मेलम्ची मर्मको एक वर्ष : बिर्सियौँ पीडा, पूर्वतयारी खै ?
कुनै पनि घटनाजस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, हुरी, बतास, चट्याङ आदिलाई प्रकोपका रूपमा लिइन्छ । यसले जनधनको क्षति गर्नुका साथै घाइते वा स्वास्थ्यमा नोक्सानी, जीवीको पार्जनमा व्यवधान, सार्वजनिक तथा संस्थागत सेवाहरूमा अवरोध, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षहरूमा ह्रास ल्याउने गर्दछ । यही प्रकोपको कारण जनधनको नष्ट भएको अवस्था विपद् हो । मानिस मर्ने, हराउने, घाइते हुने घरपालुवा पशु मर्ने, हराउने, खेतबारी नष्ट हुने, बस्ने घर नष्ट हुने, बस्न नसकिने हुने वा विस्थापित भएर अरुको सहारा लिनुपर्ने जस्ता अवस्था विपद्का अवस्था हुन् ।
विपद् त्यो अवस्था हो त्यसलाई प्रभावित व्यक्ति वा समुदायको सक्षमताले धान्न सक्तैनन् र समुदायको चलायमान जीवन पद्धति एक्कासि अवरुद्ध हुन्छ । यस्ता प्रकोपको घटनाबाट नकारात्मक परिणामहरू ल्याउन सक्ने सम्भावनालाई जोखिम भनिन्छ । यसले निश्चित अवधि वा क्षेत्रमा हुन सक्ने सम्भावित मानवीय, आर्थिक एवं वातावरणीय क्षति हुने सम्भावनालाई जनाउँछ ।
गत वर्ष असार १ गते मेलम्ची नदीमा विशाल बाढी आयो । प्रारम्भिक तथ्यांकअनुसार २५ जना मानवीय क्षति भयो । ७ ओटा पक्कीपुल, १३ ओटा झोलुङ्गे पुल, ७ वडा विद्यालय भवनहरू, १ स्वाथ्य चौकी २ प्रहरी चौकी १ जलविद्युत् आयोजना १ गौरवको आयोजना ३४ सरकारी कार्यालयहरू १ रेडियो भवन को क्षति भयो । २८९ घरहरू पूर्ण क्षति हुनुका साथै ६१२ घरहरू उच्च जोखिममा परे भने १० हजार रोपनी भन्दा बढीजग्गा जमिनहरू नोक्सानी भए । त्यसैगरी याङ्ग्री बाढीले १ मानवीय क्षति गर्नुका साथै ५ ओटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भयो, ३ वटा निर्माणाधीन पक्किपुल, १ स्वास्थ्य एकाइको भवन १ जलविद्युत् परियोजनको कुलो, १ विद्यालयको ५ ओटा ब्लक नोक्सान भयो । ६ व्यक्तिगत आवास पूर्ण रूपमा क्षति भई ११० घरहरू उच्च जोखिममा परे ।
त्यस्तै २०७७ साउन ३० गते जुगल ३ लिदीमा पहिरो गई २९ घर पूर्ण क्षति, ७ घर आंशिक क्षति, ३९ जनाको मृत्यु, ५ जना घाइते हुनुका साथै लगभग ८० रोपनी खेतीयोग्य जमिनमा क्षति भयो । २०७७ असार २४ गते जम्मु, खागदल, गएको पहिरोले ११ जनाको मृत्यु भयो । त्यसै गरी वडा नं ७ को नागपुजेमा ३१ जनाको पहिरोको कारण ज्यान गयो र २६ वटा घर पूर्ण रूपले क्षति हुनुका साथै थुप्रै भौतिक संरचनामा पनि क्षति भयो ।
२०७१ साउन १७ गते राती ईटिनी भिर खसेर गएको जुरे पहिरोले १४५ भन्दा बढी मानिसको ज्यान लियो, १३० घर पूर्ण रूपमा क्षति भयो भने ४७ घर आंशिक क्षति भई उच्च जोखिममा पर्यो । अरनिको राजमार्ग अवरुद्ध भयो । २ ओटा जलविद्युत् योजनाहरूमा क्षति पुग्यो २०७ घर परिवारका १२९७ मानिसहरू विस्थापित भए । यस्ता ठूला–साना विपद्लाई सिन्धुपाल्चोकले सामना गर्नु परि नै रहेको छ । भोटेकोशीको बाढीले नदी तटीय क्षेत्रमा रहेका थुप्रै बस्ती र घरहरू वर्षेनि बगाएर लैजान्छ ।
खास गरी बाढी पहिरोबाट यहाँका बस्तीहरू सुरक्षित मानिँदैन । जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिए तापनि सम्भावित जोखिमबाट मानवीय एवं भौतिक क्षति हुन नदिन खासै ठूलो प्रयास केही पनि देखिँदैन । भौगर्भिक अध्ययनका आधारमा जोखिम वर्गमा परेका जुगलका जुगल १ सेप गाउँ, जुगल २ निम्लुङ बैगाङ टोल, जुगल २, लिदी लामा टोल, जुगल २ सानो नाम्फा, जुगल ६ मगरनाम्सा, जुगल २, झुल्के डाँडा लगायतका १३ बस्ती न त स्थानान्तरण गर्न सकियो न त उनीहरूलाई सुरक्षित गर्न कुनै थप जोखिम न्यूनीकरणका उपायहरू अपनाउन सकियो ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाको बरुवाको यांग्री, बाँसखर्कको भक्तिबारी टोल एवं लाँगर्चेको तिपेनी लगायत ३३ जोखिम बस्तीहरू पहिचान गरेर पनि वर्षायाममा व्यवस्थित बसोवास गर्न सक्ने वातावरण निर्माण गर्न सकिएन । बलेफीको खमारे बस्ती, बाह्रबिसे एवं भोटेकोशीका थुप्रै बस्तीहरू जोखिममा छन् ।
यस्ता बस्तीहरूमा भौगर्भिक अध्ययनसमेत गर्न सकेका छैनौं । विपद् जोखिम न्यूनीकरणका लागि खास पहलकदमी देखिँदैन । सरकार, कतिपय राजनैतिक दलका नेताहरू र सरकारी उच्च पदस्थ अधिकारीहरूमा विपद्को समयमा हेलिकप्टर लिएर विपद् स्थलमा पुग्नुलाई ठूलो सफलताको रूपमा लिने मनोविज्ञान हाबी भइरहेको छ । मेलम्ची खोलाको हिमपाइप राखी बनाइएको बाटो हिजो आज नै पानीको सतह बढेर भत्कन थालिसकेको छ । यो बाटो बन्द भएपछि तिपेनी, धाप, वरुवा भोताङ लगायतका क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीहरू कसरी पुर्याउने कुनै योजना बनी कार्यान्वयन भएको जनताहरूले महसुस गरेका छैनन् ।
विपद्को क्षेत्रमा पूरै उदासीन देखिन्छ, सरकार । आवश्यक उपकरणहरूसहित आपतकालीन केन्द्रहरू प्रत्येक पालिकामा निर्माण गर्न सकेका छैनौं । नेपाली सेना, सशस्त्र प्रहरी बल एवं उद्धार सुरक्षा बललाई सुविधा सम्पन्न बनाई परिचालन गर्ने योजना बनाउन जरुरी छ । ३ ओटा पालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण गरी सार्वजनिक गरेको पाइएको छ बाँकी ९ ओटा पालिकाहरूसँग विपद् उत्थानशील योजना निर्माण नै भएको छैन वा सार्वजनिक गर्न सकिएको छैन । विपद् व्यवस्थापन समितिहरू निर्माण र तिनीहरूको अनुगमन गर्ने, विपद्मा कसरी बच्ने भनेर प्रहसन गर्ने जस्ता क्रियाकलापहरू पनि गर्न सकिएको छैन ।
यस्तो अवस्थामा हामीले विपद्लाई कसरी सामना गर्न सक्तछौं ? गम्भीर हुन जरुरी छ । आज भन्दा आठ वर्ष पहिले जुरेबाढीबाट पीडित जनताहरूलाई देश विदेशबाट चन्दा उठाएर दिएको पैसा सरकारले आफ्नो खातामा राखेर पीडितलाई दिएको छैन । जनताहरूले व्यक्तिगत वा संस्थागत रूपमा पहिरो पीडित जनतालाई राहत दिएको पैसामा समेत सरकारले र्याल काढ्नु र त्यसलाई यत्तिका वर्षसम्म वितरण गर्न नसक्नु सिन्धुपाल्चोकका राजनैतिक एवं प्रशासनिक संयन्त्रका नेतृत्वहरूको असफलताको नमुना हो । जनताले उठाएर जनतालाई एक गाँस खान र एक जोर लुगा लगाउन दिएको पैसा त हामी समयमै दिन सक्तैनौं भने जुरे पहिरो लगायत लिदी, मेलम्ची बाढी, घुम्थाङ लगायतका बस्तीमा हुने बाढी पहिरो पीडितहरूले के अपेक्षा राख्ने ? यो जनताको गुनासो हो ।
अल्पकालीन रूपमा गर्न सकिने
खासगरी मनसुनजन्य विपद्बाट सिन्धुपाल्चोक बढी प्रताडित हुने गर्दछ । त्यसैले असारदेखि भदौसम्म विशेष सतर्क समायावधि मानेर विपद् व्यवस्थापनका लागि केही प्रयत्न भने अवश्य गर्न सक्तछौं ।
- प्रत्येक पालिकामा उपकरणहरूसहित आपतकालीन सेवा केन्द्र सञ्चालन गर्ने ता कि विपद्को समयमा छिट्टै खोज तथा उद्धार कार्यमा लाग्न सकियोस् ।
- भोटेकोशी, ब्रह्मायणी, मेलम्ची र इन्द्रावतीका माथिल्लो नदी तटीय क्षेत्रमा पानीको तह बढेपछि बज्ने सूचना यन्त्र जडान गर्ने र सोको सूचना तल्लो तटीय क्षेत्रमा पुग्ने व्यवस्था गर्ने ।
- प्रत्येक पालिकामा विपद् व्यवस्थापन दल बनाई सक्रिय बनाउने ।
- नेपाली सेना, एवं सशस्त्र प्रहरीलाई जोखिम क्षेत्रको सूचना प्रवाह गर्ने र तीन महिनाका लागि थप मानवस्रोतको व्यवस्था गर्ने ।
- गाउँ–गाउँमा अत्यावश्यक औषधि, खाद्यान्न, लत्ता कपडालगायतका सामग्रीहरू छिटोभन्दा छिटो लैजान सहजीकरण गर्ने ।
- सुरक्षित स्थानमा स्थानीय तहहरूले खाद्य तथा गैर खाद्य भण्डारण केन्द्र बनाउने जसले गर्दा छिटोभन्दा छिटो अत्यावश्यक सामग्रीहरू वितरण गर्न सकियोस् ।
- जुरे पहिरो पीडितहरूको नाममा संकलन भएको रकम वितरण गर्ने, मेलम्ची बाढी, लिदी पहिरो, खाकदल तथा घुम्थाङ पहिरोमा परेका नागरिकहरूको स्थिति तत्काल बुझेर राहत प्याकेज वितरण गर्ने, तत्कालै बसाइ स्थानान्तरण गर्नुपर्ने भए स्थानान्तरण गर्ने ।
- बस्तीमा परेका खोला तथा खोल्सीहरूको बाटो परिवर्तन गर्ने ।
दीर्घकालीन रूपमा गर्नुपर्ने
- जिल्लामा विपद्बाट क्षति भएका भौतिक संरचनाहरूलाई पुननिर्माणको अवधि घोषणा गरी फास्ट ट्रयाकबाट भौतिक संरचनाहरू निर्माण गर्ने ।
- भौगर्भिक अध्ययनबाट जोखिममा परेका बस्तीहरूको स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजी गरी एकीकृत बस्ती योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
- भौगर्भिक अध्ययन गर्न बाँकी क्षेत्रहरूमा छिटोभन्दा छिटो अध्ययन गरी जोखिम बस्तीहरू पहिचान गर्ने र स्थानान्तरण वा संरक्षण के गर्नु पर्ने हो ? सोही बमोजिम गर्ने ।
- परम्परागत कृषिमा निर्भर रहनुपर्नाले मानिसहरू जोखिम भए पनि त्यही क्षेत्रमा बसोबास गर्ने गरेकोले आय आर्जनका वैकल्पिक कार्यक्रमका योजना बनाई कार्यान्वयन गर्ने आदि ।
सिन्धुपाल्चोकको भिरालो भू–धरातलीय अवस्था, विकासमा दिगोपना नखोज्ने संस्कृतिका कारण हुने अव्यवस्थित विकास निर्माण, भूकम्पले थर्काएको जमिन, नदी क्षेत्र अतिक्रमण जस्ता कारणले वर्षेनि हुने विपद्लाई सामना गर्न सक्ने सामर्थ्य विकास गर्न सरकारी, गैरसरकारी, निजी क्षेत्र एवं आम जनसमुदायहरू आजैबाट सक्रियतापूर्वक लाग्न जरुरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया