विचार

फोहोरलाई मोहोर बनाउने मेरो अनुभव

तारा भट्टराई |
साउन १२, २०७९ बिहीबार ७:३१ बजे

देशका सुन्दर सहरहरू विगत एक/देढ दशकदेखि फोहोरका कारण कुरुप बन्दै गएका छन् । सहरका आसपास बग्ने पवित्र खोलानाला र नदीहरूमा हिजोआज सहरबासीको ढल बग्छ । केही दिनअघि मात्र एक अखबारमा  ऐतिहासिक भगवानको मूर्तिको माथिबाट ढल बगिरहेको फोटो देखेँ । सहरवासीको नाताले अपराधबोध महसुस गरेँ । यहाँ समय–समयमा कहिले राजनीतिक मुद्दा त कहिले मौसमका कारण हप्तौँ हप्ता फोहोरहरू उठ्दैनन् । यही वर्ष पनि लामो समय फोहोर उठेन । त्यही समय सहरका अनेकन ठाउँमा हैजा फैलियो । जनताले अनाहकमा दुःख पाए । 

तर मेरो व्यक्तिगत पक्ष अलि बेग्लै छ । घरायसीे फोहोर मेरो टाउको दुखाइको विषय कहिल्यै बनेन । म घरायसीे फोहोरबाट मल बनाउँछु । जुन बगैंचा, फलफुलका बोटबिरुवा र तरकारीबारीमा प्रयोग गर्छु । हिजोआज घरायसीे फोहोर व्यवस्थापन मेरो सोख बनेको छ । यसमा समय बिताउँदा म सबै किसिमको तनावबाट मुक्त महसुस गर्छु । यसैमा म खुसी र आनन्द भेट्टाउँछु । 


नेपाल रेडक्रस सोसाइटी खानेपानी विभागमा प्रमुखको रुपमा ११ वर्ष काम गरेँ । उक्त अवधिमा १३ वटा तराई तथा पहाडी जिल्लाहरूमा खानेपानी, सरसफाइ तथा वातावरणसम्बन्धी परियोजनाहरू सञ्चालन गरेँ । सोही क्रममा दुर्गम गाउँहरूमा खानेपानीको व्यवस्था, चर्पीहरूको निर्माण, कुहिने तथा नकुहिने फोहोरको व्यवस्थापन, वृक्षारोपण, करेसाबारी, फलफूल तथा तरकारीको बिऊ/बेर्नाका लागि नर्सरी निर्माण आदि जस्ता गतिविधिहरू सञ्चालन गर्ने अवसर पाएँ । आजको मितिसम्म पनि म २०५० देखि २०६१ सम्म गाउँका जनतामाझ सिकाइएका ज्ञान र सीप आत्मसात गर्दै आफ्नो घर/गृहस्थीमा निरन्तर प्रयोग गर्दै आएकी छु । 

सुरुमा घरमा २७/२८ वटा विभिन्न जातका ठूला/साना रुखहरू थिए । पूर्व र उत्तरतिर बाटो बढाएपछि   ५/७ वटा रुख बाटोमा गए । अझै पनि २२/२४ वटा रुख छन् । जग्गाको हिसाबले रुख अलि बढी भएकै हो । संख्या अलि घटाउनुपर्ने पनि हो । तर के गर्नु ? आफ्ना सन्तानको जति नै माया लाग्छ ।

एउटा सुखद कुरा यो छ कि वर्षको ५/६ महिना परिवारले आफ्नै घरमा फलेका आँप, अम्बा, आरु, नासपाटी र आरुबखडा खान पाउँछन् । आँपबाहेक अरु सबै फलफूल छरछिमेक, स्कुलका केटाकेटी र बाटो हिँड्ने बटुवाहरूले पनि मज्जाले चाख्‍न पाउँछन् । गएको वर्ष त आफ्नो छरछिमेक र इस्टमित्रले पनि आँपको मिठास थाहा पाउने अवसर पाए ।

म दुइटा ठूला ड्रमहरूमा घाँस/पात र पतिङगरको मल बनाउँछु । दुइटा नगरपालिकासित किनेको वेस्टबिनमा जुठो रछ्यानमा फ्याल्ने खानाको मल बनाउँछु । एक वेष्टबिन भरेपछि अर्को वेष्टबिन प्रयोग गर्छु । दोश्रो भर्ने बेलासम्म पहिलो वेस्टबिनको फोहर मल बनिसकेको हुन्छ । फोहोरलाई चाँदो कुहाउन जागिर खाउन्जेल कालिमाटीबाट इ एम किनेर छर्किने गरेको थिएँ । हिजोआज बाहिर जाने मेलोमेसो मिल्दैन । यसैले माटो हाल्छु ।

यसबाहेक म गड्यौँला मल पनि बनाउँछु । सन् २०१२ मा परियोजनाका सहभागीहरूलाई पोखरामा अध्ययण भम्रणमा लाँदा एउटा संस्थाले गड्यौँला मल बनाएको देख्दा आफूलाई पनि गर्न मन लाग्यो ।  सोही वर्ष  ५ सय गड्यौँला किनेर ल्याई आफ्नो घरमा भएको रंगको बालटिनमा सुरु गरेँ । यसमा म फलफूलका बोक्रा, आलु/स्कुस आदि तासेर निस्केका बोक्रा, सागपात केलाएर निस्केका फोहोर, विनाचिनीको कालो चियाको चियापत्ती आदि हाल्ने गरेकी छु । सुरुमा आधा लिटरको दही किनेर ल्याउने प्लास्टिकको बट्टामा ल्याएको गड्यौँला ६/७ वटा ठूला रंगको बाल्टिनमा अटेसमटेस भइसकेको छ । मेरा साना नातिनीहरू गड्यौँलालाई मामुका बच्चाहरू भन्छन् । खुसी लाग्छ । साँच्चै, म गड्यौँलालाई अति माया र हेरचाह गर्छु पनि । 

एक अखबारमा ऐतिहासिक भगवानको मूर्तिको माथिबाट ढल बगिरहेको फोटो देखेँ । सहरवासीको नाताले अपराधबोध महसुस गरेँ ।

मेरो आलेख पढिरहँदा अधिकांश पाठकहरूलाई लाग्दो हो, आफूसित थुप्रो जमिन छ । त्यसैले यति थरिका मल बनाउने कुरा गर्छन् । म मान्छु, समय र परिस्थितिको तुलनामा मसित आम मान्छेको भन्दा अलि बढी नै जग्गा भएकै हो । मसित १७ आना जग्गा छ, जुन अढाई दशक अगाडि मात्र ३ लाख २५ हजारले किनिएको हो । उक्त जग्गा आनाको ५४/५५ लाख पर्छ । देशमा सरकारको अत्तोपत्तो छैन । जुन आए पनि पावरको भोेगी, सम्पत्तिको लोभी, परिवारवादी, अवसरवादी, भ्रष्टाचारी, घुसखोरी र बिचौलियालाई पोस्ने मात्र आए । अनि किन अचाक्ली र कृत्रिम रुपले जग्गाको भाउ नबढोस् त ? 

माफ गर्नुस्, म अलिकता बहकिएँ । मलाई विश्वास छ, जो जहाँ जुन अवस्थामा छ, आफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्न चाहेमा देशलाई सफा/सुघर र सुन्दर बनाउन ठूलो योगदान पुर्‍याउन सकिन्छ । जुन परिवारको घर छ, उनीहरूले खाली जग्गामा धेरै/थोरै भएनी तरकारी लगाउन सक्छन् । जमिन छैन भने नि कौसीखेती गर्न सकिन्छ ।

यसका लागि आवश्यक तालिम तथा अन्य सामाग्री चाहिएमा आफूले चलाउने मोबाइलको युट्युबभित्र यत्रतत्र जानकारी भेटिन्छ, मात्र इच्छा शक्तिको खाँचो छ । म कहाँ धेरै रुखहरू भएको कारण रुखको सेपले गर्दा भुईं तल्लामा करेसाबारी राम्रो हुन सकेन । त्यसैले यस वर्षदेखि कौसीखेती सुरु गरेकी छु । अब आउने दिनमा अझ व्यवस्थित रुपले गर्ने विचार छ ।

जसको घर छ, तर कुखुरा आदि पालेको छैन भने रछ्यानमा फाल्ने जुठो खाना घर पछाडि अथवा भान्छा बाहिर मल बनाउने कन्टेनर राखेर कम्पोस्ट मल बनाउन सकिन्छ । यसबाहेक अलिकता गड्यौँला किनेर घरमा भएको रंगको बाल्टिन, सो नभएमा अन्य कुनै प्लास्टिकको बाल्टिनमा पिँधमा २/४ वटा प्वाल बनाएर अथवा त्यो पनि नभए घरमा भएको गमलामा पनि गड्यौँला मल बनाउन सकिन्छ ।

गड्यौँला मल बनाउँदा अलिकता पनि गन्ध नआउने भएकाले ठाउँको कमी भएमा भान्छाभित्रै पनि मलको भाँडा राख्न सकिन्छ । मैले भान्छाको ठीक बाहिर प्यासेजमा ६/७ वटा रंगको बाल्टिन लस्करै राखेर गड्यौँला मल बनाइ राखेकी छु । मलका भाँडाहरू भान्छाको आसपास भएमा फोहोर निस्कँदा निस्कँदै तुरुन्तै व्यवस्थापन गर्न सजिलो हुन्छ ।

काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका नागरिकहरू आफ्नो भविष्य खोज्ने क्रममा आउँछन् । अनि १/२ कोठादेखि एउटा फ्ल्याटसम्म भाडा लिएर यतै बस्न थाल्छन् । यतै बसेपछि एउटा जिम्मेवार नागरिकको हैसियतले उनीहरूले पनि भान्छाको कुनै कुनामा गड्यौँला मल बनाएर सम्भव भए कौसी, नभए कतै खुला ठाउँमा सजिलै सप्रिने धनियाँ पुदिना आदि जस्ता हरियो परियो लगाउन सक्छ । 

यदि सिंगो सहरमा बस्ने नेपालीहरूले मन लगाएर यी माथि उल्लेखित  पवित्र कर्म गरेको खण्डमा देशको ७० प्रतिशत कुहिने फोहोरको समस्या धेरै हदसम्म व्यवस्थापन हुन सक्छ । भनिन्छ पनि–थोपा थोपा मिलेर समुद्र बन्छ । कति डेरामा बस्ने नेपालीलाई लाग्न सक्छ– हामीसित माटो छैन । विनामाटोे बिरुवा कसरी लगाउने ? खोजे भगवान त भेटिन्छ भन्छन्, माटो कुन ठूलो कुरा भयो र ? हिजोआज नरिवलको जट्टा धुलो पारेर इँटाको आकारमा बनाएको हुन्छ, जसलाई कोकोपिट भनिन्छ । त्यसलाई  पानीमा डुबाएपछि फुलेर मसिनो धुलो बन्छ । यसमा गड्यौँला मल/कम्पोस्ट मल सरोबर मिलाएर तरकारी रोप्न सकिन्छ । यसबारे थप जानकारी युट्युबमा जति पनि भेटिन्छ । 

यहाँ पाठकहरूलाई म एउटा जानकारी गराउन चाहन्छु, कृपया ‘माइन्ड’ नगर्नु होला । मैले धेरै साथीभाइसित गड्यौँला मल बनाउने कुरा गर्दा अधिकांशले सुरुमा हाम्रै माटोमा जति पनि गड्यौँला छ भन्छन् । हाम्रो खेतबारीमा हुने गड्यौँलाले मल बनाउँदैन । माटोलाई  मलिलो मात्र पार्छ । हामीले पाल्ने गड्यौँला जसलाई भर्र्मी भन्छ । त्यसले सागपात, फलफूलका बोक्रा, चियापत्ती जे पनि खान्छ । त्यही खाएर त्यसले मल बनाउँछ । यसले बनाएको मललाई भर्मी कम्पोस्ट भनिन्छ । गड्यौँला मल बनाउने भाँडामा माछामासु र गुलियो कुरा बिर्सेर पनि राख्नु चाहिँ हुँदैन । 

अन्तमा, यो देशका नगरपालिका/उपनगरपालिका तथा महानगरपालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित समितिका जिम्मेवार व्यक्ति तथा पदाधिकारीहरूलाई मेरो सानो सुझाव छ, नागरिकबाट फोहोर व्यवस्थापनमा सहयोग अपेक्षा गर्नु हुन्छ भने कृपया उनीहरूलाई  कुहिने र नकुहिने फोहर राख्ने छुट्टाछुट्टै कन्टेनर उपलब्ध गराउनुस् । 

जसले मल बनाउन चाह राख्छन्, उनीहरूलाई तालिमको व्यवस्था गर्नुस्, बिऊ/बिजन, उपलब्ध गराउनुस् । सकिन्छ भने सबै कुरा सित्तै दिनुस् । सम्भव छैन भने सुसूचित गराएर सुपथ मूल्यमा उपलब्ध गराउनुस् । कसैको मल प्रयोग गर्ने अवस्था छैन भने ती मल किनी दिने वातावरण बनाउनुस् । नकुहिने सामानहरू किनिदिने प्रबन्ध पनि बिस्तारै मिलाउनुस् । अनि हेर्नुस्, तपाईंहरूको फोहोर व्यवस्थापन गर्ने अभियान कति सरल अनि कति सफल हुने छन् ? 

प्रतिक्रियाको लागि : [email protected]

भट्टराईको यसअघिको लेख


Author

थप समाचार
x