विचार

सद्‌भाव भड्किन्छ, व्यापार खस्किन्छ भनेर दुर्व्यवहार सहने ?

दीपेन्द्रकुमार बीसी |
जेठ ३०, २०७९ सोमबार १७:२० बजे

अन्जान व्यक्तिहरू अन्जानमा छोइएनन् भने, मान्छेका कुमहरू एकअर्कासँग ठोकिएनन् भने, उनीहरूका हातगोडा चलेनन् भने भीड हुन सक्छ त ? कुनै सिनेमाको भीड होस् या जेब्रा क्रसबाट बाटो काटिरहेको भीड । 

कुनै कलेज, इन्स्टिच्युट होस् या गाडीमा प्रवेश गर्दा र निस्किँदा हुने भीड । कुनै विवाहको भोज–भतेरमा हुने भीड होस् या जात्रा महोत्सवमा हुने भीड । कुनै पार्टीको चुनावी आमसभामा हुने भीड होस् या कुनै आन्दोलनमा हुने भीड । 


कुनै बसपार्कमा हुने भीड होस् या पासपोर्ट बनाउन राहदानी विभागमा लागेको भीड । त्यहाँ अधिक मान्छेहरू एकाअर्कामा ठोकिएकै हुन्छन् । अधिकका हातहरू एकअर्काको शरीरमा छोइएकै हुन्छन् । कतिपयका खुट्टा टेकिएका हुन्छन् । कतिपयका जुता फुत्किएका हुन्छन् । जुत्ता फुत्किँदा कतिपयको मुखबाट गाली पनि फुत्किन्छ । 

सरी ! सरी ! भन्दै केहीले माफी पनि मागिरहेका हुन्छन् । कोहीले लफडा गर्छन् । कोहीले माफी माग्छन् । कोही लक्ष्यतर्फ लम्किन्छन् । कतिपय भीडमा नयाँ मान्छेसँग ठोक्किँदा परिचय हुन्छ, मित्रता कायम हुन्छ । तर, त्यही भीडमा ठोकिएर कोही जानीजानी फाइदा उठाउँछन् । निहुँ खोज्छन् । गरगहना चोर्छन् । जिस्काउँछन् । यौन दुर्व्यवहारसम्म गर्न भ्याउँछन् । 

केही समयअघि दुर्व्यवहारको यस्तै एउटा घटना बाहिरियो । अन्ततः फुर्वा र मिरुनाले एकाअर्कासँग माफी मागेर सम्झौता भयो । 

भीडमा नियतवश गोप्य अंग छुने, चिमोट्ने, जिस्काउने जस्ता गलत हर्कतबाट मिरुना मात्रै नभएर थुप्रै नेपाली महिला पीडित छन् । प्रतिक्रिया जनाउने उनी थिइन् । पीडित नभएको भए प्रतिक्रिया किन जनाउँथिन् होला र ? 

यौन दुर्व्यवहार भनिसकेपछि सम्झौता गर्न किन पुगिन् ? कानुनी लडाइँ लड्नुपर्ने होइन र ? कसैले आफ्नो जात र धर्म, लिंग र सम्प्रदायको धाकधम्की देखाएर दुर्व्यवहार छोप्न सक्छ ? अनि दुर्व्यवहारको आवाज उठाउँदा सामाजिक सद्भाव भड्किन्छ वा व्यापार खस्किन्छ भने चुप बस्ने ? 

जन्म दिने बुबाले नै छोरीमाथि बलात्कार गरेका घटना छन् । तर, के भाइ नाता बनाउनासाथ दुर्व्यवहार नहुने हुन्छ र ? नायिकाको विरोध गर्नेहरूले भिक्षुको पहिरन लगाएका व्यक्तिले दुर्व्यवहार गर्न सक्दैन भनिरहेका छन्, कसरी भन्न सकेका होलान् ? 

के अपराध गर्नेको छुट्टै पहिरन हुन्छ र ?  छुट्टै जात हुन्छ र ? किन जातका नाममा विरोध र समर्थन गरियो ? किन जातका आधारमा दोषी र निर्दोषी घोषणा गर्न थालियो? 

काठमाडौँ जस्तो ठूलो सहरमा गुड्ने सार्वजनिक गाडीमा जानीजानी महिलाको शरीरमा छुन खोज्नेहरू यत्रतत्र छन् । हिँड्ने गोरेटोमा कोही नठोकिऊन्, नछोइऊन्, भन्दाभन्दै कैयौँ ठोकिन्छन्, कैयौँ छोइन्छ्न । तर, अत्तोपत्तो हुँदैन । भीडमा कसैलाई छुनु छैन तर पनि छुन पग्छन् कैयौँ महिला र पुरुषका हात, कुम अनि खुट्टाहरू । 
मान्छे भीडबाटै प्रतिस्पर्धा गर्दै सफलताको गन्तव्यमा पुग्छ ।

ज्ञान लिन कहिले कलेजको भीडमा पुग्छ कहिले मनोरञ्जन लिन सिनेमा घरको भीडमा पुग्छ । कहिले देश बनाउने अभिप्रायले आमसभामा पुग्छ । कहिले पीडितहरूको न्यायका निम्ति आन्दोलनको मोर्चामा पुग्छ । म आफूलाई सचेत र जतन गर्ने नै छु । तपाईंहरूले पनि आफूलाई सचेत र जतन गर्नुहोला । किनकि, भीडमा कोही उद्देश्य चुम्नका लागि लम्किँदा अन्जानमै ठोकिएका हुन्छन् त कोही नियत नै राखेर जानीजानी ठोकिन्छन् ।

अन्जानमा ठोकिएकाहरूले माफी मागेका हुन्छन्, माफी दिनुहोस् । उनीहरूलाई कसैलाई छुनु छैन, केवल आफ्नो उद्देश्य चुम्नु छ । गलत र झुठो आरोप कसैलाई नलगाउनू । यसले मान्छेलाई बाँचुन्जेल निकै अपमानित बनाउँछ । हतारमै आरोपीलाई अपराधी बनाएर प्रचार गर्ने र मानहानी गर्ने, बेइज्जत गर्ने गर्नु हुँदैन । 

तर, केहीको उद्देश्य भीडमा महिलालाई छुने, चिमोट्ने, ठोक्किने हुन्छ । यस्ता ‘ब्याड टच’लाई भने माफीभन्दा पनि कानुनी सजाय दिनुपर्छ । न्याय निरूपणमा साथ दिनुपर्छ । महिलामाथि हुने यौन दुर्व्यवहार तथा हिंसाको अन्त्य गर्नुपर्छ ।


Author

थप समाचार
x