विचार

चाइना जर्नल

तरकारी कहाँ फल्छ ? कारखानामा !

जरासहितको जिउँदो तरकारी किन्‍ने, भान्सामै मार्ने अनि पकाउने !

अजय अलौकिक |
चैत २०, २०७७ शुक्रबार ८:१ बजे

हिजोसम्म तरकारी उमार्न माटो चाहिन्छ । बारी, खेत नै चाहिन्छ भन्‍ने थियो । गलत रहेछु । हामी मानिसले अब चाँडै नै अरू ग्रहमा बस्ती बसाउने कुरामा समेत अझै विश्वस्त भएको छु । सागसब्जी, तरकारी घामबिना, माटोबिना कोठामा नै उत्पादन गर्न सकिने रहेछ, गजब ! मानिसको दिमाग । तपाईं शीर्षक पढेर क्लिक गर्नुभएको हो भने एकदम सही हुनुहुन्छ । हाम्रो भान्सामा पाक्ने सागसब्जी अर्थात् तरकारी उत्पादन गरिने कारखानाकै चर्चा गरिरहेछु । जसरी कुनै सरसामान निर्माण या उत्पादन गर्ने ठाउँलाई हामी कारखाना भन्छौँ, यहाँ तरकारी उत्पादन गरिन्छ ।

एउटा भवनभित्र मात्र ५०० वर्गमिटरको कोठामा तरकारी कारखाना खोलिएको छ र त्यहाँ १२ सय वर्गमिटर क्षेत्रफलमा तरकारी रोपण गरिएको छ । यस कारखानाको नाम चङहङ कृषि वनस्पति कारखाना हो । यहाँ ३० भन्दा बढी किसिमका सागसब्जी तथा विविध तरकारी उत्पादन गरिन्छ । यो कारखानाले हाल प्रतिदिन १८० किलो सागसब्जी उत्पादनसँगै लक्जरी होटल र रेस्टुराँमा आपूर्ति गर्दैआएको छ । यसबाहेक यहाँ शुद्ध अर्गनिक तरकारी उत्पादन हुन्छ, जुन सिधै रूपमा खान सकिन्छ । यहाँ उत्पादित हाइजेनिक, स्वस्थकर तरकारीलाई धुनु भनेको दूषित या अस्वस्थकर बनाउनु हो । आश्चर्यलाग्दो छैन ? चाखलाग्दो छैन ? 


केही दिनअघि अफिसमा (चाइना मिडिया ग्रुप, नेपाली सेवा बेइजिङ) चिनियाँ सहकर्मी ल्यू सान (नेपाली नाम लालिमा) ले कृत्रिम प्रकाश र माटोबिना तरकारी उत्पादन गर्ने ठाउँको रिपोर्टिङ तथा भिडियो छायाङ्कन गर्ने प्रस्ताव मलाई राखेकी थिइन् । त्यसै क्षण म अवाक् भएको थिएँ । कसरी ? माटो पनि नचाहिने ? घरमा मनीप्लान्टलगायतका केही वनस्पतिबिना माटो पानीमा हुर्काएको पनि बिर्सेछु, त्यस बखत । उनले भनिन्, यो खेती जमिनमा होइन, भवनमा हो । प्रतिदिन झण्डै २०० किलो साग उत्पादन हुन्छ । यसो भनिरहँदा मेरो जिज्ञासाको पारो तुरुन्तै चरमबिन्दुमा पुगिहाल्यो । ओहो, माटोबिना नै २०० केजी तरकारी उत्पादन । इजरायलले धेरैअघि कृषि क्रान्ति गरेको सुनेको पढेको मैले यता चीनले गरेको अर्को क्रान्ति हेर्न पाउने भएँ भनेर मख्ख परेँ । 

बेइजिङको पूर्वी क्षेत्र सुनयीमा अवस्थित त्यो कारखानासम्म जाँदै गर्दा पनि एउटा रोपाइँको सामान्य नियम सम्झिरहेँ । माटो गोडमेलपछि बीउ छर्ने, रोप्ने अनि अंकुरण र हुर्काइ त्यसबीच घाम, मलजल, स्याहारसुसार र पूर्ण रूपमा उम्रेपछि टिप्ने, उखेल्ने, यही त हो नि परम्परागत तरिका । यसबीच तरकारी उत्पादनसम्बन्धि वैज्ञानिक पद्धतिबारे जानकारी लिने चेष्टा पनि गरेँ । सायद, सन् १९५० को दशकबाट तरकारी उत्पादनमा वैज्ञानिकहरूले विविध प्रयोग गर्दैआएका छन् । तरकारी कारखानाको पहिलो खुड्किलो ग्रिनहाउस हो । 

वातानुकुलित रूपमा तरकारी उत्पादनबाट सुरु हुँदै कृत्रिम प्रकाश र माटोबिना तरकारी उत्पादनको पद्धतिसम्म पुगेको रहेछ । मलाई भवन अगाडि उभिँदासम्म पनि अचम्म लागिरहेको थियो । यही भवन हो, अजयजी, हामी सिधै तेस्रो तल्ला जाने हो, लालिमाले भनिन् । त्यो भवन अरू सँगैका भवनभन्दा केही कुराले फरक देखिएको थिएन । सायद त्यसै भवनमा आवतजावत गर्ने कतिपय मानिस पनि उक्त भवनको तेस्रो तल्लामा सागसब्जी उत्पादन गर्ने कारखाना छ भन्‍ने कुराबाट बेखबर नै होलान् । 

हामीलाई उक्त कारखानाबाट प्रत्यक्ष प्रसारण गर्न या भित्र बस्न आधा घण्टाको समय उपलब्ध गराएको थियो । पिपिई, पञ्जा, मोजा, मास्क लगाउनुका साथै आफ्नो शरीर र क्यामेरा, मोबाइल कीटाणुशोधन गरेर कारखानाभित्र प्रवेश गरियो । त्यहाँ भित्र त र्याक र्याकमा साग उमारिएको रहेछ । गुलाबी रङको प्रकाश अनि पानीको आवाज र थरीथरीका सागसब्जी देखियो । हाल नेपालमा कौसी खेती मौलाएको पढेको थेँ । तर यता कोठामा, र्याकमा साग खेती, त्यो पनि एक हात लामो, सामान्य सागजस्तै केही फरक छैन । 

करेसाबारी छैन, जग्गाजमिन छैन भनेर कौसी खेती होइन, कोठाभित्रै खेती गर्न सकिने रहेछ । एलइडीको प्रकाशसँगै छ तल्ले र्याकमा विभिन्‍न थरीका सागहरूको रङ्ग गुलाबी देखिन्थ्यो । यो कृत्रिम प्रकाश एलइडी निभाएको ठाउँमा भने साग हरिया नै थिए । भित्र प्रवेश गरेसँगै वनस्पति विज्ञ डाक्टर युआन, जो अमेरिकी विश्वविद्यालयबाट यस विषयमा अध्ययन गरेर आएका रहेछन्, उनलाई प्रश्न गरेँ । ‘कति दिनमा यहाँको सागसब्जी खानलायकको हुन्छ ?’ ‘बीउदेखि पूर्ण रूपमा ८० ग्रामको साग तयार हुन ४२ दिन लाग्छ ।’ मैले जिज्ञासा राख्दै गएँ, उनले बताउँदै गएँ ।

जमिनमा झण्डै दुई महिना लाग्छ, यहाँ छिटो हुन्छ । साथै जमिनमा प्राकृतिक प्रकोपजस्तै बाढी, वर्षा तथा कीरा लागेर भनेजति उत्पादन हुनसक्दैन । यहाँ सधैँ स्थिर रहन्छ । अहिले हामीले यहाँबाट दैनिक १८० किलोग्राम उत्पादन गरिरहेका छौँ । माग बढ्दै गएमा त्यहीअनुसार खेती प्रबन्ध थप्दै लैजाने छौँ ।

यो कारखानाभित्र प्रवेशअघि व्यवस्थापकसँगको केही जिज्ञासामा उनले निकट भविष्यमा साङहाईमा यो चङहङ कारखानाको शाखा खोल्ने तयारी भइरहेको बताएका थिए । उनीहरूका हालको ग्राहक हाइएन्ड रेस्टुराँ र होटल भएको बताएका थिए । खेतीयोग्य जग्गाजमिनको अभाव, जनसङ्ख्या वृद्धि, ताजा तरकारीको अभावका कारण यस किसिमको खेती या कारखानाको माग बढ्दै गएको उनले बताए ।

यसरी कोठाभित्र र्याकको साग खेतीले अवश्य पनि मानिसको माग धान्‍न सकिनेछ, स्थिर रूपमा बाह्रै महिना सागसब्जी उपलब्ध हुनेछ । त्यति मात्रै होइन, मानिसको चन्द्रमा र अरू ग्रहमा बस्ती बसाउने सपनासमेत चाँडै साकार हुने देखिन्छ । हुन त अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन नासा तथा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पनि वनस्पति तथा अन्‍न खेतीको अनुसन्धान भइरेहको यदाकदा सुन्‍न पाइन्छ ।

मलाई सबैभन्दा आश्चर्यचकित बनाएको कुरा भनेको बिनामाटो उब्जनी हो । डाक्टर युआनले र्याकमाथि सागहरू उम्रिरहेको बोर्ड उठाउँदै देखाए । माटो थिएन, पानीमा जरा डुबेको थियो । घामबिना कृत्रिम प्रकाशमा तरकारी उत्पादन गर्ने तरिका केही समय अगाडिदेखि नै भएको हो । मुख्यतः वनस्पतिका लागि रातो र नीलो रङको प्रकाश चाहिन्छ, यी एलइडी त्यस्तै प्रकारको छ । तर माटोबिना र कृत्रिम प्रकाशमा उत्पादनका लागि जापानका डाक्टर तोयोकी कोजाइको अनुसन्धान उल्लेखनीय रहेको छ । 

डाक्टर तोयोकी कोजाइ वनस्पति कारखानाको पिता भनेर चिनिन्छ । उनले कृषि क्षेत्रमा नियन्त्रित वातावरणसम्बन्धी अध्ययन–अनुसन्धान गर्दैआएका छन् । उनले यस सम्बन्धमा रिसर्च पेपर, पुस्तकसमेत प्रकाशित गरिसकेका छन् । सन् २०१० देखि जापान, अमेरिका, चीन जस्ता राष्ट्रले यस क्षेत्रमा उपलब्धि हासिल गर्दैआएको छ । 

हाल यो चिनियाँ कारखानाले व्यावसायिक रूपमा उत्पादन सुरु गरेको डाक्टर युआनको भनाइ थियो । ‘वनस्पति विकासलाई प्रकाश, हावा, पानी र खनिज चाहिन्छ । यहाँ मैले यी सागलाई चाहिने पोषण तत्वअनुसारको झोल बनाएको छु । यो मैले विकास गरेको हो,’ उनी भन्छन् । ‘जमिनमा माटोमार्फत आवश्यक तत्व नाइट्रोजन, फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर पाइन्छ । त्यसै गरी आइरन, म्यागनिज, बोरन, जिंक, कप्पर, मोलिब्डेनम धेरै थोरै चाहिन्छ । मैले आफैँले ती खनिज तत्व मिलाएर यो झोल बनाएको हुँ । यसो भएपछि माटो किन चाहियो ? माटोमात्रै होइन, कीटनाशक औषधिको पनि प्रयोग गर्नु परेन ।’

कुरा यस्तो पो रहेछ, उमार्न, फल्न, फलाउन यसकारण माटो नभए पनि हुने रहेछ । विज्ञानको चमत्कार । थरीथरीका वनस्पतिअनुसार पोषण झोल बनाउने रहेछ । बिस्तारै अरू विविध तरकारी उत्पादन गर्ने तयारी भइरहेको पनि उनले बताए । 

यसैबीच उनले यो सिधै खान सकिन्छ भन्दै मलाई एउटा पत्ता चुँडालेर दिए । मैले पनि सही थापेँ । एक त भित्र प्रवेश गर्दा होल बडी स्यानिटाइज गरेका थियौँ, त्यसमाथि पेस्टिसाइडको प्रयोग छैन । मेरो वाक्य पूर्ण नहुँदै उनले भने । ‘यो कोठालाई हन्ड्रेड थाउजेन्ड क्लिन रुम भनिन्छ ।’ ‘कस्तो हो यो, एक लाख स्वच्छ कक्ष ?’ ‘यहाँ पेस्टिसाइड, फंग्स, ब्याक्टेरिया केही पनि छैन । अर्को भनेको यहाँको वायु एकदम स्वच्छ छ, फिल्टरड एयर हो, जम्स फ्री (कीटाणुरहित), डस्ट फ्री वायु हो । त्यसैगरी यहाँ प्रयोग गरिने पानी पनि फिल्टरड हुन्छ, जिरो हेभि मेटल, जिरो माइक्रोब्स । त्यसकारण यहाँबाट उत्पादित तरकारी पखाल्नुपर्दैन । यदि यसलाई पानीमा पखालेमा त्यो अनहाइजेनिक हुनजान्छ ।’ 

यसर्थ, यहाँबाट उत्पादित तरकारी सिधै खान मिल्ने होइन रहेछ, सिधै खानुपर्ने रहेछ । यहाँको तरकारीलाई धोई पखाली गरे उल्टै अस्वस्थकर हुनेछ । यसरी कोठाभित्र शुद्ध अर्गानिक तरकारी उत्पादन गर्न सकिने रहेछ । जापानबाट सुरु भएको हन्ड्रेड थाउजेन्ड क्लिन रूम अवधारणाबाट व्यापार व्यवसायको क्षेत्रमा प्रवेश गर्ने उनीहरूको कारखाना पहिलो रहेको पनि बताए । त्यसबाहेक उनी भन्छन्, ‘हामी जरासहित जिउँदो तरकारी बिक्री गर्दछौँ, ग्राहकले ताजा खान पाउँछन् । उनीहरूले आफ्नो टेबलमा मार्छन् ।’

उक्त कारखानाको भ्रमणपछि पनि त्यो पहिलो पल्ट सुन्दाखेरिको जस्तै आश्चर्यजनक भाव अझै छ । र्याक र्याकमा तरकारी उमारिरहेको दृश्य रोमाञ्चक छ । सायद मेसोपोटामिया (हालको इराक) को ह्याङ्गिङ गार्डेन अफ बेबिलोन, आकाशमा तैरिएको उद्यान यस्तै नै पो हो कि ’

अन्तमा, यसरी कोठाभित्र पूर्ण नियन्त्रण र स्वच्छ वातावरणमा कृत्रिम प्रकाश, हाइड्रोपोनिक्स (माटो बिना), थोरै पानी तथा कीटनाशकको प्रयोग बिना तरकारी उत्पादन गर्नु कृषि क्रान्ति नै हो । प्राकृतिक प्रकोप तथा वातावरणीय समस्याहरूबीच पनि यो तरिकाबाट बाह्रै महिना स्थिर रूपमा ताजा तरकारी उपलब्ध सम्भव छ । साथै मानिसले यथाशीघ्र अरू ग्रहमा पनि बस्ती बसाउन पनि यो विधि कोशेढुङ्गा साबित हुनेछ । आगामी दिनमा विज्ञानले यसरी नै मानिसलाई आवश्यक थरीथरीका तरकारी, फलफूल, खाद्यबाली तथा जडीबुटीहरूसमेत कोठामै उत्पादन गर्ने तरिका विकास गर्दै जानेछन् भन्‍ने आशा गर्ने ठाउँ यथेष्ट छ ।


Author

थप समाचार
x