विचार

के ‘प्रकाश’ले माओवादी आन्दोलनलाई असफल देखाएकाे छ ?

कमल विष्ट |
भदौ १५, २०७९ बुधबार १३:२७ बजे

अहिले सर्वत्र चर्चाको केन्द्रमा रहेको ‘प्रकाश’ सिनेमाले थुप्रै विषय बहसका लागि सतहमा ल्याइदिएको छ । पात्र, परिवेश, पटकथा, मुद्धा, छायांकनलगायत विभिन्न विषयउपर पक्ष–विपक्षमा बहस भइरहेको पनि छ । यी तमाम विषयमा म जान चाहन्नँ । फिल्मले उठाएको मुद्धा र यसबारे फैल्याइएको एउटा भ्रमबारे चाहिँ केही नभनी बस्न सकिनँ । प्रकाश आफूलाई कस्तो लाग्यो भनेर त मैले हिजो नै भनिसकेँ– कलात्मकता र विचार दुवैका दृष्टिले उत्कृष्ट लाग्यो । 

‘प्रकाश’ले माओवादी आन्दोलनलाई नजरअन्दाज गरेको छ; कम आँकेको छ; आन्दोलनलाई असफल करार गरेको छ; भन्दै तर्क–वितर्क भइरहेको देखिन्छ । तर, वास्तवमा यो गलत हो, भ्रमपूर्ण हो । फिल्मले माओवादी आन्दोलनको मुद्धालाई अप्रत्यक्ष तर मिहिन ढंगले उठाए पनि आन्दोलनलाई सही वा गलत भनेको छैन । त्यसैले माओवादीहरूले दुःख मनाउ गर्न आवश्यक छैन । माओवादीको नाम सुन्नेबित्तिकै कन्सिरी तातिहाल्नेहरूले खुसी मनाउन त झनै आवश्यक छैन । 


‘प्रकाश’ माओवादी नेतृत्वको आन्दोलनप्रति तटस्थ छ । गाउँमा चुनाव लाग्दा प्रयोग गरिएको चुनाव चिह्न र झन्डा पनि एउटै छैन । कुनै बेला गोलाकारभित्रको हँसिया–हतौडा देखाइएको छ भने कुनै बेला हँसिया–हतौडा मात्र । हँसिया–हतौडा मात्र किन भन्ने प्रश्न पनि आउला । जुन स्वभाविक हो । ‘प्रकाश’ले नेपालमा गणतन्त्र स्थापना भइसकेपछिको अवस्थालाई चित्रण गरेको छ । २०६३ पछि जुम्लामा एकलौटी रुपमा माओवादीले जित्दै आएको । यसै कारण चलचित्रमा हँसिया–हतौडाको प्रयोग गरिएको हो । 

फिल्मले समाजमा हजारौँ वर्षदेखि जरो गाढेर बसेका जातीय विभेद, वर्गीय विभेद, बाहुनवादलगायत विकृति–विसंगतिलाई माओवादी आन्दोलनले ढाल्न ठूलो भूमिका खेलेको कुरालाई स्वीकार्न इन्कार गरेको छैन । आन्दोलनकै कारण एक ‘हलीको छोरा’ले पढ्न पाएको छ । पढेर शिक्षक बन्ने सपना पाल्न पाएको छ । कथित तल्लो जातकी युवतीले विद्यालयमा सहज रुपमा पढ्न पाएकी छे । सदियौँदेखि उत्पीडनमा परेका नागरिकहरूमा प्रतिरोधको चेतना आएको छ । उनीहरू आफूमाथि भएको र भइरहेको अन्याय र अत्याचारविरुद्ध बोल्न सक्ने भएका छन् । 

सिनेमाले के मात्र देखाएको छ भने जसको त्याग र बलिदानीले गणतन्त्र स्थापना भयो, आज उनीहरू र उनका परिवारको अवस्था ज्यूँका त्यूँ छ । अवस्था सुध्रिनुको साटो झन्झन् बिग्रिरहेको छ । योद्धाहरूले जुन निरंकुश शासकहरूविरुद्ध युद्ध छेडेका थिए, आज उनीहरू नै माओवादीको नाम बेचेर ‘राजनीतिक फल’ टिपिरहेका छन् । कुनै दिन माओवादीको टाउकाको मूल्य तोक्ने राजावादीहरू आज माओवादी पार्टीबाट टिकेट पाएर चुनाव लडिरहेका छन् र जितिरहेका छन् । सिनेमाले माओवादी आन्दोलनलाई असफल भनेको छैन, आन्दोलनको दुरुपयोग भयो मात्र भनेको छ । जुन आजको कटु सत्य हो । 

यथार्थवादी सिनेमाको उद्देश्य नै समाजको यथार्थलाई दुरुस्त सिनेमामा देखाउने हाे। आफूलाई प्रगतिशील पार्टीको नेता तथा अयुयायी भन्न रुचाउनेहरूले कलासाहित्यले देखाएको सत्यलाई स्वीकार्न सक्ने ल्याकत राख्न आवश्यक छ । यथार्थलाई स्वीकार्नुको साटो आफूलाई कुनै पनि हालतमा सही देखाउन बहसका लागि बहस नगरौँ । अनेक बखेडा खडा गरेर कुतर्क नगरौँ । माओवादी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टी कहाँ र कसरी चुक्यो–चुकिरहेको छ भनेर राम्रोसँग बुझौँ । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x