२० वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवा
सभापति गिरिजाप्रसादको आलोचनामा शेरबहादुरको त्यो भाषण
सभापतिले प्रतिपक्षसँग नाटकीय गठबन्धन गर्नुभयो
'गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू पदमा बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले माओवादी नाम गरेका आतङ्ककारीहरूबाट नेपाली काँग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आफैँ नेतृत्वमा बस्नैपर्ने तर शासन गर्न पनि नसक्ने पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संशोधनको प्रस्ताव अघि सार्नुभएको थियो ।'
साथीहरू,
सर्वप्रथम म यस भेलामा सहभागी हुन आउनु भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्दछु । गाउँमा आतङ्ककारीहरूको धम्की, काँग्रेस संस्थापन पक्षबाट सिर्जना गरिएको अवरोध र मौसमको प्रतिकूलता तथा खेतीपातीको व्यस्तताका बावजुद तपाईंहरू मेरो निमन्त्रणा स्वीकार गरेर राजधानी आउनु भएको छ । शुभेच्छुकहरूसित हामी तमाम काँग्रेस कार्यकर्ता साथीहरू आज पार्टीमा चर्केको विग्रहबाट चिन्तित छौं । वास्तवमा विग्रहबाट निस्केर एउटा तार्किक निष्कर्षमा पुग्नका लागि यस भेलाको आयोजना गरिएको हो ।
तपाईंहरूलाई थाहै छ, यस बीच मैले पार्टी एकताका निम्ति भरमग्दुर कोशिश गरें । साथीहरूले पनि गर्नुभयो । तर, सभापति गिरिजाप्रसाद कोइरालाद्वारा नेतृत्व गरिएको पार्टी संस्थापन पक्ष एकताका निम्ति राजी भएन, भएको छैन । साथीहरू, महाधिवेशन हाम्रो पार्टीको सर्वोच्च निकाय हो । यस निकायले गरेका निर्णयहरू नै पार्टीका निर्णय हुन्छन् । यसर्थ, वर्तमान अवस्थाबारे छलफल, परामर्श र त्यसबाट तात्विक निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको यो भेला बोलाइएको हो । यस भेलामार्फत् हामीले दूरगामी महत्वका केही नयाँ निर्णयहरू गर्नु पर्ने हुन्छ । हाम्रो पार्टीमा पार्टी र प्रजातन्त्रका प्रति लामो लगानी भएका साथीहरू हुनुहुन्छ । त्यस्ता साथीहरूसित म विशेष अनुरोध गर्दछ– नेपाली काँग्रेसमा एकता र सदभावको आवश्यकता छ ।
साथीहरू,
संसदीय निर्वाचनको घोषणासँगै हामी नयाँ चरणमा प्रवेश गरिसकेका छौं । यद्यपि, यसलाई काँग्रेस संस्थापन पक्षले असाध्यै पूर्वाग्रही विवेचना गरेको छ । तर, संस्थापन पक्षको द्वैध चरित्रबाट उत्पन्न जटिल परिस्थिति र राजनीतिमा देखा पर्न लागेको सैद्धान्तिक विचलन समाप्त गर्नका लागि योभन्दा अको युक्तिसंगत उपाय नै थिएन । तपाईंहरूलाई अवगत छ, तात्कालिक सत्तास्वार्थका लागि देश र जनताको सुरक्षामाथि ठूलो खेलबाड हुन थालेको थियो । संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्तावमा मेरै पार्टीको केन्द्रीय कार्यसमितिको बहुमत र नेकपा (एमाले)को निर्णयका कारण अवरोध खडा हुन गयो अनि, लागि सार्वभौम शक्तिसम्पन्न जनमतसमक्ष जाने निर्णय गरिएको कुरा म यहाँ खुलासा गन चाहन्छु ।
जब संस्थापन पक्ष विधिसम्मत बाटो छोडेर सत्ताप्राप्तिका लागि सिद्धान्तबाट पूरा विचलित भएको अवस्था आयो । त्यति बेला प्रजातान्त्रिक मूल्यको रक्षाका लागि, प्रधानमन्त्रीय पद्धतिको मर्यादाका हितमानै विकल्प शेष थिएन । यसर्थ, यस संवैधानिक कदमको तार्किक परिणाम निर्वाचन नै हो । निर्वाचन सम्पन्न गराउन सरकारले निर्वाचन आयोगलाई पूरा सहयोग गर्नका साथै मुलुकमा सुरक्षाको प्रत्याभूतिका निम्ति सशक्त उपायहरू अबलम्बन गर्ने प्रारम्भ गरिसकेको छ ।
निर्वाचन हुन्छ यसमा कुनै दुविधा छैन र यसमा कुनै दुविधा राख्नु पनि हुँदैन । तर यस बीच, सबैभन्दा दुःखदायी पार्टी संस्थापन पक्षबाट केही अनर्गल कुराहरू प्रचारमा ल्याइएका छन् । ती कराहरू कल्पित हुन् । तिनमा कुनै सार छैन । म ती सारहीन कुराहरूको व्यक्तिगत उत्तर दिन चाहन्नँ, फगत यति भन्छु, नेपाली जनता सार्वभौम शक्तिसम्पन्न छन् । राजनीतिमा आएको विचलनमा विराम लगाउन र प्रजातन्त्रको संवर्द्धनकै लागि मैले जनतामा जाने निर्णय गरेको हुँ । साथीहरू,
आउँदो आम निर्वाचनमा शान्ति स्थापनाको पक्षमा आतङकका विरुद्धको जनमत सङ्ग्रह हो । आगामी निर्वाचनको मुख्य एजेण्डा यही हो । प्रजातन्त्रको रक्षा गर्न आतङ्कवादलाई पूर्णरूपमा परास्त गर्नु जरूरी छ । त्यसका लागि आज हाम्रो संवैधानिक राजसंस्था र प्रजातन्त्रवादी शक्तिहरूका बीच एकता, आपसी विश्वास र समझदारीमा अभिवृद्धि हुनु जरुरी छ ।
साथीहरू,
नेपाली काँग्रेस निकै असजिलो अवस्थामा छ । आज यसका सामु गम्भीर चुनौतीहरू उपस्थिति भएका छन् । आम कार्यकर्ताहरूप्रति पार्टीको संस्थापन पक्ष अत्यन्त असहिष्णु ढङ्गले प्रस्तुत भइरहेको छ । एकपछि अर्को घटनाको शृङ्खला हेर्नुहोस्, आज वास्तवमा काँग्रेस संस्थापन पक्षको असहिष्णुता चुलिइसकेको छ । अवस्था अत्यन्त कठिन छ । तर, कठिन अवस्था नै निर्णायक पनि हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । यसर्थ, यस निर्णायक घडीमा हामी रत्ति पनि विचलित नभई पार्टीका निम्ति नयाँ मार्ग प्रशस्त गर्न एकजुट हुनुपरेको छ ।
साथीहरू, यो निर्णायक घडी हो । यस अवसरमा हामीले नेपालको भविष्य, नेपालीहरूको सामूहिक कल्याणका लागि काँग्रेसमा अन्तर्निहित ऊर्जालाई रचनात्मक दिशातर्फ उन्मुख गराउनुपरेको छ । मैले तपाईंहरू सम्मुख नेपाली काँग्रेसको गौरवशाली पृष्ठभूमिको पुनर्वाचन गरिरहनु जरूरी छैन । तपाईंहरू स्वयं नै यसको राम्रो ज्ञाता हुनुहुन्छ । तापनि, जननायक विश्वेश्वरप्रसाद कोइरालाको उर्वर विचार शक्तिको प्रतीक यस पार्टीका नायकहरूलाई म यहाँ स्मरण गर्न चाहन्छु ।
किन चाहन्छु भने, अनेक निष्ठावान् र प्रतिभाशाली सपूतहरूको बलिदानका जगमा हामी उभिएका छौं र भविष्यका पुस्ताले पनि उहाँहरूका कीर्तिको स्मरण गर्दै पार्टीको गौरवको दीप प्रज्ज्वलित गरिराख्नुपर्नेछ । आदरणीय सुवर्ण समशेरलगायतका नेताहरूको विशिष्ट योगदान पनि म यहाँ सम्झन चाहन्छु श्रद्धेय गणेशमान सिंहको नायकत्वमा नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्षकै परिणाम स्वरूप नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएको हो ।
यस अवसरमा म वहाँसहित प्रजातान्त्रिक आन्दोलनको जगमा रहनुभएका दिवंगत अग्रजहरू र शहीदहरूको स्मृतिमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यसका साथै कांग्रसका संस्थापक नेता आदरणीय कृष्णप्रसाद भट्टराईको मार्गदर्शन, जो हामीलाई अझै उपलब्ध छ । उहाँका प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै पुनः वहाँबाट आशीर्वादको याचना गर्दछु ।
अतीतको गौरव, पूर्ववर्ती नेता र कार्यकर्ताहरूको असीम समर्पणको भावना जम्मा भएकाले काँग्रेस पार्टी जीवन्त रहेको छ । यसका विचार र आदर्श नै पार्टीका मूलभूत तत्व हुन् । यसका साथै यसले निर्दिष्ट गर्ने भविष्य–दृष्टिमा आउने समयको रूपरेखा हुनुपर्छ । नेपाली काँग्रेस गौरवशाली अतीत भएको पार्टी हो, तर आउने समयको भूमिकाको निर्धारण पनि त्यत्तिकै जरूरी छ । त्यस्तो भूमिकाको निर्धारण गर्नका लागि हामी यहाँ भेला भएका छौँ ।
काँग्रेसको नवनिरूपणको समय यही हो । यसमा कनै लाभ वा पक्षको स्वार्थ हाबी हुनु हुँदैन । किनभने, कुनै एउटा पक्ष वा व्यक्तिको तुलनामा पार्टी ठलो दल संस्था ठूलो हुन्छ । अनि, यो संस्था, यो नेपाली काँग्रेस, नेपालका तमाम प्रजातन्त्र पक्षधरहरूको साझा घर हो । यस घरको धनी–पूर्जा सामूहिक छ । कुनै परिवार वा व्यक्तिका अधीनमा यसको स्वामित्व सीमित छैन । हामी सम्पूर्ण काँग्रेसजन यही मान्यता र विश्वासका आधारमा काँग्रेसमा आबद्ध छौं ।
प्रजातन्त्र स्थापनाको क्रान्तिको संवाहक, मातृभूमिको स्वतन्त्रता तथा जनताका हक र अधिकारका निम्ति समर्पित यो पार्टीमा आज एकथरी अतिवादीहरूको वर्चस्व स्थापित भएको छ । निश्चय नै पार्टीमा यसभन्दा पहिला पनि उतार–चढावहरू नआएका होइनन् तर यस किसिमको दुःखदायी अतिवादको उत्कर्षबाट उत्पन्न पीडा हामीले देखेका, भोगेका थिएनौं । आज मलाई अत्यन्त अप्ठ्यारो लागिरहेको छ, म कसरी र कुन शब्दमा वर्तमान दुष्चक्रको वर्णन गरूँ ?
तपाईंहरूलाई थाहै छ सभापति गिरिजाप्रसाद कोइरालाद्वारा नेतृत्व गरिएको पक्ष काँग्रेस–भावनाको, यसका मूल्य र मान्यताहरूको खुल्लम खुल्ला अवज्ञा गरिरहेको छ । नेपाली जनताको स्वतन्त्रताको रक्षा, सुरक्षा र समृद्धिका प्रयत्नहरूलाई निष्फल तुल्याउने कोशिश गरिरहेको छ । वर्तमान संस्थापन पक्ष असैद्धान्तिक, अव्यावहारिक र अशोभनीय निर्णयहरू गरेर पार्टीलाई विभाजनतर्फ उन्मुख गराई रहेको छ ।
साथीहरू,
तपाईंहरूलाई थाहै छ, प्रधानमन्त्रीका रूपमा, केही अपवादबाहेक, मलाई पार्टीको नेतृत्व र नेतृत्व पोषित व्यक्ति र प्रवृत्तिहरूले सँधै असहयोग गरेका छन् । सरकारलाई काम गर्न बाधा र व्यवधान खडा गरेका छन् । जनहितमा गरिएका नीति–निर्णयहरूको कार्यान्वयन नगर्न दबाब दिएका र दिन गरेका छन् । यस क्षणमा म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा संसद्को एउटा सिंगै अधिवेशन ५७ दिनसम्म अवरुद्ध भयो, उहाँ संसदीय कार्य संयोजन गर्न असमर्थ हुनु भएको थियो ।
उहाँ आतङ्कारीलाई निरस्त पार्न वार्ता पनि गर्न नसक्ने र सुरक्षा निकायहरूलाई समझदारीका साथ परिचालन पनि गर्न नसक्ने अवस्थामा पुग्नुभएकाले प्रधानमन्त्रीबाट बाहिरिनुभएको थियो । अनि, गत साउनमा मलाई साथीहरूले प्रधानमन्त्रीमा निर्वाचित गर्नुभएको हो । त्यसपछि मैले आठ–सूत्रीय कार्यक्रमको घोषणा गरेको थिएँ । ती कार्यक्रमहरूको देशभरि स्वागत भएको थियो । तर, काँग्रेसको संस्थापन पक्षले जनताको हितमा घोषणा गरिएका ती कार्यक्रममा अकुश लगाउने काम गर्यो ।
यहाँ सम्म कि भूमिसुधार जस्तो क्रान्तिकारी कार्यक्रमको विरोधमा पार्टी नेताहरू नै खुलेर प्रस्तुत भए । जबकि, सरकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित र २०१५ सालको आमनिर्वाचनको सामाजिक न्याय सुनिश्चित गर्ने कार्यक्रमको भावनालाई साकार पार्न खोजेको थियो । यो देश किसानहरूको बाहुल्य भएको देश हो । किसानहरूको हित नगरी सामाजिक न्याय सम्भव हुँदैन । नेपाली काँग्रेसको सन्दर्भमा, समाजवादलाई यही मान्यताले निर्देशित गरेको छ । तर, पार्टीको संस्थापन पक्षले समाजवाद शब्दलार्ई नारामा सीमित राखेर जनतालाई झुक्याउने कार्यनाति अबलम्बन गर्यो ।
सरकारले पूर्णगतिका साथ भूमिसुधार कार्यक्रम लागू गर्ने निधो गरेर भमिसम्बन्धी विधेयक ल्याएको थियो तर पार्टीभित्रैबाट त्यसको मर्ममा प्रहार भयो । समाज–सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने महिला अधिकार, जनजाति र दलितको उत्थान सम्बन्धी नीति निरूपणमा समेत संस्थापन पक्षले अनुदार रवैया अपनायो, आफ्नै सरकारलाई असहयोग गयो नेपाली समाजको रूपान्तरण र सर्वांगीण उन्नतिको मार्ग प्रशस्त गर्न मैले जे जति पहल गरेँ, काँग्रेसको संस्थापन पक्षले विपक्षले पनि नगर्ने शैलीमा विरोध गर्यो । निश्चय नै यसका पछाडि संस्थापनको यथास्थितिवाद र अनुदार प्रवृत्तिले काम गरेको छ । यसभन्दा पनि प्रष्ट के छ भने सत्तामा गिरिजाप्रसाद कोइराला आफूबाहेक अरू बसेको, अन्य कसैले काम गरेको देख्नै नसक्ने प्रवृत्तिले काम गरेको छ ।
यस प्रसङ्गमा तपाईँहरूलाई अघिल्लो पटक म प्रधानमन्त्री भएका बेला सरकारका प्रति पार्टी संस्थापनबाट गरिएका अशोभनीय कार्यहरूको सम्झना गर्न अनुरोध गर्दछु । त्यसपालि, जबकि हाम्रो बहुमतको सरकार थिएन तापनि संसद्मा दुई दिहाईभन्दा बढी मतले दूरगामी महत्वको एकीकृत महाकाली सन्धिको अनुमोदन भएको थियो । त्यसले कोइरालाको प्रधानमन्त्रीत्व कालमा पार्टीमाथि लागेको टनकपुरको दोषलाई मेटेको कुरा सबैले मानेका छन् ।
तीनचार दिशातिर फर्केका पार्टीहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रिय सहमतिका आधारमा गरिएका कार्यहरूका बाबजुद त्यतिबेला पनि पार्टी संस्थापन मेरो विस्थापनका निम्ति सक्रिय थियो । अनि, अन्ततः तपाईंहरूलाई थाहा छ, काँग्रेसकै दुई जना सांसदहरूलाई लुकाएर मलाई प्रधानमन्त्रीबाट हटाइएको थियो । फलस्वरूप, स्थानीय निर्वाचनमा नेपाली काँग्रेस नराम्ररी पराजित हुनु परेको थियो ।
साथीहरू, माओवादी नाम गरेका आतङ्ककारीहरूले नेपाली जनजीवनलाई आक्रान्त पारेका छन् । त्यसमाथि पनि नेपाली काँग्रेसका कार्यकर्ताहरू सबैभन्दा बढी पीडित छन् । आतङ्कको पीडा र दुष्प्रभाव तपाईंहरू प्रत्यक्ष भोगिरहनुभएको छ । मुलुकलाई आतङ्कबाट त्राण दिलाउनका लागि मैले आफू प्रधानमन्त्री हुनासाथ वार्ताद्वारा शान्ति स्थापनाका निम्ति पहल गरेको कुरा सबैलाई थाहा छ ।
आदरणीय किसुनजी प्रधानमन्त्री भएका बेला माओवादी समस्या समाधान गर्न गठित समितिको संयोजकका हैसियतले मैले यो समस्याको शान्तिपुर्ण समाधानका लागि प्रशस्त प्रयत्न गरेको थिएँ । अनि, तपाइँहरूलाई यो पनि वार्ता भइरहेका बेला सभापतिको पक्ष वार्ता छिट्टै टुङ्ग्याउन दबाब दिइरहेको थियो । वार्ताको विकल्प नै प्रयोग नगरी सेना परिचालन गर्नुपर्दछ भनेर पार्टी सभापतिको पक्षले गरेको प्रचारका तुमुल ध्वनिहरू हामी सबैका कानमा गुञ्जेका हुन् । उनीहरू वार्ता भङ्ग होस् भनिरहेका थिए तापनि सरकार इमानदारीसाथ समाधान खोज्ने यत्न गरिरहेको थियो ।
कथित माओवादीसँग तीन चरण वार्ता भयो । तर चौथो चरणको तयारी गरिरहेका बखत ती कथित माओवादीहरू वार्ताबाट भागे । शाही नेपाली सेना लगायतका सुरक्षा निकायमाथि आक्रमण गर्न थाले । त्यसैका फलस्वरूप, मंसिर ११, २०५८ मा अवस्थाको घोषणा गरी सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूको परिचालन गरिएको थियो ।
आतंकवादविरुद्ध सरकारको यस कदमकाप्रति आम नेपाली, छिमेकी मित्रराष्ट्रहरू भारत लगायत सम्पूर्ण मित्रहरू संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, युरोपका मुलुकहरू तथा जापानको समेत पूरा समर्थन रहेको तथ्यसित तपाईंहरू राम्ररी परिचित हुनुहुन्छ । प्रजातन्त्रवादी मुलुकहरूमा आतङ्कवादका विरुद्ध त्यहाँका सबै राजनीतिक पार्टीहरू एकजुट हुन्छन् ।
नेपाललाई आतंकवादका विरुद्ध लड्न विश्वको जनमतले समर्थन र सहयोग दिएको छ । तर, मेरै आफ्नै पार्टीको नेतृत्वले साथ दिएन । तपाईंहरूलाई थाहै छ, सुरक्षा निकायहरूको परिचालनको लगत्तै काँग्रेसको संस्थापन । सुरक्षा निकायहरूको मनोबलमा प्रतिकूल असर पर्ने क्रियाकलाप र प्रचार गर्न थाल्यो । सुरक्षा फौजहरू मनोयोगका साथ आतङ्ककारीहरूलाई परास्त गर्न खटेका बेला काँग्रेसको संस्थापन पक्ष सुरक्षा फौजको अभियानलाई निस्तेज पार्ने प्रचारमा संलग्न भयो ।
तपाईंहरूलाई राम्ररी थाहा छ, संकटकालीन अवस्थाको अनुमोदनका लागि संसद्मा राखिएको प्रस्ताव अनुमोदन गर्न सभापति कोइरालाले सानो बाधा सिर्जना गर्नुभएको थिएन । उहाँले प्रमुख प्रतिपक्षसँग नाटकीय गठबन्धन गरेर पार्टीमा समेत छलफल नगरी अकस्मात् संविधान संसोधनको प्रस्ताव अघि सार्नुभएको थियो । सरकारलाई अप्ठ्यारो पार्ने अनि विफल बनाउनमै वहाँले पार्टी संयन्त्र प्रयोग गर्नुभएको थियो ।
आतंककारीहरूबाट काँग्रेसका कार्यकर्ताहरू, निर्दोष नागरिकहरू सुरक्षाकर्मीहरू मारिइरहेका तर सभापति कोइराला भने आफ्नै पार्टीको सरकारलाई विफल बनाउन सदैव सक्रिय रहिरहनुभयो । प्रत्यक्षमा सरकारलाई सहयोग गर्ने बाचा गर्ने तर नेपथ्यमा आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने हरसम्भव कोशिश गरेका अनेकन् प्रसंग, प्रमाण र उदाहरण छन् ।
म यहाँ ती सबैको बेलीविस्तार लगाउन चाहन्न, हरेक घटना र घटना–क्रमका तपाइँहरू स्वयं साक्षी हुनुहुन्छ । समग्रमा उहाँ आफ्नै पार्टीको सरकारलाई कमजोर बनाई प्रधानमन्त्रीलाई हटाएर आफू प्रधानमन्त्री बन्न क्रियाशील रहनुभएको हो । यसर्थ साथीहरू यथार्थमा हाम्रो राजनीतिक परिदृश्यमा देखा परेका अस्थिरताका कारक सभापति कोइराला नै हुनुहुन्छ । शासनमा आफै बस्नैुपर्ने तर शासन गर्न पनि नसक्ने उहाँको विशेषता हो । काँग्रेस वहाँको यसै प्रवृत्तिको शिकार भएकोले हतमनोबल हुन पुगेको छ । देशको सबैभन्दा ठूलो, सबैभन्दा लामो इतिहास भएको पार्टी भएर पनि हाम्रो पार्टी गिरिजाप्रसाद कोइरालाका उच्च आकांक्षाको बन्धक बनेको छ ।
साथीहरू,
हालै वितेका घटनाहरूबारे मैले तपाईंहरूलाई सविस्तार वर्णन गरिरहनुपर्छ जस्तो लाग्दैन । घटनाक्रम र श्रृङ्खलाहरूसित तपाईहरू स्वयं परिचित हुनुहुन्छ । संकटकालको म्याद बढाउने प्रस्ताव मेरा एकल निर्णय थिएन । सभापति कोइरालासित परामर्श गरे पश्चात् र वहाँको अनुमतिले सर्वदलीय बैठक बोलाएको थिएँ । बैठकमा छलफल गरी कसैले विरोध नगरेपछि संसदको २२ औं अधिवेशनको आह्वान र संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव दर्ता गरिएको थियो ।
तर, संस्थापन पक्षबाट एकाएक प्रस्ताव फिर्ता लिन दबाब आउन थाल्यो ।
यस दबादले आतङ्ककारीहरूको मनोबल बढाउने तर सुरक्षाकर्मीहरू र आम नागरिकहरूको मनोबल गिराउन चेष्टा गर्यो । संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव आतङ्ककारीहरूलाई परास्त गर्न नै ल्याइएको थियो । सुरक्षा निकायहरूसँग विशद् विचार–विमर्श तथा उनीहरूले दिएका सूचनाहरूको विश्लेषण गरेर सरकारले पार्टीहरूसँग छलफल गरेको र सुरक्षालाई सुदृढ पार्न संकटकालीन अवस्थाको म्याद बढाउने प्रस्ताव दर्ता गरेको हो ।
के जनताको सुरक्षाका लागि आतंकारीहरूलाई परास्त गर्न जरुरी छैन ? के संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको रक्षाका लागि खटेका सुरक्षा निकायहरूलाई हामीले साथ दिनुपर्दैन ? के नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई मारेर रगतको होली खेलिरहेका आतंकारीहरूलाई निसस्त्र गर्नु मेरो गल्ती हो । के प्रजातन्त्र मास्न अघि सरेका आतंककारीहरूबाट मुलुकलाई त्राण दिलाउने काम गर्नु मेरो गल्ती हो ।
साथीहरू, श्रीमान् मारिएर तिनका श्रीमतीहरूको पुछिएको सिउँदो र चुरा फुटेका हातहरू सम्झनुहोस् । बाबु मारिएर अनाथ बनेका बालबालिकाहरूको दुर्दशा सम्झनुहोस् । तपाईंहरू स्वयं गाउँ–घर छोडेर लुकीछिपी अनेक कष्ट साथ विस्थापित भइरहेका मर्मान्तक अवस्थाको भुक्तभोगी हुनुहुन्छ ।
साथीहरू भन्नुहोस्, जनता र प्रजातन्त्रका शत्रुहरूलाई परास्त गर्ने अभियानमा लाग्नु के पाटी विरोधी कार्य हो । साथीहरू, श्रीमान् मारिएर तिनका श्रीमतीहरूको पुछिएको सिउँदो र चुरा फुटेका हातहरू सम्झनुहोस् । बाबु मारिएर अनाथ बनेका बालबालिकाहरूको दुर्दशा सम्झनुहोस् । तपाईंहरू स्वयं गाउँ–घर छोडेर लुकीछिपी अनेक कष्ट साथ विस्थापित भइरहेका मर्मान्तक अवस्थाको भुक्तभोगी हुनुहुन्छ । यस्तो अवस्थामा सरकार संकटकालको म्याद थप्ने निष्कर्षमा पुगेको हो । के जनता र प्रजातन्त्रको हितमा काम गर्दा प्रधानमन्त्रीलाई पार्टीले पुर्जी काट्नुपर्छ ? के पुर्जी काट्ने मानिसलाई प्रधानमन्त्री संस्था हो भन्ने कुराको ज्ञान छैन ? यसले के आभास दिएको छ भने काँग्रेसको वर्तमान संस्थापन पक्षलाई प्रधानमन्त्रीय पद्धतिको अर्थ पनि थाहा छैन । उसको व्यवहार अधिनायकवादी जस्तो छ ।
साथीहरू,
यो भेला डाक्नुको उद्देश्य, नेपाली काँग्रेसको अन्तरात्मालाई जगाएर पार्टीभित्र प्रजातान्त्रिक क्रान्ति गर्नु हो । हाम्रो पार्टी क्रान्ति जन्माउने र त्यसलाई निष्कर्षमा पु¥याउने पार्टी हो । देशमा परिवर्तन ल्याउने, नेपाली जनतालाई स्वाभिमानको मन्त्र दिने पार्टी हो । राणाशासन फ्याँकेर मुलुकमा स्वतन्त्रताको उज्यालो भित्र्याउने पार्टी हो । स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियताका निम्ति आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूको बलिदानको जगमा उभिएको पार्टी हो । तर संस्थापन पक्षबाट संघर्षले, बलिदानले र क्षमताले प्रकाशमा आएका प्रतिभाहरूको तेजोबध गर्ने दुष्कार्य भइरहेको छ ।
हामीमाथि पार्टी सभापति पक्षको कोपदृष्टि त्यसैको एउटा कडी हो । पार्टीमा पार्टीका निष्ठावान, इमान्दार कार्यकर्ताहरूलाई पन्छाएर अन्धभक्तहरू भर्ना गर्ने काम भइरहेको छ । काँग्रेसबाट काँग्रेस पन्छाउने दुष्चक्र रचिएको छ । काँग्रेसको वर्तमान विचलनका पछाडि यही नै प्रमुख कारण हो भन्ने मेरो मत छ । काँग्रेस प्रजातान्त्रिक पाटी हो, तर यसको संस्थापन पक्षको आचरण त्यसका विरुद्ध छ । काँग्रेस स्वतन्त्रताको योद्धा हो, तर सभापतिको पक्षले पार्टीका सदस्यहरूलाई निस्तेज बनाउने तानाबाना बुनेको छ । काँग्रेस अग्रगामी पार्टी हो, तर संस्थापन पक्षले पार्टीलाई यथास्थितिको भासमा हालेको छ ।
यहाँनेर स्पष्ट पार्न चाहन्छु, म सँधै पार्टी एकताको पक्षमा छु । तर, महामन्त्रीबाट २४ घण्टे पुर्जी कट्ने काम भयो । मलाई अनुशासन समितिले पहिला निलम्बन, त्यसपछि पार्टीको साधारण सदस्यबाट निष्कासन गर्यो । मैले विधान बमोजिम केन्द्रीय समितिमा गरेको पुनरावेदनको वेवास्ता गर्दै मेरो नाउँ हटाएर निर्वाचन आयोगमा जेठ २४ गते नै पार्टी दर्ता गर्ने काम भयो । अझ केन्द्रीय कार्यसमिति नै नबसी कथित अवधारण–पत्रका नाउँमा मेरा विरूद्ध पर्चाबाजीका कामहरू भए । संस्थापन पक्ष दुई दुई जना प्रतिनिधिहरू जिल्ला जिल्ला पठाएर मेरा विरूद्ध जबर्जस्ती हस्ताक्षर गराउने अभियानमा लाग्यो । संस्थापन पक्ष पार्टी एकताको विरोधी हो भन्ने कुराको पुष्टि गरेको छ ।
साथीहरू,
सभापति कोइरालाका विचित्र मान्यता छन् । वहाँ आफू प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीय पद्धतिलाई बलियो बनाउनुपर्छ भन्नु हुन्थ्यो तर सभापति भएका बेला प्रजातन्त्र सभापतीय पद्धति भएझै गरेर प्रस्तुत भइरहनुभएको छ । वहाँले बनाएका परिभाषाहरू संस्थालाई केन्द्रमा राखेर किमार्थ बनेका हुँदैनन् । आफूलाई केन्द्रमा राखेर बनेका हुन्छन् । यस घडीमा म हाम्रो पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई गिरिजाबाबुले प्रधानमन्त्रीबाट हटाएको दृश्य झल्झली सम्झिरहेको छु । संवत् २०५६ सालको आमनिर्वाचनपूर्व गिरिजाबाबुले किसुनजीलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्नुभएको थियो ।
फलस्वरूप, चुनावमा काँग्रेसले बहुमत ल्यायो, किसुनजी प्रधानमन्त्री बन्नुभयो । तर, वहाँ एक दिन मात्र पनि सञ्चले बस्न पाउनु भएन । साता दिन नपुग्दैदेखि गिरिजाबाबु निहुँ खोज्न थाल्नु भयो । तपाईंहरूलाई थाहा छ, किसुनजीको प्रधानमन्त्रीत्वका बेला वहाँले देशमा मुर्दा शान्ति छाएको भनेर असन्तोष व्यक्त गर्नुभएको थियो । तर, वहाँको असन्तोषको कारण शान्ति–अशान्ति केही होइन । आफ्नो नामको प्रारम्भमा प्रधानमन्त्री थप्नु मात्र हो ।
साथीहरू,
पाँचदशक प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्दै २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर हुनुभएका आदरणीय गणेशमान सिंहलाई गिरिजाबाबु प्रधानमन्त्री हुँदा गरिएको अपमान इतिहासमा अंकित भइसकेको छ । प्रधानमन्त्रीको पदमा बस्नसमेत अस्वीकार गर्ने त्यागी, तपस्वी नेताले त्यसरी पीडाको आँसु झार्नुपरेको कुरा हरेक कार्यकर्ताको मन र मुटुमा बिझेर बसेको छ ।
साथीहरू,
अब यस्तो अवस्थामा के गर्ने ? हामीसित यसको उत्तर छ । नेपाली काँग्रेसलाई स्वाभीमानीहरूको पार्टी बनाउन झुकेका शिरहरू उठ्नु र उठाउनुपर्छ । पार्टीलाई हुकुम र हैकमबाट मुक्त गर्नुपर्छ र अब त्यो काम हामी आफैँले गर्नुपर्छ । काँग्रेस निष्ठावान प्रजातन्त्रवादीहरूको पार्टी हो । यसमा आज एकाधिकारवादीहरू पसेका छन् । तिनलाई चिन्न सक्नुपर्दछ । काँग्रेस उँचो शिर गरेर हिँड्ने निर्भय कर्मयोद्धाहरूको पार्टी हो । यसको संस्थापन पक्ष आज प्रजातान्त्रिक मर्यादा विपरीत चलेको छ । तिनलाई निस्तेज पारेर त्यहाँ काँग्रेसजनहरू बस्नुपर्छ ।
आजको यस भेलामा कतिपय साथीहरू उपस्थित हुन नसक्नुभएको हुन सक्छ । मैले उल्लेख गरेका यथार्थ र सत्य तथ्यहरूलाई अनुभव गरी निष्ठावान साथीहरूले पार्टीलाई विकृति र विसंगतिबाट मुक्त गराउने हाम्रो अभियानमा पूरा साथ दिनुहुन म हार्दिक अनुरोध गर्दछु यहाँ अझ, दोहो¥याएर के भन्न चाहन्छु भने, म पार्टी एकताकै पक्षमा छु तर प्रतिक्षाका लागि समय अत्यन्त कम छ । अनेक वाधा र व्यवधानहरू पार गर्दै यस भेलामा उपस्थित हुन आउनु भएका साथीहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल !
(स्रोतः नेपाली काँग्रेस ऐतिहासिक दस्तावेजहरू)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया