विश्वविद्यालय किन र के अपेक्षा गर्ने ?
शिक्षालाई बढी महत्व दिने दार्शनिक प्लेटोका अनुसार वैयक्तिक न्याय र सामूहिक न्याय दिनु उच्च शिक्षाको उद्देश्य हो । उनले न्यायलाई विस्तृत अर्थमा लिई ज्ञानको उत्कृष्टता भनेका छन् । प्लेटोका दार्शनिक शिष्य एरिस्टोटल भने गुरुभन्दा एक कदम अघि बढेर समाजलाई खुसी बनाउने ज्ञान, सीप, स्वभाव र सामथ्र्य विकास नै विश्वविद्यालयको काम (उच्च शिक्षाको उद्देश्य) हो भन्छन् ।
उनको विचारलाई आधार मानेर शिक्षाको ‘लिबरल थ्योरी’ विकास भएको छ । पूर्वीय दार्शनिक चाणक्य पनि शिक्षालाई सुख दिने ज्ञानका रुपमा लिन्छन् । उनका अनुसार सुखको मूल धर्म (आचरण) हो र धर्मको मूल चाहिँ अर्थ (उपयोगिता सिर्जना) हो । त्यसैले ज्ञान, सामथ्र्य र सुख (खुसी ?) प्राप्तिको वरिपरि शिक्षा घुम्ने गर्छ ।
आधुनिक विद्वान्हरु विश्वविद्यालयलाई ज्ञानका केन्द्र मान्छन् र विश्वविद्यालयका नेतृत्वहरु विश्वविद्यालयलाई ‘ज्ञान स्थल’ बनाउन मरिमेट्छन् । लामो समयसम्मको अनवरत धैर्य चाहिन सक्छ । स्टानफोर्ड, अक्सफोर्ड, हार्वर्ड वा प्रिन्स्टन यस अवस्थामा आइपुग्नुको पछि अनवरत प्रयाससहितको उत्कृष्टता हो ।
विद्वानहरु विश्वविद्यालय चार मूलभूत सिद्धान्तबाट निर्दिष्ट हुने मान्छन् । पहिलो, विद्यार्थीको वैयक्तिक विकास विश्वविद्यालयको प्रमुख काम हो, यसलाई ‘लिबरल थ्योरी’ भन्ने गरिन्छ । वैयक्तिक प्रज्ञा विकास गर्ने, व्यक्तिमा अन्तर्निहित सम्भावना (ज्ञान भण्डार) उजागर गरी त्यसलाई उदात्त गर्ने, लगातार ज्ञानको भोक जगाउने र वैयक्तिक उत्कृष्टतामा पुर्याउने काम यसअन्तर्गत पर्छ ।
दोस्रो, कार्य प्रवीणता दिने केन्द्रका रुपमा विश्वविद्यालय रहनुपर्छ, जसलाई प्रोफेसनल थ्योरी भनिन्छ । कोरा ज्ञानले वैयक्तिक आवश्यकता पूरा गर्न सक्दैन, व्यावसायिक प्रवीणता (भोकेसन) ले उत्पादन, उपयोगिता र आवश्यकता पूर्तिसँग व्यक्ति जोडिन्छ र त्यो शिक्षा सार्थक बन्छ । तेस्रो सिद्धान्त रिसर्च इन्जिन ‘थ्योरी’ हो, जसले ज्ञानको सिर्जना, पुनसिर्जना र परीक्षणमा जोड दिन्छ ।
विश्वविद्यालयहरु ज्ञान र सीपका कार्यशाला हुन्, त्यसको व्यावहारिक उपयोगबाट विश्वले आधुनिक अवस्था पाएको हो । विश्वविद्यालयले समाज र राष्ट्रलाई योगदान गर्ने भावना र सहभागिताको चाहना विकास गर्न सक्नुपर्छ, जसलाई सामुदायिक सहभागिता सिद्धान्त भनिन्छ । यी चार सिद्धान्तको जोड वा उपयोग स्थल विश्वविद्यालय हो । त्यसैले यो ज्ञान, सीप, स्वभाव र सामथ्र्य विकासको संगमस्थल हो । यहाँभन्दा बढी विश्वविद्यालयको काम पनि हुँदैन । यी चार सिद्धान्तको अभ्यास नगरे त्यो विश्वविद्यालय पनि हुँदैन ।
विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापि होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो ।
विश्वविद्यालयले विद्यार्थीहरुलाई भविष्यको आशा र उत्साह जगाउने काम गर्छ । त्यो आशा र उत्साहमा पुग्न सीप र सामथ्र्य दिन्छ भने सामाजिक जीवनमा उचित व्यवहार गर्ने स्वभाव पनि दिन्छ । सबैभन्दा ठूलो कुरा विश्वविद्यालयले व्यक्तिको आत्मविश्वास र आफ्नो सामथ्र्यबोध गराउँछ । ता कि व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा मूल्यवान् छ भन्ने बोध गर्न सकोस् ।
शिक्षाले सबै प्रकारको पराधीनता र दासत्वबाट मुक्ति दिलाउन सक्नुपर्छ, अधिकार, कर्तव्य र यी दुवै कुराको नागरिक जीवनमा अभ्यास गर्ने सीप दिन सक्नुपर्छ । स्वाभिमान र सशक्तीकरण शिक्षाको साध्य हो । भन्ने गरिन्छ, सयौँ मानिसको भीडमा एकजना हार्वर्ड, प्रिन्स्टन जस्ता ख्यातिप्राप्त विश्वविद्यालयबाट दीक्षित कुनै व्यक्ति छ भने उसको चेहराको चहकले नै उसलाई पहिचान गर्न सकिन्छ ।
यसो भन्नुको मतलब त्यो चहक वा शक्ति भनेको ज्ञानको सामर्थ्य हो । त्यो सामर्थ्य स्टानफोर्डले ल्यारी पेज र सर्जी ब्रिनहरुलाई दियो, हार्वर्डले मार्क जुकरबर्ग, अल गोर र बिल गेट्सहरुलाई दियो, प्रिन्स्टनले जेफ विजोस र विड्रो विल्सनहरुलाई दियो । विश्वविद्यालयहरुले त्यो सामर्थ्य र ज्ञान दिन नसक्दा कति वैज्ञानिक, विचारक र राजनेताहरु त्यत्तिकै हराएका होलान् । हामीमध्ये कतिले विश्वविद्यालयमा पढ्दा-पढ्दै पनि त्यो अवसर पाउन सकेनौं । जे जति सिक्यौ आफ्नै अथक परिश्रमले सिक्यौ । यसतर्फ कहिल्यै सोचियो र ?
विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापि होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो । त्यस्ता व्यक्तिहरु नै जीवनमा आशा देख्छन्, समाजमा सपना देख्छन् र ती आशा सापना पूरा गर्न सिर्जना गर्छन् । प्लेटो, एरिस्टोटल वा चाणक्यले भनेको न्याय, सुख र खुसी त्यही सामथ्र्यभित्र देखिन्छ । सामर्थ्यका चेहरा नै चहकयुक्त हुन्छन् । विश्वविद्यालयका दीक्षितहरु जीवनभरि आशा, उत्साह र उन्मेदमा भाइब्रेटेड हुनुपर्छ । आफैँलाई भार हुने शिक्षा दिइयो भने समय र स्रोतको बर्बादी हो ।
त्यसैले भनिरहन पर्दैन्, आधुनिक विश्वविद्यालय ज्ञान, प्रविधि र विचार उत्पादनका कार्यशाला हुन्, त्यसलाई प्रयोग गर्ने प्रयोगशाला हुन् । व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने उदारवादी (जर्मन) ढाँचा होस् वा अनुशासन र नियन्त्रणलाई जोड दिने तुलनात्मक रुपमा अनुदारवादी (फ्रेन्च) ढाँचा नै किन नहोस्, दुवैको साध्य एकै हो, जो माथि उल्लेख गरिएको शिक्षाको उद्देश्य हो । ख्याति कमाएका सबैजसो विश्वविद्यालयहरु अनुसन्धान र कार्यशालाकेन्द्रित शैक्षिक विधि अवलम्वन गरिरहेका छन् ।
प्रयोगबाट सीप उत्पादन सिकाइरहेका छन् । यसलाई पूर्णत्व दिन विश्वविद्यालयलाई कक्षा कोठाबाट समुदायसम्म पुर्याइरहेका छन् । उदाहरणका लागि जोन हप्किन्स विश्वविद्यालय अनुसन्धानमा आधारित प्रयोगमा छ । एक्काइसौँ शताव्दीमा नवउदारवादी कार्यखोजका साथ कर्पोरेट विश्वविद्यालय विकास भइरहको छ । विश्वविद्यालयलाई कक्षा कोठाबाट समुदाय र कार्यस्थलमा पुर्याइँदै छ । ता कि यस शताब्दीले सामना गर्नु परेका वैचारिक, प्राविधिक र आर्थिक चुनौतीलाई प्राज्ञिक प्रयोगबाट समाधान खोज्न सकियोस्, विश्वविद्यालयका उत्पादन पूर्ण मानिस बन्न सकून् ।
के हाम्रा विश्वविद्यालयले यसतर्फ विचरणसम्म गरेका छन् ? वा भविष्यका लागि चुनौती सामना गर्ने सीप सामथ्र्य दिने रणनीतिमा छन् ? नभएर त्यसतर्फको यात्रा कसरी तय गर्ने ? यो नै हाम्रा विश्वविद्यालयको प्रस्थानविन्दु बन्नुपर्छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापनापछि लामो समयसम्म एकल विश्वविद्यालयका रुपमा रहँदै गर्दै आए पनि मुलुकले उदारीकरणको नीति अवलम्बनपछि बहुविश्वविद्यालयको अवधारणा प्रयोगमा आएको छ । यतिखेर ११ विश्वविद्यालय र विश्वविद्यालयस्तरका ६ प्रतिष्ठान गरी १७ उच्च निकाय विश्वविद्यालय शिक्षा प्रदाताका रुपमा क्रियाशील छन् । यी निकाय मातहतमा १४३२ शैक्षिक अनुष्ठानमार्फत उच्च शिक्षा दिइए पनि त्रिभुवन विश्वविद्यालयले झण्डै ७६ प्रतिशत अंश ओगटिरहेको छ । केही विश्वविद्यालय/प्रतिष्ठान स्थापनाका क्रममा छन् भने छुट्टै प्राज्ञिक धार र गभर्नेन्स मोडेलका उच्चशिक्षा प्रदायक विश्वविद्यालय खुल्ने चर्चा पनि समय/समयमा आउने गरेको छ ।
प्रदेश सरकारहरु पनि प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्न सक्छन् । केही स्थानमा प्रादेशिक विश्वविद्यालय स्थापना हुने क्रम पनि चालु छ । के विश्वविद्यालय पनि प्रदेशस्तरीय वा स्थानीयस्तरीय हुनसक्छ ? भन्ने बौद्धिक बहस पनि चलिरहेको छ । ‘विश्वविद्यालय’ नामैलै पनि बहसलाई आधार दिएको छ ।
शैक्षिक तथा प्राज्ञिक उत्कृष्टताका लागि विश्वविद्यालयहरु आवश्यक छन् । संख्या वा स्थानका विषयमा विवाद गर्नु आवश्यक होइन । एउटा मुलुकका लागि कतिवटा ज्ञान केन्द्र चाहिन्छ भन्ने प्रश्न गौण हो, तर त्यो वास्तवमै स्थापनाको उद्देश्य पूरा गर्नसक्छ कि सक्दैन भन्ने विषय चाहिँ अहम् हुने गर्छ । यदि उद्देश्यमा पूर्ण हुनसक्छ भने नेपाल पूरैलाई ज्ञानस्थल (नलेज हव) बनाउँदा मुलुकको छवि मात्र उचो हुने होइन, विकास, समृद्धि र नवप्रवर्तनमा नै यो सुन्दर मुलुकको स्तर उच्च हुनपुग्छ ।
विश्वविद्यालय स्थापनाका लागि खास आधार, जस्तो कि राष्ट्रिय एवम् भौगोलिक आवश्यकता, विषयधारको सम्भावना, सञ्चालनको सामथ्र्य, उत्पादित जनशक्तिको उपयोग र विशिष्टीकृत पक्ष हुन सक्छन् । तर विश्वविद्यालय स्थापना लहड वा चाहनाको विषय होइन, त्यो राष्ट्रिय विकासको अभिन्न भाग हुनुपर्छ । साथै अन्तर्राष्ट्रिय प्रवृत्तिको लहरलाई बेवास्ता गरेर विश्वविद्यालय वा अन्य उच्चशिक्षा प्रदायक निकाय स्थापना हुन सक्दैनन् ।
विशिष्टीकृत उद्देश्यका विश्वविद्यालय आफ्नो विशिष्ट उद्देश्यपूर्तिका मौलिक, प्राविधिक र अनुसन्धात्मक दायित्वबाट विषयान्तर हुनुहुँदैन । यदि त्यसो हो भने विशिष्टीकृत विश्वविद्यालयको औचित्य कत्ति पनि पुष्टि हुँदैन । विश्वविद्यालय स्थापना गर्ने तर प्राज्ञिक कुशलता यो वा त्यो बहानामा देखाउन नसक्ने अवस्था रहिरहेमा पनि त्यो वास्तविक विश्वविद्यालय बन्दैन र स्थापनाको औचित्य पुष्टि हुँदैन, संस्था बन्दैन ।
उच्च शिक्षा प्रदायकको कार्यक्रम स्वीकृति गर्दा यससम्बन्धी नीति, कार्यक्रम र बजेट व्यवस्था गर्दा शिक्षाको राष्ट्रिय उद्देश्य, व्यक्तिको सम्भावना विकास, राष्ट्रिय अर्थतन्त्रको माग र जनशक्तिको प्रवृत्तिलाई केन्द्रविन्दुमा राखिनुपर्छ । विश्वविद्यालय स्थापनाको अभ्यास गर्दा कुनै व्यक्तिको चेहरा अघिल्तिर ल्याइनु हुँदैन ।
प्राज्ञिक नेतृत्वको सामथ्र्यले नै विश्वविद्यालयलाई ज्ञानस्थल बनाउने सामर्थ्य राख्छ । विश्वविद्यालय प्राज्ञिक संस्था बनेर त्यस विषय क्षेत्रको वैश्विक ज्ञान (युनिर्भसल नलेज) दिन सक्नुपर्छ । अन्यथा आफैँ रुग्ण संस्था बनेका शैक्षिक अनुष्ठानले विद्यार्थीको भविष्य र स्रोत साधनमाथि खेलबाड गर्छ र मुलुकको भविष्य बर्बाद पार्छ ।
कुनै प्रतिष्ठित व्यक्तिका नाममा निकाय स्थापना गर्न सजिलो छ, तर स्थापनापछि त्यसले समाज, राष्ट्र र व्यक्तिको अपेक्षा पूरा नगरी संस्था रुग्ण बन्ने अवस्था आएमा नामित व्यक्ति र समाजमाथि ठूलो अन्याय हुनपुग्छ । त्यसैले विश्वविद्यालयको आधार राजनीतिक एवम् प्रशासनिक होइन, प्राविधिक र प्राज्ञिक हुनुपर्छ ।
(लेखक नेपाल सरकारका सचिव हुन् ।)
Email : [email protected]
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया