विचार

हिन्दु समाजमा गंगा दशहरा पर्वको महत्त्व

ज्‍योतिष हरिकृष्ण भट्ट |
जेठ १८, २०७९ बुधबार १२:१० बजे

हिन्दु धर्म र संस्कृतिमा धेरै पर्वहरू मनाउने गरिन्छ । प्रत्येक पर्वको आ–आफ्नै महत्त्व छ । पर्व विशेषलाई मनाउने विशिष्ट मान्यताहरू छन् । हिन्दु धर्म र संस्कृतिको विशाल महासागरमा मनाइने पर्वहरूमा गङ्गा दशहरा अर्थात गङ्गा दशैँ पनि एक महत्वपूर्ण पर्व हो । 

गङ्गा दशहरा पर्व गङ्गा मातासित सम्बन्धित पर्व हो । यो पर्व जेष्ठ शुक्ल प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीसम्म मनाइन्छ । यो पर्व किन मनाइन्छ र कहिले मनाइन्छ भन्ने कुराको जानकारी हुनु अति आवश्यक छ । गङ्गा एउटा नदीको नाम जुन भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको गोमुख भन्ने ठाउँबाट उत्पत्ति भएर गङ्गा सागरमा विलय हुन्छ । गङ्गा नदीलाई हिन्दूहरू गङ्गा माताको नामबाट पुकार्दछन् । गङ्गा माता भगवान् विष्णुकि प्रियतमा हुन् । गङ्गा मातालाई ब्रह्माजीको श्राप परेर नदीको रूपमा यस पृथ्वीमा अवतरण हुनुभएको हो । श्राप दिनुको कारण के थियो भने कुनै दिन ब्रह्माजी देवताहरूसहित सभामा बसिरहेको बेला अचानक गङ्गा माता पनि पाल्नुभयो । उहाँले केहीबेर उभिएर सभामा नबोलीकन नियालिरहनुभयो । अचानक हावाहुरीको कारणबाट गङ्गा माताले लाएको सुन्दर स्वेत वस्त्र माथितिर गएपछि गङ्गा माता नग्नरूपमा उभिइन् । उनको यो अवस्था देखेर सबै देवताहरूले शिर निहुराए तर त्यही सभामा बसिरहेका राजर्षि महाभिष विना लाज गङ्गा मातालाई हेरिरहे । ब्रह्माजीलाई यो आचरण मन परेन र गङ्गा माता र राजर्षि महाभिष दुवैलाई मृत्युलोकमा जन्म लिनुपरोस् भनेर श्राप दिनुभयो । 


राजर्षि महाभिषको जन्म राजा प्रतीपको घरमा पुत्रको रूपमा भयो । उनको नाम शन्तनु राखियो । युवराज शन्तनु जवान भएपछि दिव्यरूपवती गङ्गासित उनको विवाह भयो । विवाह गर्दा केही सर्तहरू राखिएका थिए । सर्त के थियो भने गङ्गाबाट जन्मेका कुनैपनि पुत्रमा शन्तनुको हक अधिकार नहुने तथा यो सर्त भङ्ग भएमा विवाह पनि भङ्ग हुने कुरा उल्लेख गरिएकोथियो । यसै सिलसिलामा गङ्गाले सातवटा पुत्रलाई जन्म दिइन् र आफूखुसी मारेर नदीमा फालिन् । सर्त बमोजिम आफ्ना पुत्रहरू नास भएपनि राजा शन्तनु केही बोल्न सकेनन् । जब आठौँ पुत्रको जन्म हुँदा गङ्गा मातालाई प्रसव पीडा भयो, त्यसपछि भने महाराजले आफ्नो हृदयलाई सम्हाल्न सकेनन् र अब जन्मने पुत्रलाई मार्न पाइँदैन भनेर कठोर शब्द बोले । यही कठोर शब्दको कारण गङ्गाजीले आठौँ पुत्रलाई मार्न सक्नुभएन । आफ्नो प्रियतमाले कठोर शब्द बोली सर्त उल्लङ्घन गरेको हुनाले सम्बन्धविच्छेद गरी वालकलाई लिएर देवलोकतिर गइन् । गङ्गाबाट उत्पन्न यस पुत्रको नाम गङ्गेय अथवा गङ्गादत्त राखियो जसलाई पछि गएर भीष्म पितामहका नामले संसारले जान्ने गर्छन् । उहाँको वास्तविक नाम देवव्रत थियो । 

गङ्गा मातालाई पृथ्वीमा ल्याउनमा राजा भगीरथको ठूलो योगदान रहेको कुरा पुराणहरूमा चर्चा गरिएको छ । गङ्गाजीलाई भागरथी, भीष्मयु नामबाट पनि चिनिन्छ । राजा भगीरथले प्रयत्न गरेर ल्याएको हुनाले भागरथी र भीष्म जस्तो पुत्र जन्माएको हुनाले भीष्मयु रहन गएको हो । 

इतिहासबाट के कुरा थाहा हुन्छ भने सूर्य वंशमा राजा सगर ठूला प्रतापी चक्रवर्ती सम्राट थिए जसले एक सय अश्वमेध यज्ञ गर्ने सङ्कल्प गरेका थिए । जब उनले उनान्सय यज्ञ गरिसक्छन् र सयौँ यज्ञ गर्नको तयारी गरिरहेका थिए, त्यसैबखत श्यामकर्ण घोडा छोडे । यो कुरा स्वर्गका राजा इन्द्रलाई चित्त बुझेन किनभने राजा सगरले सयौँ यज्ञ पूरा गर्यो भने स्वर्गको राजगद्दी उनी लिन्छन् र मेरो राज्यहरण हुन्छ भन्ने डर मनमा लाग्यो । यही शङ्काले राजा इन्द्रले षडयन्त्र गरेर त्यो यज्ञको घोडालाई लगेर कपिल मुनिको आश्रममा बाँधिदिए । कपिल मुनिको आश्रममा घोडालाई बाध्ने कारण के थियो भने राजा सगरका सन्तानहरू धेरै सङ्ख्यामा थिए र उनीहरूलाई कसैले पनि जित्न सक्दैनथ्यो । कपिल मुनि त्यस समयका तेजवान् ऋषि थिए जसको तेजले मात्र सगर राजाका सन्तानहरूलाई परास्त गर्न सकिन्थ्यो । कपिल मुनिको तेजलाई कसैले पनि सहन गर्न सकेन । 

राजा सगरका साठी हजार पुत्र यज्ञको घोडालाई खोज्दै कपिल मुनिको आश्रममा आइपुगे । त्यहाँ उनीहरूले घोडालाई देखेर खुसी भए । कपिल मुनिलाई प्रणाम नगरिकन आज्ञाविना घोडा पक्रिन थाले । यसलाई कपिल मुनिले आफ्नो अनादर ठानी क्रोधमा आए । उनको क्रोधरूपि दृष्टि निक्षेपबाट सगर राजाका साठी हजार पुत्र क्षणभरमा भस्म भए । 

त्यसपछि राजा सगरका नाति अंशुमानले कपिल मुनिको धेरै सेवा गरेर खुसी पारी घोडा फिर्ता लिए । यसकारणबाट यज्ञ पूरा भयो तर साठी हजार पुत्र भस्म भएर मुक्त हुन भने सकेनन् । राजा अंशुमानले आफ्ना पूर्वजहरूको मुक्ति कसरी हुन्छ भन्ने उपाय पनि कपिल मुनिबाट पाए । कपिल मुनिले अंशुमानलाई दिएको वर के थियो भने तिम्रो तेस्रो पिँढीसम्म गङ्गाको ध्यान गरेर यस पृथ्वीमा ल्याउन सके तिम्रा पूर्वजहरू मुक्त हुनेछन् भन्ने कुरा थियो । कपिल मुनिकै आदेश बमोजिम अंशुमानले गङ्गा मातालाई पृथ्वीमा ल्याउने प्रयत्न गरे तर असफल भए । अन्तमा राजा दिलीपका पुत्र भगीरथले हिमालयको गोकर्ण तीर्थमा कठोर तपस्या गरेर ब्रह्माजीबाट गङ्गा मातालाई पृथ्वीमा ल्याउने वर पाए । यसरी वर पाएता पनि गङ्गाजीको वेग अति तीव्र र असहनीय भएको कारण यस सकसबाट मुक्ति पाउनका लागि राजा भगीरथले शिवजीको तपस्या गर्नुभयो । भगवान् शिवजी खुसी भएर भगीरथ राजालाई यो वरदान दिनुभयो कि म गङ्गाजीको वेगलाई आफ्नो जटामा राखेर कम गर्ने छु र वेग कम भएपछि पृथ्वीमा अवतरण गर्ने छु  । भगवान् शिवले यो ठूलो प्रयत्न गरेको हुनाले उनको नाम गङ्गाधर रहन गएको हो ।  

यसरी राजा भगीरथद्वारा गङ्गा मातालाई जेष्ठ शुक्ल दशमीका दिन भु–धरातलमा अवतरण गराएको हुनाले यस दिनलाई गङ्गा दशहराको नामले मनाइन्छ । विशेष गरी गङ्गा दशहरा जेष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइन्छ । यो दश दिनको अवधिमा गङ्गा स्नान गर्नाले अनन्यपुण्य प्राप्ति हुन्छ । गङ्गालाई पापनाशक नदीको रूपमा हिन्दुहरूले मान्दै आएका छन् । यतिमात्र हैन मानस खण्डमा आफ्ना देवताहरूलाई गङ्गा स्नान गराएर खुसी पार्ने परम्परा रही आएको छ ।  गङ्गा स्नान जुनसुकै समयमा गरेपनि गङ्गा दशहराको समयमा गङ्गा स्नान गर्नाले दश वटा महापापहरू नाश हुन्छन् भन्ने मान्यता रहिआएको छ । 

यी दश वटा पापहरू यस प्रकार छन्ः
१ कसैबाट कुनै वस्तु जबरजस्ती लिनु् 
२ विना आज्ञा हिंसा गर्नु ।
३ परस्त्री गमन गर्नु 
४ कठोर बचन बोल्नु 
५ असत्य बोल्नु
६ परनिन्द्रा गर्नु
७ बेमतलबमा प्रलाप गर्नु
८ अरूको सम्पति हडप्ने काम गर्नु 
९ कसैलाई हानि पुर्याउने काम गर्नु 
१० विना कारण दुराग्रह राख्नु 
गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ । यति मात्र होइन आफ्ना कुल देवता खुसी पार्न पनि गङ्गा स्नान गर्ने परम्परा रहिआएको छ ।

गङ्गाको जललाई पवित्र मान्ने विभिन्न कारणहरू छन् । आधुनिक वैज्ञानिकहरूले पनि अरू नदीको पानी भन्दा गङ्गाको जलमा विशेष किसिमको शक्ति भएको कुरा स्वीकार गरेका छन् । स्वास्थ्य विज्ञानका दृष्टिकोणबाट पनि गङ्गाको जल उपयुक्त मानिएको छ । गङ्गाको जललाई धेरै दिनसम्म राखेपनि किटाणु नपर्ने विशिष्ट गुण रहिआएको छ । त्यसैकारण हिन्दुहरू मर्ने बेलामा पनि गङ्गा जल शरीरमा छर्किने गर्दछन् जसको कारणबाट मुक्ति पाइन्छ भन्ने मान्यता रहिआएको छ । 

जीवनमा एकचोटि गङ्गा स्नान गर्नु हिन्दुहरूको अभिलाशा रहन्छ । स्वर्गमा रहेका देवताहरू र आकाशका ताराहरू समेत एकचोटि गङ्गा स्नान गर्ने चाहना राख्दछन् भने  हामी मानिसहरूले गङ्गा स्नानको चाहना राख्नु स्वभाविक हुन्छ । गङ्गा स्नान गर्नको लागि जौ, तिल, अक्षता, फूल, चन्दन, धूप, दीप, भेटीलगायतका सामाग्रीहरू आवश्यक पर्छन् । गङ्गा माताले सबैलाई सद्बुद्धि दिऊन् र सबैलाई आरोग्य बनाउन्, यही हाम्रो शुभकामना छ ।


Author

थप समाचार
x