स्वास्थ्य मन्त्री खतिवडाको जेल स्मृतिमा झल्लु र राधाकृष्ण मैनाली
पञ्चायतकालमा जेल जीवन । एक किसिमको दिनचर्या थियो, विरोध खतिवडाका निम्ति । चार पटक सांसद भएपछि पहिलो चोटि मन्त्रीको स्वाद लिँदैछन् । बाबु बद्रीप्रसाद खतिवडा जो स्वयं त्यो कालका कम्युनिस्ट–शिक्षक नेता । अनि मकवानपुरमा कम्युनिस्ट उत्पादनमा सक्रिय । उनकै छोरा विरोध पनि २०३५ मा कलेजबाटै विद्यार्थी राजनीतिमा होमिए । त्यसपछि जेल उनका निम्ति घर जस्तै बन्यो । हुन पनि २०३६ देखि २०४६ मा प्रजातन्त्र नआउँदासम्म १२ पटक जेल गए । छोटोमा तीन–चार महिना, लामोमा चौध महिना । जम्मा पाँच वर्ष जेल जीवन बिताए । जेल नगएको कुनै पनि वर्ष खाली रहेन ।
उति बेलाका राजद्रोही, यतिखेर स्वास्थ्य मन्त्री खतिवडाले जेलभित्र रहँदाका दुई अविस्मरणीय किस्सा सुनाए । उनैका शब्दमा ती किस्सा यहाँ प्रस्तुत छ :
विनाअपराध हत्यारा झल्लु
म वीरगन्ज जेलमा थिएँ । एउटा अनौठो कैदी हामीबीच थियो, त्यो पनि विनाअपराध, हत्याको सजाय भोग्दै थियो ।
तराईका एक जमिनदारका छोरीसँग सामान्य एउटा चौधरी केटाको माया–प्रेम बसेछ । जुन प्रेम सम्बन्धलाई जमिनदारको परिवारले रुचाउने सवाल नै रहेन ।
छोरी भेट्न आएका प्रेमिकालाई जमिनदार बाबुले गोली ठोकेरै मारिदियो । त्यसपछि चौकीका प्रहरीहरू आउने नै भए । गोली हान्नेलाई पक्राउ गर्नैपर्ने थियो । अभियुक्त त तिनै जमिनदार थिए । स्थानीय प्रहरी–प्रशासनले जमिनदारलाई सिधै पक्राउ गर्न सक्ने आँटै भएन । अझ तिनै जमिनदारसँग प्रहरी–प्रशासकको खानपिन र उठबस हुने नै भयो । अर्थात् ती प्रहरी तिनै जमिनदारका ‘डोमिनेट’मा रहने नै भए ।
तर, मान्छेको ज्यानै गएपछि समस्या पर्ने भयो ? कोही न कोही ज्यान मार्ने अभियुक्त चाहियो नै ।
तर, त्यस्तो मुद्दामा प्रहरी–प्रशासन मिले पनि सल्टाउन सकिने त भएन । जमिनदार र प्रहरीकै मिलेमतोमा जुक्ति निकालेछन्, कसैलाई हत्याराका रुपमा फँसाउने ।
जमिनदारकै हरुवा–चरुवामध्ये एकलाई समातियो । जसमा सोझा–साझा भर्खरको केटो झल्लु परेछन् । उनको पूरै नाम र थर त याद भएन । तर जेलभित्र झल्लु भनेपछि सबैले चिन्ने नै भए ।
झल्लुलाई फकाउँदै, लोभ देखाउँदै उसैलाई ‘अभियुक्त’को प्रपञ्च रचियो । उनी जमिनदारले देखाएको लोभमै सजिलै ज्यानमारा बन्न तयार भए ।
झल्लुसँग जमिनदारले भनेछ, ‘मैले यो छोरी तँसँग नै विवाह गर्न खोजेको थिएँ । अनि मैले छोरीसँगै चार बिघा जग्गा, हात्ती, पैसासमेत दिने विचार गरेको थिएँ । तर, त्यो केटो आएर तँलाई दिन खोजेको छोरी भगाउन खोज्यो । मैले त्यसलाई गोली ठोकेरै मारिदिएको हुँ ।’
जमिनदारले भनेछ, ‘मेरो मन चाहिँ तँलाई छोरीसहित चार बिघा जग्गा दिने हो । अब तैँले मैले मारिदिएको हुँ भनिस् भने म त्यो विचार पूरा गर्छु । मेरो पुलिस–प्रशासनसँग सम्बन्ध छ भन्ने थाहा छँदै छ । तँलाई म एक–दुई महिनामै छुटाइहाल्छु । त्यसपछि छोरी तँसँगै विवाह गरिदिन्छु ।’
जमिनदारको कुराले खुसी हुँदै झल्लु तुरुन्तै हत्यारा बन्न राजी भयो । प्रहरी–सरकारी वकिलसँग आफूले मारेको बयान दियो । उसैको बकपत्रमा आधारित मुद्दा चल्यो । जेल गयो ।
म वीरगन्ज जेलमा रहँदा उसले बाह्र वर्ष जेल भोगिसकेको रहेछ । म त कानुनको विद्यार्थी । मलाई तिनको घटना आश्चर्य लाग्यो ।
उसले मलाई घटनाको रामकहानी बतायो । त्यसपछि मैले ऊसँग भनँे, ‘हेर तँलाई फँसाएछन् । किन तँैले त्यसरी झूठ बोलेर आफैँलाई फँसाइस् ?’
तर, ऊ आश्चर्यजनक शैलीमा जंगियो । एकचोटि उसले भन्यो, ‘तँ पनि विपक्षीसँग मिलेको छस् ।’
उसको कुरा सुनेर झस्किएँ । किनभने ऊ अझै पनि जमिनदारले त्यही छोरीसँग विवाह गराइदिन्छन् भन्ने कल्पनामै रहेछ । बाह्र वर्ष जेलम रहँदा पनि चार बिघा जग्गा र हात्तीको मालिक हुन्छु भन्ने सपना मरेको रहेनछ ।
भन्यो, ‘जेलबाट छुटेपछि जमिनदारको छोरीसँग विवाह गर्ने, चार बिघा जग्गा र हात्तीसहित बस्छु ।’
कहाँ अब तँलाई जमिनदारले छोरी दिन्छन् र छोरी त अर्कैसँग विवाह गरी पठाइसके होलान् भनेको त ऊ झन् कड्कियो, ‘तुम भी विपक्षीसे मिले हुँए हें ।’
बकपत्रका बेला उसलाई जसरी सिकाइएको छ, त्यसैले ऊ भरिएको रहेछ । उसको मगजमा भरिएको रहेछ, ‘जब तँ प्रहरी–अदालतमा मैले मारेको हुँ भनी जान्छस्, तब चारैतिरबाट कुरा आउँछन् । मैले मारेको होइन भन्न लगाउन सक्छन् । तिनीहरूलाई मैले तँलाई छोरी दिन खोजेको मन परेको छैन । पुलिस–अदालतमा होइन भन् भन्न सक्छन्, सत्य कुरा भन् भन्न सक्छन् । तैंले बुझ्नु कि ती सबै तेरा–मेरा विपक्षी हुन् । छोरी जग्गा–हात्ती लिने हो भने मैले मारेको हुँ भन्नु ।’
‘तँलाई जमिनदारले फँसायो ?’ जतिपटक मेरो यो वाक्य निस्कन्थ्यो त्यति त्यति नै पटक ऊ भनिहाल्थ्यो, ‘तुम विपक्षीसे मिला हे ।’
कति सोझो बाह्र वर्ष जेल जीवन गुजारी सक्दा पनि जमिनदारले छोरी–जग्गा–हात्ती दिने मीठा सपनामै बाँचिरहेको पाए । मैले उसलाई सम्झाउन नै सकिनँ । उसलाई सम्झाउनु, कानुन बुझाउनुको कुनै अर्थ रहेन । केही भन्यो कि त ‘विपक्षीसँगै मिलेको छस्’ भनिहाल्थ्यो ।
त्यतिखेर उसलाई बीस वर्ष सजाय तोकिएको थियो । पञ्चायत कालमा चौखण्डी सजाय नाघेपछि जेलबाट छाडिन्थ्यो, त्यो पनि प्रजातन्त्रसँगै जेलबाट बाहिरियो होला ।
०००
अनि डाँकाका रूपमा राधाकृष्ण मैनाली ?
जेलमा डाँका थुनिन्थ्यो, जब म जेलमा थुनिएको थिएँ । मेरा परिवारका सदस्यहरूलाई जेलमा जुनिएका ‘डाँका’को अनुहार हेर्ने रहर जागेछ । पहाडका मानिसले चोर मात्र देखेका थिएँ । तराईका डाँकाको समाचार मात्रै सुनेका थिए ।
कहिले चारकोसे झाडीमा गाडी लुटिएको त कहिले गाउँमै डाकाद्वारा सखाप समाचार सुनेका थिए । त्यस बखत ‘फिल्म’का डाँका, अनि डाँका सरदारका खतरनाक अनुहारयुक्त छाप तिनमा गढेको थियो ।
जेलमा मलाई भेट्न आउँदा बहिनीले ‘डाँका’ देखाइदिन जोड गरिन् । तर जेलमा उनले सोचे जस्तो र देखेजस्तो डरलाग्दा हाउभाउका डाँका थिएनन् । अनि जेल परेपछि जेलका सिदाले ख्याउटे भइसकेका ‘डाँका’ मात्र थिए । तिनै ख्याउटे अनुहार भएकालाई डाँका हुन् भन्दा तिनको छापमै अर्कै असर पर्ला भन्ने लाग्यो ।
यसो हेरेको त जेलभित्र राधाकृष्ण मैनाली बर्लङ्बर्लङ् हिँडिरहेको देखेँ । बहिनीलाई देखाउँदै भने, ‘ऊ हेर, तिनै हुन्, डाँका ।’
त्यसरी देखाएपछि बहिनीको डाँका छाप कायम रह्यो । मैले त्यसरी देखाएको राधाकृष्ण मैनालीले थाहा पाएनन् । पछि बहिनीलाई डाँकाको छाप पार्न तपाईंलाई देखाएको भनेपछि मैनाली डाको छाडेर हाँसेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया