बन्द कोठा
एउटा कोठा छ जो बन्द छ । मानिलिउँ त्यस बन्द कोठा भित्र तपाईं हुनुहुन्छ ? बन्द कोठा भित्र तपाईँ स्वतन्त्रतामा हुनुहुन्छ अथवा बन्धनमा हुनुहुन्छ ? हामी खासमा केही भन्न नसक्ने स्थितिमा हुन्छौँ तर हामी भनिदिहाल्छौँ यथार्थ हो झै गरेर, कि तपाई त एकदमसँग बन्धनमा हुनुहुन्छ । अथवा यसो भनिदिइहाल्छौँ हतारहतार गरेर कि तपाईँ त पूरापूरा स्वतन्त्रतामा हुनुहुन्छ ।
हो हामी यसैत्यसै भनिदिहाल्छौँ तर बेहोसीमा । तर बेहोसीमा भन्नेहरूलाई थाहा हुँदैन । अह तिनीहरुलाई कत्ति पनि थाहा हुँदैन तपाई बन्द कोठा भित्र स्वतन्त्रतामा हुनुहुन्छ तर कसरी स्वतन्त्रतामा हुनुहुन्छ ? तपाई बन्द कोठाभित्र बन्धनमा हुनुहुन्छ तर कसरी बन्धनमा हुनुुहुन्छ ? भन्ने बारेमा । तिनीहरु फगत भनिदिहाल्छन यसर्थ कि तिनीहरूलाई बेहोसीमै जाग्ने मात लागेको हुन्छ । तिनीहरू फगत भनिदिहाल्छन यसर्थ कि तिनीहरूलाई होसमा आउनु पर्ने आवश्यक्ता बारे अलिकति पनि ज्ञान हुँदैन अथवा वास्ता हुँदैन अथवा इच्छा हुँदैन ।
वास्तवमा बन्द कोठा आफैँमा न बन्धन हो, न स्वतन्त्रता हो । यसो हुनाले बन्द कोठालाई झट्ट देख्दा बित्तिकै हामीलाई थाहा हुँदैन यस बन्द कोठा भित्र रहेको तपाईं यथार्थमा बन्धनमा हुनुहुन्छ अथवा स्वतन्त्रतामा हुनुहुन्छ । त्यो त कोठा कसरी बन्द गरियो भन्ने आधारमा थाहा हुने हो । जस्तो, यदि कोठाभित्रबाट बन्द गरिएको छ भने तपाईँ स्वतन्त्रतामा हुनुहुन्छ । यदि कोठा बाहिरबाट बन्द गरिएको छ भने तपाईँ बन्धनमा हुनुहुन्छ ।
फेरि बाहिरबाट कोठा बन्द गरिएको आधारमा तपाईँ बन्धनमा हुनुहुन्छ भनिहाल्नु आफैँमा असान्दर्भिक हुनजान्छ । त्यो त कोठालाई बाहिरबाट तपाईँले खुद बन्द गरिदिन आग्रह गर्नुभएको हो वा अरु कसैले जबर्जस्ती बन्द गरिदिएको हो ? भन्ने कुरामा भर पर्ने हो ।
यदि तपाईँ आफैँले कसैलाई कोठाबाहिरबाट बन्द गर्न आग्रह गर्नुभएको हो भने उत्तर सरल हुन्छ — तपाईं स्वतन्त्रतामा हुनुहुन्छ । तर तपाईँले कोठालाई बाहिर बाट बन्द गर्न किन लगाउनु भयो ? बन्द गर्नु नै थियो भने तपार्इँले कोठालाई भित्रबाट सजिलै बन्द गर्नसक्नु हुन्थ्यो । किन भित्रबाट कोठा बन्द गर्नुभएन ? यी प्रश्नहरूले तपाईँको आग्रहले कसैद्धारा कोठा बन्द गरिएको भए तापनि तपाईँ स्वतन्त्रतामा हुनुहुन्छ भन्ने कुराको विरुद्धतिर संकेत गर्छन् ।
तब के तपाईँ बन्धनमा हुनुहुन्छ ?.. कोठा भित्रबाट बन्द गर्न सक्ने सुविधा भएको कुरा सबैलाई अवगत छ । तर उक्त सुविधाको प्रयोग नगरेर तपाईँले बाहिरबाट कोठा बन्द गरिदिन जुन आग्रह गर्नुभयो, यसले गर्दा तपाईँ ढुक्कले स्वतन्त्र हुन सम्भव छ । तर आफ्नै राजिखुसीमा कसैलाई आग्रह गरेर बन्द गरिएको कोठामा के तपाईं स्वतन्त्रतामा रहिरहने कुरामा कुनै ग्यारेन्टी छ अथवा सत्यता छ ? अथवा तपाईं कति समयसम्म स्वतन्त्र भएर बस्न सक्नुहुन्छ ? एक दिन ? एक हप्ता ? एक महिना ? वा एक वर्ष ? यसर्थ तपाईँले जतिसुकै स्वतन्त्रतामा छु भनेपनि कुनै समय पछि तपाईं आफैँ बन्धनमा हुनुहुन्छ अथवा बन्धनमा भएको आफूलाई स्वतः पाउनु हुन्छ ।
यदि कोठा अरु कसैले जर्बजस्ती बाहिरबाट बन्द गरिदिएको हो भने पनि उत्तर सरल छ — तपाईँ बन्धनमा हुनुहुन्छ । तर कसैले जर्र्बजस्ती कोठा बन्द गरिदिँदैछ अथवा गरिदिएको छ भने तपाई त्यसको किन बिरोध गर्नु हुन्न ? किन चिच्याउनु हुन्न ? किन ढोका फोडुँलाझैँ गरेर सन्किनु हुन्न ? किन जङ्गिनु हुन्न ? किन बन्धनका विरुद्धमा विद्रोह गर्नुहुन्न ? किन केही समयमा नै सम्पूर्णतया आशा मारिदिनु हुन्छ ? किन स्खलित भइजानु हुन्छ पलझपक भरमै ? यी यावत् प्रश्नहरूले तपाईँको आग्रहविना जबर्जस्ती अरु कसैले कोठा बन्द गरेको भए तापनि तपाईँ बन्धनमा हुनुहुन्छ भन्ने कुराको विरुद्धतिर संकेत गर्दछन ।
तब के तपाई स्वतन्त्र हुनुहुन्छ ?.....बाहिरबाट अरु कसैले जबर्जस्ती कोठा बन्द गरिदिएको छ र तपाईं त्यस भित्र हुनुहुन्छ भने यो त सरासर बन्धन हो । तर विनाप्रतिकार र चित्कार, विनाविध्वंस, विनाआक्रमण र विद्रोह, विनाडर र आत्मविश्वास, विनाशान्ति र ज्वाला सोझै तपाईँले आत्मसर्मण गरिदिए पछि कसरी तपाईँ बन्धनमा हुनुहुन्छ ? अथवा कसरी बन्धनमा रहनुभयो ? बन्धनमा आत्मसर्मण हुँदैन । आत्मसर्मण स्वतन्त्रतामा हुन्छ ।
यसर्थ कि आत्मसमर्पण पछि आएको स्वतन्त्रतामा तपाईँ आनन्दले बन्द कोठाभित्र यताउता टहलिन, मज्जैले विचारहरू मन मष्तिष्कमा खेलाउन, एक कुनामा निदाउन अथवा बिच कोठामा उत्तानो परेर सिलिङतर्फ हेर्न लगायत जस्ता अनेक क्रिया गर्न पाउनु हुन्छ । तर बन्धनमा भित्रभित्र दनदनाइ रहेको विद्रोहले तपाईंलाई एकठाउँमा बस्न दिन्छ र ? भलभली उम्लिरहेको तपाईँभित्रको आवेग र उद्वेगले टहल्न र सुत्न दिन्छ र ? दिँदैन । अहँ पटक्कै दिँदैन । यसकारणले तपाईँ स्वतन्त्रत हुनुहुन्छ ।
यदि कोठा भित्रबाट बन्द गरिएको हो भने प्रस्ट छ त्यो तपाईंद्वारा बन्द गरिएको हो । तपाईंद्वारा बन्द गरिएको हुनाले तपाई स्वतन्त्रत हुनुहुन्छ भनेर निक्र्यौल निकाल्न अलि हतार हुन सक्छ । किनभने तपाई स्वतन्त्र भए नभएको कुरा तपाईँले कोठा सदाझैँ अथवा साधारण तरिकाले बन्द गर्नुभयो ? वा तपाईँले कोठा तनावमा अथवा डरडरमा बन्द गर्नुभयो ? भन्नेमा निर्भर रहन्छ ।
यदि तपाईंले कोठा सदाझँै अथवा साधारण तरिकाले बन्द गर्नुभएको हो भने भन्न सकिन्छ तपाई स्वतन्त्रत हुनहुन्छ । तर प्रश्न यहाँनेर उठछ, तपाईँ कतिदिन सम्म स्वतन्त्र हुनसक्नु हुन्छ ? अवश्य पनि धेरै समयसम्म हुनसक्नु हुन्न । किनभने आफैँले खुसीसाथ बन्द गरेको भए तापनि तपाईंलाई एकै कोठामा बसिरहन दिक्दारी लाग्दै जानेछ, गुम्सुम हुँदै जाने छ, घुटन हँुदै जाने छ र क्रमशः बन्धन हुँदै गएर अन्ततोगत्वाः तपाईँ बन्धनमा हुनुहुने छ । जन्मदेखि मृत्युसम्म एकै कोठामा जीवनयापन गरिरहेका पृथ्वीका लगभग मानिसहरू बन्धनमा छैनन र ? बन्धनमा नभएको भए नत्र ती मानिसहरु सधैँ कहीँ दूर गएर दिन वा महिना वा वर्ष बिताउने बारेमा किन सोचिरहन्छन ? अथवा तिनीहरू यस्तो अप्राप्य सपना, यदि प्राप्य भए पनि कुनै क्षणिक समयका लागि प्राप्य हुने सपनाका खातिर किन जीवनभर बन्धनमै बाँचिरहन बाध्य छन् ?
यदि तनावमा अथवा डरडरमा बन्द गर्नुभएको हो भने तपाईं स्पष्टसँग बन्धनमा हुनुहुन्छ । तर बन्धनमा भएतापनि कति दिनसम्म तपाईं बन्धनमा हुनसक्नु हुन्छ ? अवश्य पनि धेरै समयसम्म हुनसक्नु हुन्न । त्यसैले तपाईँ आदत बसाल्दै जानुहुन्छ बन्धनमा बस्ने । अथवा बन्धनमा रम्ने । अथवा बन्धनमा जिउने । यसरी बन्धनको आदत बसाल्नु भनेको क्रमशः स्वतन्त्र हुँदैहुँदै जानु हो । स्वतन्त्र हुँदैहुँदै गएर अन्ततोगत्वाः तपाईं स्वतन्त्रत हुनुहुने छ ।
अब उपसंहारतिर लागौँ
माथि उल्लेख भएका बन्द कोठाका चार वटा चरण ः १) कोठा कसैलाई आग्रह गरेर बाहिरबाट बन्द गरिएको २) कोठा कसैद्धारा जबर्जस्ती बाहिरबाट बन्द गरिएको ३) कोठा भित्रबाट सदाझैँ अथवा साधारण तरिको खुदले बन्द गरिएको ४) कोठा भित्रबाट तनावमा अथवा डरडरमा खुदले बन्द गरिएको । यी सबै चरणमा सूक्ष्म तरिकाले हेर्न खोजियो भने जहाँ बन्धन छ त्यहाँ स्वतन्त्रतासहितको बन्धन भएको पाउन सकिन्छ । जहाँ स्वतन्त्रता छ त्यहाँ बन्धन सहितको स्वतन्त्रता भएको पाउन सकिन्छ । तर यी चारै चरणमा बन्धन–बन्धनसहितको पाउन सकिन्न । स्वतन्त्रता– स्वतन्त्रतासहितको पाउन सकिन्न ।
हामी अझ भनाँै यो सारा ब्रहमाण्डसमेत स्वतन्त्रता र बन्धन दुवैलाई एकसाथ लिएर अस्तित्ववान् छ । यो सारा ब्रहमाण्डले बन्धन नमानेर पूर्ण स्वतन्त्रता मात्र मान्न खोज्यो भने के होला ? अथवा स्वतन्त्रता त्यागेर पूर्ण बन्धनमा मात्र अस्तित्ववान हुन खोज्दा के होला ? अरु केके हुन्छ थाहा हुँदैन तर सारा ब्रहमाण्ड सदाका लागि अन्त्य भने अवस्य हुन्छ । फेरि कुनै कुराको अन्त्य न स्वतन्त्रताको लक्ष्य हो न बन्धनको । बरु यी दुवैको लक्ष्य कुनै पनि कुराको निरन्तरता भने अवश्य हो ।
यसर्थ बन्द कोठाबाट के बताउन दुस्साहस गरिँदै छ भने स्वतन्त्रता र बन्धन अलगअलग होइनन । एकदमसँग यी दुवै कुरा नमज्जैले एकअर्कामा गुजुल्टिएका छन् । अथवा अल्झिएका छन् । तर मानिसहरू कि त पूर्ण स्वतन्त्रतामा बाँच्ने अभिलाषा पालिरहेका छन् कि त पूर्ण बन्धनमा बाँच्न अभिशप्त छन् । पूर्ण स्वतन्त्रतामा पनि दुःख, पूर्ण बन्धनमा पनि दुःख । भनेपछि हामी किन दौडिरहेका छौँ, पूर्ण स्वतन्त्रताको पछिपछि ? पूर्ण बन्धनको पछिपछि ? आखिर दुवै दुःखको मुहान हुन् भने । अथवा दुवैले दुःखको मुहानमा हेल्छन् भने । अथवा बन्द कोठाबाट के बताउन खोजिँदै छ भने किन हामी दुवैलाई एकसाथ लिएर अस्तित्ववान नहुने ? अथवा अस्तित्वविहिन किन नहुने ?
अस्तु !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया