विचार

समाजवादबारे अन्तर्वार्ता गर्न गएको अरु नै कुरा गरौं भनेपछि...

रामचन्द्र घिमिरे |
भदौ ७, २०७९ मंगलबार १८:३१ बजे

प्रदीप गिरिलाई अन्तिम बिदाइ गर्न (२०७९ भाद्र ५) नरहरि आचार्य र म पार्टी अफिस गयौं । नरहरि आचार्यले फूलको मालाले अन्तिम बिदाइ गर्नुभयो भने मैले पुष्पगुच्छा चढाएँ । भाउजू भारती सिलवाल गिरिसँगै हुनुहुन्थ्यो । नरहरि आचार्य केही बेर उहाँसँगै पार्टी अफिसको प्राङ्गणमा बस्नुभयो । प्रदीप गिरिको अन्तिम बिदाइ गर्न सबै पार्टीका नेताहरू र नागरिकहरूको ठूलो भिड थियो ।

समय समयमा नरहरि आचार्य र प्रदीप गिरिको छलफल हुन्थ्यो । म उहाँहरूको कुरा सुनिरहन्थेँ । कतिपय प्रसङ्गमा दुबैलाई प्रश्न पनि गर्थें । देशको बिग्रिएको राजनीतिलाई मार्ग दिन दुई नेताको छलफल अत्यन्तै रोचक हुन्थ्यो । नरहरि आचार्यले संविधानसभाले संविधान बनाउने, प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी लगायतका एजेण्डा उठाउनु भएको थियो । प्रदीप गिरिले यी एजेण्डाको अग्रभागमा रहेर काम गर्नुभयो । प्रदीप गिरिले संविधानसभाको शासकीय स्वरूप समितिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रस्ताव टेबल गर्नुभयो । उक्त समितिमा गएर नरहरि आचार्यले व्याख्या गर्नुभयो । आज देश शान्तिको मार्गमा हिँडेर विकास खोजिरहेको छ । यो राजनीतिक द्वन्द्व समाप्त भएको अवसरमा युवा पुस्ता विभिन्न एजेण्डा लिएर जुरमुराइरहेका छन् ।


२०६४ सालको निर्वाचनको सन्दर्भमा एकदिन मलाई प्रदीप गिरिले फोन गर्नुभयो । रामचन्द्र म काठमाडौंको ५ नम्बर क्षेत्रबाट चुनाव लड्नपर्ने जस्तो छ । मलाई तिमीले सहयोग गर्नुप¥यो । मैले यो निर्वाचन क्षेत्रमा चिनेको र मेरो नजिकको मानिस तिमी नै हौं भन्नुभयो । मैले पनि हुन्छ, म सहयोग गर्छु दाइ भने । यो काठमाडौंको ५ नम्बर क्षेत्र नरहरि आचार्यले संविधानसभाको चुनाव हुँदा दुबै पटक एमालेका महासचिव ईश्वर पोख्रेललाई हराएका ठाउँ थिए । प्रदीप गिरि आए अवश्य जितिनेछ भन्ने एउटा राजनीतिक स्वार्थ ममा पनि थियो ।

हप्ता दिनपछि प्रदीप गिरिले फोन गरेर भन्नुभयो रामचन्द्र म सिरहाबाट नै चुनाव लड्छु । मलाई उता नै सजिलो हुन्छ । मैले थप भनेँ, दाइ यहाँ लड्ने हो भने जितिन्छ, यतै लड्नु । प्रदीप गिरिले भन्नुभयो अब यहाँ अर्को साथी आउनु होला । त्यसको केही दिन पछि डा. प्रकाशशरण महत यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्न आउनुभयो ।

त्यसो त नरहरि आचार्य बिरामी भएको अवस्थामा पार्टीको चुनावमा पनि लडे हुन्थ्यो र संसदीय निर्वाचनमा पनि लडे हुन्थ्यो भन्ने प्रदीप गिरिको भनाइ थियो । प्रदीप गिरिको थप भनाइ पनि थियो, अहिलेको अवस्थामा सान्त्वनाको भोट पनि पाइन्छ, सजिलै जितिन्छ । मैले यही कुरा नरहरि आचार्यलाई सुनाएँ । उहाँले भन्नुभयो दुईदुई पटक प्रतिस्पर्धा गरेर जनताले मत दिएर जिताए । जनताका एजेण्डालाई आफू संविधानसभा मन्त्री भएर संविधानमा लेखियो । अब त्यो क्रमशः जनताको पक्षमा कार्यान्वयन गर्ने मात्र काम हो । बिरामी भएर अशक्त भएपछि अब अर्को व्यक्ति आएर चुनाव लड्नुपर्छ, काम गर्नुपर्छ । म चुनाव लड्ने होइन ।

म एक साप्ताहिकको सम्पादक २०६८ सालमा भएँ । नियमित लेख र अन्तर्वाताको लागि सम्पर्क गरिरहनुपर्ने । प्रदीप गिरि पुरानो बानेश्वर र धापासीको कँुवर कोलनीमा बस्नुहुन्थ्यो । कृष्णमन्दिर नजिक दुर्गा सुवेदी बस्नु हुन्थ्यो । म उहाँहरूलाई समय समयमा सम्पर्क गरिरहन्थेँ । अन्तर्वार्ता लेखहरू प्राप्त भइरहन्थे । 

उहाँहरू दुबैजना घुम्दैघुम्दै हाम्रो घरमा समय समयमा चिया खान आउनु हुन्थ्यो । मेरी श्रीमती गंगाजीले उहाँहरूलाई चिया खुवाउँथिन् । उहाँहरूका समसामयिक राजनीतिक गफ र इतिहास बनेका राजनीतिक गफ हामी सुन्थ्यौं । हाम्रो पत्रिकालाई खुराक मिल्थ्यो । उहाँहरू दुबैले हाम्रो परिवारलाई अत्यन्तै माया गर्नुहुन्छ ।

एकदिन म प्रदीप गिरिको घर धापासीको कुँवर कोलोनीमा गएँ । टेबलमा यश्वन्त सिन्हाको पुस्तक रहेछ । मलाई किताब देखेपछि पढिहाल्न मन लाग्छ । प्रदीप गिरिले ग्रीन टि र केही भुजिया ल्याउन अह्राउनु भयो । मैले किताब पढेको देखेपछि तिमी धेरै किताब पढ्दा रहेछौं । भारतका एक प्रसिद्ध व्यापारीलाई पत्नी मारेको आरोप छ । लामो समयदेखि अदालतमा यो विषय चर्चामा छ । श्रीमान् श्रीमतीको सम्बन्धको पहेलु बनेको छ यो घटना भनेर सुनाउनु भयो । 

त्यस समयमा उहाँको घरमा म जानुको खास मक्सद समाजवादको विषयमा प्रदीप गिरि बोलिदिनुहुन्छ । म त्यो लगेर हाम्रो पत्रिकामा नियमित छाप्छु भन्ने थियो । बीपी कोइरालाको १०१ वर्ष भएको कार्यक्रमहरू चलिरहेको थियो । बीपीको समाजवादको असली व्याख्याता प्रदीप गिरिले गर्नुहुन्छ भन्ने मेरो विश्वास थियो । त्यस समयमा मैले नेपाली कांग्रेसका अन्य नेताहरूसँग कुरा गर्दा पनि नेपालमा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन गर्ने यो उपयुक्त समय हो गर्नुप¥यो भन्थँे । मलाई बीपीको समाजवादको व्याख्या हुन जरुरी छ भन्ने लाग्थ्यो । नेपालमा हुने समाजवादको बहसले एउटा समाजवादी लोकतन्त्रवादी देशहरूका बीचमा नेपालको शिर अझ उँचो हुन्छ भन्ने विश्वास थियो । नेपालमा बीपीले भनेको समाजवादको सान्दर्भिकता अझ बढी सान्दर्भिक हुन्छ भनिरहन्थे । यो कुरा मैले प्रदीप गिरिलाई उहाँको घरमा बसेर चिया खाँदै भने । 

उहाँले भन्नुभयो, तिमीले भनेको पनि ठीक हो । मैले समाजवादका बारेमा धेरै बोलेको छु । लेखेको पनि छु । तिमीसँग म सेक्सका बारेमा बोल्न चाहन्छु । म बोल्छ,ु तिमीले पत्रिकामा छाप भन्नुभयो । म अनमनस्क भएँ । यो विषयमा त मलाई कुनै ज्ञान छैन । यो मेरो रुचिको विषय पनि होइन भनेँ । उहाँले अझ थपेर भन्नुभयो अहिलेको हाम्रो समाजलाई यो विषयमा चर्चा गराउनुपर्छ । समाजलाई दोष लगाउने होइन । समाजलाई शिक्षा दिनुपर्छ । त्यसको माध्यम पत्रकारिता हो ।

प्रदीप गिरिले भन्नुभयो, सेक्सविना कुनै जन्मको कल्पना गर्न सकिँदैन । एउटा सभ्य समाजलाई यो बुझाउनु पर्छ । यी सबै विषयलाई बुझाउन चर्चा गर्न जरुरी छ । यसमा हुने विकृतिको बारेमा हामी राजनीतिकर्मीले टिप्पणी गरेर मात्र बस्न मिल्दैन । बीपी कोइरालाले पनि आफ्नो समयमा यस विषयमा बोल्नुभएको तिमीले पढेकै हौला । त्यसैले यो काम गरौं भनेर प्रदीप गिरिले मलाई भनिरहनुभयो । तर यो विषयमा उहाँसँग मैले यो काम गरिनँ । आज मलाई लाग्दै छ, प्रदीप गिरिले ममार्फत समाजलाई सेक्स पढाउन चाहनुहुन्थ्यो ।

हाम्रो पत्रिका र व्यक्तिगत रूपमा मलाई प्रदीप गिरिले दिएको यो एउटा महत्वपूर्ण अवसर थियो भन्ने आज लागिरहेको छ । यस विषयमा प्रदीप गिरिले अन्य कसैसँग जिकिर गरेर चर्चा गरेको पनि मलाई थाहा छैन । आज उहाँ यो लोकमा हुनुहुन्न । उहाँको जीवनमा उहाँले चाहेको काम मैले पूरा गर्न सकिनँ । कतै यो विषय उहाँले यस जुनीमा गर्न नसकेको काम भयो कि भन्ने मलाई नमज्जा लागिरहेको छ ।

प्रदीप गिरिको नाम भन्नासाथ विभिन्न विशेषण लाग्छ । यो उहाँको जीवनको कमाइ हो । राजनीति फराकिलो राजमार्ग हो । यसमा हिँड्नेले आफ्नो रुचिअनुसारको सबै काम पाउँछन् । व्यक्तिले गरेको कामले नै उसप्रति विशेषण जोडिँदै जाने हो । प्रदीप गिरिलाई निष्ठावान्, त्यागी, सिद्धान्तवादी, विचारक, अध्ययनशील, लेखक, प्रस्टवक्ता, समाजवादी, माक्र्सवादी लगायत धेरै रूपमा भनिन्छ र चिनाइन्छ ।

प्रदीप गिरिलाई एकजना पुराना कम्युनिस्ट नेता हाल ओशोको शिष्य भएका व्यक्तिले भने । प्रदीप गिरि ओशोको विषयमा स्वामी अरुणले भन्दा पनि बढी चिनेर भन्न सक्ने व्यक्ति हुन् । साथै ती व्यक्तिले मसँग प्रश्न पनि गरे, नेपाली कांग्रेसको कुन कुन जिम्मेवारीमा बसेर प्रदीप गिरिले काम गरे ? 
मैले भने पार्टीको केन्द्रीय समितिमा बसेर पार्टीलाई डो¥याउने काम गर्नुभयो । उनले थप सोधे, स्कुल विभागमा बसेर प्रशिक्षण दिए कि दिएनन् ? कांग्रेसको स्कुल विभाग भन्ने छैन । कांग्रेसको प्रशिक्षण प्रतिष्ठान छ । प्रदीप गिरिले असंख्य प्रशिक्षण दिनुभएको छ । उ
नको प्रशिक्षण दिने शैली कस्तो थियो ? प्रदीप गिरि मान्छेको भावना पनि पढ्न सक्ने जस्तो लाग्छ मलाई । त्यसैले उहाँको प्रशिक्षणमा मानिसहरू एकटक भएर सुन्थे र बुझ्थे भने । तिनले थप भने, नजानेर कम्युनिस्ट भइयो । कम्युनिस्ट भइन्जेल गाली गरेर नै समय बिताइयो । उग्रताले गर्दा घर छोडेर भागेर पनि हिँडियो । अहिले त्यो जीवन आफैँले फर्केर हेर्दा आफूलाई मुर्ख जस्तो लाग्छ ...। यस किसिमले समाजका विभिन्न वर्ग, समुदायले प्रदीप गिरिलाई आफ्नै आँखाले विश्वाससाथ हेरिरहेका छन् ।

प्रदीप गिरि अब यस लोकमा हुनुहुन्न । तर उहाँले गरेको कर्म यही छ । उहाँको बायोग्राफी पुस्तक लेखिसकिएको अवस्थामा छ भन्ने सुनेको छु । मृत्युपश्चात् प्रकाशन गर्नू भनेर कसैलाई जिम्मा लगाएको भन्ने पनि सुनेको छु । तसर्थ अब हामीले उहाँको जीवन उहाँकै भाषा, शैलीमा पढ्ने अबसर आउँदै छ । उहाँको पञ्चतत्वको भौतिक शरीर हामीबीच नरहे पनि प्रत्येक शब्द हामीबीच नै छन् । त्यसैले मैले भन्ने गरेको छु, ‘कर्मले अमरत्व प्राप्त गर्नु भएको व्यक्तित्व प्रदीप गिरि दाइ जीवन्त हुनुहुन्छ ।’ अस्तु ।


Author

थप समाचार
x