विचार

प्रधानमन्त्रीको अफर

संजिव कार्की |
जेठ २३, २०७९ सोमबार १८:३० बजे

प्रधानमन्त्री बन्न मन नलाग्ने राजनीतिकर्मी विरलै भेटिन्छन् । हाम्रो देशको सन्दर्भमा गणेशमान सिंहको चर्चा हुन्छ । गणेशमान सिंहले इमानदारी देखाएका हुन् । आफ्नो स्वास्थ्यको जटिलताको कारण सक्दिनँ भनेका हुन् । अझ धेरैलाई थाहा नभएको र केहीलाई मात्र थाहा भएको (कांग्रेसका शीर्ष नेताहरूलाई मजाले थाहा भएको) सत्य के हो भने गणेशमानलाई दुई ब्राम्हण भट्टराई र गिरिजाप्रसादले बाहिर बसेर खुट्टा तान्छन् ।

असफल बनाइदिन्छन् भन्ने ठूलो डर थियो । जसको कारण उनले बुद्धिमतापूर्ण निर्णय गरे । स्वास्थ्य पनि ठीक नभएको र षड्यन्त्र पनि हुने आशंकाले राजा वीरेन्द्रले आफूलाई गरेको प्रधानमन्त्रीको अफर अस्वीकार गरेर नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई (२०४६) प्रधानमन्त्री बनाउन प्रस्ताव गरे । फलस्वरूप गणेशमानको नाम त्यागको उदाहरणका रूपमा लिइन्छ । संसारमा यस्ता व्यक्ति थोरै हुन्छन् । आफ्नो क्षमता, सीमा र बाध्यता अनि बाहिरी षड्यन्त्र बुझ्ने नेताले गर्ने यस्तै हो । जसको कारण पदबिना पनि सम्मान र प्रतिष्ठा उँचो हुन्छ ।


हाम्रै छिमेकी देश भारतमा पनि सोनिया गान्धीले आफ्नो जन्मस्थानलाई लिएर गरिएको राजनीतिक विरोधपछि सन् २००४ मा प्रधानमन्त्री पद मनमोहन सिंहको निम्ति दिन सहजतापूर्वक राजी भएको दृष्टान्त छ । जबकि उनले जिद्दी गरेको भए संवैधानिक छेकबार उनका लागि थिएन । तर उनले गरेको निर्णयले एउटा विशेष मानक स्थापना गर्यो । तसर्थ प्रधानमन्त्री बन्ने अवसर त्यागेर उनको कद घटेको छैन ।

पार्टी मर्ज नैतिक मान्न सकिन्छ तर गठबन्धन गरेर चुनाव लड्नु सामान्य इथिक्स पनि होइन । 

उनको पार्टी चुनावमा जय पराजयमा पर्यो होला तर व्यक्तिगत रूपमा उनलाई बेफाइदा छैन । पदको लोभले प्रतिष्ठा गुमाउनेहरू धेरै छन् तर पद नभएर प्रतिष्ठा कमाउने थोरै हुन्छन् । पद क्षणिक शोभा हो तर प्रतिष्ठा आजीवन प्राप्त हुने चिज र इतिहासमा सम्मानको मानक खडा गर्ने विषय बन्छ । चर्चामा रहेको प्रधानमन्त्रीको प्रस्ताव र अस्वीकार गरेँ भन्ने भनाइमा त्याग र निःस्वार्थ भाव छ कि स्वार्थ र षडयन्त्रको गन्ध ?

पदमा पटकपटक पुगेर पनि केही गर्न नसक्ने र पटके रेकर्ड राख्ने काम भन्दा ज्यादा केही हुन्न । आज ज-जसले प्रधानमन्त्रीको अफर आएको बताएका छन् । उनीहरू पहिले नै परीक्षित राजनीतिका चिरपरिचित खेलाडी हुन् । प्रधानमन्त्रीमा परीक्षित खेलाडी जसले कुनै विशेष उपलब्धि र सम्झना योग्य काम गरेका छैनन् भने तिनै बासी अनुहार दोहोरिएर के हुन्छ ? पाँचौँ पटक प्रधानमन्त्री बनेर शेरबहादुरले के गरे ? सातौं पटक प्रधानमन्त्री बन्दा उनको ज्योतिषीको भाउ बढ्छ जनताका लागि कुनै विशेष फलिफाप हुन्न । फलिफापको लक्षण छैन । पहिले नै यसर्थ पटके बन्नु र बनाउनु नै उपलब्धि हो भने अरु नयाँ सम्भावना र उद्देश्य बोकेका मान्छे राजनीतिमा आउनु किन पर्यो ? पटके बन्नेहरूको ध्याउन्न र अफर आएको भन्नु भित्रको राजनीति बुझ्नु जरुरी छ ।

यहाँ ज-जसले अफर आएको खुलेआम भनेका छन् । कसैले सङ्केत गरेका छन् त्यसको मतलब एक अर्कालाई दिएको काउन्टर हो । खेमा परिवर्तन गर्ने धम्की हो । ब्ल्याक मेलिङ हो । आफू बलियो बनिराख्ने उद्देश्य हो । म प्रधानमन्त्रीको रेसमा छैन भन्नुको अन्तर्य हो मलाई अफर आएको छ । मलाई र मेरो पार्टीलाई कमजोर नठान । प्रधानमन्त्रीको प्रस्ताव एकातिर गठबन्धनको सकस हो भने अर्कोतिर सामर्थ्य ।

मैले तलमाथि गरेँ तिम्रो जहाज डुब्छ भन्ने थ्रेट हो । मनोवैज्ञानिक दबाब हो । यता भएन भने त्यता आउन सक्छु भन्ने सन्देश हो । वाम एकता गर्न कांग्रेसले रोक्न सक्दैन तर वाम एकताको कार्ड कांग्रेस गाल्न र ऊसँगबाट केही झार्न प्रयोग मात्रै गर्नु राजनीतिको बिचौलिया वाद हो । राजनीति धेरै थोक हो । ‘रात पर्दा घरकीसँग, दिन परदिन अर्कीसँग’ भन्ने नेपाली उखान चरितार्थ गर्ने सबैभन्दा बढी राजनीति अवसरवाद हो ।

मौकाको खोजी हो । जता बढी मीठो मसिनो त्यतै, दौडमा लाग्ने गलत प्रवृत्ति हो । अझ पर गएर भन्दा यस्तो टाइपको राजनीति सिद्धान्त च्युत राजनीति फोहोरी धन्दा हो । यस्तै अपवित्र र अनैतिक धन्दा गरेर नेताहरूले समय बर्बाद गरेका छन् । पटक पटक प्रधानमन्त्री भएर पनि उल्लेख्य उपलब्धि दिन नसक्ने नेताहरूलाई किन चाहियो प्रधानमन्त्री ? 

थ्योरी अफ नेसेसिटी जथाभावी गर्ने लाइसेन्स होइन 

आफ्नो स्वार्थको मोलतोल मिल्नु र भागबण्डामा सहमत हुनुलाई नेताहरू आवश्यकताको सिद्धान्तको जलप लगाउँछन् । सिद्धान्तहीन सिद्धान्तलाई थ्योरी अफ नेसेसिटी भन्छन् । निश्चित नेताको स्वार्थ व्यवस्थापन बिचौलियागिरी हो । आजको भोलि दृष्टिकोण बदलिनु सिद्धान्त निष्ठाको परिचय होइन । बिहान र बेलुकी एकाएक कसैको सिद्धान्त उत्तम र खत्तम दुवै हुन सक्दैन । एकछिन अघि काटाकाट एकछिन पछि चाटाचाट राजनीतिक सिद्धान्तमा सम्भव छैन । प्रेम र घृणाका लागि निश्चित समय र परिपक्व बन्ने वातावरण चाहिन्छ ।

त्यसैले राजनीतिमा देखिने अप्रत्यासित मिलन र विछोड दुवै शुभ कारण र परिणाम बन्न असम्भव छ । यस्तो राजनीति, अस्थिर चरित्र र अनैतिक समागम हो । आफू र आफ्ना मात्रै बन्ने र देश लुट्ने प्रपञ्च हो । सुकिलो वस्त्र भिरेर पनि नग्न देखिनुको पराकाष्ठा हो । जनतालाई रैती नै देख्ने राणाकालीन आँखाको करामत हो । यहाँ प्रधानमन्त्रीको अफर सबैलाई आएको छ । जो जो सम्भावित पात्र छन् । तर जसलाई आउनुपर्ने हो जोसँग क्षमता छ, तिनलाई छैन । किनभने प्रधानमन्त्री पद पनि उमेर हदको सिन्डिकेट बनेको छ ।

जुन सिन्डिकेट निर्माण गर्न सबै पार्टीका बूढा पुस्ताका नेताहरूको अघोषित एकता छ । तन्नेरी पुस्तालाई अविश्वास गर्ने समान स्कुलिङ छ । प्रधानमन्त्री बम्पर उपहार जस्तै भएको छ । प्रधानमन्त्री बन्न संसद्मा रहेका सबै संसद् सदस्यको योग्यता पुग्छ । त्यसैले मलाई मात्र अफर आयो भन्नुको तुक देखिन्न । 

अफर कसले कसलाई गर्यो ?
अहिले आफूलाई अफर आएको घोषणा गर्ने मात्रै किन नगर्ने झलनाथ, बाबुराम, उपेन्द्र महन्थ, राजेन्द्र, केपी सबैलाई आएको हुन सक्छ । फरक त्यति मात्र हो । अफर संसद् भित्रबाट आयो कि बाहिरबाट ? अफर देश भित्रबाट आयो कि देश बाहिरबाट ? अफर साँध जोडिएका छिमेकीबाट आयो कि सातसमुद्र पार देशबाट ? यो सोचनीय र गम्भीर सवाल हो । आखिर प्रस्ताव त आयो ? आफ्नै मनबाट मात्रै कि अलग मनबाट पनि ? प्रस्ताव मनको लड्डु भएर आयो कि ? क्षतिपूर्ति लिने मानव मनोविज्ञानबाट ? पारदर्शी र जवाफदेही राजनीति गर्नेले भन्नुपर्छ मलाई फलानोले यो सर्तमा अफर गर्यो । मेरो सर्त र माग यो हो यति पूरा भए म यता जान्छु भन्न सक्नुपर्छ ।

अन्यथा सबै किसिमका शङ्का अपुष्ट कुराको आतंक फैलाउने नेताहरूमा जान्छ । फर्जी अफर कतै सुनिन्छ । कतै किर्ते भनिन्छ । कतै जालसाजी सोचिन्छ । कतै स्वार्थको लेनदेन देखिन्छ । सारतः आलोपालो बाँडीचुँडी, भागबण्डा, जसले जता गरे पनि त्यो सिद्धान्त बेचेर गरिएको क्षणिक करारनामा हो । जुन मोल बढाबढ हुनासाथ धरापमा पर्छ । यस्तो धराप २०६५ सालमा माओवादी, एमाले, मधेसवादी दल लगायत मिलेर कांग्रेसको विरुद्ध थापे जसको पहिलो सिकार गिरिजाप्रसाद बने । उनको गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुने सपना तुहियो जुन भद्र सहमतिको घोर उल्लंघनबाट भएको थियो ।

नेपाली राजनीतिमा त्यहीँबाट धोखाधडीको नयाँ परम्परा बस्यो । २०६५ मा सेनापति प्रकरणबाट प्रचण्डले राजीनामा दिएर निस्केदेखि आजपर्यन्त धोका अविश्वासको परम्परा निरन्तर छ । अनेकन् असैद्धान्तिक गठजोडका रूपमा प्रयोग भइरहेको छ । २०६६ मा प्रचण्ड सत्ताच्युत हुनेबित्तिकै कांग्रेस र एमाले लगायत अन्य पार्टी मिलेर तत्कालीन माओवादीलाई धराप थापे । धराप थाप्ने सिलसिला एमाले माओवादी मिलेर पनि गरे । यस बीचमा माधव नेपाल (२०६६), झलनाथ खनाल (२०६७), बाबुराम भट्टराई (२०६८), खिलराज रेग्मी (२०६९), सुशील कोइराला (२०७०), केपी ओली (२०७२), प्रचण्ड (२०७३), देउवा (२०७४) ओली (२०७५) र पुनः देउवा (२०७८) प्रधानमन्त्रीको कुर्सीमा बसे । यी तमाम नेताहरू आवधिक निर्वाचन र स्वाभाविक प्रक्रियाबाट बनेका निस्केका होइनन् । निर्वाचन स्वाभाविक भए पनि राजनीतिक पार्टीको सरकार बन्ने र भत्किने प्रक्रिया अस्वाभाविक थियो ।

एमाले माओवादी २०७५ मा चुनाव लड्दा मिलेर लडे र चुनावपछि पार्टी एकता गर्ने घोषणा गरे त्यो एक हदसम्म स्वाभाविक नै मानिन्छ तर स्थानीय चुनावमा कांग्रेस र माओवादीको चुनावी मेल र अहिले २०७९ को स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षीविरुद्ध सत्ता पक्षीय गठबन्धन (पाँच दलीय मोर्चा) गरेर चुनावमा प्रतिस्पर्धा गरेको दृश्य भद्दा मजाक जस्तो देखिएको छ । जसलाई कुनै पनि मानेमा प्राकृतिक मान्न सकिन्न । सरकार बनाउन गठबन्धन एक हदको संवैधानिक वाध्यतापछि सिर्जित परिस्थिति हो तर स्थानीय चुनावमा नै गठबन्धन अप्राकृतिक अनैतिक र अगतिशील अभ्यास हो । गठबन्धन भन्दा पार्टी मर्ज नैतिक मान्न सकिन्छ तर गठबन्धन गरेर चुनाव लड्नु सामान्य इथिक्स पनि होइन । 

निष्कर्ष
मूलतः निम्न कुराको स्पष्टीकरण आम चासोको विषय बनेको छ । दलहरूको सिद्धान्त के हो ? गठबन्धन के हो ? गठबन्धन गरेर चुनावमा गएपछि किन परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीको अफरको चर्चा अनेक कुना र कोणबाट चलाइयो ? अफर कसले कसलाई र किन गर्यो ? हिजोको अविश्वास एकाएक कसरी घट्यो ? ओलीलाई माधव प्रिय लाग्न किन थाल्यो ? माधव किन ओलीसँग जान लालायित छन् ? प्रचण्ड किन एमालेले हरियो झण्डा देखाएर प्रधानमन्त्री अफर गरेको भन्छन् ? या देशी विदेशी कुन शक्तिले पार्टीका नेताहरूलाई प्रधानमन्त्रीको ग्रीन सिग्नल दिए ? नेताहरू जवाफ देऊ ! प्रधानमन्त्री रुपी हरियो घाँस कसले कसलाई हाल्न खोजेको हो ? 
(अनुसन्धाता, एमफिल पिएचडी,   त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ ।)  इमेल


Author

थप समाचार
x