झुण्डिएको रातो टाई
चीनको रेनमेन विश्वविद्यालय र थियान्जिन विश्वविद्यालयकोे भ्रमणमा जाँदा त्यहाँका विश्वविद्यालयहरूले पे्रमपूर्वक उपहारस्वरुप दिएका टाईहरू दराजमा झुण्डिएर बसिरेहकोमा आँखा पर्यो, जस्ले एकपटक फेरि विगततिर लिएर गयो । विगतलाई वर्तमानसँग जोडेर हेर्दा समाजको सग्लो तस्बिर देखिन्छ भन्छन् । कति नै अगाडिको कुरा हो र ? एक दशक त भयो जतिखेर चीन एक ट्रिलिएन डलरको अर्थव्यवस्था भएको मुलुक हुनुमा गर्व गर्दै थियो । खुला बजार, खुला लगानी, अमेरिकासँगको व्यापारले व्यापारिक लाभमात्र लिएको थिएन, चीनले समग्र अर्थ-सामाजिक, वैज्ञानिक तकनिकी, तथा नवप्रवर्तन आदि क्षेत्रहरूमा पनि अग्रगामी फड्को मार्दै गइरहेको थियो ।
साठीको दशकमा भोकमरीको चपेटामा परेर लाखौंले ज्यान गुमाएको एउटा निर्धन मुलुक प्रगतिको अतुलनीय गतिमा अगाडि वढिरहेको थियो । हुनत प्रगति कुनै एउटा तत्वको प्रयत्नले मात्र हुने होइन, समग्र शक्तिको जोडले उचाईमा जाने हो । चीनको द्रुत प्रगतिमा खुलेर प्रशंसा गर्नेहरूले खुला व्यापारको अर्थ राजनीतिलाई महत्व दिइरहँदा महत्वपूर्ण शिक्षामा रहेको सामुदायिक भावना र गुणस्तरीय शिक्षालाई बिर्सने गरेको देखिएको छ । जुनसुकै राजनीतिक प्रणाली अवलम्बन गरेपनि कमजोर शिक्षा प्रणाली भएको मुलुकले अपेक्षित प्रगति हासिल गर्न सक्दैन चाहे त्यो लोकतान्त्रिक पद्धति भएको मुलुक नै किन नहोस् । शिक्षाले संस्कार र संस्कृतिको प्रवद्र्धन गर्ने भएकोले नीति र नैतिक समाजको उन्नयन गर्दछ ।
सबै नयाँ ग्रहण योग्य र पुराना सबै त्याज्य हुँदैनन् । त्यस्तै हो शिक्षा, संस्कार र संस्कृति पनि । समाजले आफैँ परिष्कृत हुँदै संस्कारित भई संस्कृतिको निर्माण गर्न हजारौं वर्ष व्यतित गरेको हुन्छ । अनि त्यसरी विकसित भएको संस्कार र संस्कृति हठात् कसैको सोच र प्रयत्नमा नास्न नसकिने रहेछ । यो चीन खुद स्वंयको उदाहरण हो । चीनमा साम्यवादी शासन व्यवस्था लागु भएपछि विवाह पद्धतिमा पनि आमुल परिवर्तन भयो । विवाह एउटा सम्झौताको दस्तावेजमा सिमित हुन गयो । सरकारी कार्यालयमा गएर दर्ता गरेको कागज वैवाहिक आधार बन्यो । त्यो एउटा बलात् ल्याइएको पद्धति थियो, राजनीतिसँग जोडिएर आएको । तर पछिल्लो कालखण्डमा अहिले आएर फेरि उही पुरानो पद्धतिले बिस्तारै स्थान लिँदैछ र समाजले गर्वका साथ अंगीकार गरिरहेको छ ।
विवाहको कुरा गर्दा हाम्रो समाजमा गोडधुवा दिने चलन छ । त्यस्तै चलन चिनियाँ समाजमा पनि छ, तर अलि भिन्न किसिमको । नवदम्पतिले दिने विवाह भोजमा आमन्त्रित आफन्त तथा अतिथिहरूले दिने उपहारले नवदम्पतिको भोजखर्च सवै पुगेर पनि आवास नहुनेको लागि सामान्य आवास र आवास हुनेको लागि आवासमा आवश्यक पर्ने संसाधन सबै पुग्ने गरी रकम दिन पर्नेरहेछ ।
यस्तोमा नजिकका नातेदारहरूको जिम्मामा बढी पर्ने रहेछ र अन्य इष्टमित्रहरूको लागि भने ठीकै । अतिथिहरूले दिएको रकम टिपोट गरेर राखिने रहेछ र पछि आफ्नो पालो पर्दा त्यस रकमा नघट्ने गरी थप रकम जोडेर उपहार दिनपर्ने चलन रहेछ । यो एक हिसावले सामाजिक व्यवहार चलाउन सामूदायिक दायित्व लिन पर्ने पद्धतिको प्रचलन हो । परम्पराले समाजको बनौट र ढाँचा आवश्यकता बमोजिम निर्माण गर्दै जानेरहेछ । आखिर त्यो विवाह पद्धति होस् या शिक्षा पद्धति ।
बुर्जुवा शिक्षा भन्दै चीनमा सन् साठीको दशकमा सबै विश्वविद्यालय बन्द गरिए । क्रान्तिको राप–ताप जो थियो । परिवर्तनको भोक र सिद्धान्तको जोस जो थियो । विश्वविद्यालय बन्द गरिए किनकि कारण देखाइयो कतै बुर्जुवाहरूले प्रतिक्रान्तिको प्रयत्न नगरुन् । पुरातन सोच विचारको समूल नष्ठ नगरी नयाँ विचार र दर्शनको आधार पलाउँदैन । यहि मान्यता थियो होला र त विश्वविद्यालय बन्द गरिए होलान् । हजारौं वर्षदेखिको निरन्तरता एक्कासी रोकियो ।
युवायुवतीको हातमा अव माओको भाषणको रातो किताब थियो र क्रान्तिका गीत गाउनु उनीहरूको दिनचर्या । भइरहेको शिक्षण संस्था बन्द गरी साम्यवादको दर्शनमा आधारित व्यवहारिक शिक्षा भन्दै भोकेस्नल तालिमलाई प्राथमिकता दिइयो ।
लाखौं युवायुवतीलाई कृषि कार्यको लागि खेतबारीमा र औद्योगिक उत्पादनको लागि औद्योगिक औजार र कारखानाहरूमा दक्ष अर्धदक्ष कामको तालिम दिन थालियो । यस किसिमको शिक्षा पद्धति चीनलाई मध्यमस्तरीय जनशक्ति तयार गर्न उपयोगी भयो तर दीर्घकालीन उच्चसीपयुक्त जनशक्तिको अभाव । केहि वर्षको प्रयोग पछि नै यस किसिमको शैक्षिक पद्धतिले दीर्घकालीन असर गर्ने अनुमान गरी विश्वविद्यालयमा पुनः पठनपाठन सञ्चालन गरियो ।
विश्वविद्यालयको पढार्ई आर्थिकरुपमा सोचेजस्तो निःशुल्क छैन । साम्यवादी मुलुक भएको हुंँदा उच्चशिक्षा पनि निःशुल्क होला भन्ने सोच्दछन् । तर विश्वविद्यालको पढाई सशुल्क मात्र होइन कि महंगो पनि रहेको छ ।
भारतीय उपमहाद्विपमा बुद्ध धर्मको देशना हुँदै गर्दा, चीनमा भने राज्यको न्याय प्रणाली र शासनसत्ता सञ्चालनको विधि र पद्धतिको शिक्षा दिँदै थिए कन्फुसियस । शिक्षाको महत्व सम्बन्धि विशेष ज्ञान चिनियाँलाई उही बेलादेखिको हो जतिवेला कन्फुसियस शिक्षा पद्धतिवाट प्रभावित भई राज्यले राजकीय सेवाको लागि आवश्यक जनशक्ति प्रतिष्पर्धात्मक परीक्षा प्रणालीवाट उम्मेदवारको चयन गर्ने नीति लिएको थियो ।
राजकीय सेवामा प्रशासनिक दक्षताको आवश्यकताको बोध हुनु भनेको आफैंमा एउटा ऐतिहासिक मानक हो । तर त्यस किसिमको शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा भन्दै अस्वीकार गर्नु मुलुकको लागि लाभप्रद हुन सकेन । माओको अवसान पछि वन्द गरिएका विश्वविद्यालयहरू पुनः सञ्चालनमा ल्याइए ।
यी विश्वविद्यालयहरू सञ्चालनमा मात्र ल्याइएनन् कि यिनीहरूलाई अझै विकसित, व्यवस्थित, विशाल र भव्य रुपमा सञ्चालनमा ल्याइयोे । यी विश्वविद्यालय कतिसम्म ठूला र विशाल छन् भने एउटै विश्वविद्यालयमा लाखौं विद्यार्थी अध्ययन गर्दछन् । भौतिक अवस्था र संरचनाहरु यति आधुनिक, व्यवस्थित र प्रयोगमैत्री रहेका छन् कि विद्यार्थीहरूको कुनै पनि आवश्यकताका लागि विश्वविद्यालयको परिसर बाहिर आउन आवश्यकता नै पर्दैन ।
विश्वविद्यालय आफैं एउटा सानो तर व्यवस्थित सहरको रुपमा रहेका छन् । पेकिङ्ग युनिभर्सिटी, रेनमिन, छिङ्गह्वा, थियानजिङ, पुदुङ विश्वविद्यालयहरू भौतिक रुपमा मात्र विशाल छैनन् कि शैक्षिक स्तर, गुणवेत्ता, परिणाम, स्वीकार्यता र पेटेन्ट दर्तामा समेत अग्रणी रहंँदै आएका छन् ।
नेपाली विद्यार्थीले पनि सरकारी छात्रवृत्तिमा यी विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् र मुलुक फर्केर आआफ्नो पेसाकर्ममा दक्षता हासिल गरेका छन् । चिनियाँ विद्यार्थीलाई यी नाम चलेका विश्वविद्यालयमा अध्ययनको लागि प्रवेश परीक्षामा नाम निकाल्नु भनेको विद्यार्थीको सपना साकार हुनु हो भने परिवारको गर्वको विषय पनि हो ।
विश्वविद्यालयको वार्षिक भर्ना संख्या सिमित हुने भएको हुँदा सवै आकांक्षीहरूले प्रवेश परीक्षामा नाम निकाल्न सक्दैनन् । अति मेहनेती, जेहेन्दार र उत्कृष्ट विद्यार्थीले मात्र प्रवेश परीक्षा उत्तिर्ण गर्दछन् । यही नाम चलेका विश्वविद्यालयका उत्पादनहरू, पेशागत विज्ञहरू चिनियाँ सरकारका प्रशासनिक, वैज्ञानिक तथा अनुसन्धानात्मक प्रतिष्ठानहरू, विश्वविद्यालय तथा सरकारको उच्च नेतृत्वमा रहेका छन् ।
यी प्रतिष्ठित विश्वविद्यालयमा भर्ना पाउन जति कठिन छ त्यतिकै कठिन छ विश्वविद्यालयले लिने परीक्षामा उत्तिर्ण हुन । विश्वविद्यालयको पढाई सैद्धान्तिक, व्यवहारिक, प्रयोगात्मक, निर्देशात्मक, अनुशीलन, परिशीलन, सबै मापदण्ड र परीक्षालाई अनुशासनको कसीमा घोटेर उत्तिर्ण गरिनु पर्दछ । अनुशासनको परिशीलनमा भुलेर पनि गल्ति गर्ने छुट कुनै विद्यार्थीलाई छैन । त्यसैले विद्यार्थी १८ घण्टा अध्ययन गर्दछन् । दैनिक अनुशासनको साँचोमा आफूलाई मेसिन जसरी ढालेका हुन्छन् ।
विश्वविद्यालयको भ्रमणको सिलसिलामा म रेनमिन विश्वविद्यालय जाँदा दिनका सवै कक्षा सकिइसकेका थिए । भौतिक अवस्था र शैक्षिक सुविधाको स्थिति देखाउन विश्वविद्यालयका प्रध्यापकले लिएर जाँदा एउटा कक्षा कोठामा पुग्दा जे देखेँ त्यसले सोच्न बाध्य बनायो । कक्षाको दैनिक पढाई सकेर विद्यार्थी तथा प्राध्यापक आआफ्नो आवास गइसकेका थिए । तर कक्षा कोठामा कम्प्युटर थियो, प्रोजेक्टर थियो र थिए केही विद्यार्थीहरू । दिउँसो कक्षा लिने प्राध्यापकले पढाएको विषयलाई सरल भाषामा बुझिने गरी प्रस्तुतिकरणसहित पावरपोइन्टमा कक्षा कोठामा छोडेर जानुपर्ने नियम रहेछ ।
ती सम्बद्ध विद्यार्थीहरू साँझमा कक्षा कोठामा बसी आफ्नो विषयको प्रस्तुतिकरणलाई हेरेर पढ्ने गर्दा रहेछन् । प्राध्यापक र विद्यार्थी दुवैको संयुक्त मेहनतको नमूना । त्यतिखेर सम्झेँ, त्रिभुवन विश्वविद्यालय जहांँका प्राध्यापकले दश वर्ष अगाडि बनाएको झुत्रो नोट र त्यसमा लेखिएका परिभाषा पढाउंँदै आएका । हाम्रोमा पनि धेरै न सही केही यस्तै भइदिएका भए ।
विश्वविद्यालयको पढार्ई आर्थिकरुपमा सोचेजस्तो निःशुल्क छैन । साम्यवादी मुलुक भएको हुंँदा उच्चशिक्षा पनि निःशुल्क होला भन्ने सोच्दछन् । तर विश्वविद्यालको पढाई सशुल्क मात्र होइन कि महंगो पनि रहेको छ । यहिँनेर साँस्कृतिक धरोहरको रुपमा रहेको सामुदायिक सोचले काम गर्ने रहेछ ।
कसैको छोरा या छोरीले विश्वविद्यालयको प्रवेश परीक्षामा नाम निकाल्यो भने विश्वविद्यालयमा भर्ना हुन लाग्ने शुल्क र वार्षिक शुल्क कति लाग्छ अनुमान गरेर परिवारका आफन्त, नजिकका नातेदार जस्तै काका, काकी, मामा, माइजु, दाजु, भाइ, फुपु, दिदी, भिनाजु आदि सवैले क्षमतावमोजिम संकलन गरी उठाएर दिनु पर्ने रहेछ । सामुदायिक भावनाको प्रबलता शिक्षामा लगानी गर्नुमा पनि देखियो ।
विश्वविद्यालयको शिक्षा आर्जन गर्नेहरूको संख्या जुनकुनै मुलुकमा पनि सानो हुन्छ र ठूलो हिस्सा जो विश्वविद्यालयको प्रवेश परीक्षा पास गर्न सक्दैनन् त्यस्ता विद्यार्थी पनि अव्बल नै हुन्छन् । ती विद्यार्थीलाई भोकेस्नल शिक्षामा डिप्लोमा गराउन राज्यले नै ठूलो धनराशि खर्च गर्नु पर्दछ भन्ने नीति चिनियाँहरूले अंगीकार गरेका छन् । यस्ता भोकेस्नल शिक्षा प्राप्त जनशक्ति आफैं रोजगार सिर्जना गर्नमा सक्षम रहन्छन् ।
नेपालको शिक्षा पद्धति ‘न घरको न घाटको’ अवस्थामा रहेको छ । हाम्रा विश्वविद्यालयहरू न वैज्ञानिक उत्पादन गर्न सक्षम छन्, न दक्ष कामदार । विश्वविद्यालय अनुसन्धान, खोज, नयाँ प्रविधि, नवप्रवर्तनको आधार हुनुपर्ने हो तर वर्षभरीमा एउटा पेटेन्ट पनि दर्ता गराउन सकेको अवस्था छैन । हामीसँग नेता छन्, नीति छैन । हामीसँग बुद्धि छ, अक्कल छैन । चाह छ, ढंग छैन । त्यो झुण्डिएको रातो टाईले गिज्याइरहेछ । हेर तिमी त्यहीँ छौ म धेरै पर पुगिसकेँ । तिमी आउँदै गर, म हिडेँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया