विचार

पत्रकार महासंघको निर्वाचन हो कि राजनीतिक दलका भ्रातृ संस्थाको ?

सञ्जय पन्थी |
चैत २१, २०७७ शनिबार १५:५ बजे

पत्रकारिता किन ? कसका लागि ? पत्रकारको धर्म के ? पत्रकार जगतको निर्वाचन आखिर केका लागि ? उल्लेखित सवालको जवाफ व्यक्तिबाट शुरु भएर पाठक हुँदै समाजसम्म पुग्छ । समाज आखिर के चाहन्छ ? स्वतन्त्रता । स्वतन्त्रताको लागि आधार स्तम्भ के ? सत्य, न्याय र अहिंसा । पत्रकारिता के बाट निर्देशित रहन्छ ? सत्य, न्याय र समाजबाट । समाज र पत्रकारिताको आधार स्तम्भ एउटै भएपनि पछिल्ला दिनमा पत्रकारिताप्रति नेपाली समाजको विश्वास निकै खस्किएको छ । 

पत्रकार महासंघको नेतृत्वका प्रत्यासीको ध्यान के यस्ता सवालमा पुगेको छ त ? उनीहरू आ-आफ्नो दलबाट टिकट लिएर निर्वाचनमा छन् । यो झट्ट हेर्दा पत्रकारको चुनाव जस्तो लागेपनि पर्दापछाडि दलहरू नै भिडिरहेका छन् । हाम्रो संविधानले प्रेस स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ ।


लोकतान्त्रिक व्यवस्थामा पत्रकारिताको अन्तिम लक्ष्य न्यायमा आधारित विवेकयुक्त समाज स्थापना गर्नु हो । लोक अर्थात समाज । तन्त्र अर्थात शासन व्यवस्था । त्यही लोकतन्त्र हामीले यतिबेला अभ्यास गरेको व्यवस्था हो । हामीले अभ्यास गरेको व्यवस्थामा पत्रकारिता जगतलाई राज्यको चौथो अंगको मान्यता (अलिखित) दिईएको छ । तर पत्रकारिता जगत के साँच्चै चौथो अंगको भूमिकामा निर्वाह गर्न सक्षम छ ? पत्रकार महासंघका नेतृत्वका प्रत्यासीहरुसँग जिज्ञासा ! 

लोकतन्त्रका हिमायती महात्मा गान्धीका अनुसार पत्रकारिताको धर्म समाज केन्द्रित रहेर सद्‍भाव, सद्गुण कायम गर्नु गराउनु हो । कसैको दाहिने हात काटदिदा होस वा बाँया हात काटिदिदाँ समाजमा सुशासन, शान्ति कायम रहन सक्दैन् । त्यसैले क्षतिको सम्भावनालाई अन्दाज गरेर हिंसाबाट समाजलाई दूरी कायम गराउन सक्नु मर्यादित पत्रकारिता गुण हो । गान्धीको सुझाव छ, आफ्नो भन्दा समाजको हितलाई सर्वाेपरी राखेर पत्रकारिता गरिनुपर्छ । आफ्ना लागि त व्यापारीले व्यापार गर्छ, उनको मान्यता छ । तर दुर्भाग्य यतिबेला हाम्रो पत्रकारिता म केन्द्रित हुन पुगेको छ । यस्तो अवस्थामा हाम्रो लोकतन्त्र कसरी सभ्य र उन्नत व्यवस्था बन्न सकोस ? मुलुकको अस्थिर राजनीतिको सम्भावनाद्वारमा पत्रकारिता जगत पनि छ, भन्दा अत्युक्ति हुँदैन ।

महात्मा गान्धी स्वयम् पत्रकार थिए । गान्धी सद्गुणका पक्षपाती थिए । नेपालका पूर्व प्रम एवंम नेपाल पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराई उनै गान्धीका अनुयायी रहे । गान्धीले भनेका छन् ‘पत्रकारिता र पत्रकारको धर्म भनेको निःशस्त्र रहेर समाजमा सुशासन र शान्ति कायम गर्नु हो ।’ यदि पत्रकार विवेकहीन हुनपुग्यो भने पत्रकारिता जगत नै दोषको भागीदार हुन पुग्छ । हजार तोपले नखलबलाएको शान्ति पत्रकारको एउटा कलमले खलबलाउन सक्छ, भन्ने उनको मान्यता रह्यो । हाम्रा अग्रज किसुनजी पनि गान्धीको उक्त आर्दशबाट अनुग्रहित रहे । महासंघका संस्थापक भट्टराईको पनि पत्रकारिता जगतले सही सूचना मार्फत समाजलाई मार्ग निर्देशन गर्न सक्नु पर्छ भन्ने मान्यता रह्यो ।

साथै पत्रकारको धर्म लोकशिक्षणको भूमिका निर्वाह गर्नु पनि हो । यदि पत्रकारिता समाजप्रति जिम्मेवार छैन् भने त्यस्तो पत्रकारिता अराजकता मात्र हो । साथै त्यो व्यक्ति केन्द्रित व्यवसाय मात्र हो । असल चरित्रबिनाका पत्रकारिता विचारशून्य आवाज मात्र हो । त्यस्तो पत्रकारिताले सदाचारको सट्टा दुराचार र अनाचार फैलाएर अशान्ति मच्चाउछ । पत्रकारले पेशाको दुरुपयोग गरेर निहित स्वार्थवश धन, वैभव आर्जन गर्नु दलाली र व्यापार हो । त्यस्तो पत्रकारिता कदापी जिम्मेवार पत्रकारिता हुन सक्दैन् । 

प्रविधिमा भएको विकाससँगै समाचार भाईरल बनाउने नाममा जे पायो त्यही लेख्ने अभ्यास अहिलेको पत्रकारिताको प्रचलनका रूपमा स्थापित हुने जोखिम बढेको छ । केही दिन अघिमात्र निधन भएका प्रजातान्त्रिक आर्दशवादी नेता नविन्द्रराज जोशीको उपचाररत अवस्थामा मानवीय संवेदनाको ख्याल नै नगरी निधनको समाचार लेख्नेहरू पनि पत्रकार नै हुन् । 

त्यस्ता कलमवाजलाई पत्रकारका रुपमा स्थापित गराउनु पेशाप्रति अपमान हो । पत्रकार महासंघको निर्वाचन भैरहँदा कतै त्यस्तै चरित्रका व्यक्तिलाई प्रत्यासी त बनाईएको छैन ? मनन गर्नु पर्ने अवस्था छ । महासंघको निर्वाचनका क्रममा बनेका गठबन्धन (एलायन्स)का नाममा त्यस्ता चरित्रका व्यक्तिलाई उमेद्‍वार बनाएर मत माग्दा निष्ठावान एवं अग्रजहरूको विवेकले के भन्ला ? सवाल सोचनीय छ ? 

अग्रज पत्रकार विजय कुमारले कुनै सन्दर्भमा भनेका छन् ‘आजको स्वतन्त्र पत्रकारिताको जगमा एउटा पुस्ताको त्याग, बलिदान र निष्ठाको मूल्य छ ।’ त्यो मुल्य बुझ्‍नै नसक्नेहरु कतै पत्रकार महासंघको निर्वाचनमा प्रत्यासी त बनिरहेका छैनन् ? स्तम्भकारको जिज्ञासा त्यही हो । अश्लीलतालाई भजाएर पत्रकार बनेका कतिपय व्यक्तिलाई नेतृत्वको प्रत्यासी बनाइएको त छैन ? 

सन्दर्भलेले यतिबेला त्यस्ता केही कर्मको दृष्टान्त पेश गर्नु उचित नै हुने छ । गत वर्षदेखि कोभिड–१९ को महामारीले सारा विश्वजगतसँगै नेपाल पनि अक्रान्त रह्यो । त्यस अवधिमा नेपालको पत्रकारिता जगत कसरी अधुरो रहन सक्थ्यो र ? त्यही अवधिमा पत्रकारिता जगत पनि महामारीको मारमा पर्‍यो । कैयौं  साथीहरु पेशाबाट विस्थापित भैरहेको अवस्था थियो । उनीहरुलाई पेशामा टिकाउनुकोे सट्टा पत्रकारको संस्था भनिने पत्रकार महासंघ कतिपय साहु महाजनसँग मिलेर उनीहरुकै पक्षमा सहमत हुन पुगे । श्रमजीवी पत्रकारलाई विस्थापित गराउन उनीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रह्यो । 

पत्रकार महासंघको नेतृत्व कतिसम्म विवेकहीन हुन पुग्यो, भने राज्यस्रोत दुरुपयोग गरेका एक विवादित व्यापारीले आपतका बेला पर्खिएको अवसरलाई सहयोगी एवं दानवीर मान्न तयार भयो, पत्रकार महासंघको नेतृत्वरूपी त्यो सत्ता । महासंघकै कार्यलयमा डाकेर हजार, पन्ध्र सय मुखमा लगाउने मास्क लिन महासंघको नेतृत्व राजी भयो । ती मास्कको उपयोग र वितरण कसरी कहाँ भयो भन्ने जानकारी नेतृत्वले सार्वजनिक सम्म गरेन् । महासंघमा आबद्ध १३ हजार पत्रकार रहेका बेला हजार, पन्ध्र सय मास्क विवादित व्यापारीबाट लिनु कति न्यायोचित थियो ? 

जानकारीमा आए अनुसार व्यापारी निकट नेतृत्वले आफू निकटका व्यक्ति र परिवारलाई ती मास्क वितरण गर्‍यो । महासंघले जसरी विवादित व्यापारीलाई दानवीर बनाउन समाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्‍यो । त्यसरी नै उपयोग र वितरण कहाँ भयो भन्ने विवरण सार्वजनिक गर्न सक्नु पर्ने हैन र ? पारदर्शिता र जवाफदेहिता लोकतन्त्रमा सबैको कर्तव्य हो । अझै नेतृत्वका लागि अपरिहार्य हो । पारदर्शिता र सुशासनको आधारस्तम्भ मानिने पत्रकार जगतको आचरण र अनुशासन अझै कठोर हुनुपर्छ । 

महासंघका सचिव रामप्रसाद दाहालका अनुसार यस अवधीमा करिब ३७ सय पत्रकार पेशाबाट विस्थापित भए । उनीहरुलाई पेशामा स्थापित गर्न अपवादमाबाहेक समग्र नेतृत्वले केही गर्न सकेन् । दुःखका बेला साथ दिन नसक्ने नेतृत्वलाई कसरी सम्मान गर्नु र भोट दिनु ? पत्रकारितालाई उपयोग गरेर अनेक धन्दा गराउने पत्रकार समाजमा स्थापित छन् । उनीहरुका सामु पेशा प्रति बफादार र निष्ठावानहरु निरिह बन्नु पर्ने अवस्था छ । महासंघका संस्थापक कृष्णप्रसाद भट्टराई देखि गोपालदास श्रेष्ठसम्मको चिन्तन र व्यवहारले अहिलेको अभिव्यक्ति स्वतन्त्रता प्राप्त भएको हो भन्ने उनीहरुलाई के थाहा ? जब व्यापारीको स्वार्थ र उनीहरुलाई आर्दश मानिन्नछ भने त्यतिवेला अग्रजहरुका गुण र कर्मको के मतलब । 

महासंघका संस्थापक भट्टराइले त पत्रकारिता मात्र नभएर नेपाली समाजको चिन्ता गर्दै जीवनको उत्तरार्धकालमा प्रेम बानिँयासँगको अन्‍तवार्तामा भनेका छन् ‘नैतिकता भएन भने समाजको स्तर माथि उठ्दैन् ।’ (युट्युबमा सर्च गरेर हेर्न सकिन्छ) तर यतिबेला पत्रकारिता जगतको नैतिकत सवाल बारेमा महासंघको वर्तमान नेतृत्व हत्याउन आतुर पुस्ताले हेक्का राखेको पाइँदैन । आसन्न निर्वाचनमा दलको भ्रातृ (उनीहरूले शुभेच्छुक संस्था पनि भन्छन्) गठबन्धनका नाममा कोटा पुर्‍याउन जस्तालाई पनि उमेद्‍वार बनाएको अवस्था छ । 

पत्रकारको स्तर र अवस्थाका बारेमा अग्रज पत्रकार प्रतीक प्रधान भन्छन् ‘हाम्रो समाजमा धेरै थरीका पत्रकार छन् । ठ्याक्कै भन्दा अक्षर र भाषासँग सम्झौता नगरी लेख्ने पत्रकार र अक्षर र भाषालाई दुरुपयोग गर्ने पत्रकार । यस्तो पत्रकारले ‘ब्ल्याकमेल’ गर्ने, जे पायो त्यही लेख्‍ने र राजनीतिक अभिष्ट पूरा गर्न खोज्छ । व्यापारिक अभिष्ट पूरा गर्न खोज्छ । पत्रकारितालाई माध्यम बनाएर अपराध गर्नेहरु पनि छन् । तस्करीदेखि क्रसर उद्योग चलाउनेसम्म पत्रकार भएका छन् ।’ (उकेरा डटकम) प्रधानको भनाईलाई पुष्टी राजधानी देखि मोफसलको कैयौं संचारगृहका सञ्चालकको अनुहार स्मरण गराउँछ । किनकी उनीहरुलाई पत्रकारिता भन्दा पत्रकारिताका नाममा धन्दा चलाउनु छ । 

मोफसलको पत्रकारिता 

प्रधानको भनाईले मोफसलको पत्रकारिताको अवस्थालाई झनै उजागर गरेको छ । जहाँ क्रसर व्यवसायीले मिडियामा लगानी गरेको हुन्छ त्यहाँ उसले अवश्य प्रतिफल खोजे कै हुन्छ । कपिलवस्तुमा पुग्दा क्रसर देखि मिडियासम्म एउटै समुहको लगानी भेटिन्छ । उनीहरुको पहुँच अदालतदेखि  मिडियासम्म रहेको पुष्टि हुन्छ । उनीहरुको नदीजन्य पर्दाथको अति दोहनविरुद्ध स्थानिय पत्रकारले लेखन धर्म प्रवाह गर्न सक्ने अवस्था छैन् । ‘यो महापत्रकार संघको उमेद्‍वार बन्न मन लागे पनि दरखास्तको धरौटी राख्ने बेला चाहिं गिट्टी–ढुङ्गावालाको अनुहार आँखामा झल्झली घुम्ने रैछ ।’ पत्रकार युवराज आचार्य । आचार्यको भनाईले पनि मोफसलको पत्रकारिताको अवस्थालाई उजागर गरेको छ ।

त्यसैमा अझै महासंघको नेतृत्व त्यस्ता धन्दाको साक्षी भैदिए पछि के मोफसलको पत्रकारिताको अवस्था के होला ? यदि उनीहरू विरुद्ध समाचार प्रवाह गरिए क्रसर सञ्चालकहरूद्वारा पोषित पत्रकार जाईलाग्ने सम्मको अवस्था छ । अपराधमा दर्ज नहुने भएकोले सवारी दुर्घटनाबाट बिरुद्ध लेख्‍ने पत्रकारको ज्यान लिइदिन्छौं भनेर तर्साइएको अवस्था छ । प्रहरी प्रशासन क्रसरवालका कै पक्षमा, मिडिया पनि उनीहरुका पक्षमा भएपछि स्थानीय निरिह बनेको अवस्था छ । 

(क्रसर सञ्चालकको पहुँचको प्रमाण तस्बिरमा हेर्नुहोला)  

पत्रकारितालाई उपयोग गरेपछि क्रसर व्यवसायीको स्थानीय प्रशासनसम्म सहज पहुँच बन्दो रहेछ । पत्रकारितालाई पेशालाई दुरुपयोग गर्नेहरुको ‘धन्दा’ अध्ययन गर्न महासंघका प्रत्यासी कपिलवस्तु पुग्न सक्नुहोस् स्तम्भकारको आग्रह छ । पत्रकारिता पेशाको दुरुपयोग कतिसम्म गरिंदो रहेछ भने महासँघको नेतृत्व हत्याउन जस्तोसुकै गठबन्धन ‘पेड पत्रकार’हरू तयार हुँदा रहेछन् । पत्रकार राजाराम गौतम भन्छन् ‘प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले पत्रकारलाई सल्लाहकार बनाउने जुन चलन चलेको छ, त्यसले ‘वाचडग’ को भूमिका नेताको चौकीदारमा सीमित गरिदिएको छ ।’ (कान्तिपुर दैनिक) त्यस्ता पत्रकार यतिबेला जिल्ला–जिल्लामा नेतृत्व हत्याउन आतुर छन् । महासंघको नेतृत्व हत्याएसँगै जिल्लाका स्थानीय निकायमा सार्वजनिक सुनवाई कार्यक्रम गर्नु त्यस्ता पत्रकारको देखावटीको कर्म बन्ने गरेको छ । 

त्यस्ता सुनुवाईसँगै भ्रष्ट नियतका जनप्रतिनिधिसँग मिलेर पत्रकारले नै अनेक धन्दा चलाउँदा रहेछन् । स्थानीय नदीनाला दोहनको ठेक्कादेखि विकास निर्माणका ठेक्कापट्टा, भ्रष्ट्र नियतका जनप्रतिनिधिलाई विकास प्रेमी देखाउनु पत्रकारको कर्म हुने रहेछ । जहाँ स्थानीय निकायले २० लाख रुपैयाँ भन्दा कम रकमको बजेट उपभोक्ता समिति गठन गरेको देखाएर समितिका सदस्यलाई नै ठेक्का दिइँदो रहेछ । त्यस्तो कर्मको आम्दानीको भागबण्डा पत्रकारलाईसम्म आउँदो रहेछ । 
महासंघको नेतृत्वले सार्वजनिक सुनुवाई गरेर त्यस्ता जनप्रतिनिधिलाई विकासप्रेमी बनाए वापत पत्रकारहरूबाट सन्चालित स्थानिय सञ्चार माध्यमलाई सानो कामको पनि विज्ञापन गर्न रकम उपलब्ध गराइँदो रहेछ । कतिपय अवस्थामा पत्रकारको नेतृत्वदायी संस्था महासंघ नै गलत धन्दामा उपयोग भएपछि उसका विरुद्ध कसले आवाज उठाउने ? 

महासंघको केन्द्रीय नेतृत्व त्यसरी धन्दा गर्ने शाखामा पटक-पटक आमन्त्रित हुनु र  प्रमुख अतिथी बनाईनु महासंघको जिल्ला नेतृत्वको च्यानल नै सेटिंग बन्न पुग्दो रहेछ ।  त्यसैले यस पटकको गठबन्धन, नेतृत्व हत्याउनेहरुका लागि राम्रो अवसर पनि बनेको रहेछ । त्यस्ता दृष्टान्त अन्य जिल्लामा पनि होलान् । गलत धन्दा पत्रकार महासंघ उपयोग र साक्षी भैदिए पछि पत्रकारिता धर्म र मर्म कहाँ पुग्ला ? उल्लेखित दृष्टान्त मोफसलको पत्रकारिता हो । 

जहाँ नीतिगत भ्रष्ट्राचारको साक्षी पत्रकार जगत (महासंघ) हुन्छ भने त्यहाँ शुसासन कसरी प्रत्याभुत हुने ? ‘वाचडग’ को भुमिका रहेका पत्रकार नै ‘क्याचडग’ भैदिए पछि पेशाको मर्यादा कसरी बचाउन सकिएला ? पत्रकार नै अस्वभाविक तरिकाबाट धन, वैभव आर्जनको प्रलोभनमा परेपछि चौथो अंगको अस्तित्व कसरी बचाउन सकिएला ? केन्द्रदेखि स्थानीय तहसम्म नितीगत भ्रष्ट्राचारमा पत्रकार नै सहभागी भएका कैयौं दृष्टान्त छन् । त्यस्तो अवस्थामा नागरिकले पत्रकारिता जगतलाई कसरी विश्वास गर्ने ? 

प्रस्तुत दृष्टान्त पत्रकारिताभित्रका चिन्तनका उपज हुन् । साथै प्रतिनिधि घटना । अनदेखा यस्ता कैयौं  विकृतिको साक्षी पत्रकार नै भैरहेको अवस्था छ । यस्तो अवस्थामा पत्रकारिता जगतलाई कसरी ‘वाचडग’ मान्नु ? अग्रज पुस्ताका पत्रकार ध्रुवहरि अधिकारी ‘सत्य, तथ्य र निर्भिक पत्रकारिता, एकादेशको कथा भएको छ । पहिलाको भन्दा पनि पत्रकारिताको स्तर खस्किएको छ ।’ जहाँ पत्रकार नै राजनीतिक दलका कार्यकर्ता भएपछि पत्रकारिताको धर्म कहाँ रह्यो ? उनको प्रतिप्रश्न छ । राजनीतिसँगै पत्रकारिता प्रति नागरिकको घट्दो विश्वास बचाउनु महासँघको कर्तव्य भएको अधिकारीको बुझाई छ । महासंघको नेतृत्वका प्रत्यासीले आफू निर्वाचित भैरहँदा समाजमा पत्रकार र पत्रकारिता जगतप्रति खस्किएको विश्वास आर्जन भूमिका निर्वाह गर्न सकुन् । 


Author

थप समाचार
x