विचार

राजनीतिमा उमेरको हदबन्दी ? याेगेश भट्टराईलाई जवाफ

राजाराम बर्ताैला |
जेठ २९, २०७९ आइतबार १६:२२ बजे

राजनीतिमा उमेरको हदबन्दी लगाउन पर्‍यो भन्ने माग नेकपा (एमाले) का नेता योगेश भट्टराईले जोडदार रूपमा उठाउनुभएको छ । नेकपा (एमाले) भित्र यस किसिमको माग उठाइएको यो पहिलो अवसर भने होइन । यसपूर्व पनि यस किसिमको माग राजनीतिक मौसम हेरेर बेलाबेलामा उठाइने गरेको देखिन्छ । 

यसरी उमेर हदबन्दीको माग गर्नेहरूले निजामती प्रशासन, न्याय प्रशासन लगायत सैनिक, प्रहरी र न्यायालय तथा संवैधानिक आयोगहरूको समेत दृष्टान्त दिएर ती सबै सेवामा नियुक्त राष्ट्रसेवकहरू उमेरको एउटा निश्चित समयमा अवकास हुनुपर्ने व्यवस्था भएकाले राजनीतिमा लागेकाहरू पनि कुनै खास उमेर पुगेपछि निवृत्त हुनुपर्दछ भनेर तर्क गर्दछन् । साथै उमेरको कारणले शारीरिक तथा मानसिक अवस्थामा आउन सक्ने परिवर्तन वा शिथिलतालाई पनि अपरोक्षरूपमा दर्शाइरहेका देखिन्छन् । उनीहरू प्रश्न गर्दछन् कि सबै राष्ट्रसेवकहरू कुनै एउटा निश्चित उमेरमा सेवाबाट अवकास हुँदा राजनीति गर्नेहरू चाहिँ अवकास हुनु नपर्ने ? 


राजनीतिमा उमेरको हद हुनुपर्दछ भन्ने विषयमा विश्वास गर्नेहरू उमेरको हद नहुँदा राज्यले नागरिकहरूबीच फरक व्यवहार गरेको जस्तो देखियो भन्दछन् । यसरी हेर्दा हो कि भन्ने जस्तो पनि देखिन्छ, किनभने राजकीय सेवाहरूमा अवकासका लागि निजामती सेवामा ५८, शिक्षा सेवामा ६० र सर्वाेच्चका न्यायाधीशलाई ६५ गरी फरकफरक उमेरको हद तोकिएका छन् । यस किसिमको फरकफरक व्यवस्था स्वयंमा राजकीय विभेद होइन भन्ने आधार देखिँदैन । तर राजनीतिमा यसअघि कहिल्यै पनि र जानकारीमा भएसम्म कहीँ पनि उमेरको हद व्यवस्था गरेको देखिएको भने छैन । 

राजनीतिमा उमेरको हद आवश्यक छ भनेर तर्क गर्नेहरू भन्दछन् कि, राजनीति गर्ने व्यक्तिहरू नै कुनै कालखण्डमा राजकीय शक्तिको उच्च पदहरूमा पुगेर नीति निर्माण गर्ने काममा लाग्नुपर्ने भएको हुँदा विशेष दक्षता माग गर्दछ । अतः पेसाविद् तथा राष्ट्रसेवकझैं उमेरको निश्चित हद पुगेपछि कार्यक्षमतामा ह्रास आउने हुँदा राजनीतिबाट अवकास लिइनु पर्दछ । 

कुनै विषयवस्तु विनाप्रयोजन र अकारण उठिरहेका हुँदैनन् । तिनीहरूलाई कि त विशेष स्वार्थवश उठाइएका हुन्छन् कि त जनसरोकारका आवाजहरूलाई स्थान दिइएका हुन्छन् । नेकपा एमालेजनभित्र देखिने यस किसिमको दृश्य कहिले खास उद्देश्य प्राप्तिका लागि प्रायोजित हुने गर्दछन् भने कहिले नेतृत्वमा पुग्न शीर्ष नेताहरूको ध्यान आकृष्ट गर्दै आफ्नो लोकप्रियता वृद्धिको आकांक्षाले हुने गरेका देखिन्छन् । यस पटकको हुँकार भने युवा नेताको नेतृत्वमा पुग्न हतारो र चटारो गरेको अनुभूति हुन्छ । 

कुनै एउटा तोकिएको उमेर पुगेपछि आफूभन्दा अघिल्लो अग्रज पुस्ताले राजनीतिक उचाइ लिएको व्यक्ति नेतृत्व तहबाट स्वतः हट्नेबित्तिकै निकटको दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ भन्ने आत्मश्लाघाले प्रेरित अभिव्यक्ति हो भनेर मान्ने हो भने पनि विश्वका अरु मुलुकहरूमा देखिएको अवस्थाले त्यो कुरो प्रमाणित गर्दैन । तर युवा पुस्ताका भन्नेहरूबाट बारम्बार आइरहेको यस किसिमको अभिव्यक्तिले यो पुस्ता नेतृत्वमा पुग्न हतार गरिरहेको देखिन्छ एकातिर भने कार्यसम्पादन र लोकप्रियताको मापदण्डको कसीमा भने उचाइ प्राप्त गरिसकेको देखिँदैन । राजनीतिक ध्येय राखिनु आफ्नो स्थानमा ठीकै मान्न सकिएला तर ‘ढिलो गए अवश्य पुगिन्छ, हतारो गरे भन्न सकिन्न’ भन्ने उखान जस्तो नहोस् भन्नेसम्म मात्रै मनशाय हो हाम्रो । 

उमेरको हदबन्दीको यो बहसलाई सैद्धान्तिक पाटोबाट पनि हेर्नुपर्ने र यसका खास केही महत्वपूर्ण सवालहरूको उत्तर पनि खोजिनु आवश्यक देखिन्छ । मूलभूतरूपमा राजनीतिमा उमेरको हदबन्दी आवश्यक हो या होइन भन्दा पनि जायज हो या होइन ? राजनीति भनेको अरु सार्वजनिक सेवाका लागि आवश्यक पर्ने मेरिट बेस्ड शैक्षिक मापदण्ड, तालिमलगायतको विशेष दक्षता वा सीप आवश्यक पर्ने पेसा जस्तो विशिष्टीकृत सेवा हो या होइन ? सार्वभौम राजकीय शक्तिको उपयोग राजकीय विषय हो या प्रशासकीय ? विश्वका अन्य मुलुकहरूमा के कस्तो व्यवस्था वा अभ्यास छ ? यस किसिमको नियन्त्रणात्मक व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामा आघात पार्दछ कि पार्दैन ? नेतृत्व विकासमा उमेरको हदबन्दी सहायक हुन्छ या बाधक ? यी प्रश्नहरूको वैधानिक उत्तरको अपेक्षा राखिनु उचित नै होला भन्ने लाग्दछ । 

विश्वका प्रतिष्ठित मुलुकहरूमा हाल सत्तामा रहेका राजनेताहरूको उमेरको तुलनात्मक अध्ययन गर्दा प्रायः नेताहरू ७० को हाराहारी र प्रायः ७० कटेका देखिन्छन्। युवा नेताहरू पनि अवश्य नै छन् तर जेष्ठ नागरिकहरू शीर्ष तहमा बसेर राजकीय शक्तिको सफलतम प्रयोग गरिरहेका प्रशस्त उदाहरण रहेका छन् । 

बेलायतकी महारानी ९६ वर्ष भइन् र अझै शासन सत्ता उनीपछिको उत्तराधिकारी ७३ वर्षीय प्रिन्स चाल्र्सलाई दिने सुरसारै छैन । जनतावाट निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन ७९ वर्षका भए र विश्वको शक्तिशाली राष्ट्रको नेतृत्व सफलतापूर्वक सम्हालिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७१ वर्षका भए ।

रुसका राष्ट्रपति पुटिन ७० वर्ष, चीनका राष्ट्रपति ६८ वर्षका भए । त्यसै गरी ७५ वर्षका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री भएर शासन चलाइरहेका छन् । 

७० वर्षको उमेरमा निर्वाचन जितेर राष्ट्रपति भएका थिए रोनाल्ड रेगन र दुई कार्यकाल राष्ट्रपति भए । चियरमेन माओ ८२ वर्षको उमेरसम्म सत्ता सञ्चालन गरे । हालसालैको कुरा हो राजनीतिक तथा आर्थिकरूपमा खस्कँदै गएको मुलुकको अवस्था सुधार्छु भनेर ९५ वर्षको उमेरमा पनि मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद पुनः प्रधानमन्त्री भएर मुलुकको अवस्थामा सहजीकरण गरेका थिए । अतः उमेरै मात्र कारण होइन भन्ने देखिन आउँछ । 

उमेर मात्र कारण हुने थियो भने बेलायतको महारानी, महाथिर मोहम्मद जस्ता राजनेताहरूले नातिनातिना, पनाति, पनातिनी खेलाएर बस्नुपर्ने थियो । राजनीतिमा स्वेच्छाले शासन छोड्ने वा अरुका लागि बाटो छोडिदिने भन्ने हुँदैन । अधिनायकवादी संरक्षणवादमा त यति सहज हुँदैन भने लोकतान्त्रिक व्यवस्था जहाँ जनमत शासनको आधार हुन्छ, त्यहाँ उमेरको कारणले राजनीति त्याग त्यति सहज नहोला । जहाँसम्म व्यक्तिमा राजनीतिक एजेन्डा छ, त्यस एजेन्डालाई समर्थन गर्नेहरू छन्, नेतृत्व गर्नेसँग दूरदृष्टि, सोच र त्यो सोचलाई वास्तविकतामा परिवर्तन गर्न चाहिने आवश्यक स्रोत र ऊर्जा रहन्छ तबसम्म व्यक्ति वृद्ध भएको मानिँदैन । राजनीतिक रूपमा ऊ ऊर्जावान, सक्रिय र समर्थवान् नेता हो । उसको यही दक्षता नै राजनीतिक योग्यता हो । समाजको पहिचान गर्ने, समाजको आवश्यकता पहिचान गर्ने र समाज परिवर्तनका लागि नेतृत्व गर्ने नेतामा हुनुपर्ने आवश्यक गुण हो । 

जसरी राजनीतिलाई हामी सामाजिक एजेन्डा, राजनीतिक सोच र परिवर्तनको वहक मान्दछौं त्यसै गरी त्यो सामाजिक र राजनीतिक एजेन्डाको लागि आवश्यक जनसमर्थनका लागि हुने प्रतिस्पर्धामा विजय हुनु वा आफ्नो एजेन्डामाथि जनसमर्थन प्राप्त गर्नु पनि हो । अतः राजनीतिक प्रतिस्पर्धामा नातिले पनि हजुरबाउसँग भिड्नुपर्दछ र जनसमर्थन प्राप्त गर्नु पर्दछ । युवा नेतृत्व, परिवर्तन भनेर मात्र पनि पुग्दैन । 

जनअनुमोदित सामाजिक एजेन्डालाई राजनीतिकरूपमा दिशानिर्देश र नेतृत्व दिने काम नेताको हो भने त्यसका लागि आवश्यक पर्ने नीति, नियम र कार्यक्रम बनाई त्यसलाई लागू गर्ने काम विधि या प्रक्रिया सम्बन्धमा विशिष्ट योग्यता तथा तालिम प्राप्त दक्ष विज्ञ टेक्नोक्र्याट वा प्रशासकहरू हो । अतः नेतामा सर्वगुण सम्पन्न खोजिनु उचित होइन । 
 

राजनीतिकरूपमा उच्च तहमा पुगेका नेताहरू सबै प्राज्ञिक हुँदैनन् । सार्वभौम जनताका प्रतिनिधि उनीहरूले आफ्नो देशकाल परिस्थिति र अवस्थाबमोजिम आफ्नो प्रतिनिधित्व हुने गरी निर्वाचित गर्ने हुँदा सार्वभौम संसद्ले औंठाछापलाई पनि प्रधानमन्त्री बनाउन सक्छ । राजनीतिक नेतृत्वले सार्वभौम जनमतको आकांक्षा प्रतिविम्बित नीतिको लागि नेतृत्व दिने हो त्यसको प्रशासनिक चाँजोपाँजो मिलाउने काम प्रशासनिक निकायहरूको भएको हुँदा विशिष्टीकृत संस्था आवश्यक परेको हो । अतः नीतिगत निर्देशन र राजनीतिक निर्णयका लागि उमेर बाधक नहुने मानिन्छ । 

हाम्रो आफ्नै राजनीतिक पृष्ठभूमि हेर्दा पनि एउटा तस्बीर देखिन्छ । जस्तो कि २०४७ को जनआन्दोलनले ल्याएको परिवर्तनमा राजनीतिक दलको नेतृत्व गर्ने वा सरकारको नेतृत्व गर्न चाहनेका लागि उमेरको हदबन्दी लगाएको भए कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी कोही पनि प्रधानमन्त्री हुन पाउने थिएनन् । यी नेताहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारी, केपी ओली कोही पनि विश्वविद्यालयवाट डिग्री लिएका व्यक्ति पनि होइनन् । फेरि दलको शीर्ष नेता हुँदा वा प्रधानमन्त्री बन्दा सबैको उमेर सत्तरी नाघेका थिए र पनि मुलुकको शासन प्रशासनमा छाप छोडेर नै गएका छन् । अतः उमेर नै पहिलो र प्रमुख कारण होइन रहेछ भन्ने बुझिन्छ । 

शीर्ष नेतृत्वमा आएर मुलुक हाँक्छु भन्ने युवाहरू प्रतिस्पर्धामा डराउनु हुँदैन । प्रतिस्पर्धाबाट नै ४६ वर्षको उमेरमा बिल क्लिन्टन र ५४ वर्षको उमेर जर्ज बुस अमेरिकाको राष्ट्रपति भएका थिए । ४३ वर्षको उमेरमा टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएका थिए । त्यसै गरी हाल न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आरडेन ४१ वर्षकी मात्र छिन् । संसारमा उमेरमा सबैभन्दा कान्छी प्रधानमन्त्री फिनल्यान्डकी सान्ना मारिन हुन् । २०१९ मा निर्वाचनमा विजय भएर प्रधानमन्त्री हुँदा उनको उमेर ३४ वर्षको मात्र थियो । अतः राजनीतिमा अरु कसैले बाटो छोडिदिने होइन बरु आफैँले आफ्नो प्रतिस्पर्धी क्षमता विकास गर्दै उचाइ प्राप्त गर्ने हो । 
राजनीतिमा सबैभन्दा उम्दा गुण भनेको प्रतिस्पर्धामा उत्तीर्ण हुनु हो । राजनीतिमा लागेको एउटा युवकले हरपल आफूसँग, विपक्षीसँग, विरोधीसँग र प्रतिद्वन्द्वीसँग प्रतिरक्षा र प्रतिस्पर्धा गरिरहेको हुनुपर्दछ । त्यस्तो प्रतिस्पर्धामा आफू र आफ्नो पक्षलाई सधैँ अग्रगमनतर्फ लग्न सफल भइरहन पर्दछ यदि राजकीय शक्ति र शासनमा आफूलाई स्थापित गर्न चाहने हो भने । शासकीय डबलीमा कसैले पनि सहज र सरल तरिकाले किस्तीमा राखेर शासन र शक्ति प्रदान गर्दैन । सत्ता र शक्ति भनेको आर्जन गरेर लिन जान्नु पर्दछ । 

अधिनायकवादी चरित्र भएका शासकीय व्यवस्थामा मात्र संरक्षणवाद हाबी हुने हो । लोकतान्त्रिक व्यवस्थामा प्रतिस्पर्धामा आफूलाई अरुभन्दा श्रेष्ठ प्रमाणित गरेर मात्र उम्मिद गरेको स्थानमा पाइला टेक्न सकिन्छ । 

अन्तमा, तर सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नियन्त्रणात्मक व्यवस्था लोकतन्त्रको चरित्र होइन । राजनीतिमा उमेरको हद एउटा नियन्त्रणात्मक प्रयास हो । नियन्त्रणत्मक व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामाथि आघात पर्ने भएको हुँदा सामान्य लोकतान्त्रिक विधि भन्दा फरक विषय हुँदा यस किसिमको अभ्यासलाई प्राथमिकता दिइनु उचित होइन । लोकतन्त्रको मूलभूत मान्यता भनेको सबै नागरिकमा समान अवर पनि हो । उमेरको हदबन्दी लगाउने हो भने समान अवसरको अवस्था नरहने समेत देखिन्छ ।  


Author

थप समाचार
x