विचार

असामान्य भइकन पनि साह्रै सामान्य ठानिएका हाम्रा दुःख कतिपय

दिपेश घिमिरे |
चैत १८, २०७७ बुधबार १३:५० बजे

भक्तपुरको कौशलटारबाट काठमाडौँँको कोटेश्वरको दूरी करिब २ किलोमिटर मात्र छ । यो करिब डेढदेखि २ मिनेटमा मोटर वा मोटरसाइकलबाट यात्रा गर्न सकिने दूरी हो । तर हरेक दिन बिहान ९ बजे कौशलटारबाट निस्किइयो भने कोटेश्वर पुग्ने कहिलेकाहीँ १० नै बज्छ । यो तहको ट्राफिक जामलाई अधिकांश चालक तथा यात्रुले सामान्य रूपमा लिइसकेका छन् । त्यही ट्राफिक जामको भिडमा कयौँ नीति निर्माताका गाडी रोकिएका देखिन्छन् । 

गाडीमा पनि खुब पढन्दास देखिने नीति निर्माताको नजरमा पनि उक्त दैनिकी सामान्य हो । कोटेश्वर चोक मात्र होइन, भर्खरै आठ लेनको बनाइएको चक्रपथसहितका हरेक चोकमा यस्तै जाम देखिन्छ । त्यत्रो ठूलो सडक बनाएर पनि जाममा कुनै कमी आएको छैन । सरकारले बाटो त बनाइदिएकै हो नि के गर्नु जाममा परिहाल्छ भन्ने धारणा सबैको छ । अर्थात् यो आधुनिक समाजको सबैभन्दा असामान्य घटनाक्रमलाई सामान्य ठान्ने नागरिक र नीति निर्माताहरूको संख्या अत्यन्तै धेरै छ । 


काठमाडौँका कतिपय बाटो कालोपत्रे भएको छैन । निर्माण गर्न भनेर ठेक्का लागेको वर्षौं बितिसक्दा पनि सडक निर्माणको काम सुरु नै नभएका कयौँ सडक छन् । यस्ता सडक धुलाम्मे र हिलाम्मे छन् । कतिपय भित्री सडक अझै धुले नै छन् । कालोपत्रे भएका सडकको हालत पनि उस्तै छन् । कालोपत्रे सडकमा धुलो र माटो धुले तथा ग्राभेल सडकमा जस्तै देखिन्छ । कालोपत्रे सडकमा भएको धुलो र माटो हामीलाई सामान्य लाग्छ । 

नगरपालिकाले पनि यसलाई सामान्य नै रूपमा लिएको छ । नागरिकको आँखामा छारो हाल्न ब्रुमर सडकमा दौडाएर आफ्नो जिम्मेवारी पूरा गरेको छु भनिरहेको छ । तर यही सडक सरसफाइ गर्न भनेर काठमाडौँ तथा ललितपुर महानगरपालिकासँग केही हजारमा सरसफाइ कर्मचारी छन् । स्थायी रूपमा नियुक्ति पाएका त्यस्ता सरसफाइ गर्ने कर्मचारी सडकमा आउँछन् वा आउँदैनन्  ? काम गर्छन् वा गर्दैनन् ? महानगरपालिका तथा नगरपालिकाहरू बेखबर नै छन् । अनुसन्धान गर्ने हो भने सडकमा धुलो नभएर कहाँ हुन्छ त भन्ने सोचिरहेका नागरिक र नीति निर्माताको संख्या उल्लेखनीय पाउन सकिन्छ । 

अर्को उदाहरण हेरौँ । काठमाडौँ उपत्यकाभित्रका अधिकांश मोटरेवल पुल भन्दा मुनिबाट पनि एक्सेस रोड निर्माण गरिएको छ । तर कुनै पनि स्थान छैन जहाँ पुलमुनिको सडकमा हिलो र धुलो नहोस् । पुलमुनिको थोरै सडक राम्रोसँग पिच नगरिदिँदा त्यसले बिस्तारै वरपरको सडक बिगार्दै लगेको छ । तर कसैले पनि त्यसलाई असामान्य अवस्थाका रूपमा लिइरहेका देखिन्न । पुलमुनि पनि थोरै लगानी गरेर सडक कालोपत्रै गरेर राम्रो सडक बनाउन सकिन्छ भन्ने सामान्य चेतना पनि नीति निर्मातामा देखिँदैन । त्यस्तो नहुनुलाई नागरिक र नीति निर्माताहरूले सामान्य रूपमा लिइरहेका छन् । 

सवारी चालक अनुमतिपत्र लिन चाहनेले आधा वर्षसम्म पनि ट्रायल दिन पाउने अवस्था छैन । आधा वर्षभन्दा बढी समयमा पनि पालो नआउनुले हामीलाई अचम्मित बनाउँदैन । जब कि संसारका धेरै देशमा आजको आजै ट्रायल दिएर स्मार्ट लाइसेन्स प्रिन्ट गरेर लिन सकिन्छ । 

काठमाडौँँ उपत्यकाको जत्तिको सार्वजनिक यातायातको अस्तव्यस्तता सायदै विश्वमा कतै होला । न गाडीमा खुट्टा राख्न पुग्ने स्थान भएको सिट छन्, न सवारी साधनमा आवश्यक सरसफाइ छ । सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको यतिबेला कुनै व्यक्तिलाई दण्ड दिनु जस्तै छ । साझा यातायातलाई अपवाद राखेर भन्ने हो भने अहिले काठमाडौँँभित्र कुद्ने हरेक सार्वजनिक यातायातले सार्वजनिक यातायात हुन आवश्यक पर्ने मापदण्ड परीक्षण गर्ने हो भने सायदै पास होलान् । तर हामीले यसलाई कहिल्यै असामान्य रूपमा लिएका छैनौं । सायद दिनदिनै त्यही देख्दादेख्दै र भोग्दाभोग्दै यसलाई सामान्य रूपमा लिइसकेका छौँ । 

ट्राफिक लाइट काम नलाग्ने छन् । यस्ता लाइट बिग्रिएको वर्षौं भइसक्यो । ती लाइट देख्दा लाग्छ, यो एकपटक कुनै महामानवले बनाइदियो, अहिले उसको मृत्यु भइसक्यो । अब फेरि त्यो लाइट पूर्ववत् अवस्थामा सुचारु गराउन कसैको केही तागतले काम गर्दैन । कसैसँग त्यो ज्ञान छैन । त्यसैले होला सकी नसकी ट्राफिक प्रहरीले हात हल्लाएरै ट्राफिक व्यवस्थापन गरिरहेका छन् । एउटा लाइटलाई राम्रोसँग व्यवस्थापन गरिदिने हो भने सहजै हुने ट्राफिक व्यवस्थापनलाई दर्जनौँ प्रहरी परिचालन गरिएको छ । एक्काइसौँ शताब्दीको यो आधुनिक युगको एक असामान्य कुरालाई हामी अत्यन्तै सामान्य रूपमा लिइरहेका छौँ । 

सवारी चालक अनुमतिपत्र लिन चाहनेले आधा वर्षसम्म पनि ट्रायल दिन पाउने अवस्था छैन । आधा वर्षभन्दा बढी समयमा पनि पालो नआउनुले हामीलाई अचम्मित बनाउँदैन । जब कि संसारका धेरै देशमा आजको आजै ट्रायल दिएर स्मार्ट लाइसेन्स प्रिन्ट गरेर लिन सकिन्छ । विश्वका कैयौँ देशमा सेवाग्राही नागरिक ड्राइभिङ लाइसेन्स लिने जस्ता केही थोरै काममा बाहेक कुनै पनि सरकारी कार्यालय जानु पर्दैन । इन्टरनेट र मोबाइल फोनबाटै अधिकांश काम सम्पन्न हुन्छ । हामीकहाँ हातैले लेखेको निवेदन लिएर नपुगेसम्म नब्बे प्रतिशत काम हुँदैन । हामी यसलाई सामान्य मानिरहेका छौँ ।   

काठमाडौँँ उपत्यकाभित्र झण्डै ४० लाखभन्दा बढी नागरिकको बसोबास रहेको छ, भनिन्छ । २०४७ सालपछि निकै ठूलो संख्यामा उपत्यकाको जनसंख्या बढ्यो । तर यस बीचमा निजामती अस्पताललाई अपवाद राखेर भन्ने हो भने एउटा पनि सरकारी अस्पताल खुलेको छैन । समाजवादलाई आफ्नो राजनीतिको अभीष्ट मान्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीले यस अवधिमा सरकार चलाए । तर एउटा पनि सरकारी अस्पताल थपेनन् । निजी क्षेत्रले स्वास्थ्यमा फड्को मार्यो । घरैपिच्छे अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र खुले । तर ती निजी क्षेत्रका अस्पतालमा नागरिकको पहुँच नै पुग्न सकेको छैन ।

पुर्याउनका लागि कुनै पहलकदमीसमेत चालिएको छैन । समाजवादी दर्शनबाट निर्देशित राजनीतिक दलहरूले निजी क्षेत्रलाई पोस्न गरिरहेका हर्कत अत्यन्तै असामान्य घटना हुन् । तर हामी यसलाई सामान्य रूपमा लिइरहेका छौँ र त समाजवादी राजनीतिक दर्र्शन बोकेको दलको सक्रिय सदस्य भएर पनि निजी अस्पतालको पक्षमा प्लाकार्ड बोकेर सडकमा आन्दोलन गर्नुमा गर्व गरिरहेका छौँ। सरकारले नागरिकको स्वास्थ्यमा गरिरहेको यो तहको लापरबाही र बेवास्तालाई सामान्य ठानिरहेका छौँ । 

अहिले विद्यालय भर्नाको समय सुरु भएको छ । साना बालबालिकाका अभिभावकलाई अहिले विद्यालय चहार्दै फुर्सद छैन । कतिपय विद्यालयले अहिले मासिक १५ हजारसम्म मासिक शुल्कमा वृद्धि गरेका छन् । अभिभावक यस असामान्य अवस्थालाई सामान्य रूपमा लिएर चुपचाप उक्त शुल्क बुझाइरहेका छन् । निजी विद्यालयको लखनौँ लुटलाई हेर्दा देशमा सरकार छ भन्ने आभाससमेत पाउन सकिन्न । अर्को कुरा यस्ता कुन विद्यालयको गुणस्तर के हो भन्ने कहीँ कतै खोजेर थाहा पाउन सकिँदैन । मोटो रकम तिरेर बालबच्चा भर्ना गरेको विद्यालयको गुणस्तरबारे पनि थाहा नपाउँदा अभिभावक चिन्तित देखिन्छन् । संसारका धेरै देशमा गुगल सर्च गरेर हरेक विद्यालयको गुणस्तर सहजै पत्ता लगाउन सकिन्छ । यो करिब करिब ३० सेकेन्डको काम हुन्छ । तर नेपालमा विद्यालयको गुणस्तरबारे थाहा पाउन आफ्नै बच्चा लगेर भर्ना नगरीकन सम्भव छैन । विद्यालयको गुणस्तर मापन गर्ने काम सरकारको हो । तर सरकार निदाइरहेको छ । घरैपिच्छे खुलेका विद्यालयको गुणस्तरको मापन नगर्नुलाई सरकारमा बसेकाहरूले सामान्य रूपमा लिइरहेका छन् । 

यी त केही उदाहरण हुन् । यस्ता हजारौँ सामान्य ठानिएका असामान्य कुरा हाम्रो वरपर छन् । जस्तैः दिनदिनै थेग्नै नसक्ने गरी मूल्य बढिरहेको छ । हिजो ४० रुपैयाँ प्रतिकेजी किनिएको गोलभेडा आज ६० रुपैयाँ पुगेको छ । बाटैभरि भट्टी पसल छन् । पूरै सहर घुम्दा एउटा पनि पुस्तकालय भेटिँदैन । नदीमा पानी नबगेर ढल बगिरहेको छ । यस्ता हजारौँ उदाहरण भेट्न सकिन्छ । यस्ता सवाललाई हामीले सामान्य रूपमा लिइरहेका छौँ ।

जबकि यी निकै असामान्य कुरा हुन् । जुन कुरालाई हामी सामान्य रूपमा लिन्छौं । त्यसको बारेमा प्रश्न गर्दैनौँ। त्यसबारे छलफल, बहस र विमर्श गर्दैनौँ । जुन कुरालाई असामान्य ठान्छौँ, त्यसको बारेमा छलफल हुने हो, प्रश्न गरिने हो, नागरिक तहमा पनि यी र यस्ता यावत् सवाललाई सामान्य ठानिदिँदा त्यसबारे प्रश्न उठ्न सकेका छैनन् । बलियो प्रश्न नउठेपछि यस्ता सवालमा सुधारको सुरुवात हुनै सक्दैन । त्यसैले हामीले दिनदिनै देखिरहेका र भोगिरहेका सामान्य जस्तो लाग्ने घटनालाई असामान्य रूपमा लिऔं । प्रश्न गरौँ । संगठित रूपमा आवाज उठाऔँ । प्रश्नविना परिवर्तन सम्भव छैन ।


Author

थप समाचार
x