श्रीलंकाको संकटबाट नेपालले पनि केही सिक्ने कि ?
सुन्दर र समृद्ध दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट छ । सरकारसँग पर्याप्त मात्रामा वैदेशिक मुद्राको सञ्चिति नहुँदा र वैदेशिक ऋणको ब्याज तिर्न नसक्दा ऋण दाताको विश्वास गुमाउनुपरेको अवस्था एकातिर छ भने अर्कोतिर खाद्यान्न, औषधी, इन्धन, ग्यास तथा अन्य अत्यावश्यक सामग्री किन्न पनि श्रीलंका सरकारसँग विदेशी मुद्राको अभावका कारण आमजनता आर्थिक मारमा परेको अवस्था छ ।
यही बेलामा जनता सडकमा राष्ट्रपति गोटावाया राजापाक्षे र प्रधानमन्त्री रनिल बिक्रमासिंघेको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेका छन् । आफैँले मत दिएका दलका नेताविरुद्ध नागरिक प्रदर्शनमा उत्रिएका छन् । नेताका काम नहेरी मत दिएको परिणाम आज श्रीलंकाबासीले भोग्दैछन् ।
देश र जनताले भोग्न परेको विकट आर्थिक संकटलाई बुद्धिमानी तवरले समाधान गर्नुको साटो राष्ट्रपति गोटावाया राजापाक्षे गैरजिम्मेवार रूपमा विदेशतिर पलायन भएका छन् । यस घटनाले संसारका सबै देशका शासकलाई गिज्याएको छ । देशमा आएको यस्तो गम्भीर आर्थिक संकटको बेला राष्ट्रपतिको पदीय जिम्मेवारी छोडेर विदेशतिर भाग्नु भनेको गम्भीर राजनीतिक अपराध हो भन्नेमा कुनै दुई मत हुन सक्दैन ।
यो आर्थिक संकट राजनीतिक अदूरदर्शिता र अक्षमताका कारण आएको हो । यसले श्रीलंकाको राजनीति र सार्वभौमिकतामा ठूलो असर पर्न सक्ने देखिन्छ । यस घटनाका कारण दुई दशकसम्म शासनमा रजगज गरेको राजापाक्षे परिवारले धेरै वर्षसम्म श्रीलंकाको राजनीतिबाट अलग्गिनुपर्ने अवस्था आएको छ ।
लगभग तीस वर्षसम्म आन्तरिक द्वन्द्व र नागरिक युद्ध भोगेको श्रीलंकामा आन्तरिक द्वन्द्वलाई सन् २००९ मा सफलतापूर्ण रूपले समाधान गरेका राजापाक्षे परिवारले । राजापाक्षे दुई दाजुभाइ महिन्दा राजापाक्षे र गोटावाया राजापाक्षेमध्ये महिन्दा राजापाक्षले दुई महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बस्नुपरेको छ भने राष्ट्रपति गोटावाया राजापाक्षे पनि १३ जुलाईमा देशै छोडेर भाग्नुपरेको छ ।
सन् २००९ मा हिरोका रूपमा ख्याति कमाएका यी दुई दाजुभाइले यति ठूलो राजनीतिक संकट भोग्नुपर्ने अवस्था किन र कसरी आयो ? यस्ता विषयमा श्रीलंकाका जनतालाई मात्रै नभएर नेपाल जस्ता गरिब र पिछडिएका थुप्रै देशका राजनीतिज्ञ र जनतालाई चासो र सरोकारको विषय बन्नुपर्छ । वास्तवमा भन्ने हो भने अदूरदर्शी नीति, कार्यशैली र कुशासनकै कारण श्रीलंकामा यो अवस्था आएको हो ।
राजापाक्षे परिवारले युद्ध टुंग्याउन पाएको सफलतालाई आदर्श मान्दै राजनीतिक जवाफदेहिता पूरा गर्न ध्यान दिएको भए आज श्रीलंकामा यस किसिमको गम्भीर आर्थिक संकट पक्कै आउने थिएन । श्रीलंकामा यो आर्थिक संकटको अवस्था एकै चोटि र एकै दिन आएको पनि होइन । यो विषम परिस्थिति उत्पन्न हुनुमा राजनीतिक र प्रशासनिक रूपमा अनियमितता, सार्वजनिक साधन र स्रोतको हिनामिना तथा दुरुपयोग र भ्रष्टाचार तथा गैरजिम्मेवारपूर्ण शासकीय सोच र व्यवहार हो भन्ने कुरामा कुनै सन्देह हुन सक्तैन ।
अर्को कुरा, चीनबाट जथाभावी ऋण लिएर बृहत् बन्दरगाह जस्ता परियोजना सुरु गर्नु, जथाभावी वैदेशिक मुद्रा खर्च गरी विलासिताका सामान ल्याउनु, निर्यात प्रवद्र्धन गर्न कुनै पहल नगर्नु र अकासिँदो मूल्यवृद्धिलाई समयमै रोक्न नसक्नु राजापाक्षे सरकारको मुख्य कमजोरीकै विषय हो । कोभिड–१९ र रसिया तथा युक्रेनबीचको युद्धका कारणले पनि श्रीलंकाको आर्थिक संकटमा केही सहयोग गरेको हुन सक्छ । यो श्रीलंकाको हकमा मात्रै लागू नभएर विश्वका अरु गरिब र पिछडिएका देशमा पनि लागू हुन्छ । आफ्नो आर्थिक अवस्था सम्हाल्न समर्थ नहुनु श्रीलंका सरकारको ठूलो गैरजिम्मेवारपन हो ।
युक्रेन युद्धका बेला जनतासँग मिलेर आफूभन्दा ठूलो राष्ट्र रसियासँग लड्ने साहस र क्षमता राख्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग श्रीलंकाका राष्ट्रपति गोटावाया र अफगानिस्तानका पूर्व भगुवा राष्ट्रपति घानीसँग तुलना पनि गर्नुहुन्न । देश र जनतालाई आपत् परेको बेला देश छाडेर भाग्नु एक किसिमको कायरता पनि हो । अर्को कुरा सही, सक्षम, देशभक्त नेताले देश र जनतालाई अप्ठेरो परेको बेला नै आफ्नो ज्ञान, क्षमता, योग्यता, दूरदर्शिता, क्षमता देखाउने हो । गाटोवाया र घानीले त्यस किसिमको योग्यता र क्षमता देखाउन सकेनन् । कुशासनका कारण विश्वका धेरै राजनीतिज्ञ र शासकमा यो प्रवृत्ति बारम्बार देखिने गरेको पाइन्छ ।
वास्तवमा भन्ने हो भने असल र सक्षम राजनीतिक नेतृत्वले सफलताको जस लिने मात्रै होइन, असफलताको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ र देशभित्रै बसेर जनताले उठाएका सबै समस्याको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । हिजो अफगानिस्तानका राष्ट्रपति घानी भागे र आज श्रीलंकाका राष्ट्रपति गोटावाया भागेका छन् । तर उनीहरू राजनीतिक जवाफदेहिताबाट कहिल्यै भाग्न सक्दैनन् ।
तीस वर्षको युद्धका क्रममा करिब एक लाख नागरिक र दुवैतर्फका पचास हजार सेना मारिएको देशको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक तथा अन्य क्षेत्रमा विकास हुन सक्ने कुरा थिएन । सन् २००९ देखि नै राजापाक्षे परिवारले जिम्मेवारपूर्ण भएर असल र सभ्य शासन प्रक्रिया सञ्चालन गरेको भए र अनावश्यक परियोजनामा वैदेशिक ऋण नलिएको भए पक्कै पनि यो अवस्था आउने थिएन । संक्रमण कालमा सफल र सक्षम राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई बढी प्राथमिकता दिन नसक्दा आज श्रीलंका टाट पल्टने स्थितिमा पुगेको हो ।
श्रीलंकाको गिर्दो आर्थिक संकट आउनुको मूल कारण अपरिपक्व र आर्थिक अनुशासनहीनता तथा उत्तरदायित्वहीन वित्त व्यवस्थापन हो भन्ने आम तहमा टीकाटिप्पणी आएको छ । हरेक राष्ट्रका सरकारले सरकारी वृत्त व्यवस्थापनलाई कुशल ढंगले सञ्चालन गर्न नसक्दा आर्थिक अराजकता र आर्थिक संकट निम्तिन्छ। तसर्थ, गरिब र कमजोर स्रोत भएका मुलुकले जहिले पनि अनावश्यक र फजुल खर्चमा अंकुश लगाउनैपर्ने हुन्छ । नत्र आर्थिक समृद्धि, सुशासन, विकास र समृद्धिको कुरा गर्नु बेकार हुन्छ भन्ने राजापाक्षे सरकारले बुझ्न नसक्दा पनि यो अवस्था सिर्जना भएको हो ।
यस सन्दर्भमा नेपालको आर्थिक अवस्था तुलना गर्नु सान्दर्भिक देखिन्छ । नेपालको अहिलेको आर्थिक अवस्था श्रीलंकाको जस्तै नभए पनि वित्त व्यवस्थापनमा कुशलता ल्याउन सकिएन र अनावश्यक र फजुल खर्चमा ठूलो मात्रामा कटौती गर्न सकिएन, अनावश्यक सामान तिरेर ल्याउने प्रवृत्तिमा सुधार गरिएन भने ढिलोे चाँडो नेपाल पनि श्रीलंकापथमा पुग्छ नै ।
नेपालमा पनि मूल्यवृद्धि अकासिएको छ, उद्योग कलकारखाना बन्दको अवस्था छन् । सरकारसँग विदेशी म्ुद्राको सञ्चिति घट्दो छ र व्यापार–घाटा बढ्दो अवस्थामा छ । इन्धनलगायत अन्य अत्यावश्यक वस्तु तथा सामान खरिद गर्न विदेशी मुद्राको अभाव हुन सक्छ भन्ने टीकाटिप्पणी बढ्दो छ । अर्को गम्भीर कुरा निर्यात नगन्य छ भने आयातका आकार डरलाग्दो गरी बढ्दो छ ।
नेपालका सरकारी संयन्त्रमा अनियमितता, बेरुजु, सार्वजनिक साधन र स्रोतको हिनामिना तथा दुरुपयोग र भ्रष्टाचार गर्ने प्रवृत्ति निरन्तर जारी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकले पनि नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये माथिल्लो पंक्तिमा देखाउँछ ।
विदेशीसँग अनुचित परियोजनामा ऋण लिने, जथाभावी आयातमा विदेशी मुद्रा खर्चने, फजुल खर्च र भ्रष्टाचार नरोक्ने हो भने नेपालको हालत पनि श्रीलंकाको जस्तै खराब हुन सक्छ । कुनै दिन श्रीलंकामा जसरी नै शासकका निवास नागरिकले कब्जामा लिने दिन आउन सक्छ । त्यो दिन नआओस् । श्रीलंकाको आर्थिक संकटबाट नेपालका शासक, राजनीतिक दलका नेता तथा कार्यकर्ता र आमनागरिकले पनि केही पाठ सिक्नुपर्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया