विचार

‘दिव्योपदेश’भित्रको दर्शन

महेश्‍वर आचार्य |
भदौ १८, २०७९ शनिबार १९:६ बजे

हामीले अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय चर्चित दार्शनिकहरू सुकरात, प्लेटो, अरस्तु आदिका दर्शनहरू पढ्यौं । कार्ल माक्र्स, स्टालिन, लेनिन, माओसेतुङ र गान्धीका राजनैतिक दर्शनहरू पढ्यौं । चाणक्य नीति पढ्यौं । एडम स्मिथ, मार्सल र चार्ल्स लियोनेल रबिन्स आदि अर्थशास्त्रीका अर्थ नीति पढ्यौं यद्यपि न त हाम्रो राजनीति सुध्रियो न त अर्थतन्त्र । आजको आधुनिक युगमा अन्तर्राष्ट्रिय विद्वान्हरूको विचार पढ्नुपर्छ तर राष्ट्रिय विद्वान्हरूलाई अवमूल्यन गरेर होइन । 

सायद हामीले नेपाली दार्शनिकलाई पनि चिनेनौ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, गौतम बुद्ध, भानुभक्त आचार्य, योगी नरहरिनाथ, बाबुराम आचार्य, लक्ष्मीप्रसाद देवकोटा आदि हाम्रा दार्शनिक हुन् । उनका विचारलाई चिन्तन मनन कहिल्यै गरिएन । कतै हामीलाई चाहिने उपयुक्त र पर्याप्त शिक्षा उहाँहरूमै थियो कि ?


यो देशकै निर्माण गर्ने महावीर, सुरवीर, दूरदर्शी र एक होइन अनेक विधाका ज्ञाता असामान्य व्यक्तित्व राष्ट्रपिता पृथ्वीनारायण शाहले हामीलाई पुग्ने जति ज्ञानहरू आफ्नो दिव्योदेशमार्फत हामीमाझ छोडेर जानुभएको छ । हामीले यही दिव्योपदेश पनि पढेनौं वा पढेर पनि ध्यान दिएनौं । राष्ट्रिय दार्शनिकहरूको दर्शनमा आफ्नो माटो मिसिएको हुन्छ । हाम्रा लागी बढि सान्दर्भिक हाम्रै माटो हुनसक्छ । अब हामी यता फर्किनुपर्ने पो हो कि ?

आज हामी आधुनिक नेपालका निर्माता श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्यउपदेशको बारेमा चर्चा गर्नेछौं । उपलब्ध धेरैजसो दिव्यउपदेशमा बडामहाराजकै हुबहु भाषा र शब्दहरू रहेकाले मेचीदेखि महाकाली र हिमालदेखि तराई सबै भेगमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले, त्यस माथि झन् अहिलेको नयाँ पुस्ताले दिव्यउपदेशमा ठ्याक्कै के भनिएको हो भनेर नबुझेको अवस्था छ । 

कुनै उपदेशमा मान्छेहरू आफूलाई अनुकूल हुने गरी व्याख्या गरेको पनि भेटिन्छ भने कसैले नबुझेर गलत अर्थ लगाइरहेको भेटिन्छ । त्यसैले यस स्तम्भको तयारी दिव्योपदेशको अर्थ, सार र सान्दर्भिकताको यथार्थता बोध सबै खाले पाठकलाई गराउने उद्येश्यले गरिएको छ । 

चीनसँग राम्रो सम्बन्ध राख्नु, अंग्रेजसँग सम्बन्ध त राख्नु तर त्यो महाचतुर छ ।’ बचेर हिँड्नु, चनाखो हुनु । साथै कुनै दिन भारतीय जनता जाग्नेछन् त्यो बेलामा थप भूमि चाहिने छ

हामीले यस सामग्रीको तयारी गर्ने क्रममा विभिन्न पुस्तकहरूको अध्ययन गरेका थियौं । त्यसमध्येमा पनि योगी नरहरिनाथज्यूद्वारा संकलित र नागरिक अभियन्ता अभिषेक जोशी र ज्ञानेन्द्र लामाद्वारा सम्पादित तथा प्रेषित पुस्तकलाई प्रमुख आधार मानेका छौं । यस सामग्रीमा हामीले दिव्यपोदेशहरूलाई जस्ताको त्यस्तै लिएका छौं भने त्यसको अर्थ र व्याख्यामा आफ्नो विवेक प्रयोग गरेका छौं । आउनुहोस् पहिलो भागमा हामी देशको सर्वभौमिकता, सुरक्षा तथा परराष्ट्रसम्बन्धी केही उपदेशहरूमा चर्चा गरौँ । 

भाग–१ 

उपदेश–१ 

“यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीन वादशाहसित ठूलो घाहा राष्नु । दशिनको समुद्रका वादशाह सित घाहा त राष्नु तर त्यो माहाचतुर छ । हिन्दुस्थाना दबाई राषे छ । सरजिमीमा परि रहेछ । हिन्दुस्थाना जाम्यो भने कठिन पर्ला भनि किल्ला षोजना आउन्या छ । सन्धी सर्पन हेरि गढी तुल्याई राष्नु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ“ । 
अर्थात्,

यो राज्य त दुइ ढुङ्गाबीचको तरुल जस्तो पो रहेछ । चीनसँग राम्रो सम्बन्ध राख्नु । अंग्रेजसँग सम्बन्ध त राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्तान कब्जा गरेर बसेको छ । हिन्दुस्तान जाग्यो भने गाह्रो हुन्छ भनेर किल्ला खोज्दै नेपाल आउने छ । त्यसैले आफ्ना सिमा सन्धिको एकिन गरि किल्ला ठोकेर राख्नु र बाटो बाटोमा सैनिक खटाई किल्ला बन्द गर्नु, दुस्मनको बाटोमा विभिन्न धरापहरू राखिदिनु । एकदिन त्यो शक्ति आउने छ।

उपदेश–२ 

जाई कटक नगर्नु । झिकी कटक गर्नु र चुरे घाटीमा खुपै काटिन्या छ । पाच सात पुस्तालाई षजाना पनि मिल्ने छ । 
अर्थात्,

आफैँ निहुँ खोजेर आक्रमण नगर्नु । आक्रमण गर्नै आयो भने पछि पनि नहट्नु । चुरेको घाँटीमा हामी उनीहरूलाई छपाछप काट्ने छौं । उनीहरूलाई हराएर पाँच सात पुस्तालाई पुग्ने धन जफत गर्नेछौं । 

उपदेश–३ 

किल्ला पिछे तोप लम्छट गरि राषीदिनु त जति भनज्याई छन्, भन्ज्या पिछे यक यक फलामे ढोका बनाई ढोका पिछे यक यक तोप लम्छट गरि राषीदिनु र पपाच सिपाही राषी दिनु र यस्व भया पछि चेवा गर्न्या, चर्चा गर्न्या, भगन्या, नास्न्या, ढुकुवा, फसादी, षुनी यस्ताहरूको पनि केहि चल्ने छैन । चारै वाद्साही चढाई गरि आयो भन्या पनि कसैको केहि चलन्य रहेनछ । 

अर्थात्,

जति पनि किल्ला÷नाकाहरू छन् सबैमा एउटा एउटा फलामे ढोका बनाउनु । प्रत्येकमा तोप राखिदिनु र पाँच पाँच जना सिपाही खटाइदिनु । यति गर्न सकेमा देशका गतिविधिको चियो चर्चो गरी सुचना पठाउने सुराकी, जाली फटाहा, चोरी चकारी गर्न आउने, हत्यारा आदि दुस्मनको पनि केही लाग्नेछैन । चारओटै राजा मिलेर आक्रमण गर्न आए पनि आफू पूर्ण तयारी छ भने केही गर्न सक्दैनन् । 

उपदेश –४

यो नेपालको तषत किल्ला हो, यो किल्ला पायो भन्या चारै वादसाहलाई वह्राला लाउनै छ । 

अर्थात् 
नेपाल युद्धनीतिका हिसाबले अब्बल किल्ला हो । दुई विशाल राष्ट्रहरूको बीचमा हुनाले यसको सामरिक महत्व छ । यो किल्ला प्राप्त भयो भने यी दुई त के चारै वादशाह आए पनि जितिन्छ । 

उपदेश–५

श्री गंगाजीको पनि साध लाग्नै छ । 

अर्थात्,
नेपालको सिमाना गङ्गा नदीसम्म पुर्याउने धोको छ । राष्ट्रपिता पृथीनारायण शाहले नेपालको विस्तार पूर्वमा समुद्रसम्म र पश्चिममा गङ्गा नदी सम्म पुर्याउने लक्ष्य लिनुभएको थियो । 

उपदेश–६

उप्रान्त मलाई यावटा कुराको संध्यह लागिरहेछ । कुन्कुरो भन्या, मुग्लाना नजिकै रहेछ । त्यस जग्गामा छोकडा, पत्रिया रह्या छन् । चित्रकार भर्याका कोठामा ढोकल, सितार, राग, तानमा भुलनन । राग तानमा बडो ठूलो मोह हुन्छ र दबलथ पनि षोलिन्छ । देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले छगा गर्छ । 

अर्थात्,
मलाई एउटा कुराको सन्देह लागिरहेको छ । कुन कुरा भने यहाँबाट मुग्लान नजिकै रहेछ । त्यो ठाउमा बुद्धिहीन र रद्दी मान्छे धेरै रहेछन् । हाम्रा प्रजा त्यता छिरेर रंगीविरंगी चित्रले सजिएका कोठीहरूमा पुगेर बाजागाजा, यौन र संगीतमा भुल्न सक्छन् । यौन, संगीत र मदिरामा ठूलो लत हुन्छ र सम्पत्ति पनि सकिन्छ । विदेशीले ती क्रियाकलापबाट हाम्रो देशको भेद पनि पत्ता लाउँछन् र कंगालले पनि आक्रमण गर्नसक्छ । 

उपदेश–७

रागको अभ्यास पनि कसैले नगर्नु । तिन जातलाई पहाड आम फदरफ पनि कसैले नषोलनु अथवा फागुलाई यक दुई गरी झिकि चाँडै बिदा गराइदिनु र देशको भेद पनि पाउँदैनन् । 

अर्थात्,
संगीतको लत कसैले नबसाल्नु । गाना बजाना सुनाउन मुग्लानबाट आउने जातिहरूलाई त्यति प्राथमिकतामा नराख्नु । फाल्गुपूर्णिमाको लागि तिनीहरूलाई झिकाउनैपर्ने हो भने एक एक गरेर बोलाउनु र छिटो बिदाइ गरेर पठाइहाल्नु । धेरै बसे भने देशको भेद लगेर जाने छन् । 

उपदेश–८

आफ्ना स्वष सयलेलाई ता सास्त्र वमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्या पनि हुन्छ । यिनमा ता दियाको पनि आफ्नै देसमा रहन्छ । यस्व भया आफ्नु देस गमन रहन्छ । 

अर्थात्,
आफ्नो मनोरञ्जनका लागि नेपालकै नेवारहरूलाई बोलाएर उनीहरूको नाच हेर्नु । यिनीहरूलाई दिएको पैसा पनि आफ्नै देशमा बस्छ । यस्तो गरेमा देशको हित हुन्छ । 

व्याख्या

राष्ट्रपिता पृथ्वीनारायण शाहले गोर्खा हुँदै नेपाल एकीकरणको महाभियान सञ्चालनका क्रममा अनुभव गर्नुभयो नेपाल त दुई ढुंगा बीचको तरुल जस्तो पो रहेछ । दुवैले थिचेर राख्ने, एउटा ढुङ्गो यसो घर्कियो भने पनि हाम्रो अस्तित्व तलमाथि हुन सक्छ । त्यसैले बडो बचेर, चनाखो भएर हिँड है भन्ने अर्ती उहाँले दिन खोज्नुभएको छ । 

कतिपय विश्लेषकहरूले बडामहाराजले दुई ढुंगा बीचको तरुल भन्नाले आर्थिक समृद्धिसँग जोडेर ‘हामीयहाँ तरुल जस्तै फल्न सक्छौं’ भन्न खोज्नुभएको हो भनेको पनि पाइन्छ । यो सकारात्मक अर्थ हो, यसलाई हामी समय सान्दर्भिक जोड्न सक्छौ यद्यपि तत्कालीन परिस्थितिमा देशहरू एकार्कोमा गाभिने, उपनिवेशमा राख्ने र कब्जा गर्ने लहर चलिरहँदा बडामहाराजले सुरक्षासँग सम्बन्धित अर्ति उपदेश दिनु भएको हो भनेर बुझ्नुपर्ने हुन्छ । 

सँगसँगै उहाँले भन्नुभएको छ, ‘चीनसँग राम्रो सम्बन्ध राख्नु, अंग्रेजसँग सम्बन्ध त राख्नु तर त्यो महाचतुर छ ।’ बचेर हिँड्नु, चनाखो हुनु । साथै कुनै दिन भारतीय जनता जाग्नेछन् त्यो बेलामा थप भूमि चाहिने छ भनेर यिनीहरू नेपाललाई आक्रमण गर्न आउनेछन् त्यसका लागि आफ्ना सिमाना पहिचान गरेर, उनीहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावित नाकाहरूमा सैनिक तैनाथ गर्नु र विभिन्न धराप थापिराख्नु भन्ने खालको सन्देश उहाँले दिन खोज्नु भएको छ । 

उहाँको त्यो दूरदर्शिता आज पनि कति सान्दर्भिक छ भने चीनले हामीलाई भारतले जस्तो नियन्त्रित अस्थिरतामा राखेको छैन । उसको गुण पनि धेरै नहोला यद्यपि दोष पनि छैन । तसर्थ हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ । आक्रमणकै नजिर हेर्ने हो भने चीनको शैली भारतको भन्दा खतरनाक अर्थात् वर्षौंसम्म खेलाएर, रोगी बनाएर होइन एकैपटक निल्ने नजीर छ । हामी तिब्बतलाई उदाहरणको रुपमा लिन सक्छौं । बडामहाराजले त्यो दृष्टिकोणबाट पनि हामीलाई सचेत गराउनु भएको हो भनेर बुझ्नुपर्ने हुन्छ ।                                                 

त्यसैले हाम्रो भौगोलिक अवस्थितिले पनि चीनसँग त्यति डर छैन तर नचिढ्याउनु । सम्बन्ध चाहिँ राम्रो राख्नु भनेर उहाले भावी पिँढीको लागि अर्ति उपदेश दिनुभएको छ, यद्यपि हामीले चीनसँग राम्रो सम्बन्ध राख्नसकेका छैनाँै । एमसीसी र एसपीपीजस्ता राष्ट्रघाती मुद्दा जनताले विरोध गर्दा गर्दै अघि बढ्दैछन् । एमसीसी हाम्रो सार्वभौम संसद्बाट पास भइसक्यो, एसपिपी पनि नाम फेरेर अर्को बाटोबाट घुमाएर पास गर्ने षड्यन्त्र हुँदै छ भन्ने विभिन्न स्रोत बताउँछन् । 

यो क्रियाकलाप चीनलाई चिढ्याउनु हो । चीनले हालसम्म सार्वजनिक रूपमा वा कूटनैतिक रूपमा व्यक्त गरेका भनाइ र व्यवहारबाट के बुझिन्छ भने उसले नेपालबाट गरेको अपेक्षा यति मात्र हो कि नेपाली भूमिमा चीनविरुद्ध गतिविधि नहोऊन् र नेपालले ‘एक चीन नीति’को समर्थन गरोस् । उसलाई त्योबाहेक अरु स्वार्थ छैन । हाम्रो भूमि मिच्नु पनि जरुरी छैन, हाम्रो पानीमा गिद्दे नजर पनि छैन र हाम्रो शासन व्यवस्थामा अत्यधिक चासो पनि छैन । दक्षिणको तुलनामा यति स्पष्ट छिमेकीलाई पनि हामीले रिझाएर राख्न नसक्नु हाम्रो कूटनैतिक चरम असफलता हो । 

नेपालदेखि मुग्लान अर्थात् भारत नजिकै छ । त्यहाँ खराब मान्छेहरू धेरै छन् । हाम्रा प्रजा, कर्मचारी र सेनाहरू त्यता जाने अनि त्यताको गाना बजाना, यौन र मदिराको लतमा लाग्न सक्छन्

बडामहाराजले अंग्रेज भनेर तोकेको अंग्रेज त अहिले भारतमा छैन । उसले भारत छोड्नु अघि नै नेपालमा पटक पटक आक्रमण चाही गर्न आएकै हो । उहाँको अड्कल सिद्द त भयो नै हाल पनि परिस्थिति उस्तै छ । भारतले पनि अंग्रेजकै व्यवहार देखाएको छ । ठाउँ ठाउँमा सिमा मिचिएका छन् । सिमानामा नेपाली लुटिएका छन, कुटिएका छन् । असमान सन्धि व्यवहारले नेपाललाई हेपेका छन् । नेपालको पानी र नदीनाला हत्याउने शृंखला चलेको छ । नेपालको राजनीतिमा चरम हस्तक्षेप गरेर यहाँ नियन्त्रित अस्थिरता लागु गरिएको छ । नेपाललाई कहिल्यै सम्बृद्ध हुन नदिने दृढ संकल्प गरेर बसेको छ त्यो दक्षिणको छिमेकी । 

यद्यपि हामी भारतसँग सन्तुलित परराष्ट्र नीति कायम गर्न सकेका छैनौं । भारतले नियोजित रुपमा नेपाललाई सधै भरी आफ्नो नियन्त्रणमा राखिरहेको छ । भर्खरै संसदबाट पारित नागरिकता विधेयक त्यसैको एउटा शृंखला हो । नेपालबाट भारतमा बिहे भएर जाने महिलाले बिहे भएको ७ वर्ष पछिमात्र भारतको नागरिकता लिने प्रक्रिया सुरुगर्न सक्छन यद्यपि भारतबाट नेपालमा बिहे गरेर आउने महिलाले बिहे हुँदा बित्तिकै उसैदिन नागरिता प्राप्त गर्न सक्ने विधेयक यो देशको संसदले पास गर्नु चिन्ताजनक विषय हो।

सम्भवत यस्तो खुकुलो नागरिकता नीति विश्वमा कतै छैन । यस्तो नीति हाम्रो देशका स्वघोषित क्रान्तिकारी नेताले कथित शार्वभौम संसदबाट पास हुनु, एमसीसी र एसपिपि जस्ता राष्ट्रघाती परियोजनाले यो भूमिमा प्रवेश पाउनु यो देश नेपालीले होइन अरु कसैले चलाइरहेको छ भन्ने प्रमाण हुन् । पृथ्वीनारायणको देश अहिले कुनै विदेशीका गुप्तचरले चलाउछन । यो हाम्रा लागी मरेतुल्य हो।

यस्तो किन भैरहेको छ भने हाम्रा नेपाली नेताहरू नै देशको भन्दा विदेशको लागी काम गरिरहेका छन् । आफ्नो देशमा प्रधानमन्त्री वा मन्त्री बन्नलाई भारतमा जाने परम्परा बसालेका छन् । यस्ता नेताहरूले राष्ट्रपिताको अपमान गरेका छन् । मातृभूमी प्रती गद्दारी गरेका छन् । पुर्खाले भोक प्यास नभनी रगत बगाएर, दुधे बालक काखमा च्यापेका महिलाहरू समेत युद्धमा सक्रिय सहभाग्गिता जनाएर जोगाएको यो देश अहिले कथित नेता भनाउदा विदेशीका खटन पटनमा काम गर्ने केहि गद्दारहरूले पुनः उतै बुझाउदै छन् । 

त्यसैगरी उपदेश २ मा आफैँ पहिले निहँु खोजेर आक्रमण नगर्नु तर आक्रमण गर्न आयो भनेपछि नहट्नु भनेर राष्ट्रपिताले दिएको सुझाव पनि यहाँ कार्यान्वन भएको छैन । अमेरिकाको पछि लागेर चीनलाई चिढ्याउनु आफँै निहुँ खोज्न जानु जस्तै हो । कहिलेकाहीँ हाम्रा नेताहरू अर्थ न व्यर्थ सात समुद्रपारिका देशको बारेमा बोल्छन्, विज्ञप्ती निकाल्छन् । यसले हामीलाई भलो गर्नेछैन । 

हाम्रो भौगोलिक अवस्थिति, आकार र शक्तिको आँकलन गरेरै उहाँले यस्तो उपदेश दिनुभयो । उहाँले हामी सानो छौं भन्दैमा कायर भयर बस पनि भन्नु भएको छैन । ‘झिकी कटक गर्नु’ अर्थात् उताबाट आक्रमण गर्न थाल्यो भने भिड्नु । उहाँले बडो डटेर लड्न पनि ठाउँ ठाउँमा सुझाव दिनुभएको छ । जित्न सक्छौं भन्ने हौसला पनि दिनुभएको छ । यद्यपि आफैँ जोरी खोज्दै भिड्दै गर्ने हाम्रो अवस्था पनि छैन र नियत पनि राख्न हुँदैन भन्ने सन्देश उहाँले दिनुभएको हो । 

पछि राजा महेन्द्रले आफ्ना पूर्वजको उपदेशलाई समेत मध्यनजर गरेर पनि हुनसक्छ असंलग्न परराष्ट्र नीतिको अङ्गीकार गर्नुभयो यद्यपि नेपाली नेताहरूले हाम्रा यस्ता ऐतिहासिक र सामरिक मूल्य मान्यता बोकेका उपदेशहरू र नीतिहरू सबैको अवमूल्यन गरिरहेका छन् । यसले हामीलाई सही मार्गमा पुर्याउँदैन । 

उपदेश ३ मा आफ्नो नाका तथा सिमाना कसरी बन्द गर्नुपर्छ भनेर बडामहाराजले सिकाउनु भएको छ । त्यो कालखण्डमा दिएका अर्ति उपदेशलाई हामीले त्यही कालखण्डमा पुगेर सोचविचार गर्नुपर्छ । त्यो बेला प्रत्येक नाकामा ५–५ जना सैनिक खटाउनु भनेको ठाउँमा अहिले ५० –५० जना खटाउनुपर्ने होला । त्यो बेलामा फलामे ढोका बनाउन सिकाउने दूरदर्शी नेताले बाँचेको भए अहिलेसम्म भारतसँगको सीमामा पर्खाल लगाइसकेका हुन्थे होला । त्यसो गर्यो भने चियो चर्चो गर्ने जासुस, आपराधिक क्रियाकलाप गरेर यहाँ लुक्न आउने अपराधीहरूबाट बच्न सकिन्छ भन्ने उहाँको बुझाइ छ । विडम्बना अहिलेसम्म हाम्रो खुला सिमाना छ ।

भारतीय गुप्तचर  ‘र’ ‘आरएसएस’ आदिको हालीमुहाली छ । विभिन्न पेसेवर अपराधीहरूको लुक्ने ठाउँ नेपाल बनेको छ । यो सिमाना हाम्रो सहजताको लागि खुला छोडिदिएको होइन उतैको निहित स्वार्थका लागि छोडिएको हो । सिमाना बन्द गर्दा नेपाललाई फिजीकरण गर्न सकिँदैन । सिक्किमीकरण र भुटानीकरण गर्न पनि गाह्रो पर्छ । आजभन्दा ३०० वर्षअघिका राजाले बुझ्न सक्ने रणनीति अहिलेका शासकले बुझ्न नसक्नु दुखद् छ । बुझेर पनि आफ्नो भूमिको रक्षा गर्न नसक्ने कायरता खेदजनक छ ।

उपदेश ८ मा बडो महत्वपूर्ण सन्देश भेटिन्छ । उहाँले भन्नुभएको छ आफ्नो मनोरन्जनका लागि कलाकार चाहिए भारतबाट झिकाउने होइन आफ्नै देशका नेवारहरूलाई बोलाउनु

उपदेश ४ मा नेपालको भौगोलिक अवस्थिति जति संवेदनशील छ युद्धका हिसाबले त्यतिकै महत्वपूर्ण छ भन्न खोज्नुभएको छ । दुई विशाल शक्ति राष्ट्रहरूलाई यो भूमिबाट नियाल्न सकिने, आक्रमण गर्न सकिने र जित्न सकिने सामरिक महत्वको भूमि हो भन्ने उहाँको सन्देश छ । हुन पनि सारा विश्वले आज पनि नेपालमाथि नजर लगाएको छ, नेपालमाथि लाधेका रणनीति र नेपाललाई आआफ्नो पकडमा राख्न खोजेको होडबाजीले राष्ट्रपिता कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने पुष्टि गर्छ । नेपालमा बसेका विदेशी गुप्तचर, आइएनजीओ र एमसीसी÷एसपिपी यसैका उदाहरण हुन् ।

उपदेश ५ मा उहाँले ‘श्री गंगाजीको पनि साध लाग्नै छ’ भन्नुको अर्थ उहाँको अभिलाषा नेपाललाई पश्चिममा गङ्गा नदी र पूर्वमा समुद्रसम्म पुर्याउने थियो भन्ने हो । एउटा २१ वर्षको ठिटोले गोर्खा हुँदै २२ से २४ से राज्यहरू एकीकरणको साहस गर्नु मात्र होइन गंगा नदीदेखि समुद्रसम्म देशको सिमाना फैलाउने मिसन बोकेर हिँड्नु वास्तवमै अकल्पनीय हो । हाम्रो आफ्नै भूमिमा यस्ता साहसिक पुरुष जन्मिएका थिए भनेर हामीले गर्व गर्नुको सट्टा विभिन्न शत्रु राष्ट्रका गुप्तचरको पछि लाग्नु, उनीहरूले रणनैतिक रुपमा फैलाएको राष्ट्रपिता प्रतिका गलत तथ्यमा विश्वास गर्नु हाम्रो दुर्भाग्य हो । विनाशको बाटो हो ।

उपदेश ६ मा नेपालदेखि मुग्लान अर्थात् भारत नजिकै छ । त्यहाँ खराब मान्छेहरू धेरै छन् । हाम्रा प्रजा, कर्मचारी र सेनाहरू त्यता जाने अनि त्यताको गाना बजाना, यौन र मदिराको लतमा लाग्न सक्छन् । यस्तो भएमा हाम्रो धन पनि नाशिने छ र विदेशीले हाम्रो देशको आन्तरिक गोप्य कुराहरू पनि पत्ता लगाउन सक्नेछन । त्यसैले त्यस्ता गतिविधिबाट हामी बच्नु पर्दछ भन्ने बडामहाराजले चिन्ता व्यक्त गर्नुभएको छ । उपदेश ७ मा पनि मिल्दो जुल्दो सन्देश छ । फाल्गुपूर्णिमा वा होलीका लागि नाचगान र मनोरञ्जनका लागि भारतबाट पेसेवर कलाकार झिकाउने गरिएको तथ्य यस उपदेशबाट थाहा हुन्छ । त्यसरी आफ्नो मनोरञ्जनका लागि विदेशी बोलाउने चलन राम्रो होइन बोलाउनै परे १–२ जना गरेर बोलाउनु र होली सकिनासाथ उनीहरूलाई बिदाइ गरिहाल्नु भन्ने उहाँको सन्देश छ । 

उपदेश ८ मा बडो महत्वपूर्ण सन्देश भेटिन्छ । उहाँले भन्नुभएको छ आफ्नो मनोरन्जनका लागि कलाकार चाहिए भारतबाट झिकाउने होइन आफ्नै देशका नेवारहरूलाई बोलाउनु । यिनीहरूलाई बोलाएमा दिएको पैसा पनि देशमै रहन्छ, पुँजी पलायन हुँदैन र विदेशीले सुराकी गरेर हाम्रो भेद पत्ता लगाउन पनि सक्दैन । त्यो कालखण्डमा पनि युद्ध कलामा मात्र निपूर्ण नभई आर्थिक विधामा समेत यति बुद्धिमान र दूरदर्शी नेतालाई हामीले हृदयदेखि सम्मान गर्नुपर्दछ । 

माथिका ८ उपदेशहरू देशको सिमाना, सुरक्षा, परराष्ट्र नीति र सर्वभौमिकतासम्बन्धी सन्देशहरू हुन् । यी सबैको समग्र विश्लेषण गर्दा पृथ्वीनारायण शाह एक युद्धका योद्धा मात्र थिएनन् । महान् राष्ट्रवादी, तीक्ष्ण बुद्धिका खानी, कुशल प्रशासक, आर्थिक, सामाजिक र सांस्कृतिक विधामा निपुण एक राजनेता हुनुहुन्थ्यो । यस्ता महापुरुषहरू युगमा एकपटक जन्मन्छन् । हाम्रो देश १२५ भन्दा बढी जातजाति र भाषाभाषीको देश हो । हाम्रा लागी यो विविधतामा एकता सबल पक्ष हो भने हाम्रो कुभलो चाहने दुश्मनहरूका लागि यो विविधतामा एकता होइन, विविधतामा विभाजन हो । उनीहरू यसैमाथि आक्रमण गर्न तल्लीन छन् । फुटाऊ र राज गरको नीति लागू गरिरहेका छन् । आफ्नो सार्वभौमिकताको रक्षाका लागि आम जनता यस्ता गतिविधिमा सचेत रहनुपर्ने अवस्था छ । 

राष्ट्रपिता पृथ्वीनारायण शाहका अन्य उपदेशहरू आर्थिक, प्रशासनिक तथा राजकाज, सामाजिक तथा समावेशी, युद्धकला, धर्म संस्कृतिप्रतिको उहाँको अटल आस्था आदिसँग सम्बन्धित छन् । ति उपदेशहरू हामी अर्को भागमा लिएर आउने छौं, प्रतीक्षा गर्नुहोला । 
(क्रमशः) 


Author

थप समाचार
x