रोजगारीको अवस्था र सम्भावित जोखिम क्षेत्र
रोजगारी भनेको आर्थिक गतिविधि हो । रोजगारी भन्नाले सीप र दक्षताको उपयोग गरी आफ्नो वा अरुको लागि वा बजारयोग्य वस्तु वा सेवाको उत्पादन गर्ने तथा जीवनयापनका लागि आयआर्जनका गतिविधि वा क्रियाकलापलाई बुझाउँछ । जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउने गर्छ । पारिश्रमिक तलब वा ज्यालाको रुपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर सरकारी संघसंस्था वा कुनै पनि निजी संगठन हुन सक्छ । रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ । नेपालमा जातजातिका आधारमा कामको बाँडफाँट गरिएको हुनाले उपलब्ध आन्तरिक रोजगारीका कतिपय अवसरहरूमा सामाजिक प्रतिष्ठाका कारण युवाहरूलाई आकर्षण गर्न नसकिएको देखिन्छ । देशमा आन्तरिक रोजगारीका अवसरलाई व्यवस्थापन गर्न नसकिँदा दैनिक करिब १५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । औसतमा ६० प्रतिशत भन्दा बढी घरधुरीबाट कोही न कोही वैदेशिक रोजगारीमा रहेको देखिन्छ ।
रोजगारी सम्बन्धी कानूनी व्यवस्था
नेपालको संविधान, २०७२ को धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक, रोजगारी छनौट गर्न पाउने हक, धारा ३४ ले प्रत्येक व्यक्तिलाई उचित श्रम अभ्यास गर्न पाउने हक तथा धारा ४३ ले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त तथा नीति अन्तर्गत धारा ५१ (राज्यका नीतिहरू) को (झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा बेरोजगार व्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारीको व्यवस्था गरिएको छ ।
रोजगारीको वर्तमान अवस्था
नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत । यसैगरी सहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ । बेरोजगारी दरलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २०.१ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा ७ प्रतिशत मात्र छ । नेपालको श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत छ । यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत छ । यसैगरी पुरुष र महिलाको श्रम शक्तिमा सहभागिता दर क्रमशः ५३.८ प्रतिशत र २६.३ प्रतिशत छ । प्रदेश अनुसार श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.१ प्रतिशत छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत छ ।
नेपालमा रोजगारीमा ३४.२ प्रतिशत जनसंख्या छ । रोजगारीमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम २४.१ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार ६२.२ प्रतिशत व्यक्तिहरू अनौपचारिक तथा असंगठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रुपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ ।
सन् २०२२ मा विश्वव्यापी रुपमा बेरोजगारी दर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ भने दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान छ । त्यस्तै विश्वको श्रमशक्ति सहभागिता दर ५९.३ प्रतिशत रहने छ भने दक्षिण एसियाको ४८.१ प्रतिशत रहने छ । विश्व श्रम बजारमा रोजगारीमा रहेको जनसंख्या ५५.८ प्रतिशत छ भने दक्षिण एसियाको बजारमा रोजगारीमा रहेको जनसंख्या ४५.४ प्रतिशत रहेको छ ।
रोजगारीका सम्भावित जोखिम क्षेत्र
कोभिड १९ महामारी पश्चात लकडाउनको समयमा सूचना प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकासले गर्दा आकस्मिक रुपमा बढेको अनलाइन सेवाको माग, व्यवसायिक प्रतिष्ठानहरुले ग्राहकलाई डिजिटल प्रविधिको माध्यमबाट उपलब्ध गराएको सेवा, शैक्षिक संस्थाहरूले पठन पाठनका लागि सञ्चालन गरेको अनलाइन कक्षाहरू यसका केही ज्वलन्त उदाहरणहरू हुन् । बढ्दो डिजिटल माध्यमको प्रयोगले गर्दा श्रम बजारमा एकातिर श्रमिकहरूले आफूलाई प्रविधिमैत्री बनाउनुपर्ने अवस्था छ भने अर्कोतिर कतिपय श्रमशक्ति विस्थापित हुने अवस्थामा छ ।
The Future of job Survey, 2020 का अनुसार सन् २०२५ सम्म १५ प्रतिशत कम्पनीको कार्य बल अवरोधको जोखिममा रहेको छ भने ६ प्रतिशत कामदारहरू (रोजगारी) पूर्ण रुपमा विस्थापित हुने अनुमान गरिएको छ । विभिन्न अध्ययन प्रतिवेदन अनुसार विश्व श्रम बजारमा रोजगारीमा निम्न जोखिमका सम्भावित क्षेत्रहरू औंल्याएको देखिन्छ ।
स्वचालन (Automation)
स्वचालनले मानिसको प्रत्यक्ष सहभागिता विना वा न्यून सहभागितामा प्रविधिहरूको प्रयोग द्वारा उत्पादन तथा उत्पादकत्व बढाउन, उत्पादन लागत घटाउने काम गर्दछ । जस्तैः कृषि कार्य, निर्माण कार्य, सेवा क्षेत्र, व्यापार क्षेत्र, बैकिङ्ग क्षेत्र आदि । श्रम स्वचालनले मानिसको सहभागितालाई पूर्ण रुपमा रोक लगाउँदैन । यसले प्रविधि तथा यन्त्रहरूलाई नियन्त्रित एवं निर्देशित गर्ने कामको लागि मात्र प्रयोग गरिन्छ ।
यसको परिणाम स्वरुप श्रमिकको संख्यामा उल्लेख्य वृद्धि भई बेरोजगारी दर बढ्न जान्छ । यसले रोजगारीमा रहेका ९० प्रतिशत कामदारहरूलाई बेरोजगारीको चपेटामा लिनेछ । बढ्दो स्वचालनले आन्तरिक रोजगारीमा नयाँ चुनौती खडा गरेको छ । यसले अदक्ष कामदारहरूको मागमा गिरावट तथा दक्ष र अर्ध दक्ष कामदारहरूको मागमा वृद्धिसँगै श्रम बजार ध्रुवीकरण बढ्दै गएको छ । यसबाट भ्रममूलक रोजगारीमा प्रतिकूल असर पर्नेछ भने सूचना प्रविधिको क्षेत्रमा दक्ष तथा सीप युक्त जनशक्तिको माग बढने देखिन्छ ।
कृत्रिम बौद्धिकता (Automation)
मानिसको दिमागले जस्तै सोच्न र उनीहरूको कार्यको नक्कल गर्नको लागि बनाइएको यन्त्रले मानिसको बौद्धिकता जस्ताको तस्तै देखाउन सक्ने कार्यलाई कृत्रिम बौद्धिकता भनिन्छ । यसलाई यान्त्रिक बुद्धि पनि भनिन्छ । मानवले प्रदर्शन गर्ने प्राकृतिक बुद्धिको विपरित यन्त्र वा मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । कृत्रिम बौद्धिकताबाट मानिसको बौद्धिकताको नक्कल गरि यसबाट साधारण देखि जटिल किसिमका काम धन्दा गर्न सकिन्छ ।
जस्तैः कम्युटर, ड्रोन, स्मार्ट कार, गुगल, रोबोट आदि यसका उदाहरण हुन् । यसले मानवको जीवनशैली तथा कार्य प्रणालीमा आमूल परिवर्तन गरि दिएको छ । कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले प्राय जसो उद्योग/व्यवसाय तथा काम धन्दाहरू स्वचालित बन्ने र श्रमिकको आवश्यकता नपर्ने हुन्छ । विभिन्न उद्योग व्यवसायमा यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्न थालिसकेको अवस्था छ । जसको परिणाम स्वरूप विश्व श्रम बजारमा बेरोजगारी दर बढ्न सक्ने संकेत देखिन थालेको छ । मानिसको सट्टा मेसिनको उपयोगले रोजगारीमा ठूलो समस्या ल्याउँछ । कृत्रिम बौद्धिकताले ठूलो मात्रामा बेरोजगारी बढ्न सक्ने अनुमान छ ।
कृत्रिम बौद्धिकताको विकासले अहिलेको जनशक्ति बेकामे हुन जान्छ । रोजगारी गुम्नु सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । स्वचालन तथा कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले उच्च सीपयुक्त तथा बौद्धिक श्रमयुक्त रोजगारीमा वृद्धि हुने देखिन्छ भने अदक्ष र भ्रममूलक रोजगारीमा भने अत्यन्तै ठूलो दवाव सिर्जना हुने देखिन्छ । स्वचालन तथा कृत्रिम बौद्धिकताको प्रयोगले सन् २०३० सम्म विश्वमा करिब २ करोड उत्पादन क्षेत्रको रोजगारी प्रतिस्थापन हुने सम्भावना रहेको छ ।
रिमोट वर्किङ्ग(Artificial Intelligence)
रिमोट वर्किङ्ग भन्नाले कार्यालयमा उपस्थित नभई घर वा अन्यत्र बसी प्रविधिको उपयोग गरी श्रमिकहरूले काम गर्न सक्ने अवस्था हो । दैनिक जीवनमा प्रविधिको सहज पहुँच र बढ्दो प्रयोग तथा डिजिटलाइजेशनले गर्दा व्यवसाय सञ्चालनको लागत कम गर्न, उत्पादकत्व तथा कार्यकुशलता वृद्धि गर्ने, सहज, लचिलो र स्वतन्त्र वातावरणमा काम गर्ने उपायको रुपमा रिमोट वर्किङ्गलाई लिएको पाइन्छ ।
रोजगारीको प्रकृतिको आधारमा रिमोट वर्किङ्गको अभ्यास र माग दक्ष रोजगारीका सेवा क्षेत्रहरू जस्तै बैकिङ्ग, बीमा र सूचना प्रविधिको क्षेत्रमा बढी हुने अनुमान गरिएको छ । McKinsey Global Institute को What’s next for remote work: An analysis of 2000 tasks, 800 jobs & nince countries अनुसार विश्वव्यापी रुपमा २० प्रतिशत भन्दा बढी श्रमिक मजदुरहरूले आउँदो दिनमा रिमोट वर्किङ मार्फत काम गर्ने प्रक्षेपण गरेको देखिन्छ ।
श्रमको (Labor Underutilization)
श्रमको अल्पउपयोग भन्नाले बेरोजगार ब्यक्ति, ४० घण्टाभन्दा कम समय काम गरेका वा थप समय समय काम गर्न चाहना भएका ब्यक्ति वा समयको आधारमा भएको अर्ध बेरोजगार र सम्भाव्य श्रम शक्तिलाई बुझाउँछ । यो अवस्थालाई न्यूनीकरण गर्न युवा लक्षित रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४ अनुसार नेपालको श्रमको अल्प उपयोग दर ३९.३ प्रतिशत छ ।
काम गर्न सक्ने उमेरको भए तापनि रोजगारीका अवसरहरू उपलब्ध नभएकाले वा सीमित रोजगारीको अवसरका कारण उपलब्ध श्रमशक्तिको पूर्ण रुपमा उपयोग हुन सकेको छैन । यसले एकातिर आंशिक रोजगारीको अवस्था सृजना गरेको छ भने अर्कोतिर श्रमिकहरूको जीवन निर्वाहमा कठिनाइ उत्पन्न भई रहेको छ । गरीबी निवारण र आर्थिक विकासमा उल्लेखनीय प्रगति गर्न सकिने तथ्यलाई मध्यनजर गर्दै श्रम बजारको आवश्यकता अनुरुप सीपमूलक श्रम शक्तिको विकास गर्नु आजको मुख्य आवश्यकता रहेको छ ।
निश्कर्ष
नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाख श्रमशक्ति थपिने गर्छ । श्रम बजारमा आउने युवा शक्तिको अनुपातमा स्वदेशमा रोजगारीका अवसरहरू पर्याप्त हुन नसकेको अवस्था छ । मुलुकको समृद्धिका लागि जोस, जाँगर र उत्साहले भरिएका युवाको ज्ञान, सीप र श्रम शक्तिलाई उपयोग गर्नु जरुरी छ । नेपालको श्रम बजारमा रोजगारीका अवसरहरूको सृजना तथा प्रवर्द्धन गर्नु अपरिहार्य रहेको छ । श्रम बजारमा उपलब्ध अवसरहरू अनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्नु पनि त्यत्तिकै जरुरी छ ।
संघीयताको मर्म अनुसार रोजगार व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारको साझेदारी र सहकार्य पनि उतिकै आवश्यक छ । श्रम बजारमा बढदै गइरहेको प्रविधिको प्रयोगले बेरोजगारी समस्या बढने अनुमान सहजै गर्न सकिन्छ । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने नै छ । रोजगारी सृजना कुनै एक कार्यक्रम वा तह वा क्षेत्रबाट मात्र सम्भव नहुने भएकोले विभिन्न तह, क्षेत्र र कार्यक्रमहरू बिचको समन्वयात्मक एवं सामूहिक प्रयासबाट मात्र रोजगारीका थप अवसरहरू सृजना गर्न सकिन्छ । स्थानीय अर्थतन्त्रलाई सबल बनाउन, स्थानीय तहमा लगानी आकर्षित गर्न तथा दक्ष जनशक्ति निर्माण गरी रोजगारीमा पहुँच बढाउन स्थानीय तहहरूले पनि रोजगारी सम्बन्धी आवश्यक नीति, योजना तथा कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्नु अति आवश्यक छ ।
लेखक प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया