जनकलालले चाहेको ‘आर्कियोलोजी फ्रम द अर्थ’ दिन पाइनँ (प्रा.डा. प्रयागराज शर्मा)
नेपालको पुरातत्त्व र जनकलाल शर्माको बीचमा एउटा लामो सम्बन्ध थियो । हुन त जनकलाल शर्माले पुरातत्त्व विषयमा कुनै विश्वविद्यालयीय अध्ययन अथवा औपचारिक डिग्री लिएका थिएनन् । तापनि पुरातत्त्वसित उनले एउटा अभिन्न संगिनी सरहको सम्बन्ध अन्तसम्म साथ निभाए । उनको र पुरात्त्वबीच विद्यमान सम्बन्ध उपयुक्त समय, उपयुक्त ठाउँ र सही व्यक्ति संयोगको देन भएको तथ्य निश्चित छ ।
यदि नेपाली वाङ्मयको अनुशीलन र अनुसन्धानात्मक लेखन उनको व्यक्तित्वलाई चिनाउने एक पाटो थियो भने, त्यसको अर्को पाटो एक पुरातात्त्विकको थियो । पुरातात्त्विक अध्ययनको हर काल, युग र प्रकरणमा जनकलाल शर्माको स्वाभाविक अभिरुचि र स्वाध्याय थियो । तिनका विविध पक्षमा धेर–थोर लेखनी चलाएर जनकलाल शर्माले यथासम्भव योगदान गरेका छन् । विशेषत: नेपालको प्यालिएन्टोलोजी र प्रीहिष्ट्रीमा उनले सह–लेखनद्वारा अथवा ज्ञात सारलाई पुन: विस्तार गर्दै लेख प्रकाशित गरेका छन् (हेर्नू : प्राचीन नेपाल, पुरातत्त्व विभाग, सं. ९, ६१–६४, ७९, ८२) ।
पुरातत्त्व जनकलाल शर्माको आजीविका थियो । तर यो उनको सहज अभिरुचि र लगावको विषय पनि थियो । पुरातत्त्व विभागको सेवाले यस अभिरुचिलाई बढी सार्थकता दियो । उनी पुरातत्त्व विभागमा वि.सं. २०१२ तिर प्रवेश गरेका हुन् । पुरातत्त्वप्रतिको धारणा र पुरातत्त्व विभागको गठनमा त्यसबेला नेपालको शक्ति केन्द्रमा अलग्गै धारणा भएको पाइन्छ । पुरातत्त्वलाई निर्देशित गर्ने अभिभारा यसका प्रारम्भिक वर्ष अर्थात् यसको ‘स्टोन एज’ युगमा रुद्रराज पाण्डे, सूर्यविक्रम ज्ञवाली, सत्यमोहन जोशी र चन्द्रमान मास्के जस्ता व्यक्तित्वरूको हातमा थियो ।
यी सबै अवश्य आफ्ना क्षेत्रमा लब्धप्रतिष्ठ व्यक्तिहरु थिए, तर पुरातत्त्वमा यिनको क्षमता सिद्ध थिएन । जनकलाल शर्मा आफ्ना सुपरिचित मित्र सूर्यविक्रम ज्ञवालीको आग्रहले उनी निर्देशक हुँदा घरेलु विभागबाट पुरातत्त्वमा आएका थिए । तर जनकलाल शर्माको पुरातात्त्विक दीक्षा योभन्दा अगाडि नै भैसकेको थियो । पुरातत्त्वमा उनलाई अभिरुचि जगाउने श्रेय भारतका सुप्रसिद्ध लेखक र पूर्वीय शास्त्रविद् राहुल साङ्कृत्यायन भएको अनुमान हुन्छ ।
राहुलजीसँग जनकलालको पुरानो मित्रता थियो । राहुलजी स्वयंको पुरातत्त्वप्रतिको अभिरुचि इ. १९३० का दशकदेखि नै थियो, जुन कुरा उनको इ. १९३७ मा इलाहाबादबाट प्रकाशित पुरातत्त्व निबन्धावलीबाट थाहा हुन्छ ।
यी दुईजनाले इ. १९५४ मा भारत हिमाचलप्रदेशको कुलु, मनाली, चम्बा र काँगडा आदि स्थलहरूको व्यापक भ्रमण गरेका थिए (हेर्नू : माधवप्रसाद पोखरेल, सात वर्षको झ्यालबाट जनकलाल शर्मा’, वि.सं. २०५७ ज्ञानगुनका कुरा, भाग ५५, ज्ञानगुन प्रकाशन) । योगी नरहरिनाथका साथ लागेर पनि जनकलाल शर्माले नेपालको मध्य र पश्चिमी पहाडमा ऐतिहासिक खोज गरेका थिए । यो सब पुरातत्त्व विभाग प्रवेश गर्नुअघि नै सम्पन्न भैसकेको देखिन्छ ।
पुरातत्त्व विभागमा बस्दा उनी धेरै वर्ष ‘चीफ फिल्ड एक्स्क्याभेटर’ र ‘चीफ फिल्ड रिसर्चर’को हैसियतले उत्खनन–अन्वेषण कार्यमा खटिन्थे । उनले गरेका अन्वेषण भ्रमणका प्रतिवेदन प्राचीन नेपालका विभिन्न अङ्कमा देखा पर्छन् (हेर्नू : प्राचीन नेपाल, सं. २, ४ र १५) । उनको नेपालका पुरातात्त्विक स्थलहरूबारे राम्रो ज्ञानका कारण कतिपय समुद्रपारका विदेशी पुरातात्त्विक विद्वान् विदुषी उनीसित सहयोगका लागि उत्सुक रहन्थे र आफ्नो उत्खनन स्थल÷कार्यस्थल चयन गर्दा सदा जनकलाल शर्माको सल्लाह र सहयोग लिन्थे । यस्ता केही पुरातात्त्विकमध्ये जर्मनीकी गड्रुङ् कोर्भिनस, इटालीका जियोभानी भेरार्दी र रुसका स्टेथेङको प्रमुख छन् ।
उनको पुरातत्त्व यात्रामा अध्ययनशील र ठट्यौला पक्ष दुवै किसिमका अनुभव भरपूर छन् । उनका आफ्नै निबन्धमा उल्लिखित घटना अथवा उनले कुराकानीमा बताएका र मैले आफैँले सम्झेका केही घटनाबाट यसको राम्रै झलक पाइन्छ । एउटा यस्तै घटना उनले एक प्रकाशित निबन्धमा गरेका छन् । यसमा कुनै एक मित्रले रुसी राष्ट्राध्यक्ष भोरोसिलोभको नेपाल यात्राका अवसरमा त्रिभुवन विमानस्थलमा स्वागतार्थ जाऊँ भन्दा जनकलालजी साथ लागेर गएछन् । त्यसबेला नेपाली कांग्रेसको निर्वाचित सरकार नेपालमा कार्यरत थियो र बी. पी. कोइराला प्रधानमन्त्रीका हैसियतले विमानस्थलमा पाहुनाको स्वागतार्थ उपस्थित थिए ।
तर स्वागतस्थलतिर लाग्दा मित्र भीडमा कहीं छलिएछन् र जनकलालजी त्यहाँ त्यसअगाडि कहिल्यै नआएको व्यक्ति हुनाले कता जानुपर्ने हो र कहाँ उभिनुपर्ने हो थाहा नहुँदा भीडसँग लुरुलुरु हिँड्दै अलि भीड कम भएको एउटा बाटोमा मोडिएछन् । त्यस बाटोको ढोकामा पुलिस त थिए, तर उनलाई देख्नासाथ ‘उ तेरा बाजे गणेशमान’ भनेर सलाम ठोक्दै बाटोमा अगाडि बढ्न इसारा गरेछन् । जनकलालजी त्यस बाटोबाट जाँदा त श्री ५ को सरकारका अतिविशिष्ट पदाधिकारीहरूले विदेशी पाहुनालाई स्वागत गर्ने ठाउँमा पो पुगेछन् । केही संकोच मान्दै उभिँदै गरेको बेलामा पाहुनालाई पंक्तिबद्ध पदाधिकारीहरूको परिचय दिलाउँदै बी. पी. कोइराला जनकलालजी उभिएकै ठाउँमा आइपुगेछन् । हठात् उनलाई त्यहाँ देख्दा केही विस्मित भए पनि उनले पाहुनालाई उनको परिचय दिँदै ‘गभर्नमेन्ट आर्कियोलोजिष्ट’ भनेर अगाडि बढेछन् (हेर्नू : ‘सम्झनाका झिना रेखाहरू’, मुकुट, २०४८, वर्ष २४, १–२) ।
यसबाट उनको पुरातात्त्विक छवि तलदेखि माथिसम्म सबैतिर समान रूपले फैलिसकेको स्पष्ट देखिन्छ । एक पुरातात्त्विकले पाउने सर्वोत्तम उपाधि भने जनकलालजीले राहुल साङ्कृत्यायनबाट पाएका हुन् । राहुलजीले आफ्नो पुस्तक मेरी नेपाल यात्रामा जनकलाल शर्मालाई ‘नेपाल के कनिङ्घम’को खिताब प्रदान गरेका छन् (हेर्नू : जनकलाल शर्मा : नेपालका कनिङ्घम, शेषराज सिवाकोटी (सं.), २०५४, ज्ञानगुन प्रकाशन) ।
अवश्य नै जनकलालको लामो पुरातत्त्व यात्रामा यो अभिव्यक्ति एउटा महत्त्वपूर्ण कोसे ढङ्गो थियो । पुरातात्त्विक जीवनको उनको शिखरकाल वि. सं. २०३९ सालतिर आयो जब उनी पुरातत्त्व विभागको महानिर्देशक पदमा आसीन हुन पुगे । प्राचीन नेपालको सम्पादन पनि यही समयमा उनले गरेका हुन् ।
जनकलाल शर्माको मित्रमण्डलीमा लेखक, साहित्यकार, कलाकार र राजनीतिज्ञ सबै पर्दथे । त्यस्तै उनका कति इतिहासकार, पुरातत्त्वविद् र प्राध्यापकहरूसित पनि घनिष्ठता थियो । मेचीदेखि महाकालीभित्र मात्र हैन, दार्जीलिङ, सिक्किम र भारतका कतिपय व्यक्तिलाई उनले नजिकबाट चिनेका र तिनको सम्पर्कमा आएका थिए । विभिन्न मानिसको बारेमा नानाथरीका कुराहरू सम्झेर अनेकन् घटनासित जोड्ने उनको विशेष खुबी थियो । उनका व्यङ्ग्य र विनोदपूर्ण साहित्यिक निबन्धमा यस्तै व्यक्तिहरूका अनौठा कुराहरूको संस्मरण किस्सापरक शैलीमा पर भेटिन्छ (हेर्नू : भूमिकै भूमिका, वि. सं. २०३६, साझा प्रकाशन ।)
उनका परिचित व्यक्तिहरूको भीडमा म एकजना पनि थिएँ । अनेकौँ विनोदपूर्ण लेखन र अझ विनोदी कुराकानीको शैलीको म प्रशंसक थिएँ । त्यही कुराले उनी मसित विशेष खुशी हुन्थे । उनका अनेकन निबन्धको पाण्डुलिपि प्रकाशनपूर्व पढ्न पाउने सौभाग्यशालीमा म पनि एक थिएँ । मेरो र उनको अर्को समान रुचि पुरातत्त्व थियो । उनको निजी पुस्तकालय पुरातत्त्वका गहन र मूल्यवान् पुस्तकले भरिपूर्ण थियो र मैले आफ्नो अध्ययनको लालसा त्यस पुस्तकालयबाट भरपुर पूरा गरेको छ । उनी आफ्ना किताब पैंचो दिनमा उदार थिए, तर पुस्तक फिर्ता लिनमा पनि उत्तिकै सावधान थिए । इतिहास र पुरातत्त्वका विभिन्न पक्षका महत्त्वपूर्ण ग्रन्थ देख्नासाथ खरिद गर्ने उनको अभिलाषा रहन्थ्यो ।
जनकलाल शर्मासित सम्झने गरी मेरो भेट भएको तिलौराकोट उत्खननमा हो । इ. १९६२ को वर्ष थियो । म त्यसबेला पूना डेक्कन कलेजको पुरातत्त्वको स्नातकोत्तर तहको शोधार्थी छात्र थिएँ र आफ्नो अनुसन्धानको सामग्री आकलन गर्न काठमाडौं आएको थिएँ । आफ्नो काम पूरा भएपछि डेक्कन कलेज फर्कने क्रममा म लुम्बिनी हुँदै तिलौराकोट पुगेको थिएँ र अवसरको सदुपयोग गर्दै तिलौराकोटमा श्रीमती देवला मित्राले गरेको माटो र इँटले बनेको प्राचीन कपिलवस्तु दरबारको सुरक्षात्मक पर्खालको उत्खनन हेर्न चाहन्थें । जनकलाल शर्मा त्यही काममा श्री ५ को सरकारको प्रतिनिधि पुरातत्त्वविद्का हैसियतले खटिएका थिए । म त्यहाँ बिहानको ११ बजेतिर पुग्दा उत्खनन स्थलतिर नगएर सिधै उत्खनन शिविरतर्फ पुगेको थिएँ । मध्याह्न भोजको बेला सबै शिविरमा आउने अपेक्षा थियो ।
ठीक समयमा उत्खनन दल शिविरमा आइपुग्यो । जनकलाल शर्माको शिरमा घाम छेक्ने औपनिवेशिक बेलायती कर्मचारीले लगाउने बाक्लो ‘कर्क हेलमेट’ भनिने अलिअघिको दशकमा प्रचलित खाकी रङ्गको टोप लगाएका र बाँकी अङ्गमा खादीको सेतो कुर्ता, मोटो मोहोताको खादीकै सुरुवाल र खुट्टामा चप्पल लगाएका थिए । यो वस्त्र सज्जा मलाई केही अनौठो र अनमेल जस्तो लागेको थियो । जनकलालजीको परिधानले उनका दुई विपरीत आकर्षणजन्य मनोदशा देखाएको मलाई लाग्यो । जनकलाल शर्मालाई दैनिक रहन–सहन, खान–पान, उपकरण, शृङ्गार प्रसाधन आदि कुरामा विदेशी आयातित वस्तुहरूको प्रयोग अथवा सङ्ग्रह गर्ने सोख थियो ।
उनको एक अर्को मान्यता पनि थियो जसलाई उनी भन्नु भन्दा व्यवहारबाट दर्शाउँथे । यो मान्यता थियो कुनै चीजलाई आत्मसात् गर्दा त्यसको बाह्य सज्जाको पनि यथासम्भव अनुकरण गर्नु । त्यसको आफ्नो महत्ता हुन्छ । अत: उत्खनन कार्य गर्दा बेलायती पुरातात्त्विकहरूले केही अघिका दशकमा लाउने गरेको ‘कर्क हेलमेट’ भनिने बाक्लो खाकी रङ्गको टोप त्यसबेला उनका शिरमा शोभायमान थियो । तर यो परिधानसँग मिल्ने खाकी रङ्गको कमीज, कट्टू अथवा पूर्णकदको प्यान्ट र बूट भन्ने उनको अङ्गमा थिएन ।
त्यसको ठाउँमा थियो सेतो खद्दरको कुर्ता र ठूलो मोहोता भएको खद्दरकै सुरुवाल र एकजोर चप्पल । यसप्रकार एकातिर टोपले उनी पक्का पुरातात्त्विक देखिन्थे भने, अन्य पहिरनले उनी अझै वर्धा आश्रम भारतमा दीक्षित गान्धी खद्दर आदर्शका परिपोषक । मेरो १–२ दिनको तिलौराकोट प्रवास उनकै सहयोग र सौहार्दबाट फलदायी भयो । श्रीमती देवला मित्रा हामी जस्ता विद्यार्थीलाई आफ्नो समय दिन त्यति रुचि राख्दैनथिन् ।
जनकलाल शर्माका आफ्ना पुरातात्त्विक मित्रहरूसितको सम्बन्ध कहिले आदरपूर्ण, कहिले घोच–पेचयुक्त र तीतो–मीठो सबै रसको देखापर्थ्यो । कति पुरातात्त्विकहरू उनलाई पुरातत्त्व नजान्ने भनेर परोक्षमा उपहास गर्थे । उनी पनि तथाकथित डिग्रीधारी पुरातत्त्वविद्हरूको पेशागत निष्ठामा कमी, कम विश्वसनीयता, अल्पज्ञान अथवा अर्ध ज्ञानबारे परोक्षमा टिप्पणी गर्न चुक्तैनथे । उनको व्यङ्ग्यात्मक निबन्ध ‘भीरबाट भैंसी स्वाहा’ (हेर्ने : गरिमा, अङ्क ३३, वि. सं. २०४२) यस्तै केही पुरातात्त्विक प्रति लक्षित छ ।
जनकलालजीको पुरातात्त्विक टोपसित सम्बद्ध एउटा घटना सम्झन्छु । कुरा इ. १९६४ वैशाख–ज्येष्ठको हो । म पूनाबाट आफ्नो अध्ययन समाप्त गरी नेपाल फर्किसकेको थिएँ । पूनाबाट डा. भालचन्द्र देव त्यो वर्ष लुम्बिनी नजिकको वञ्जरही गाउँको एउटा सानो उत्खनन र त्यस क्षेत्रका पुरातात्त्विक स्थलको अन्वेषण कार्यलाई नेतृत्व गर्दै थिए । म उनको विद्यार्थी–सहयोगीका रूपमा सो दलमा सम्मिलित थिएँ र जनकलालजी पनि सदाको मैं प्रातत्त्व विभागको सहभागी प्रतिनिधिका रूपमा त्यस दलमा उपस्थित थिए । वञ्जरही उत्खनन कार्य पूर्ण भएपछि हामी सबै लम्बिनीदेखि पूर्व चितवन त्रिवेणीसम्मका तराईका क्षेत्रमा नयाँ पुरातात्त्विक स्थलको अन्वेषण कार्य गर्न थाल्यौँ ।
एक दिन यस सिलसिलामा हामी परासी बजारबाट केही दक्षिण पूर्वमा अवस्थित देउरियाको प्राचीन ढिस्को हेर्न गयौं । हाल यही ढिस्को कोलीहरु बनाएको रामग्रामको अस्तु युक्त स्तूप भनेर प्रसिद्ध छ । यसलाई आर्कियोलोजिकल म्यापमा सर्वप्रथम त्यही बेला अंकित गरिएको हो । त्यो करीब ३० फिट अग्लो देउरियाको ढिस्कोमा पुग्न हाम्रा कदम छिटो छिटो चल्न थाले ।
जनकलालजी समेत हामी सबैका मनमा ढिस्कोमाथि पहिला उक्लने अभिलाषा एकैपटक जागेजस्तो देखियो । हाम्रा द्रूत कदमले बिस्तारै वेग लिन थाले र छिनमै तिनले मधुरो दौडको लिए । त्यसको एकैछिनमा मधुरो दौड एउटा पूर्ण दौडमै परिणत भयो । ढिस्को उक्लने क्रम शुरू भयो । जनकलालजी पूर्ण यौवनमा थिए तिनताक । उनैको दौड बराबरै बराबरै थियो । तर ढिस्कोको आधा उचाइमा पुग्दा उनको शिरबाट टोप भुइँमा झर्यो र गोलो, बाक्लो टोप गुडेर ढिस्कोको फेदैमा पुग्यो । अब उनी एकछिन दौड कायम राख्ने कि टोप लिन फर्कने द्विविधामा परे । त्यतिञ्जेलमा ढिस्कोको शिखरको दौड अरू कसैले नै समाप्त गरिसकेको थियो । जनकलालजी त्यो दौडमा सर्वप्रथम हुने श्रेय पुरातत्त्व विभागलाई जाओस् भन्ने चाहन्थे । त्यसपछिका वर्षहरूमा जनकलालजीको त्यो टोप पहिरन पनि बिस्तारै हराउँदै गयो ।
अनेकन अनौठो किस्साका धनी जनकलालजीले पुरातत्त्व विभागको बारेमा एकपटक यस्तो किस्सा हालेको म सम्झन्छु । पुरातत्त्व विभाग सर्वप्रथम वि. सं. २००९ सालमा स्थापित भएको हो र त्यसका पहिला निर्देशक सरदार रुद्रराज पाण्डे हुन् । विभाग स्थापना गर्दा शुरूका दिनमा त्यहाँ जम्मा दुई पदको मात्र दरबन्दी थियो अरे । एउटा निर्देशकको र अर्को पिउनको । एकपटक रुद्रराज पाण्डे केही दिन बिदामा बस्नुपर्दा सम्पूर्ण विभाग पिउनले संचालन गरेको थियो अरे र का. मु. निर्देशक पाउनुपर्ने जिरह पनि मन्त्रालयमा गरेको थियो अरे । त्यही अप्ठेरो परिस्थितिलाई नलम्ब्याउन पुरातत्त्व विभागमा थप दरबन्दी तत्कालै निकासा भएको थियो र यसरी पुरातत्त्व विभागको विस्तार भएको थियो अरे ।
आज मेरा मनमा एउटा सानो कुरो खट्किरहन्छ । जनकलाल निजी पुस्तकालय पुरातत्त्वको लागि धेरै सम्पन्न थियो । तर त्यसमा एक किताबको कमी उनलाई ज्यादा महसूस हुन्थ्यो र त्यसलाई आफ्ना सङ्ग्रहमा पार्न उनी धेरै उत्सुक थिए । त्यो किताब थियो पेलिकन प्रकाशनको मर्टिमर ह्वीलर लिखित ‘आर्कियोलोजी फ्रम द अर्थ’ ।
त्यो एउटा पुस्तक भने मेरो आफ्नो सङग्रहमा थियो र उनले त्यसलाई पटक पटक लगेर अध्ययन पनि गरेका थिए । तर उनलाई त्यसको आफ्नै प्रति राख्ने ठूलो रहर थियो । हामी दुवैले काठमाडौंका प्रमुख पुस्तक विक्रेता कहाँ गएर भारतबाट पुस्तक झिकाइदिने अनुरोध पनि नगरेको होइन । तर केही गर्दा पनि पुस्तक प्राप्त हुन सकेको थिएन । जनकलालजी अझै प्रतीक्षारत नै थिए । मैले के भन्ने गरेको थिएँ भने कथंकदाचित् यदि पुस्तक भेटिएन भने मेरो पुस्तकबाट फोटोकपी गरेर फोटोकपीको १ प्रति प्रदान गरौंला । तर त्यो कुरा पूरा गर्नु अगावै उनले हाम्रा बीचबाट सदाको लागि बिदा लिए । जनकलाल शर्मालाई म एउटा सहृदयी, विनोदी, तर गम्भीर शास्त्र चर्चामा तत्पर एक मित्रका रूपमा सदा हृदयमा धारणा गरिरहेको छु । अस्तु ।
(जनैपूर्णिमा, २०५७ । शेषराज सिवाकोटीद्वारा सम्पादित तथा ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘जनकलाल शर्मा : स्मृति र स्पन्दन’ ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया