वृद्धतन्त्र अति भो, नेपालको धेरै क्षति भो
आजकाल राजनीतिक समाचार हेर्ने÷पढ्ने जाँगर मरेको छ । देशमा सरकार, राजनीतिक दल र कुनै राजनेता छ जस्तो लाग्न पनि छाडेको छ । पार्टीका नेताहरूको विचार सुन्छु, पढ्छु, हरेक पल आफू लज्जाझार भएको महसुस गर्छु । न कुनै भिजन ? न कुनै देश बनाउने सपना ? न योजना ? न कुनै भाषा ? न शैली ? न कुनै स्तर ? कहीँ कतै बोल्ने अवसर पायो कि त सत्तापक्षका नेताले विपक्ष पार्टीका नेतालाई र विपक्ष पार्टीका नेताले सत्ता पक्षका नेतालाई तुच्छ कटाक्ष हानेको छ । गाली÷गलौज गरेकोे छ । के यस्तै हुन्छ राजनेता ? के यस्तै नेताहरूबाट देश तथा जनताको भाग्य बदल्न सम्भव हुन्छ ?
दशकौंदेखि सरकार तथा राजनीतिक पार्टीहरूमा मुठ्ठीभर व्यक्तिले पद तथा पावर ओगटेर बसेका छन् । युवा नेताका रुपमा राजनीतिमा छिरेका नेताहरू सवै वृद्धभत्ताका हकदार भइसकेका छन् । यस अवधिभित्र यिनीहरूको जीवन र जीवनशैली पूरा रुपान्तर भएको छ ।
परिवार, नातेदार, आसेपासे, चेला÷चपेटा सबैको भविष्य पनि सुनिश्चित भइसकेको छ । तर यिनीहरूबाट न देश उँभो लाग्यो न जनताको दुःख, पीडा तथा गरिबी नै घट्न सक्यो ? अझै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको मानव विकास प्रतिवेदन २०२-२२ अनुसार १९२ देशहरूमध्येमा नेपाल १४२ औं स्थानमा छन् ।
आठवटा सार्क राष्ट्रहरूमध्ये नेपाल, पाकिस्तान र अफगानिस्तानभन्दा मात्र अगाडि छन् । तर आश्चर्य लाग्छ, यी र यस्ता समाचार तथा घटनाहरूबाट यी नेताहरूलाई रत्तिभर पनि लज्जा, ग्लानि र अपराधबोध हुँदैनन् । यसैले नै होला आउँदो मँसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै भन्दै हिँडेका छन्, फेरि एकपटक देश तथा जनताले मेरो नेतृत्व खोज्दै छ । उदेक लाग्छ, यिनीहरूको सत्तामोह देखेर । अब त अति भो । भनिन्छ नि– इनफ इज इनफ ।
साँच्चै भन्नुपर्दा गएको वैशाखको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवार बालेनको टीभी च्यानेलहरूबाट उनको काठमाडौं बनाउने योजना, उनको गहन विचार सुनेपछि र उनीमाथि जनताको ‘क्रेज’ देखेपछि पहिलो पटक देशमा विद्यमान पार्टी तथा यिनीहरूका उम्मेदवारहरूप्रति वितृष्णा जागेको थियो मेरो । त्यसपछि धरानका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङ र बालेन शाहको उल्लासमय जित र लगत्तै उनीहरूले आफ्नो क्षेत्रमा सुरु गरेको काम, त्यसको प्रगति र जनतामा त्यसको प्रभाव देखेपछि । देशमा भएका सबै पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरू सोत्तर भएको हेर्ने लालसा आफूभित्र तीव्र हुँदै गएको मैले महसुस गरेँ र अझै गर्दैछु पनि ।
जनता जनार्दन भन्ने गरेको सुनेको थिएँ । यसको साक्षात्कार गर्ने दिन आए झैँ लाग्दै छ । हर्क साम्पाङले चुनाव जित्नु अगडिसम्म उनीलाई कति जनताले पत्याएको थियो र ? यस्तै मेयरको उम्मेदवारी दिन अगाडि र्यापप्रेमी केही युवाहरूका जमातले बाहेक देशका आम नागरिकले बालेनलाई कहाँ चिनेको थियो र ? तर मेयर भएको १०० दिन हुँदा नहुँदै देशका मै हुँ भन्ने नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भन्दा बालेन कति गुणाले लोकप्रिय भएछ भन्ने कुरा यो वर्ष वसन्तपुर गद्दी बैठकसामु इन्द्रजात्राको भव्य उत्सव भइरहँदा त्यहाँ उपस्थित जनलहरले बालेन बालेनको नारा लगाउँदा वसन्तपुर डबली गुन्जायमान भएको सुने÷देखेपछि भने सारा सत्यतथ्य नेपालीसामु छताछुल्ल भएको छ ।
पार्टीका नेताहरूको विचार सुन्छु, पढ्छु, हरेक पल आफू लज्जाझार भएको महसुस गर्छु । न कुनै भिजन, न कुनै सपना, न योजना, न कुनै भाषा, न शैली, न कुनै स्तर । खालि तुच्छ कटाक्ष, गाली-गलौज । के यस्तै हुन्छ राजनेता ?
यतिले मात्रले पनि कहाँ रोकियो र बालेनको क्रेज? र उनीप्रति जनताको माया, आस्था र विश्वास ? फेसबुकका वालहरूभरि बालेन वसन्तपुर परिसर आउँदा÷जाँदा उनी सामु पुग्न, उनीसित हात मिलाउन, फोटो खिच्न मानव सागर उर्लिएको फोटो तथा भिडियोहरू छरपस्ट पोष्ट भइरहेका छन् । यस्तै वसन्तपुर गद्दी बैठकबाट बालेन र बालेन पत्नीले इन्द्रजात्रा हेरिरहेको फोटोसँगै नेपालीका अति प्रिय दिगंवत राजा वीरेन्द्र र रानी ऐश्वर्यको त्यही स्थानबाट इन्द्रजात्रा हेरिरहेको फोटो पोस्ट गरी बालेनलाई जनताले दिएको उच्च सम्मान आश्चर्यचकित पार्ने घटना बनेको छ । यो सबै बालेनले अत्यन्त छोटो समयमा देश र जनताको हितमा विनास्वार्थ निष्काम कर्म गरेको परिणाम हो ।
जनतामा देखिएको उत्साह हर्क साम्पाङ र बालेनमा मात्र सीमित छैन । रवि लामिछानेमाथि पनि जनलहर उत्तिकै बढ्दै गएको देख्छु म । उनी जुन÷जुन जिल्ला र प्रदेश पुगे, त्यहाँका जनताले खुला ह्रदयले स्वागत गरेको पाएको छु । वृद्धवृद्धाहरूसमेत कार्यक्रम स्थलसम्म पुगेर भावविभोर हुँदै आशीर्वाद दिएका दृश्य युट्युबमा हेर्न सकिन्छ । उनको नेपाल स्वतन्त्र पार्टीमा देशका बौद्धिक, युवाहरूका जमात आबद्ध हुने क्रम बढ्दो छ । यस्तै अर्को पाटोतिर देशका चिरपरिचित विज्ञ र लामो समयदेखि समाजसेवामा लागेका युवाहरू पनि आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र तथा अन्य पार्टीहरूबाट आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
देशमा यसरी मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवारी दिइरहेको चर्चा गरिरहँदा केही समयदेखि विभिन्न पत्रपत्रिकामा म्याग्दीबाट महावीर पुन र माओवादी पार्टीको तर्फबाट कुलमान घिसिङले पनि उम्मेदवारी दिँदै छन् भन्ने खबर आफूले पढेको प्रसंग उप्काउन मन लाग्यो । साँच्चै यी दुबै राष्ट्रका रत्नहरूलाई पनि राजनीतिको चस्का लागेकै हो त ? मलाई त रत्तिभर पनि विश्वास लागेको छैन ।
म विश्वास गरेर आफूलाई दुःखी र विचलित तुल्याउन पनि चाहन्न । कुलमान घिसिङ र महावीर पुन दुवै राजनीतिभन्दा धेरै माथिल्लास्तरका मानिस हुन् । यी दुवै मेरो मात्र नभइ जनताकै हिरो हुन् । यिनीहरूले राजनीतिक समुद्रमा डुबुल्की लगाएको म हेर्नै चाहन्न । अब मंसिर ४ गते सम्पन्न हुने निर्वाचनबाट देशले बालेन, हर्क जस्तै अन्य थुप्रै कुशल, योग्य, विज्ञ, देशप्रेमी राजनेता पाउने निश्चित छ । तर कुलमान घिसिङ र महावीर पुनको कुरो भने बेग्लै हो । म त ईश्वरमाथि विश्वास गर्ने आस्तिक मान्छे । ईश्वरले यी दुबैलाई उनीहरू जुन क्षेत्रमा लागेका छन्, त्यसैका लागि बनाएका हुन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
अन्तमा, ईश्वरसित मेरो यही प्रार्थना छ, देशका कुनै पनि पार्टीले यिनीहरूलाई अपहरण नगरियोस् । अबको आसन्न निर्वाचनमा स्वतन्त्रबाट होस् या देशका कुनै पनि पार्टीबाट होस् नेपाल आमाका सच्चा, योग्य र होनहार सन्तानहरूले अत्यधिक मतले विजय हासिल गर्न सकोस् । चाँडो भन्दा चाँडो नेपालीले आफ्नै देशमा, आफ्नै परिवारसित सुख शान्तिले आफ्नो हातको दश नङग्रा खियाएर सगरमाथा झैँ शीर उच्च पारेर बाँच्न पाओस् । सबै नेपालीको जय होस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया