हर्क गुरुङले ३० वर्ष पहिले देखाएको ‘काठमाडौँको भविष्य’
धरान नगरका माली हर्क साम्पाङको चर्चा छ ।
यसैबीच मलाई हर्क गुरुङको याद आयो । उनको एक पुस्तक ‘विषय विविध’ प्यारो किताब । किताबमा विविध विषयका ३६ वटा लेख छन् ।
हर्क गुरुङ भनेपछि थप भनिरहन परेन- तालिका, चित्र, नक्सायुक्त अनुसन्धान लेख लेख्ने बडो मेहनती बड्डा । यस्तैमा मेरा आँखा सुत्नुअघि ठ्याक्कै २५ रोल नम्बरवाला लेखमा थुप्रिए । पेज नम्बर १७० देखि १७६ सम्मको ६ पेज लामो ‘काठमाडौँको भविष्य’ लेख मैले दोहोर्याएँ ।
लेख मलाई रोचक लाग्यो । अहँ, रोचक लागेन । दिक्कै लाग्यो । ‘काठमाडौँको भविष्य’ भनेर ३० वर्षअघि लेखिएको लेख अहिले पनि ताजै । लेख बासी भएको भए पो हाँसिबस्नु । हर्कले जे समस्या देखाएका छन्, ती ज्यूँका त्यूँ छन् । अझ थपिएका छन् ।
हर्क गुरुङको लेखको शीर्षकमा रहेको ‘भविष्य’ काटेर ‘वर्तमान’ बनाई हुबहु छाप्ने हो भने पनि हुने लेख । ३० वर्षपछि पनि हामी हाम्रा उम्मेदवारका ‘घोषणापत्र’ पढिरहेछौँ, जुन ३० वर्ष पुरानो समस्या र समाधानबाट उडाइएका जस्ता ।
यो गन्थन उनै हर्क गुरुङको त्यही एउटा लेखमा मात्र सीमित छ ।
अँ, हर्क गुरुङलाई मैले किन चिनाइरहनुपर्यो र ? मलाई लाग्छ, हर्कलाई चिनाउन मैले यहाँ लेख्ने शब्द उनको बहुआयामिक बौद्धिक पहिचान र सामर्थ्य देखाउन असमर्थ हुनेछन् ।
गुरुङ हामीमाझबाट भौतिक रुपमा हराएको पनि १५ वर्षै पो भइसकेछ । त्यति बेला नजन्मेका केटाकेटी अहिले त एसईई दिएर बस्या रैछन्, धेरै त । नयाँ पाठक र म जस्तै बिर्संदै जाने पाठकका लागि उनीबारे दुई शब्द व्यक्त गरेर म ‘काठमाडौँको भविष्य’तिर लाग्नेछु ।
गुरुङ भूगोलका डाक्टर हुन् । समाजशास्त्रीय-मानवशास्त्रीय चेतयुक्त लेखक हुन् । पढन्ते, घुमन्ते, लेखन्ते हुन् । लेखपढ गर्नु मात्र ठूलो कुरो पनि होइन । लेखपढअनुसार अर्थात् गफअनुसार आफू पदमा रहेका बेला के फाँर्यो वा के लोक्त्यायो भन्ने प्रश्न पनि ठूलै प्रश्न हो ।
‘काठमाडौँ उपत्यकाको प्राकृतिक र सांस्कृतिक सम्पदालाई भविष्यका लागि जगेर्ना गर्न’ भनेर उनले ३० वर्षअघि उठाएका तीन कारण, चार असर र आठ जुक्ति ।
उनले योजना आयोगमा रहेर धेरै राम्रो काम गरे भन्ने अध्येताहरू धेरै छन् । चौथो योजना उल्लेख्य छ । उनी राष्ट्रिय योजना आयोगमा सन् १९६८ देखि १९७२ सम्म सदस्य र सन् १९७२ देखि १९७५ मा उपाध्यक्ष भए । उनकै कार्यकालमा नेपालमा क्षेत्रीय विकास योजनाको खाका कोरियो, लागू पनि भयो ।
हर्कले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यापन गरे । सानो समय दुई पटक राज्यमन्त्री पनि भए । शिक्षा, उद्योग तथा वाणिज्य राज्यमन्त्री पछि पर्यटनमन्त्री र यातायात तथा निर्माणमन्त्री भए । उनी मनोनीत राष्ट्रिय पञ्चायत सदस्य भए । पनि राजीनामा दिएर स्वतन्त्र अध्ययन–अनुसन्धानतिर लागे ।
१९९५ पुस २१ मा लमजुङमा जन्मिएका गुरुङले जिन्दगीको लामो समय नेपालका कुनाकन्दरा पैदलै नापे, हिमालसँग उठबस गरिरहे । र, उनको दीर्घशयन पनि हिमालमा नै भयो । २०६३ असोज ७ मा हेलिकप्टर दुर्घटनामा परी ताप्लेजुङको घुन्सामा उनको निधन भयो ।
हर्क गुरुङको ‘मैले देखेको नेपाल’ नपढी कसैले नेपाल देखेकै हुँदैन पनि भनिदिन्छु म त । (नेपाली नबुझ्नेले यसलाई भिन्येत्स् अफ नेपाल Vignettes of Nepal पढे पनि हुन्छ ।) यो किताबमा हाम्रो भूबनोटको कुरो त हुने नै भयो । यसमा तत्तत् ठाउँको ऐतिहासिक बनोट, सांस्कृतिक बनोट, वानस्पतिक बनोट आदिआदिको पनि चित्र छ ।
उनका कतिपय लेखमा नामसँगै ‘लेखाली’ उपनाम पनि देखिन्छ । उनले जनसंख्या अध्ययन, बसाइँसराइ अध्ययन, जनजातीय अध्ययन आदिमा पनि खत्रै काम गरेका छन् । गफै दिएर त विमलले जसरी जसले पनि लेख्न सक्छ, तर उनले फिल्डमा भएर, तालिका, नक्सा र रेखाचित्र बनाएर कुरा बुझाउँछन् । उनी नेपाली समाजविज्ञानमा अनुसन्धानको अनुशासन पछ्याउने दुर्लभ बौद्धिक हुन् । एक शब्दमा भन्दा हर्क नेपालविद् हुन् ।
हर्क तथ्यांकले देखाएको र ब्रह्मले अह्राएको बोल्छन् । ती बोली कतिपय बेला लोली वा कतिपय बेला गोली पनि बनेका छन् । हर्क गुरुङ कमजोर आइक्यु भएका नेपालीले पाएका विशिष्ट वरदान हुन् ।
गुरुङका चेला पीताम्बर शर्माले ३०/३० वार्ताका सन्दर्भमा पंक्तिकारसँग भनेका थिए, ‘भोलि अनुसन्धानको मर्म बुझ्ने मानिस शासनमा आएछ भने नयाँ अनुसन्धान गराउनेभन्दा पहिला उहाँकै अनुसन्धान रिपोर्ट पढे हुन्छ ।’
अब काठमाडौँतिर लागौँ । ‘काठमाडौँको भविष्य’ लेख आजभन्दा ठीक ३ दशक पहिले १९९२ मार्च २६ मा ‘स्वतन्त्रता’ साप्ताहिकमा छापिएको रहेछ ।
हर्क गुरुङले ‘काठमाडौँको भविष्य’ भनेर जे भनेका छन्, मलाई लाग्यो हामी अहिले त्यही भोगिरहेछौँ । उनको यो लेख काठमाडौँको जनसंख्याको चापमा केन्द्रित छ । चापका चार कारण र तीन असरको सतथ्य तर्क छ, यसमा । जुक्तिहरूको पहिचान भनेर उनले समस्या समाधानका आठवटा उपाय पनि सुझाएका छन् । लेखमा सहरी जनसंख्याको वृद्धि र खेती जग्गाको अनुपात गरी दुई तालिका र काठमाडौँको नक्सा पनि छ ।
लेखले उठाएका तथ्य र तर्कमा जाऊँ अब ।
हर्क भन्छन्, ‘काठमाडौं उपत्यकाको मुख्य समस्या जनसांख्यिक चाप हो ।’ काठमाडौँमा जनसंख्याको चाप किन बढी छ त ? उनका चार कारणमध्ये पहिलो कारण छ, ‘राजधानीको शक्ति आकर्षण ।’
निजामती किताबखानाको सन् १९७४ को लगतअनुसार देशभरका ३० हजार कर्मचारीमध्ये १२ हजार त काठमाडौँ उपत्यकाका कार्यालयमा मात्र रहेको उनले उल्लेख गरेका छन् । हर्क भन्छन्, ‘विकेन्द्रीकरण ऐन आए पनि प्रशासनको केन्द्रमुखी संरचनामा कुनै अन्तर आएको छैन । ससाना कामका लागि पनि राजधानी धाउनुपर्ने बाध्यताले केन्द्रीकरण प्रवृत्ति अझ बढेको छ ।’
देश संघीय भएर दोस्रो निर्वाचित स्थानीय सरकार आइसक्यो । तर, हर्कले भने जस्तै ससाना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता उस्तै छ । आँगनमा सरकार छ, सुविधा जति राजधानीमा छ । ट्रान्सक्रिप्ट लिन काठमाडौँ, अरु के कुरा गर्नु ! जब कि संघीयताको मूल मर्म सेवा–सुविधाको स्थानीयकरण, सरलीकरण, छोटीकरण हो । राजधानी धाउनुपर्ने बाध्यताको आर्थिक–मानसिक समयको पाटोको त कसैले विचार नै गरे जस्तो लाग्दैन । शासकले विचार गर्ने भए यी विषय विचाराधीन हुँदा हुन्, म लेख्नै पनि त नपाउँदो हुँ । खासमा मैले यति लाजमर्दाे कुरो लेख्नै नपर्दाे हो ।
काठमाडौँमा जनसंख्याको चाप बढ्नुमा हर्कका अरु तीन कारण छन् :
२) सुविधाको केन्द्रीकरण
३) रोजगारीका अवसर
४) औद्योगिक विस्तार
हर्क गुरुङले यो लेख लेख्नुभन्दा २० वर्षअघि सन् १९७२ मा योजना आयोगअन्तर्गत आफैँले गरेको ‘ग्रयाजुयट्स् इन नेपाल : अ डायग्नोस्टिक स्टडी’ उद्धृत गर्दै भन्छन्— सन् १९७१ को स्नातक मतदाताको सूचीअनुसार अधिराज्यका १० हजार ८८७ स्नातकमध्ये ६१.१ प्रतिशत काठमाडौँ उपत्यकामा थिए ।
यस्तै त्रिभुवन विश्वविद्यालयमा पढ्ने ५४ हजार विद्यार्थीमध्ये लगभग ४० प्रतिशत काठमाडौँ उपत्यका अनि निजी क्याम्पसका १० हजार विद्यार्थीमध्ये झन्नै पाँच हजार अर्थात् ४८ प्रतिशत विद्यार्थी काठमाडौँका ।
यस्तै देशभरका चार हजार अस्पताल शय्यामध्ये ४० प्रतिशत त काठमाडौँमा रहेछन् । शिक्षा र स्वास्थ्य सुविधाको केन्द्रीकरणबाट पनि राजधानी उकुसुकुस हुने तर्क उनले ३० वर्षअघि नै पुष्टि गरेका छन् ।
काठमाडौँमा रोजगारीका अवसरको कुरा गर्दा हर्क यस्तै लेख्छन्— रोजगारीको गन्तव्य स्थल नै काठमाडौँ भयो । सरकारी जागिरको पहिलो थलो पनि यहीँ भयो । निजी क्षेत्रको पर्यटन, व्यापार, सेवा आदिमा काम पाउन पनि राजधानी नआई नहुने बनाइयो । घर निर्माण, ठेलागाडा, नाङ्ले पसल, कुटीर उद्योग, फिरन्ते व्यापार पनि काठमाडौँ केन्द्रित भयो ।
काठमाडौँ उपत्यकामा बालाजु र पाटन औद्योगिक क्षेत्र स्थापना गरेर उल्टो नीति लिएको बताउँछन्, हर्क । सन् १९९१ मा काठमाडौँमा ३३६ वटा गलैँचा उद्योग भएकामा एक वर्षमै त्यो संख्या ८६६ पुगेको उनको तथ्यांक छ । र, यी गलैंचा उद्योगमा दुई लाख पचास हजार जना कामदार काम गर्ने रहेछन् । यसको परिणाम के भयो त ? हर्कका विचारमा दुई समस्या थपिए ।
एक केजी बराबरको गलैँचा तयार गर्न ३४५ लिटर पानी चाहिने रहेछ अनि खेर गएको पानीमा ११ थरीका रसायन तत्व हुने र त्यसले प्रदूषण बढाउने र बढाएको छ ।
हर्कको विचारमा काठमाडौँ उपत्यका उद्योगधन्दा खोल्ने ठाउँ होइन । यो सांस्कृतिक सहर हो । यसको रैथानेपन जोगाइराख्नुपर्छ ।
काठमाडौँ उपत्यकामा जनसंख्या बाक्लो भएपछि के भयो त ? हर्कको विचारमा तीन समस्या टड्कारो देखिए :
— भूउपयोगमा विचलन देखियो ।
— सेवाहरू अपुग भए ।
— वातावरण विनाश भयो ।
अव्यवस्थित सहरीकरणको परिणाम कृषियोग्य भूमि गैरकृषिमा परिणत भयो । हर्क भन्छन्— यहाँको भूमि विशेष गरी निर्माणमा प्रयोग हुँदा जग्गाको मूल्यले आर्थिक विकृति ल्याएको छ ।
हर्कको अध्ययनमा सन् १९६९ देखिको १० वर्षमै काठमाडौँको १ लाख ३१ हजार ३ सय रोपनी खेतीयुक्त जग्गा अन्य प्रयोजनमा गयो । यो तथ्यांक भयावह छ भनेर उनले ३० वर्षअघि नै चेतावनी दिएका रहेछन् । अहिले खेतखेतमा घर र डाँडाकाँडामा नांगा प्लटिङ देख्दा के भन्थे होलान् ? काठमाडौँलाई प्राण र त्राण दिने वरिपरिका डाँडामा डोजर लाउँदै रिसोर्ट बनाउँदा चुप लाग्ने वातावरणविद् निजगढमा मात्र किन चिन्तित हुन्छन्, बुझिनसक्नु छैन त ?
काठमाडौँमा मान्छे धेरै थुप्रिनु मान्छेको दोष होइन । सेवा र सुविधाको विस्तार उपत्यकाबाहिर भएन भन्नेमा हर्कको चिन्ता छ । राजधानीमा मान्छे धेरै थुप्रिँदाको दोस्रो प्रभाव सेवाहरूको अपर्याप्तता । यसको पहिलो बुँदा छ, जुन समस्याले अहिलेसम्म हामी छटपटाइरहेका छौँ । उनी सुरुमै भन्छन्, खानेपानी अभाव ।
उपत्यकामा धेरै घर बन्दा खानेपानी सुक्छ । अनि योजनाविनै जति घर बने पनि आवासको समस्या कम हुनेछैन । झनै थपिनेछ । घरभाडाको दर चर्किनेछ । सुकुम्बासी बस्ती यहीँ फस्टाउनेछन् । ढल व्यवस्था गाह्रो हुँदै छ । यातायात व्यवस्था जटिल हुँदै गएको छ । हर्कले भनेको कुराको सार यही छ ।
लौ, हेर्नुस् त, कति दूरदर्शी हर्क ! हाम्रा शासकहरूले हामीलाई तीसौँ वर्षदेखि यिनै समस्यामै त रिंगाइरहेका छन् नि, हैन र ?
३० वर्षे पञ्चायत राजनीतिक अधिकारविना उसै खेर गयो । ३२ वर्षे उत्तरपञ्चायत राजनीतिक सदाचारविना उसै खेर गयो । ३२ वर्षीय नेतृत्वले ‘काठमाडौँको भविष्य’लाई ‘काठमाडौँको भूत’ बनाउन सकून्, शुभकामना छ ।
हर्क गुरुङले तीस वर्षअघि मूल मुद्दा बनाएर लेखेको पहिलो समस्या खानेपानी समस्या साँच्चै यहाँ कसैले मूल मुद्दा बनाएन । ओठले बनाए पनि होलान् । मेलम्चीका ठूलाठूला गफ पनि भए । बल्लतल्ल आयो भनियो, फुस्सा । हर्कले जुक्ति नम्बर ६ मा भनेका छन्, ‘उपत्यकाको खानेपानीका लागि अति खर्चिलो मेलम्ची योजनाको सट्टा वरिपरिका काँठमा वर्षाको पर्याप्त पानी सङ्कलन र प्रशोधन गरी आपूर्ति गर्ने ।’
अहिले रातिमा यो लेखिरहँदा झमझम पानी परेको छ । रातमा दिनदिनै दर्के पानी परेको छ, अहिले । हर्कले ३० वर्षअघि ‘वरिपरिका काँठमा वर्षाको पर्याप्त पानी सङ्कलन र प्रशोधन’ गर्ने भने तर यहाँको हाम्रो ताल ? आज म अफिसबाट फर्किंदा धोबीखोलाभित्र तल डोजर पसेको थियो । के गरेको भनी सोधेको जवाफ पाएँ– पानी बस्तीमा गएकाले खोला थप गहिरो बनाउन लागेको ।
दुई–चार थोपा पानी पर्दैमा बाटो र बस्ती जलमग्न भए भनेर लेख्छौँ हामी । पानी नपरोस् त ? बर्खामा पानी नपरेर के पर्छ ? पानीलाई धरतीमा छिर्न नदिने, बग्न पनि नदिने अनि पानी बिचरालाई गाली !
हर्कको मूल मुद्दालाई बल्ल धरानका अर्का हर्कले मूल मुद्दा बनाए– खानेपानी । पानीको मूल संरक्षण मूल मुद्दा हुनैपर्छ अब जताततै ।
हर्क हाम्रो अव्यवस्थाको तेस्रो प्रभावमा वातावरणीय संकटको कुरा गर्छन् । सहरी क्षेत्रमा दिनको १५० टन फोहोरमैला जम्मा हुने रहेछ त्यति बेला । अहिलेका मेयर बालेन शाहले फोहोरमैलाको कुरा बल्ल जोडतोडका साथ उठाए ।
उनले कसरी काम फत्ते गर्छन्, हेर्न बाँकी नै छ । तर, ३० वर्षअघि हर्कले लेखेका छन्, ‘पानी, हावा र ध्वनि प्रदूषणले काठमाडौँको वातावरणमा ह्रास ल्याएको छ । अन्दाजी ६० हजार परिवहन साधनबाट निस्कने कार्बन तथा हाइड्रो प्रकृतिका दूषित तत्वले हावालाई प्रभावित गर्नुका साथै ध्वनि प्रदूषण पनि बढेको छ । प्रदूषित हावा, दुर्गन्धित ढल, यत्रतत्र फोहोरमैला, सवारीसाधन र मानिसको घुइँचोले गर्दा उपत्यकाका सहरहरूले अजिंगरको रूप लिँदै गएको मान्नुपर्दछ ।’
हर्क गुरुङले काठमाडौँको समस्यामध्ये जनसंख्याको चाप बढी भनेर एकै विषयमा घोत्लिए । किन जनसंख्या थुप्रियो त भनेर चारवटा कारणको कुरा गरे । जनसंख्या थुप्रिँदा के असर छ त भनेर तीनवटा प्रभावको कुरा गरे । र, अन्तिममा उनले जुक्तिहरूको पहिचान भनेर आठवटा बुँदा अघि सारेका छन् ।
उनका यी आठ जुक्ति जसलाई नेताहरूले यी तीसौँ वर्ष भट्याइरहे । तिनलाई प्रस्तावपत्र बनाइरहे, प्रतिवेदनपत्र बनाएनन् ।
‘काठमाडौँ उपत्यकाको प्राकृतिक र सांस्कृतिक सम्पदालाई भविष्यका लागि जगेर्ना गर्न’ भनेर उनले आठ बुँदा अघि सार्छन् :
१. सर्वप्रथम, देश विकासमा औद्योगिकीकरण र सहरीकरणसम्बन्धी प्रादेशिक–क्षेत्रीय ढाँचाको आवश्यकता छ । सो विकासको ढाँचा काठमाडौँमा नियन्त्रण र राजमार्ग जोडिने ठाउँहरू (इटहरी, ढल्केबर, पथलैया, भरतपुर, बुटवल, लमही, कोहलपुर, चिसापानी, अतरिया, मालाखेती आदि) लाई औद्योगिकीकरण तथा सहरीकरणको केन्द्रबिन्दु बनाई तद्नुरूप आधारभूत व्यवस्था र वित्तीय सुविधाहरू उपलब्ध गराउने ।
२. राजनैतिक तथा प्रशासकीय अधिकारहरूको स्थानीय तहमा अधिकतम विकेन्द्रीकरण गर्ने ।
३. काठमाडौँ उपत्यकाका सहरी घर तथा गैरकृषि जग्गामा थप करको व्यवस्था गर्ने ।
४. काठमाडौँ उपत्यकाभित्र पर्यटन सेवा तथा घरेलुबाहेक अन्य उद्योग स्थापना र विस्तार गर्न निषेध गर्ने ।
५. सहरको भित्री क्षेत्रमा घुइँचो घटाउन चक्रपथ तथा प्रमुख सडकको चौबाटो वरिपरि अग्लो भवन बनाउन दिने व्यवस्था गरी नयाँ बजार र आवासहरूको स्थापना गर्ने ।
६. उपत्यकाको खानेपानीका लागि अति खर्चिलो मेलम्ची योजनाको सट्टा वरिपरिका काँठमा वर्षाको पर्याप्त पानी सङ्कलन र प्रशोधन गरी आपूर्ति गर्ने ।
७. तयारी लुगा तथा गलैँचा उद्योगहरू काठमाडौँ झुम्मिनुको एउटा प्रमुख कारण ती वस्तुहरूको विमानद्वारा निर्यात गर्न सक्नु हो । यस्ता निकासीउन्मुख उद्योगहरूलाई भरतपुर–गैंडाकोटमा स्थापना गर्न प्रोत्साहित गर्नु र साथै वन्यजन्तु (चितवन), धार्मिक (लुम्बिनी) पर्वतीय (पोखरा) तथा सांस्कृतिक (काठमाडौँ) पर्यटनलाई पायक पार्न अन्तर्राष्ट्रिय विमानस्थल भरतपुरमा स्थापना गर्ने ।
८. सन् २००० को लक्ष्य राखेर राजधानीलाई भरतपुर सार्ने योजनाबद्ध कार्यक्रम लागू गर्ने ।
यिनै हुन्, हर्क गुरुङका आठ जुक्ति । के अब वि.सं. २१०९ अर्थात् फेरि अर्काे ३० वर्षपछि पनि हर्कको लेख काठमाडौँको ‘भविष्य’ भइरहला वा ‘भूत’ ?
हर्क गुरुङको यो लेख पनि पढ्नुहोस् :
राष्ट्रियताका आधार नठम्याई बुद्धिजीवीहरूको मगजको चल्मलाइको केही अर्थ छैन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया