‘कता बेपत्ता’ भनेर मलाई सोध्ने प्रदीपजी तपाईं स्वयं कता बेपत्ता ?
स्कुले जीवनकालदेखिको मित्र एवं सहपाठी मनोजकुमार श्रीवास्ताव । मनोज १३-१४ वर्षको उमेरमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलनको (कलेजका अलावा स्कुलका प्रतिनिधि) अभियन्ता थियो । स्वतन्त्र विद्यार्थी संगठनको मागको सिलसिलामा गरिएको उक्त आन्दोलनका क्रममा भएको धरपकडको क्रममा मनोज ४५ दिन थुनामा परेको थियो । जेलमा धेरै विद्यार्थी नेतासँग उसको घनिष्ट सम्बन्ध भयो । तीमध्ये कौशलराज रेग्मी (१६-१७ वर्ष) एक थिए ।
एक दिन मनोजसँग कौशललाई भेट्न गएका थियाैँ । कौशलमार्फत मेरो परिचय प्रदीप गिरिसँग भयो । यो परिचय साक्षात् नभएर प्रदीपजीको बयान सुनाएर भयो । भारतीय समाजवादी नेता डा. राममनोहर लोहियाबाट म अन्त्यन्त प्रभावित थिएँ । कौशलले प्रदीपजी पनि डा. लोहियाकै अनुयायी र अध्यनशील युवा समाजवादी भनेर मलाई परिचित गराए । प्रदीपजीले आचार्य नरेन्द्र देव, डाक्टर राममनोहर लोहिया तथा जयप्रकाश नारायणका कृतिहरू शिक्षकले विद्यार्थीलाई पढाए जस्तै गरी कौशललाई पढाउने गरेका रहेछन् । ‘नेपाली लोकतान्त्रिक समाजवादी युवा संगठन’ निर्माण गर्न प्रदीपजीले नै कौशललाई प्रेरित गर्नु भएको रहेछ ।
वि.सं. २०२७ मा भएको उपत्यकाको विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले प्रभुत्व जमाए । सरस्वती कलेजमा (शान्ति निकुञ्ज विद्यालय स्कुलस्थित) अध्यक्ष नारायण नरसिंह खत्री निर्वाचित भए लगत्तै मतदानमा पराजय भएका प्रगतिशील पक्ष (कम्युनिस्ट) विद्यार्थीले कुटपिट मच्चाए । प्रतिकारका निमित्त हामी केही विद्यार्थीहरू लैनचौर जम्मा भयौँ । यही दिन प्रदीपजीसँग मेरो परिचय भयो । हाम्रो संख्या सानो थियो । आइलाग्ने माथि जाइलाग्ने क्षमताको चरम अभाव । साँझ झमक्कै पर्न लागेको थियो । प्रदीपजीले मलाई उहाँको पछि लाग्न भन्नुभयो । सडकको छेउमा निर्माणाधीन घर सामुन्ने थुपारेको इँट्टा फुटाएर आफ्नो कमिजको फेरोमा राख्नुभयो र मलाई पनि उसै गर्न भन्नुभयो । हामी दुईले इँट्टा फुटाएर कमिजको फेरोमा हालेको देखासिकी अरुले पनि गरे । तर अन्तिममा जुन भिडन्तको आशंका थियो त्यो कसो कसो टर्यो । इँट्टाको प्रयोजन भएन । प्रदीपजीले सबैलाई इँट्टा फिर्ता गर्न आग्रह गर्नुभयो, ‘साथीहरू जुन ठाउँबाट यी इँटा उठाएका थियौँ, त्यहीँ लगेर छाडौँ ।’
नारायणघाटमा नेपाल विद्यार्थी संघको दोस्रो सम्मेलन (२०२८) हुँदै थियो । देशको कुना काप्चाबाट प्रजातन्त्रमा आस्था विश्वास राख्ने विद्यार्थीको कुम्भ मेला नै थियो । त्यहाँ प्रदीपजी बनारस अध्ययनरत विद्यार्थीको नेतृत्व गर्दै आउनुभयो । त्यहाँ हाम्रो भलाकुसारी भयो । कुराकानीमा उहाँले अरु कुराभन्दा पनि माधुली तथा नाथापायले लेखेका कृतिहरूको मैले कति अध्ययन गर्दैछु भन्ने विषयमा चासो राख्नुभयो ।
शेरबहादुर देउवालाई नेविसंघको सभापति चयन गर्ने सहमति कायम गरिएको थियो । प्रदीप गिरिको नेतृत्वमा (अघोषित) आएको टोलीले गोपाल राईलाई सभापतिको उम्मेदवार घोषणा गर्यो । बीपीकै आशयमा गोपाललाई सभापति चयन गर्न खोजिएको भन्ने व्यापक हल्ला चल्यो । यो देखेपछि नेपालगञ्जबाट आउनुभएको (नाम याद हुन सकेन) नेता सक्रिय हुनुभयो र जसोतसो गरेर गोपाललाई उम्मेदवारी फिर्ता गराउने अभ्यासमा लाग्नुभयो । सहमति कायम गर्ने हेतुले दौडधुप तीव्र भयो । अग्रज सबै प्रदीपजीसँग संवादमा जुटे । उहाँले माने गोपाल राईले आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् भन्नेमा कसैलाई पनि द्विविधा थिएन । अन्तमा प्रदीपजीकै निर्देशनमा गोपालले उम्मेदवारी फिर्ता गरे । शेरबहादुर निर्विरोध नेपाल विद्यार्थीसँगको निर्वाचित दोस्रो अध्यक्ष पदमा चयन भए ।
बीपीले गरेको सशस्त्र क्रान्तिको पक्षधर थिए प्रदीप गिरि । यसै सिलसिलामा बनारसबाट प्रकाशित हुन थाल्यो, ‘तरुण’ पत्रिका । पत्रिका उक्त क्रान्तिको मुखपत्र थियो । ‘तरुण’को सुरुका दिनमा सम्पादक थिइन्, शैलजा आचार्य । प्रदीप गिरिले लोकतान्त्रिक समाजवाद र क्रान्तिका विषयमा लेख लेख्नुभयो । केही समयपछि सम्पादकको जिम्मेवारी प्रदीपजीको थाप्लोमा पनि आइपर्यो । शैलजा तथा प्रदीप दुवै सम्पादक रहे । प्रदीप गिरिसँगको मेरो सम्पर्क मात्र प्रतिबन्धित ‘तरुण’ पत्रिकासम्ममा नै सीमित रह्यो ।
झन्डै एक दशकपूर्व उहाँसँग बानेश्वरमा अकस्मात् भेट भयो । उहाँसँग पुनः चिनिन म खुब उत्साहित थिएँ । मलाई लागेको थियो, लामो समय भएकाले म उहाँको विस्मृतिमा गइसकेको हुँदो हुँ । आज नवीकरण गर्छु ।
यही आशयका साथ नमस्कार गरेँ मैले । तर आफ्नो परिचय दिनुपूर्व नै ‘विनोदजी तपाईं कता बेपत्ता हुनुभएको ?’ भनेर उहाँले मलाई प्रेमिल प्रश्न गर्नुभयो । मलाई कता बेपत्ता भनेर सोध्ने आज उहाँ स्वयं बेपत्ता हुनुभयो ।
त्यस बखतसम्म उहाँको पहिचान नेपाली कांग्रेसको सांसद, प्रखर वक्ता एवं चिन्तकका रुपमा स्थापित भइसकेको थियो । उक्त अवसरमा मैले ठट्यौली शैलीमा ‘खै लोकतान्त्रिक समाजवाद पनि साम्यवादीसँगै अवसान भएन ?’ भनेर कुरा उक्काएको थिएँ । उहाँले ‘समाजवाद जीवित रहन्छ । निराश नहुनुस्’ भन्दै सम्झाउनु भएको थियो । छोटो कुराकानीपछि हामी आ-आफ्नो बाटो लागेका थियौँ ।
यसको केही वर्षपछि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा लिखित पुस्तक ‘प्रयोगशाला’को विमोचन समारोहमा सहभागी हुने अवसर मिलेको थियो । गगनकुमार थापा, ध्रुवकुमार श्रेष्ठ, पुष्पकमल दाहाल तथा प्रदीप गिरि वक्ताको रुपमा आसिन हुनुहुन्थ्यो । प्रदीप गिरिले उक्त अवसरमा भन्नु भएको थियो, ‘अब हाम्रो पालो सकियो । जे जति योगदान दिन सक्यौँ, गर्यौँ । अब पालो गगन थापा जस्तो युवाहरूको हो ।’ उहाँले प्रचण्डलाई पनि सोही मञ्चबाट भन्नुभएको थियो, ‘ प्रचण्डजी सत्ताको मोह त्यागिदिनुस् ।’
उहाँले त्यहाँ बोलेका धेरै कुरा कानमा घन्किरहेका छन् ।
डाक्टर राममनोहर लोहियाको देहावसानपछि भारतमा समाजवादी आन्दोलनको बर्चस्व माधुलीमायले कायम गरे । उनी संयुक्त सोसलिस्ट पार्टीको सैद्धान्तिक व्याख्याकार थिए । संगठनमा पकड भने कार्पुरी ठाकुर, प्रोफेसर मधु दण्डबते तथा जर्ज फरान्डेसको थियो । माधुलीमायलाई सत्तासीन हुने अवसर धेरै पटक विशेष गरी जनता दलको उदयपश्चात् धेरै पटक मिल्यो । तिनी सत्तामा जान चाहेनन् । समकालीन नेपाली कांग्रेसमा पनि प्रदिप गिरि एकल नेता हुन्, जो यस दललाई समाजवादी पथमा डोर्याउन समर्पित रहे । तिनलाई कृष्णप्रसाद तथा शेरबहादुरले धेरै पटक मन्त्री पद सुम्पन नचाहेका हैनन् तर प्रदीपले स्वीकारेनन् । मार्क्सवादी प्रदीप डा. राममनोहर लोहिया जस्तै मार्क्सवाद तथा गान्धीवादको सम्मिश्रणको पक्षधर थिए ।
मानव समाजको उत्थान तथा दिगो विकासका निमित्त व्यक्तिगत स्वतन्त्रता तथा समानता अपरिहार्य छ भन्नेमा पनि उनी विश्वस्त थिए । कुनै कालखण्डमा बीपीको प्रिय पात्र थिए प्रदीप गिरि । तर बीपीको प्रशंसक भए पनि उनको देवत्वकरणको भने विरोधी थिए । तिनले कहिले पनि बीपी भजन मण्डलीको पंक्तिमा आफूलाई उभ्याएनन् । तर, बीपीको विचारलाई सबैभन्दा बढी बुझेर जनतालाई बुझाउने काम पनि उनी बराबर कसैले गर्न सकेनन् ।
वर्षौंपछि उहाँसँग पुनः भेटको अवसर बानेश्वरस्थित नरसिंहबहादुर श्रेष्ठको सभाकक्ष ‘पार्लियामेन्टरी स्टडिज एन्ड डेभलपमेन्ट’को सभाकक्षमा भएको थियो । मैले उहाँसँग आधुनिक युगमा लोकतान्त्रिक समाजवादको भविष्यबारे जिज्ञासा राखेको थिएँ । त्यसको व्याख्या लामो हुने भन्दै उहाँले भेटेरै यो विषयमा कुरा गरौँला भनेर मलाई भेट्ने वचन दिनुभएको थियो तर अब यो भेट अधुरै रह्यो ।
युवा पुस्ताका निमित्त प्रदीप गिरि मार्गदर्शक थिए, प्रेरणाको स्रोत थिए । नेपाली कांग्रेस दललाई समाजवादी धारबाट विचलित हुन नदिनका निमित्त निरन्तर प्रदीप लागिपरे । प्रखर निर्भीक वक्ता यी सांसद प्रदीप गिरिको अनुपस्थितिलाई संघीय संसद्ले सधैँ खोजी रहनेछ । यिनको ‘इनफ इज इनफ’ ध्वनि सदासर्वदा संसदमा गुन्जिरहन्छ । लोभ, लालच तथा स्वार्थ मोहबाट धेरै माथि रहेका यी नेताको चिर स्मरण गर्ने नै छ ।
लोकतान्त्रिक समाजवादी योद्धालाई अन्तिम सलाम !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया