विचार

१६ वर्ष राणाकाल भोगेका शान्तदास : बालबालिकाको जीवनमा प्रजातन्त्र आएकै छैन (भिडिओ)

विमल आचार्य |
साउन १३, २०७९ शुक्रबार १८:१४ बजे

काठमाडाैं । वर्ष ८९, अंक ९९ । शान्तदास मानन्धर नब्बे पुग्न एक वर्ष मात्र बाँकी छ । र, उनी सय पुग्न एक अंक बाँकी ‘बालकोसेली’ पत्रिका प्रेसमा पठाउन ठिक्क पारेर बसेका छन् । 

कोभिडकालमा ‘बालकोसेली’का ग्राहक/पाठक बनेका स्कुलहरू बन्द भएपछि उनी फेसबुकमा सक्रिय भए । अनि उनले नियमित ‘कुराकानी’ गरिरहे । तिनै कुराकानी समेटेर ०७८ असोजमा म्यागेजिन साइजमा ७० पृष्ठको किताब निकाले- ‘बालकोसेलीका पाठक भाइबहिनीहरूसित कोरोनाबारे कुराकानी’ ।


असार मसान्तको अन्तिम शनिबार कतैबाट घाम नछिर्ने डल्लुको डल्ले कोठामा छिर्नुअघि हामी बाटोमा उभिएका थियौँ । उनी हामीलाई रिसिभ गर्न त...ल चोकसम्म ओरालो आएका थिए । बालसुलभ मुस्कान दिँदै बोलिरहने शान्तदासले कुरा सुरु गरे, ‘मेरो उमेरका कति हिँड्न सक्दैनन् । म आफ्नो काम आफैँ गर्छु । हिँड्छु, लेख्छु, पढ्छु । नानीहरूसँग खेल्छु ।’ 

शान्तदास मानन्धर तिनै लेखक हुन् जसले जीवनभर बालखुराक मात्र पस्किए । ७० जति पुस्तक लेखिसकेका, एक दर्जन जति पुस्तक विभिन्न भाषाबाट नेपालीमा अनुवाद गरेका र दुई सयभन्दा बढी पुस्तक सम्पादन गरेका शान्तदासको मुड भने घरीघरी शान्त देखिएन । किन त ? ‘यो देशमा सबैभन्दा बढी हेपिएका कोही छन् भने बालबालिका छन् । उहिले राजा, अहिले राष्ट्रपति सबैभन्दा माथि । अनि प्रधानमन्त्री, अनि मन्त्री, सचिव, विभागीय व्यक्ति, लास्टमा पिउनको मर्यादा छ । अनि त्यही पिउनले आफ्नो नानीलाई चड्याम्म गालामा हिर्काउँछ । अनि नानीहरूको यहाँ कुनै इज्जत र मर्यादा छ ?’ 

पढाउँदा होस् वा लेख्दा वा व्यवहार गर्दा जहिले पनि नानीहरूलाई ‘तपाईं’ सम्बोधन गर्ने शान्तदास प्रश्न गर्छन्, ‘चुले निम्तो भनेर निम्ता आउँछ । चुले भनेको सपरिवार भनेको हो कि होइन ? हो भने भोजहरूमा खानेकुरा के छ भनेर नानीहरू आफ्नै आँखाले खाना देख्छन् ? उनीहरूको स्वाद र रोजाइ त्यहाँ हुन्छ ? तपाईंले आफ्नो घरमा आज के तरकारी किन्ने ? के पकाउने भनेर नानीहरूलाई कहिल्यै सोध्नुभएको छ ?’ 

प्रश्नैप्रश्नमा जवाफ फ्याँकरहेका शान्तदास जवाफको प्रतीक्षामा हामीतिर लामो पज लिन्छन् । शान्तदासका प्रश्न कडा छन् । तर, उनलाई जवाफ दिन यहाँ कोही खडा छैन । 

शान्तदासको बाललेखन/सम्पादन/प्रकाशन/अनुवाद कर्मलाई न उमेरले, न  कोभिड महामारीले कसैले शिथिल पारेको छैन । नब्बेको दशकको पहिलो वर्ष अर्थात् १९९१ मा जन्मेका शान्तदास उमेरअनुरूप उपदेश दिइरहेका पनि भेटिँदा हुन् । तर उनी आलोचनात्मक चिन्तन र वैज्ञानिक दृष्टिमा टसमस छैनन् । 

आलोचनात्मक चिन्तन ? किनभने उनले कवि दुर्गालाल श्रेष्ठहरूसँग मिलेर पञ्चायतको प्रारम्भिक वर्षमा गरेको नेपाल भाषा आन्दोलनको स्मरण गरे । त्यसमा सत्यमोहन जोशीहरूको पक्षधरताको तीतो सत्य सम्झिए । बालकविताका नाममा ‘जयजय भगवान् करुणा राशि’ जस्ता रचना कोर्समार्फत नै घोकाएर बालबालिकालाई जिज्ञासु बन्न नदिएको जब्बर संरचना सम्झिए । 

मानन्धर विज्ञानका तथ्यमा विश्वास गर्छन् । त्यसैले त उनले ‘माटोको कथा’, ‘पानीको कथा’ जस्ता आख्यानात्मक तर तथ्यात्मक बाल पुस्तक लेखेका छन् । ‘बाल साहित्य भनेको जसले जे पनि लेख्न सकिने विधा होइन,’ शान्तदास भन्छन्, ‘सबैभन्दा ध्यानपूर्वक लेख्नुपर्छ, बालसाहित्य। कला मात्र भएर हुँदैन, चेतना पनि चाहिन्छ । ज्ञान पनि चाहिन्छ । अनि बालबालिका भएर उनीहरू सँगसँगै जिउनुपर्छ ।

अहिलेको हिसाबले वा रूपकको हिसाबले पनि भन्ने हो भने शान्तदास मानन्धर नागरिक भएको राणाशासनपछि मात्र हो । अर्थात् १६ वर्षको उमेरसम्म राणाशासन भोगे, उनले । राणाकालकै अनगन्ती सम्झना छन्, उनीसँग । १९९७ सालका चार वीर सहिद गंगालाल, दशरथ, धर्मभक्त, शुक्रराजको जीवनी समेटेर चार बेग्लाबेग्लै जीवनमाला हालैका वर्षमा प्रकाशन÷सम्पादन गरेका छन्, शान्तदासले । 

कैदी सरह जीवन बाँचिरहेका आजका बालबालिकालाई सहिदहरूको जीवनी पढाएर शान्तदास परोक्षमा निरंकुश अभिभावक÷स्कुलसँग शान्त विद्रोह गर्न बालबालिकालाई उकासिरहेका छन् । शान्त–कुराकानीले भन्छ— बालबालिकाको जीवनमा अझै प्रजातन्त्र आएकै छैन । 

‘ठूलालाई आदर सानालाई माया गर्नुपर्छ भनेर अझै यही रटाइन्छ । के यो सही छ ?’ शान्तदास आफैँ जवाफ दिन्छन्, ‘सही छैन । सानालाई झनै आदर गर्नुपर्छ । किनभने सबैभन्दा शुद्ध र सत्य को हुन्छन् ? बालबालिका हुन्छन् ।’
 
कुराकानीका क्रममा शान्तदास शान्त बसेनन् । बालसुलभ सक्रियता जारी राखे । ‘पख्नुुस् है’ भन्दै बीच्चबीच्चमा उठेर प्रसंगवश आउने पुस्तक/पत्रिका अर्काे कोठाबाट ल्याएर देखाइरहे । तपाईं ६ दशकदेखि निरन्तर बालसाहित्यमा अनि हामीले कोर्समा त कहिल्यै पढ्न पाएनौँ नि ? जिज्ञासा सुनेर शान्तदास एकछिन शान्तै रहिरहे अनि भने, ‘मैले म यस्तो, उस्तो भनेर कहिल्यै भनिनँ । सरकारी मान्छेहरूको काम गर्ने तरिका मलाई थाहा छैन । म आफ्नै संसारमा रमाइरहेँ,’ केही बेरपछि उनले थपे, ‘हाम्रा पाठ्यपुस्तकले साहित्यको रस र मज्जा दिँदैनन् ।’

साहित्यसँगै चित्र पनि कोर्ने शान्तदास वसन्तपुरको साबुन व्यापारी (शान्तका शब्दमा पसले) परिवारमा जन्मिए । परिवारमा नेपाल भाषा नै बोलिन्थ्यो । शान्तदासलाई नेपाली बोल्न ठूलो हुँदासम्म पनि गाह्रो लाग्थ्यो । मातृभाषाको महत्व शान्तदासलाई राम्ररी थाहा छ । ‘आफूले सानैमा बोलेको भाषामा जति राम्रो अर्काे भाषामा गर्न कठिन हुन्छ, तर मैले पुस्तकालय धाईधाई नेपाली सिकेँ,’ शान्तदासले सम्झिए । 

२०१५ सालतिर अंग्रेजी बोल्नेलाई अलि बढी मानमनितो गर्ने लहर देखेर शान्तदासले पनि अंग्रेजीमा निबन्धको किताबै तयार पारे । ‘सम एसेज’ पुस्तकमा भूमिका लेखाउन कवि÷नाटककार गोपालप्रसाद रिमालसँग गए । ‘आफ्नो भाषामा नलेखेर किन अंग्रेजीमा लेखेको भनेर रिमालज्यूले सम्झाएपछि मैले पछि अंग्रेजीमा लेख्न छोडेँ,’ शान्तदासले सम्झना गरे । 


पछिल्ला वर्षमा रुम टु रिडमार्फत बालसाहित्यिक पुस्तक सम्पादन गरिरहेका शान्तदास अनुवाद पनि गर्छन् । चिनियाँ साहित्यहरू बढी अनुवाद गरेका छन्, उनले । लेखक खगेन्द्र संग्रौला पनि शान्तदासलाई गुरु मान्छन् । लु सुन, हान्स एन्डरसन, जोनाथन स्विफ्टका पुस्तक नेपालीमा अनुवाद गरेका शान्तलाई हामीले प्रश्न गर्र्यौँ— अनुवाद किन ? ‘सबै तरकारी र फलफूल आफ्नै बारीमा फल्दैन नि, त्यसैले राम्रो पुस्तक अनुवाद पनि गर्नुपर्छ ।’

साहित्य होस् वा बालसाहित्य विधागत रूपमा लोकप्रिय त कथै हुन्छ । अनि बालसाहित्यमा कविता–गीतको कुरा पनि बढी आउँछ । निबन्ध उसै पनि रुखो विधा मानिन्छ । तर, शान्तदासले निबन्धै बढी लेखेका छन् । शान्तदास बालसाहित्यलाई धर्मकर्म, उपदेश, पाण्डित्य, आशीर्वाद, अन्धविश्वासबाट टाढा राख्छन् । ‘एकादेशमा एउटा राजा थियो’ वा ‘एकादेशमा एउटा राक्षस थियो’ भन्नुभन्दा शान्तदासलाई एकादेशमा भुइँचालो थियो, एकादेशमा कोरोना थियो भनेर व्यावहारिक निबन्ध लेख्नमा रुचि लाग्छ । 

उनका पुस्तक नै छन्, ‘भुइँचालोबारे हजुरआमाको कथा’, ‘हाम्रो शरीर र हाम्रो साहित्य’, ‘शिक्षक साथीहरूसित’, ‘शिक्षा र शिक्षा क्षेत्र’, ‘कितापघरको लामपुच्छ्रे’, ‘बालसाहित्य लेखन र प्राथमिकताको कुरा’ । हाम्रो बालसाहित्यमा राजनीति निषेधजस्तै छ । तर, शान्तदास पुस्तक लेख्छन्, ‘प्रजातन्त्रबारे एक जना मामुली नेपालीको टिप्पणी’ । 

बालबालिकालाई किन आदर गर्नुपर्छ भन्नेबारे शान्तदासको पुस्तक नै छ, ‘पुराना पुस्ताकाले बालबालिकालाई आदर देऔँ ! नयाँ पुस्ताबाट माया पाउन खोजौँ !’ सानालाई माया, ठूलालाई आदर सुन्दासुन्दा वाक्क लागेपछि उनले यस्तो किताब लेखेका हुन् । 

शान्तदासले शिक्षण कर्ममा धेरै वर्ष बिताएका छन । त्यसैले उनी बालबालिकाको मनोविज्ञान र भाषा पनि राम्ररी बझ्छन् । ‘मैले नानीहरूसँगै बसेर उनीहरूलाई नै सोधेरै उनीहरूले भनेकै कुरा टिपेर टिकटिके किरा कविता बनाएको हुँ,’ शान्तदासले हामीसँगको कुराकानीमा भने, ‘नानीहरूसँग संगत नै नगरेर कसरी बालसाहित्यकार ?’

शान्तदासका अनुसार उनले सरकारी पाठ्यपुस्तकमा बल्ल एक ठाउँ प्रवेश पाएका छन् । सरकारी पाठ्यपुस्तकमा दलका कार्यकर्ता लेखक, सरकारी कर्मचारी वा उनीहरूको परिवारका नाममा रचना धेरै भेटिन्छ । तर, शान्तदासलाई यसको कुनै फिक्री छैन । उनले यस विषयमा कुनै टिप्पणी छैन भन्ने टाइपमा मात्र टिप्पणी गरे । 

शान्तका कृतिले पाठ्यपुस्तकको छहारी नपाए पनि, शान्त व्यक्तिले सरकारी मानसम्मान खासै नपाए पनि २०७४ मा मदन पुरस्कार गुठीले दिने जगदम्बा सम्मान पाउँदा भने उनलाई धेरै खुसी लागेको छ । ‘रातो बंगला स्कुलका भाइबहिनीले मेरा पुस्तक पढ्नुहुन्छ, उहाँहरूले मन पराउनुभयो, मैले सम्मान लिएँँ,’ शान्तदास सम्मानपत्रसहित उभिए । 

शान्तदास अब ९० पुग्दैछन् । तर, चस्मा लगाउनुपर्दैन उनलाई । अचम्म त के भने उनले कसैको सहयोग नलिई ल्यापटप अन गरे । हाम्रो अनुरोधमा आफ्नु किताबका केही पंक्ति टाइप पनि गरे । उनी फेसबुक पोस्ट पनि आफैँ गर्छन् । मेसेन्जर पनि चलाउँछन् । शान्तदास ९० वर्षका जिज्ञासु शान्त बालक हुन् । 

शान्तदास हाम्रा केही प्रश्न सुनेर रिसाए जस्तो पनि लाग्थ्यो तर लामो भूमिका बाँध्दै उनी अनेक उदाहरण दिएर बोल्थे । अनि प्रश्नवाचक शैलीमा बोली पूरा गर्दै खिस्स हाँस्थे । एक असल शिक्षक वा पुस्तकले जवाफभन्दा प्रश्न पैदा गर्छ । शान्तदास पनि हाम्रा प्रश्नैपिच्छे हामीलाई प्रतिप्रश्न गर्थे । 

शान्तदासका बुबा निक्कै गोरा थिए रे । त्यसैले पिताको नाम चिनियाँ राखिएछ । चिनियाँ साहित्य धेरै अनुवाद गरेका अनि नेपाली मन्त्रीसहित पञ्चायतकालमा एक महिना चीन भ्रमण गरेका शान्तदास ठट्टा गर्छन्, ‘म पनि गोरै छु । तर, उहाँ जति भने हैन ।’ 

के चिनियाँकै छोरो भएको हुँदा उनी चीनतिर ढल्के ? प्रश्न सुनेर शान्तदास कुर्सीमा ढल्के ।

(शान्तदास आफ्ना कृति आफैँ छाप्छन् । उनका पुस्तक बालकोसेली प्रकाशनमार्फत प्राप्त गर्न सकिन्छ । पुस्तक/पत्रिका सेवामूलक असल व्यवसाय भएको हुँदा यहाँ उनको सम्पर्क नम्बर पनि दिइन्छ : ०१–५३७७७५५, ९८४१३३३४७२ ।)

 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x