालै अमेरिकाका लागि समेत राजदूत तोक्यो । त्यस्तै अमेरिकाले समेत छिट्टै आफ्नो प्रतिनिधि तोक्ने भयो ।
अमेरिकाको समेत जिम्मेवारी पाएका केशर शमशेर लन्डन दूतावासको युनिटसहित राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउन फेब्रुअरी दोस्रो साता अमेरिका पुगे । अमेरिकामा नेपालले आफ्नो कुनै पनि कार्यालय स्थापना नगरेकाले त्यति बेला अमेरिकाका लागि समेत लन्डनस्थित कार्यालयबाट नै हेर्ने गर्थे ।
त्यस्तै उनीहरू वासिङ्टनको वार्डेन पार्क होटेलमा बसेका थिए । १५ फेब्रुअरीमा नवनियुक्त राजदूत केशर शमशेरले तत्कालीन अमेरिकी विदेशमन्त्री जनरल मार्सलसँग भेट-वार्ता गरे । अमेरिकी सहायक विदेश मन्त्री नोरमान आर्मोरले १६ फेब्रुअरीमा नवनियुक्त राजदूत केशरको स्वागतमा ब्लेर हाउसमा दिवाभोजको कार्यक्रम आयोजना गरेर त्यहाँ रहेका अन्य कूटनैतिक नियोगका अधिकारीहरू समेतलाई निम्त्याएर उनको परिचय गराए । (इभिनिङ स्टार, १७ फेब्रुअरी १९४८)
सन् १९४८ फेब्रुअरी १९ मा उनले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस पुगेर तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमेनसमक्ष मिनिस्टर तहको राजदूतको ओहोदाको प्रमाणपत्र पेस गरे । उक्त समारोहमा एउटै व्यक्ति दुई अलग अलग महादेशमा रहेका अमेरिका र बेलायतमा राजदूत हुनु अलिक अनौठो भन्ने प्रसंगमा केशरले अमेरिका र बेलायत बृहत् रूपमा दुवै एउटै र उस्तै समानझैँ रहेको बताए । (दी इन्डियन एक्स्प्रेस, २० फेब्रुअरी १९४८)
अमेरिकाले भारतका लागि अमेरिकी राजदूत डा. हेनरी एफ. ग्रेडीलाई नेपालका लागि समेत मिनिस्टर तोक्यो । पहिलोपटक नेपालका लागि अमेरिकी राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन ग्रेडी नेपाल आए । २४ अप्रिल १९४८ को बिहान आफ्नी पत्नी र दूतावासका कर्मचारीसाथ लखनउ विमानस्थलमा उत्रिएका हेनरी त्यहाँबाट रेलमा रक्सौलसम्म पुगी सोही बेलुकी रक्सौलबाट नेपाली रेलमा नै अमलेखगन्जतर्फ प्रस्थान गरे । (दी इन्डियन एक्स्प्रेस, २५ अप्रिल १९४८) ।
३ मे १९४८ का दिनमा हनुमानढोका दरबार हलको गद्दी बैठकमा नेपालका लागि अमेरिकी मिनिस्टर डा. हेनरी एफ.ग्रेडीले नेपालका राजा त्रिभुवनसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए । त्यतिबेला काठमाडौँ प्रवेश गर्नुपूर्व कालिमाटीमा नै विदेशी राजदूतलाई १९ तोपको सलामी दिइन्थ्यो । उनीहरूलाई बग्गीमा चढाएर हनुमानढोका दरबार पुर्याइन्थ्यो । जहाँ सबै राणा भाइभारदार आ-आफ्ना शिरमा श्रीपेचसहित जंगी पोसाकमा उपस्थित हुन्थे । राजा त्रिभुवनका साथमा श्रीपेचसहित युवराज महेन्द्र त्यस्तै प्रधानमन्त्री महाराज मोहन शमशेरसमेत आफैँ उपस्थित हुने गर्थे । (मोहन शमशेरको शासन कालको संक्षिप्त विवरण २६ मार्ग २००६ प्रचार विभागद्वारा संग्रहित ।)
केही महिनामा नै नेपालका लागि मिनिस्टर तोकिएका अमेरिकी राजदूत ग्रेडीको स्पेनमा सरुवा भयो । उनको ठाउँमा लोय डब्ल्यु. हेन्डर्सन तोकिए । नवनियुक्त राजदूत लोय डब्ल्यु. हेन्डर्सनले ३ डिसेम्बर १९४८ मा तत्कालीन राजा त्रिभुवनसमक्ष हनुमान ओहोदाको प्रमाणपत्र बुझाए । राजदूत हेन्डर्सनले अमेरिकी राष्ट्रपतिका तर्फबाट त्यहाँको सर्वोच्च पदक ‘लिजन अफ मेरिट डिग्री अफ चिफ कमान्डर’ पदकले नेपालका प्रधानमन्त्री महाराज मोहन शमशेरलाई सम्मान गरे । (मोहन शमशेरको शासनकालको संक्षिप्त विवरण २६ मार्ग २००६ प्रचार विभागद्वारा संग्रहित ।)
अमेरिकी प्रतिनिधि मण्डलका नेता साथरवेटले हनुमान ढोका दरबारको गद्दी बैठकमा राजा त्रिभुवनलाई भेटेर अमेरिकी राष्ट्रपति ट्रुमेनका तर्फबाट अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको पत्र टक्र्याए ।
उता कमान्डिङ जनरल केशर शमशेरसमेत फिर्ता बोलाइएपछि उनको ठाउँमा जनरल शंकर शमशेर जबरा नियुक्त भए । २७ सेप्टेम्बर १९४९ मा शंकर शमशेरले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस पुगेर तत्कालीन राष्ट्रपति ह्यारी एस. ट्रुमेनसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए । उक्त समारोहमा राष्ट्रपति ट्रुमेनले नेपालले विश्व शान्ति स्थापना र विश्वको उन्नति–प्रगतिमा राखेको चासो र पुर्याएको योगदानबारे उनले नेपाललाई बधाइ दिए । (दी स्ट्रेट्स टाइम्स, सिंगापुर २९ सेप्टेम्बर १९४९)
सन् १९५१ अगस्टमा दुवै मुलुकले मिनिस्टर तहबाट राजदूत स्तरमा सम्बन्ध स्तरोन्नति गर्ने पारस्परिक सहमति गरे । योसँगै चेस्टर बाउल्सले सन् १९५२ फेब्रुअरी १६ मा काठमाडौँमा नेपालका लागि पहिलो अमेरिकी फुल राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए भने उता वासिङ्टनमा समेत सन् १९५३ को २४ फेब्रुअरीमा जनरल शंकर शमशेर जबराले अमेरिकाका लागि पहिलो फुल राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र बुझाए । (स्टेट डिपार्टमेन्ट बुलेटिन)
राष्ट्रपतिसँग भेट गर्ने पहिलो नेपाली विद्यार्थी
अमेरिकी राष्ट्रपतिसँग न्युयोर्कमा भेट्ने पहिलो साधारण नेपाली नागरिक भने बिन्देश्वरी मल्ल हुन् । उनले विद्यार्थीका रूपमा एउटा कार्यक्रममा त्यहाँको राष्ट्रपतिसँग भेटेकी थिइन् । सन् १९५२ मार्च १५ मा उनले न्युयोर्कमा सम्पन्न ‘न्युयोर्क हेराल्ड ट्रिब्युन फोरम’मा प्रतिनिधिका रूपमा उनी सहभागी हुँदा तत्कालीन राष्ट्रपति ह्यारी एस. ट्रुमेनसँग भेटेकी थिइन् । त्यस घटनालाई तत्कालीन समयमा त्यहाँका अखबारहरूले समाचारका रूपमा छापेका थिए । (ब्रोंक्सभिल रिपोर्टर १८ मार्च १९५२)
दुवै मुलुकमा आवासीय दूतावास
२७ अक्टोबर १९५८ मा हृषीकेश शाहले अमेरिकाका लागि पहिलो आवासीय राजदूतका रूपमा राष्ट्रपति आइजनआवरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । जनवरी १९५९ मा नेपालले वासिङ्टनमा राजदूतावास स्थापना गर्यो । त्यस्तै यता नेपालमा समेत अगस्ट १९५९ मा काठमाडौँमा अमेरिकाले आफ्नो दूतावास स्थापना गर्यो र २५ नोभेम्बरमा नेपालका लागि पहिलो अमेरिकी आवासीय राजदूतका रूपमा हेनरी स्टेबिन्सले राजा महेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए । (स्टेट डिपार्टमेन्ट बुलेटिन)
राजदूतहरूले स्वाभाविक रूपमा ओहोदाको प्रमाणपत्र बुझाउने राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्छन् नै । अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्ने राजा, प्रधानमन्त्री र मन्त्रीहरूबारे अगाडि उल्लेख गरिएको छ ।
राजा तथा प्रधानमन्त्रीहरूको भेटघाट
नेपालको शाहवंशीय राजतन्त्रको इतिहासमा पहिलो पटक सन् १९६० मा नेपालका तत्कालीन राजाको अमेरिका भ्रमण सम्पन्न भयो । राजा महेन्द्रको भ्रमण दलमा अर्थमन्त्री एवं सुवर्ण शमशेरसमेत सहभागी थिए । अमेरिकाका तत्कालीन राष्ट्रपति ड्वाइट डी. आइजनआवरको निमन्त्रणामा २७-३० अप्रिल १९६० मा राजा महेन्द्रको अमेरिकाको राजकीय भ्रमण सम्पन्न भयो । अस्वस्थताका बाबजुदसमेत राष्ट्रपति आइजनआवर राजा महेन्द्रलाई स्वागत गर्न आफैँ वासिङ्टन विमानस्थलमा पुगेका थिए ।
आइजनआवर दोस्रो विश्वयुध्दमा अमेरिकाको नेतृत्व गरी आफैँ युरोपमा खटिएका थिए । त्यस्तै युरोपमा फाँसीवादी शक्तिहरूलाई पराजित गर्नमा बेलायतका तर्फबाट लडेका गोर्खा सैनिकको भूमिका महत्वपूर्ण छ भन्नेमा उनी आफैँ जानकार त थिए नै साथै गोर्खा सैनिकको प्रशंसकसमेत थिए । त्यतिबेला शीतयुध्दले चरम रूप लिन लागेको परिस्थितिमा मस्कोले निम्त्याएका राजा महेन्द्रलाई वासिङ्टनमा निम्त्याउनमा आफ्नो प्रभाव विस्तारसमेत थियो ।
३० जुलाई १९४६ का दिन राष्ट्रपति ट्रुमेनलाई नेपाली प्रतिनिधि मण्डलले दुई फिट लामो नेपाली खुकुरी र दुई फिट अग्लो हिन्दु देवीको सुन्दर मूर्तिसमेत उपहार दिएका थिए ।
राजा महेन्द्रले २८ अप्रिलका दिन अमेरिकाको संयुक्त सदनलाई सम्बोधनसमेत गरेका थिए । उनले त्यहाँ नेपाल कसैको कित्तामा नलाग्ने र स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने उल्लेख गरेका थिए । २८ अप्रिलका दिनमा नै राजा महेन्द्र नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र आइजनआवर नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलको वार्तासमेत भएको थियो । राजा महेन्द्रले थप एक महिना लामो अमेरिकाको भ्रमणसमेत गरेका थिए । (स्टेट डिपार्टमेन्ट बुलेटिन)
सन् १९६० को सेप्टेम्बर महिनामा संयुक्त राष्ट्रसंघको पन्ध्रौँ महासभामा भाग लिन नेपालका प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा एक नेपाली प्रतिनिधि मण्डल न्युयोर्क पुगेको थियो । न्युयोर्कमा २२ सेप्टेम्बरका दिन नेपालका प्रधानमन्त्री बीपी कोइराला र अमेरिकाका राष्ट्रपति ड्वाइट डी. आइजनआवरको बीचमा भेतवार्ता सम्पन्न भएको थियो । नेपालका प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपतिलाई पहिलोपटक भेटेको त्यही घटना हो । (स्टेट डिपार्टमेन्ट बुलेटिन)
२०१७ पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको सरकारलाई सैनिक कूमार्फत अपदस्थ गरे । त्यसपछि राजाले पहिले अमेरिकी राजदूतलाई बोलाएर आफूले नेपालको परराष्ट्र नीति परिवर्तन नगरी त्यसैलाई कायम राख्दै अमेरिकासँगको सम्बन्ध उस्तै राख्ने आश्वासन दिएका थिए । पछि उनले मन्त्रिपरिषद्का उपाध्यक्ष एवं परराष्ट्रमन्त्री डा. तुलसी गिरीलाई तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीसँग भेट गर्न अमेरिका पठाएका थिए ।
सन् १९६३ मा सम्पन्न संयुक्त राष्ट्रसंघको अठारौँ महासभामा भाग लिन अमेरिका पुगेका डा. तुलसी गिरीले राष्ट्रपति केनेडीसँग भेट गरेका थिए । १८ सेप्टेम्बर १९६३ का दिन अमेरिकाका लागि नेपाली राजदूत मातृकाप्रसाद कोइरालाका साथमा जोन एफ. केनेडीलाई भेट्न ह्वाइटहाउस पुगेका थिए । (जोन एफ. केनेडी लाइब्रेरी)
सन् १९६७ मा तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डे जोन्सनको निमन्त्रणामा राजा महेन्द्रको दोस्रो पटक अमेरिकाको राजकीय भ्रमण सम्पन्न भयो । ३० अक्टोबर ९ देखि नोभेम्बर १९६७ सम्म सम्पन्न भएको भ्रमण दलमा परराष्ट्रमन्त्री कीर्तिनिधि विष्टसमेत सहभागी थिए ।
त्यस्तै पछिल्लो दुई वर्ष यता अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेका युवराज वीरेन्द्रसमेत थिए । १ नोभेम्बर १९६७ का दिन राजा महेन्द्रलाई राष्ट्रपति जोन्सनले ह्वाइटहाउसमा स्वागत गरेका थिए । त्यही भ्रमणका क्रममा राजा महेन्द्र आफ्ना छोरा युवराज वीरेन्द्रका साथ पूर्वराष्ट्रपति ड्वाइट डी. आइजनआवरसँग भेट गर्न न्युयोर्क पुगेका थिए । (अमेरिकी विदेश मन्त्रालय)
सन् १९६८ को जुनको अन्तिम साता हार्वर्डमा अध्ययनरत तत्कालीन युवराज वीरेन्द्रले अमेरिकाका लागि नेपाली राजदूत मे.ज. पद्मबहादुर खत्रीका साथमा ह्वाइटहाउस पुगेर राष्ट्रपति जोन्सनसँग भेट गरेका थिए ।
अमेरिकाका तर्फबाट हालसम्म नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ बहालवाला अधिकारी उपराष्ट्रपति हुन् । सन् १९७० को जनवरी ५-७ मा रिचार्ड निक्सन प्रशासनका उपराष्ट्रपति एग्न्यु स्पिरोले नेपालको भ्रमण गरेका थिए । उनलाई त्रिभुवन विमानस्थलमा नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्वागत गरेका थिए । एग्न्युको भ्रमण हुँदा नेपालमा भियतनाममाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोध हुँदा उनलाई विमानस्थलबाहिर कालो झन्डा देखाइएको थियो ।
सन् १९८३ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा नेपालका राजा वीरेन्द्रको अमेरिका सम्पन्न भएको थियो । रेगनको निमन्त्रणामा ५ देखि १३ डिसेम्बर १९८३ मा राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमण सम्पन्न भएको थियो । भ्रमण दलमा परराष्ट्रमन्त्री मे.ज. पदमबहादुर खत्रीसमेत सहभागी थिए । उक्त भ्रमणका क्रममा नेपालले अगाडि बढाएको शान्ति क्षेत्रको प्रस्तावलाई अमेरिकाले समर्थन गरेको थियो । त्यही नै हालसम्म नेपालका तर्फबाट राष्ट्राध्यक्ष स्तरमा भएको अन्तिम राजकीय अमेरिका भ्रमण हो ।
बहालवाला कुनै पनि अमेरिकी राष्ट्रपतिले नेपालको भ्रमण नगरेको भए पनि एकजना पूर्वराष्ट्रपतिले भने तीन-तीन पटकसम्म नेपालको भ्रमण गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरले सन् १९८५ को १०–१५ अक्टोबरमा पहिलोपटक व्यक्तिगत रूपमा नेपालको भ्रमण गरेका थिए । कार्टर दम्पती त्यतिबेला सगरमाथा बेस क्याम्पसम्म पुगेका थिए । पछि संविधानसभाका दुवै निर्वाचन सन् २००८/२०१३ मा कार्टरले नेपालको भ्रमण गरेका थिए ।
त्यस बेलाको हाम्रो परम्पराअनुसार सन्धिमा हस्ताक्षर गर्न साइत हेराइयो र शुभ साइतको समय जुर्यो, २५ अप्रिल १९४८ दिउँसो २ बजेर १३ मिनेटमा । यसरी पूर्वनिर्धारित शुभ साइतमा नेपालका तर्फबाट महाराजा प्रधानमन्त्री पद्म शमशेर जबरा ।
नेपालमा वि.सं. २०४६ सालमा सम्पन्न जनआन्दोलनका बलमा पञ्चायती शासन समाप्त भएर बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि त्यस आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले अमेरिकाको भ्रमण गरेका थिए । त्यतिबेला राज्यको कुनै पनि पदमा नरहेका सिंहलाई तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच. डब्ल्यु बुसले १८ डिसेम्बर १९९० का दिन ह्वाइटहाउसमा भेटवार्ता गरेका थिए ।
९-११ को घटनापछि अमेरिकाले आतंकवादविरुध्द सुरु गरेको लडाइँ एकातिर त्यस्तै अर्कोतिर नेपालमा समेत माओवादी हिंसा चर्कंदै गएका बेला अमेरिकाका बहालवाला विदेशमन्त्रीले नेपाल भ्रमण गरेका थिए । सन् २००२ को जनवरी १८ मा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पावलले नेपालको भ्रमण गरेका थिए ।
त्यस्तै त्यसको केही महिनापछि नै अमेरिकाले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत अमेरिकामा निम्त्याएको थियो । सन् २००२ को मे ७–९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुससँग भेटवार्ता गरेका थिए । नेपालका प्रधानमन्त्रीले ह्वाइटहाउसमा पुगेर अमेरिकी राष्ट्रपतिसँग भेट गरेको त्यो नै हालसम्मको अन्तिम भेट हो । हिजोआज संयुक्त राष्ट्रसंघको वार्षिक महाधिवेशनमा भाग लिन न्युयोर्क पुगेका नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री दम्पतीलाई अमेरिकाका राष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा निम्त्याउँछन् । त्यहाँ हात मिलाउन र तस्बिर खिच्न जति समय लाग्नुपर्ने हो, त्यो भेट त्यति समयमा भेटिन्छ ।
तस्बिरहरू : सन्ताेष खडेरीको संग्रहबाट ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया