फिल्म समीक्षा
अनुपको अनुपम ‘दोख’ : कथा र कला दुवैमा अब्बल
भव्य क्यानभास निर्माण गरेर सामाजिक मुद्दामा उही अन्दाजमा कथा प्रस्तुत गर्ने अनुप बरालको खास शैली हो । निर्देशकीय डेब्यु फिल्म ‘फिटकिरी’मा आफ्नो सामर्थ्य छाडेर ‘सस्पेन्स–थ्रिलर’ विधाको फिल्ममा हात हालेका अनुप बरालले त्यो विधामा अपेक्षित दक्षता प्रस्तुत गर्न सकेका थिएनन् । तर त्यसको दशकपछि नयाँ फिल्म ‘दोख’ लिएर हल छिरेका अनुप बरालले यो फिल्ममा भने गज्जब कौशल देखाएका छन् । निर्देशनदेखि प्रविधिका हरेक पाटोमा फिल्म चुस्त छ । कलाकारलाई अभिनय गराउने कुरामा त झन् उनलाई धेरैले ‘गुरु’ मानेकै छन्, जसका लागि उनको अतिरिक्त चर्चा नगरे पनि हुन्छ ।
सामाजिक मुद्दामा बनेका फिल्मले कथा मात्र वाचन गर्दैनन् त्योसँगै एउटा धारणा पनि ‘प्रोजेक्ट’ गर्छन् । अनुप बराल निर्देशित ‘दोख’को घतलाग्दो विशेषता यही हो । यसले हामीले भोगेको इतिहासको काल बेलाको कथा प्रस्तुत गर्छ तर स्पष्ट ‘स्टेटमेन्ट’सहित । यो ‘स्टेटमेन्ट’ हो, ‘प्रतिशोधको राजनीतिले मान्छेलाई केही उपति दिँदैन, सिवाय विनाश ।’
सशस्त्र द्वन्द्व सकिएको १० वर्षपछि त्यो समयको कथा लिएर सुटिङमा निस्किएको फिल्म हलमा आइपुग्दा अरु आठ वर्ष बितिसकेका छन् । तर फिल्मका अनेक तारिफयोग्य कुरामध्ये पहिलो कुरा यही नै हो कि फिल्मले पिरियड सेटिङको हाँकलाई मज्जाले स्वीकार गरेको छ । पर्दामा बोल्ने र नबोल्ने सबैले त्यो पिरियडको झल्को दिन्छन् जुन यो शैलीका फिल्मका लागि खड्गो मानिने गर्छन् ।
‘दोख’को कथा सुुरु हुन्छ, काभ्रेपलाञ्चोकका रोनित बस्नेत (मनीष निरौला) पूर्वी पहाडको गाउँ सल्लेमा शिक्षक बनेर पुगेसँगै । रजिस्टरमा नाम लेखाएमध्ये तीन तिहाइ विद्यार्थी नभएको स्कुलमा शिक्षकले पढाउन सुरु गरेसँगै कथाले बाँकी चरित्रलाई प्रस्तुत गर्दै जान्छ । योसँग पर्दामा देखिँदै जान्छन्, गरिब दुःखीको मुक्तिका लागि लडिरहेका कमरेड संगीत (सुरज मल्ल), खुटखबरविना बेपत्ता श्रीमान् पर्खिरहेकी रुकी (दिया मास्के) गाउँको सुरक्षाका लागि चिन्तित अध्यक्ष घनश्याम (माओत्से गुरुङ) र पुत्र वियोगको पीडा बोकेर बसिरहेका मिजासिला पात्रे (लोकमणि सापकोटा) र एक थान उरन्ठेउला केटा ।
यिनै उरेन्ठेउला केटाले एक दिन छिमेकी भकुन्डे गाउँको युवकलाई फर्काइ फर्काइ पिटेपछि सुरु भएको द्वन्द्व फुटबल खेलमार्फत साम्य पार्ने निधो हुन्छ । यसपछि दुवै गाउँ भकुन्डो खेल्ने तयारी गर्छन् तर सल्ले गाउँमा भकुन्डोको मात्र तयारी छैन, भित्रभित्रै प्रतिशोधको तयारी पनि भइरहेको छ । फुटबल र प्रतिशोध दुवै खेलको पटाक्षेप कसरी हुन्छ ‘दोख’को मोटामोटी कथा यही हो । यही कथालाई लेखक र निर्देशकले कुरुसले स्वेटर बुनेझैँ सुन्दर शिल्पसहित बुनेका छन् । फिल्मको मध्यभागअघि केही ‘लुज मोमेन्ट’हरू नभएका हैनन् तर फिल्मको दोस्रो भाग र क्लाइमेक्सले त्यस्ता दोख बिर्साउँछन् ।
राजन कठेत लिखित कथामा चरित्र र घटनाको बहुआयामीकरण छ । एउटै पात्रले दोहोरो चरित्र बाँचेका छन् र यी संलग्न घटनामा पनि बहुअर्थ छन् । ट्रेलर हेर्दा यो फिल्म राज्य र सशस्त्र हतियारधारीको कथामा बनेको फिल्म हो कि भन्ने आभास हुन्थ्यो । तर फिल्मले बिट मारिरहँदा सल्ले र छिमेकी भकुन्डे गाउँका बासिन्दा हतियार नबोकेरै पनि युद्ध गरिरहेको महसुस हुन्छ । अनि १० वर्षे सशस्त्र युद्धमा हरेक नेपाली यसरी नै लडिरहेका पनि थिए । कोही हतियार बोकेर अनि कोही हतियार नबोकेर । कोही सिद्धान्तका लागि अनि कोही प्रतिशोधका लागि । जोख्ने नै हो भने चाहिँ सायद यसमा प्रतिशोधको मात्रा अल्लि बढी थियो । फिल्मले यही प्रतिशोधको आयामलाई मुखर गरेको छ ।
अनुचित संसर्गको बात लागेपछि गाउँलेको अगाडि मनीष र दियाको चरित्रले भाटा खाने दृश्य फिल्मभित्रकै पनि उम्दा दृश्य हो ।
कठेत लिखित फिल्मको रोचक पक्ष पात्रको चरित्र चित्रण हो । फिल्मका चरित्र आम फिल्ममा जस्तो धिरोदात्त छैनन् । सबै मानवीय गुणले युक्त छन् । सुविधामा सज्जन अनि असुविधामा दुर्जन । चरित्रको यो ‘ग्रे सेडिङ’ले फिल्मलाई यथार्थपरक बनाएको छ । प्रचलित मान्यताअनुसार शिक्षकहरू सज्जन हुनुपर्ने हो तर फिल्मका रोनित सर सज्जन रहन्नन् । महिलाहरू पतिव्रता रहनुपर्ने मान्यता विपरीत दिया मास्के विद्रोही छन् । चरित्रको मानवीयकरण यो फिल्मको खास पक्ष हो।
नेपाली फिल्ममा भिज्युवल ल्याङ्ग्वेज (सट, सट सिक्वेन्स, सिन र ड्रामाटिक सिक्वेन्स) सदा काल समस्या रहेको छ । यो फिल्मको अर्को सशक्त पक्ष यसको भिज्युवल ल्याङग्वेज पनि हो । निर्देशक र छायांकार मिलेर फ्रेम टाइट राखेका छन् तर यो प्रयोग कथामा यसरी एकाकार भएको छ कि कहीँ पनि जबर्जस्ती दर्शकले थोपर्न खोजेजस्तो लाग्दैन । न त अप्ठेरो समयमा देखाउन निर्देशकले काँडा वा तारलाई सजेसन राखेर दृश्य बुनेका छन् न रोमान्स देखाउन फूल ठोक्काएका छन् । फूलको कुरा गर्दा फिल्मको अन्त्यतिर क्षणभरका लागि फूलको दृश्य आउँछ तर त्यो जतिबेला आउँछ जब फिल्मको मुख्य चरित्र आफूले सानो उमेरदेखि बोकिरहेको बोझ बिसाउँछ । याद गर्नुहोला त्यतिबेला क्यामराको फ्रेम पनि खुलेको छ । क्यामराले हामीलाई सङ्लो पानी र खुलेको आकाश एकसाथ देखाउँछ । निर्देशक अनुप बरालसँग मिलेर छायाँकार शैलेन्द्र डी कार्कीले यसरी अनुकरणयोग्य दृश्य भाषा निर्माण गरेका छन् ।
माथि अनुप बरालको अभिनय प्रशिक्षणप्रतिको पकडको के कुरा गर्नु भनिए पनि यो फिल्ममा अभिनय गर्ने चरित्रलाई नसम्झने हो भने उनीहरूप्रति अन्याय हुन जान्छ । निर्देशक अनुप बरालले मनीष निरौलाको रुपमा कला क्षेत्रलाई सशक्त अनुहार दिएका छन् । मनीष जुन जुन फ्रेममा देखिन्छन्, बस् हेरिरहूँ लाग्छन् । तर दिया मास्केसँग कमान्डरबाट भाटा खाने क्लोज अप सटमा उनले मुटु छुन्छन् । निर्दोष अनुहार भित्र आगो बोकेर हिँडेको चरित्र उनले सानदार ढंगले निर्वाह गरेका छन् ।
अनुचित संसर्गको बात लागेपछि गाउँलेको अगाडि मनीष र दियाको चरित्रले भाटा खाने दृश्य फिल्मभित्रकै पनि उम्दा दृश्य हो ।
यसै गरी कमान्डर संगीतको भूमिकामा देखिएका सुरज मल्ल, पुत्र वियोगी लोकमणि सापकोटा र अध्यक्ष माओत्से गुरुङ सब एकसेएक छन् । बरु अभिनयको यो दौडमा दिया मास्के तुलनात्मक रुपमा कमजोर देखिएकी छिन् । फिल्मभित्र उनको चरित्रले पर्याप्त ‘रिभिलेसन’ नपाएको कारण पनि हुनसक्छ, उनको अभिनय थोरै फिक्का लागेको । त्यसबाहेक उनको चरित्र चित्रण परम्पराभन्दा माथि त उठेको छ तर पूरै प्रगतिशील छैन । उनको चरित्रले फेरि पनि पुरुषविना महिलाको अस्तित्व छैन है भन्ने सन्देश दिएको छ ।
धेरै नेपाली फिल्म चिप्लिने पाश्र्व संगीत र ध्वनि संयोजनको मामलामा पनि यो फिल्म उदाहरणीय छ । पाश्र्व संगीत तयार गर्ने पुष्पासंगम र साउन्ड डिजाइनर उत्तम न्यौपाने र विपिन स्थापितले फिल्मको लय सुहाउँदो ध्वनि सिर्जना गरेका छन् ।
सशस्त्र द्वन्द्वको रापतापबीच अगाडि बढेको फिल्मको पहिलो हाफमा त्यो गति छैन जुन यो शैलीका फिल्ममा अपेक्षा गरिन्छ । पहिलो हाफमा उरेन्ठेउला केटाहरूले फुटबल खेलेको र मनीषको चरित्रसँग कच्याककुच्युक परेका दृश्यले फिल्मको गति धिमा बनाएका छन् । मिसनसहित सल्ले आएको मनीषको चरित्र अतिरिक्त सक्रिय नहुनु पनि फिल्मको बिझाउने पाटो हो । मौकाको फाइदा उठाउने भन्दा पनि मौका बनाउने गरी त्यो चरित्र सक्रिय भएको भए फिल्मको अन्त्य थप रोचक हुनसक्थ्यो । पहाडी जिल्लामा फुटबल उति धेरै खेलिने खेल होइन तर यही खेललाई एउटा भंगालो बनाएर कथा प्रस्तुत गर्ने लेखक/निर्देशकको सोच राम्रो हो तर राजन कठेत लिखित पटकथा यहीँनेर अलि अलमलिएको छ ।
कथामा दुवै गाउँका लागि चुथ्रे वनको महत्व राम्ररी स्थापित छैन अनि त्यो वन बचाउन गाउँलेहरू पनि खास चिन्तित देखिएका छैनन् । त्यसैले खेलमार्फत द्वन्द्व घनीभूत होला कि भन्ने बेलामा फिल्म अरु नै कुरामा अल्झिएको छ । फुटबल र द्वन्द्वमध्ये कसलाई मूल कथा मानेर अघि बढ्ने कुरामा लेखक/निर्देशक अलमलिएका छन् । दोस्रो हाफमा अचानक चरित्रहरू मिसनमा देखिन्छन् तर पहिलो भागमा यो परिवर्तनलाई संकेत गर्ने दृश्यहरू छैनन् । जस्तो कि लोकमणि सापकोटाको चरित्र दोस्रो हाफमा गएर अचानक परिवर्तन हुन्छ तर पहिलो भागमा उनको चरित्र चित्रण साधारण छ । पुत्र वियोगको पीडा लिएर बाँचेको उनको चरित्रको आगो एउटा साधारण संवादमा विस्फोट भएको छ ।
खास संरचनाभन्दा बाहिर रहेर फिल्म बनाउनु सर्जक र निर्माण टिम दुवैका लागि ठूलो जोखिम हो । तर यो जोखिमलाई यदाकदा निर्माता÷निर्देशकले चुनौतीका रुपमा स्वीकार गर्छन् । ‘दोख’ यही चुनौती स्वीकारेर बनेको सिर्जना हो । तर यस्ता सिर्जनाले नेपाली दर्शकको साथ नपाएका अनेक दृष्टान्त छन् । सायद, यो समीक्षा प्रकाशित भइसक्दासम्म ‘दोख’ धेरै हलबाट बिदा भइसकेको हुनेछ तर जतिले हेर्नुहुनेछ, नेपालमा राम्रा फिल्म पनि बन्छन् है भन्ने सन्तोक लिएर निस्कनु हुनेछ । ‘राम्रो’ चाहिँ दर्शकको सिनेमा लिट्रेसीअनुसार सापेक्ष हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया