विचार

बहस

उच्च शिक्षामा अब के गर्ने ?

ईश्वरीप्रसाद पोखरेल |
असोज ५, २०७९ बुधबार ८:२ बजे

विश्वविद्यालयहरू शैक्षिक दाताहरूका लागि पवित्र आस्थापूर्ण दान दातव्य प्रदान हुने क्षेत्र हुन् । सबै समाजसेवा तथा पुण्य प्राप्तिका लागि विश्वासिला स्थल शैक्षिक संस्थाहरू नै हुने गर्दछन् । विश्वविद्यालयहरूले आ–आफ्ना शैक्षिक संस्थाहरूमा स्थापित सरकारी, गैरसरकारी, दाताहरूका छात्रवृत्ति कोष, अक्षय कोष, स्मृतिकोषहरूको पारदर्शी व्यवस्था मिलाउनु पर्दछ, जुन पूर्ण व्यवस्थित गर्न, गराउन नसकेको अनुभव अध्ययनले गरायो । 

दाताहरूबाट स्थापित यी कोषबाट प्रदान गरिने छात्रवृत्ति तथा सम्मान पदकहरूका संस्थापक तथा उनका उत्तराधिकारीहरूको अपेक्षा अनुरूप विद्यार्थीहरूमा सहज पहुँच र पूर्ण सदुपयोगको सुनिश्चितता गराउनु पर्दछ र दुवैलाई जोडेर यिनको उपादेयता साबित गर्नु, गराउनु आवश्यक छ तर अध्ययनले त्यो भएको देखाएन ।​


दाताहरूबाट प्राप्त सहयोग, सुविधा र छात्रवृत्तिबाट विद्यार्थीहरूमा आत्मबल वृद्धि, प्रतिस्पर्धात्मक प्रोत्साहन र आर्थिक समृद्धिका लागि सुन्दर भविष्य देखाउँन सक्नु पर्दछ तर त्यो संवेदनशीलता विकास भएको पाइएन ।

शैक्षिक क्षेत्रमा दाताहरूबाट भएका योगदानहरूको सम्मान गर्ने कार्यक्रमहरू विद्यमान अवस्था तथा सदुपयोगको सुनिश्चितताका पक्षमा भावी सन्ततिहरूलाई आश्वस्त पार्न र त्याग र समाज सेवाको उत्कृष्टता सावित गर्न विविहरू लाग्नुपर्ने हुन्छ तर त्यो अभ्यासलाई उठाउन नसकेको देखियो ।

दान, दातव्य र सहयोग क्षेत्रको अध्ययन, अनुसन्धान र यथार्थ अवस्था सार्वजनिक गर्ने संस्कृति र संस्कार समाजमा दाता र प्राप्त कर्ता दुवैमा बोध गर्नु, गराउनु आवश्यक हुन्छ तर विविहरूले त्यसमा ध्यान दिएको अनुभव गर्न पाइएन । 

कोष स्थापक तथा लाभग्राहीबीच आत्मीय सम्बन्ध स्थापित गरी असल संस्कार, त्यागी, नैतिकशील तथा दानीपनको बानी प्रवर्धन गर्न सबै विश्वविद्यालयहरूसँग सिर्जनशील योजनाहरू हुनु पर्दछ तर त्यो अभ्यास र अभिलेख विविहरूले स्थापित गर्न सकेको पाइएन ।

सबै विश्वविद्यालयहरूले आ–आफ्नो विश्वविद्यालय तथा मातहतका (सरकारी, सामुदायिक तथा निजी सम्बन्धनका) शैक्षिक संस्थाहरूमा उपलब्ध सेवासुविधा, सहुलियत र छात्रवृत्तिहरू वार्षिक रूपमा योजनावद्ध किसिमले सार्वजनिक हुने, गर्ने र कार्यान्वयनमा लैजाने नीति, योजना तथा कार्यक्रमको खाँचो विविहरूमा हुन सक्छ तर त्यतातिर कसैको ध्यान पुगेको देखिएन । 

विश्वविद्यालयहरूबाट उपलब्ध विद्यार्थी छात्रवृत्ति सेवा सुविधा तथा विद्यमान बजार मूल्यको आधारमा शिक्षा प्राप्त गर्न लाग्ने खर्चको अध्ययन, जुनसुकै तह र विषयको शिक्षा योग्यता पूर्ण तथा आर्जन गर्न लाग्ने कुल खर्चको आवश्यकताको पहिचान कति छ ? आदि, इत्यादिका आधारमा दिइने छात्रवृत्ति सेवासुविधाको वैज्ञानिक मापदण्डको विकास गरिनुपर्ने हुन्छ तर सरकार, विवि कसैको त्यसमा ध्यान पुगेको देखिएन ।

अन्यथा नेपालको शिक्षा प्रणालीको विकास र प्रगतिमा बाधा हुने मात्र होइन, सर्वसाधारणको विश्वास गुम्ने र पूर्ण धराशयी हुने निश्चित छ ।

मानवपुँजी विकास तथा जनशक्ति उत्पादनका लागि विद्यार्थीहरूलाई यस्ता सुविधाहरू राज्य कोषबाट नियमित उपलब्ध गराइरहने वा अध्ययन, अध्यापनका साथसाथै, विद्यार्थी आफू संलग्न भई काम गरेर कमाउन सक्ने विषय तथा कार्यक्षेत्र पहिचान गर्ने ? यी विषयमा विभिन्न विकल्पसहित विविहरूसँग योजना हुनु पर्दछ तर हाम्रा विविहरूसँग यो विषयमा कुनै सोच, योजना र कार्यक्रम रहेको देखिएन । 

विश्वविद्यालयगत शैक्षिक संस्थाका सबै क्षेत्रका फरक फरक निकायहरूले आ–आफ्नो शैक्षिक विषय क्षेत्रगत विशिष्टता अनुरूप विद्यार्थी आत्मनिर्भरताका नयाँ नयाँ उपायहरू खोजी गर्ने, स्वच्छ प्रतिस्पर्धा स्थापना गर्ने तथा साझा सामाजिक न्यायपूर्ण छात्रवृत्ति नीति निर्माणमा ध्यान दिने व्यवस्थापकीय संस्थागत नेतृत्व गर्नु आवश्यक हुन्छ तर विविहरूमा यो किसिमको जागरुकता र जवाफदेहिता अध्ययनले देखाएन । 

गुणस्तरीय विश्वविद्यालय तथा शैक्षिक कार्यक्रमहरू 
- विश्वविद्यालयको शैक्षिक वातावरण तथा गुणात्मकता अभिवृद्धि सुशासकीय दृष्टिले मुख्य पक्ष भएकाले, विविका शैक्षिक कार्यक्रमहरू सिर्जनशील र अनुसन्धानमूलक हुनु, बनाइनु उचित हुन्छ, जुन पूर्ण अभाव देखियो ।

- विविहरूका उपाधिमूलक योग्यता,पाठ्यक्रम तथा पाठ्यसिलेवस, पाठ्यसामग्री संरचना, शिक्षण सिकाइ शैली, विधि, प्रक्रिया र मूल्याङ्कन ढाँचा विश्वस्तरीय मापदण्ड र सूचकमा प्रतिस्पर्धी बनाइनु पर्दछ तर दशकौँदेखि पाठ्यक्रम, पाठ्यसामग्री, सिलेवसमा सुधार नभएको र नयाँ नयाँ विविहरूले समेत पुराना विविका शैक्षिक कार्यक्रम फोटोकपी गरेर कार्यान्वयन गरेको पाइयो । 

- शिक्षणका लागि तहगत विषयवस्तु निर्धारण ढाँचा कति कति वर्षमा अध्यावधिक गर्ने, गराउने ? सो स्पष्ट योजना तथा कार्यक्रमहरू विविहरूले सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने पद्धति आवश्यक हुन गएको अध्ययनको निचोड देखिन्छ । 

-  विश्वप्रतिस्पर्धा तथा गुणात्मक शिक्षाका लागि वर्षौ एउटै पाठ्यक्रम, सिलेवस र सामग्री पठनपाठन गर्ने गराउने पद्धतिलाई यथाशीघ्र सुधार्न आवश्यक तथा शिक्षक तयारी जरुरी देखिन्छ, जसप्रति विविहरू पूर्ण उदासिन देखिए । 

- विश्वविद्यालयका सामयिक तथा आवधिक रूपमा निर्धारित तथा स्वीकृत शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षक, प्राध्यापक, प्राज्ञ, विज्ञका साथसाथै प्रशासक तथा व्यवस्थापकहरूको त्यस अनुरूपको पेसागत क्षमता वृद्धि गर्ने नीति र योजना बनाइनु जरुरी हुन्छ तर विविहरूमा योसम्बन्धी कुनै व्यवस्था नै पाइएन ।

- शैक्षिक नेतृत्वमा पदीय तथा तोकिएको पेसागत जिम्मेवारी तथा जवाफदेहिता बहन गर्ने गरी सेवासुविधा र सर्तपालनाका विधिको सुनिश्चितता गर्ने जस्ता पक्षमा विविहरूको ध्यान जान तथा कार्यान्वयनमा ल्याउन अति आवश्यक देखिन्छ तर त्यो संवेदनशीलता कुलपति, सहकुलपति र उपकुलपति लगायतका कुनै पदाधिकारी वर्गमा नरहेको परिणाम विश्वविद्यालय ध्वस्त भएको देखियो ।

-  विश्वविद्यालयहरूले शैक्षिक योग्यता र अभ्यास कार्यमा विद्यार्थी उत्पादन, विकास र प्रयोग तथा निरन्तर अभ्यासमा आफ्ना शैक्षिक कार्यक्रमहरूलाई जोड्दै सुयोग्य नागरिकका रूपमा जनतालाई शिक्षाको गुणात्मकता साबित गर्नु पर्दछ तर वर्षौं तालाबन्दी हुने र कक्षाकोठाबाट हराउने प्राध्यापकको शिक्षणमा उपाधिको प्रमाणपत्र लिन बाध्य विद्यार्थीको गुणात्मकताप्रति राजनीति र प्रशासन दुवै गैरजिम्मेवार देखिए ।

-  विविहरूले आ–आफ्ना शैक्षिक संस्था तथा विशिष्टीकरणको महत्तालाई विश्वसनीय तथा गुणात्मकता साथ समाजमा स्थापित गर्ने, गराउने तथा उच्च प्रतिस्पर्धाको आकर्षण केन्द्र बनाउनेमा लाग्न विशुद्ध शैक्षिक चिन्तन आवश्यक हुन्छ तर भागबण्डा र राजनीतिक गतिविधिले विश्वविद्यालयहरू थला परेको अध्ययनले पुष्टि गर्‍यो ।

विश्व उदारीकरण, प्रतिस्पर्धा र शैक्षिक नेतृत्व क्षमता 
 

- विज्ञान, प्रविधिले संसारलाई जोडेको तथा सांघुर्‍याएको छ । सेवासुविधा तथा वैयक्तिक लाभ र स्वार्थमा मानवीयता र नातासम्बन्ध र घरपरिवार जोडेको तथा तोडेको पनि छ । 

- एकै बटन र ज्ञानको प्रयोगशील क्षमतामा जुनसुकै कुनाको प्रतिभालाई आफूमा समाहित गर्न र सबै आवश्यकता पूरा गर्न, गराउन विश्वका शैक्षिक संस्थाहरू उद्यत तथा सफल हुँदै पनि छन् ।

- विश्वीकरणका समयमा सरकारले यो गरेन, त्यो गरेन, यो भएन, त्यो भएन भन्ने शैक्षिक संस्था तथा तिनका प्राज्ञ, विज्ञ र नेतृत्व मानसिकताले गुणात्मक नतिजा सम्भव हुँदैन । तर विविहरू आरोपी संस्कारमा हुर्किएका र आत्मसमीक्षा गर्न चुकेको अनुभव भयो । तसर्थ शैक्षिक व्यवस्थापकीय कार्य शैली र नेतृत्व क्षमता र विचार पूर्ण रूपमा बदल्नुपर्ने देखिन्छ । 

- विविहरूले प्राज्ञिक तथा प्राविधिक गुणस्तर कायम गर्न, गराउन विद्यार्थी वर्गमा अध्ययन, अनुसन्धानमा जोड्न र विश्वास जगाउन नसकेको आरोप मात्र होइन कतिपय क्याम्पस र प्राज्ञ भनिनेहरू नै विदेश मोह बढाउने र यो देशमा केही हुँदैन भन्ने सन्देश दिन लागेको अनुभव रह्यो । विदेश मोह घट्ने र देशमा नै भविष्य सुनिश्चित छ भन्ने गुणात्मक शिक्षा विकास गर्न विविहरू चुकेको देखियो । 

- विगतमाथि प्रश्न उठाउने तथा आफू ठीक तर असफलताको कारण अरु अरु हुन्, भन्ने दोषी संस्कृति र मानसिकता हटाउन विविहरू पूर्ण तयार नहुनु र शैक्षिक रूपान्तरणका योजना र कठोर मेहनत दिने जनशक्ति विकासमा नलाग्नू नै मुलुक समृद्धिको बाधक रहेछ भन्ने सिकाइ भयो, जिम्मेवारी लिने र जवाफ दिने नेतृत्वबाट मात्र रूपान्तरण हुन सक्छ भन्ने अध्ययनले निचोड दियो ।

-   विविहरूले देशविदेशका असल अभ्यास, शिक्षण सिकाइमा अनुसन्धान र सिर्जनशीलता जोड्दै, प्राज्ञ र विज्ञताको विशिष्टीकरणको महत्ता विषय क्षेत्रमा स्थापित गर्दै जान सक्नु पर्दछ तर प्राध्यापक र प्राध्यापन त्यतातिर ध्यानाकर्षण नहुँदा शैक्षिक गुणात्मकता खस्किएको देखियो ।

-   जुनसुकै विषय क्षेत्रका विविहरूले आफूलाई प्रविधिमैत्री र सबै शिक्षण क्षेत्रका तत विषयका कार्यको तुलनात्मक समीक्षा गर्दै आधुनिक आवश्यकतासित संयोजन गर्न, गराउन सक्नुपर्दछ तर अद्यावधिकता र जवाफदेहिता कमजोर रहेको देखियो ।

-  विविहरूले अब्बल जनशक्ति विकासबाट मात्र विदेश पलायनको संस्कृति र संस्कारलाई नियमन, नियन्त्रण र केही हदसम्म निरुत्साहित गर्न सकिने गुणस्तरीय शैक्षिक कार्यक्रम विकास गर्नु अनिवार्य हुन्छ तर त्यस्ता जनशक्ति विविहरूमा प्रवेश गराउने, सेवा आयोग र पदपूर्ति समितिलाई निष्पक्ष र वैज्ञानिक बनाउनेभन्दा स्वतः स्थायी, आंशिक र करार शिक्षक नियुक्तिको प्रावधानको निरन्तरता तथा राजनैतिक हस्तक्षेपले विविहरू फोहोर कुडा कर्कट जम्मा गर्ने स्थल बनेको अध्ययनले पुष्टि गर्‍यो । 

-   अध्ययनले सबै शैक्षिक पक्षमा परम्परागत धारणा र नेतृत्व शैलीमा सुधार र विभिन्न बाधा, व्यवधानको सामूहिक प्रयासमा समाधान खोज्ने तथा आफूले जोखिम मोल्ने र जवाफदेही हुने प्रवृत्तिको उचित संबोधन विविहरूको विश्वास र गुणस्तर दुवै आवश्यक देखिन्छ भन्ने स्पष्ट पा¥यो । 

शैक्षिक तथ्यांक  सूचना एकीकृत मापदण्ड 
-   शैक्षिक व्यवस्थापन प्रणालीको आधिकारिक निकाय विवि अनुदान आयोग २०७५/०७६ भन्छ, उच्च शिक्षाका जम्मा ४,४१,८१९ .विद्यार्थी छन् । ११ विविहरूको २०७८ को अध्ययनमा सबै परीक्षाहरूमा सहभागी हुने विद्यार्थीहरूको संख्या जोड्दा ६,१७,६५३ पुग्छन् । कुल १,७५,८३४ जना बढी संख्याका विद्यार्थी देखिन्छन् । यसरी उच्च शिक्षामा भर्ना भएकामध्ये नियमित शैक्षिक सत्रको अन्तको वर्षमा कति विद्यार्थी उत्तीर्ण हुन्छन् तथा कति अनुत्तीर्ण हुन्छन् ? एक वर्षमा नियमित भर्ना हुने विद्यार्थीको तुलनामा झण्डै एक, दुई लाखको अन्तरमा परीक्षार्थी बढी सहभागी हुनुले प्रश्न उठ्छ ।

- विश्वविद्यालयसँग कुल नयाँ भर्ना, तहगत संरचनाका आधारमा विद्यार्थी कति हुन् र परीक्षामा सहभागी हुने कति हुन् ? भनी संख्या माग्दा धेरै अन्तर हुने कुरा यकिन गर्न यो अध्ययन सहयोगी भएको छ । ५/७ वर्षदेखि अनुत्तीर्ण हुँदै (ब्याकपेपर) दिँदै आएका विद्यार्थीहरू पनि संख्यामा जोडिएर गणना हुनुले विविहरूको शैक्षिक गुणस्तर कस्तो ? भन्ने प्रश्न उठ्नु कुनै अनौठो रहेन । 

-  विश्वविद्यालयहरूमा आश्चर्यजनक विद्यार्थी संख्यामा अन्तर किन ? आफैँ प्रश्न उठाउनुपर्ने भयो । केही उदाहरण मुलुकको शिक्षा प्रणालीमा विश्वविद्यालयगत उच्च शिक्षाको पहुँच, विषय तथा विद्यार्थी सहभागिता विश्वविद्यालयमा ४,४१,८१९ भएकोमा निर्धारित प्रश्न १८ को परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्तरमा प्राप्त विद्यार्थी विवरणमा व्यापक संख्यात्मक (१,७५,८३४ विद्यार्थी) अन्तर हुनु स्वाभाविक रहेछ । 

- विविहरूले सूचना दिँदा भर्ना तथा ब्याकपेपर दिनेहरूको समेत भन्ने आधार संख्या विवरण दिएर विद्यार्थी तथ्यांक दिएमा उचित उत्तर सम्बोधन हुने रहेछ । विद्यार्थीको विश्वसनीय परिभाषा र बुझाइ उच्च शिक्षा व्यवस्थापनमा यथार्थपरक हुने थियो भन्ने सिकाइ पनि भयो । 

- साथै, तहगत, क्षेत्रगत र विषयगत विद्यार्थीहरूको भर्ना संख्या, दोहोरिने संख्या सबै विवरण खुल्ने स्पष्ट र एउटै मापदण्डको सूचना जारी हुने र गर्ने पद्धति विविहरूमा आवश्यक छ, अनुभव गरियो । 

- विद्यार्थी संख्या तथा तथ्यांकका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगले विविहरूलाई एउटै विवरण प्रयोग गर्न, गराउन वैज्ञानिक पद्धति विकास गर्नु, गराउनुपर्ने देखियो । 

शैक्षिक गुणात्मकता अभिलेख व्यवस्थापनमा वैज्ञानिकता 
-  विश्वविद्यालयहरूबाट प्राप्त विवरणहरूको आधारमा शैक्षिक उत्पादनमा गुणात्मकता, बजार प्रतिस्पर्धा र विद्यार्थी, अभिभावक, नागरिक समाज, प्राज्ञिक, बौद्धिक, सञ्चार जगत् र विश्वसमुदायको विश्वास आर्जन गर्ने तथा विश्लेषण गर्ने, गराउने महत्वपूर्ण आधार हुन् तर विविहरू चुकेका छन् भन्ने अध्ययनले स्पष्ट गर्दछ । 

-  बजारीकरणका लागि चाहिने तथा सार्वजनिक हुनुपर्ने परीक्षा परिणाम र नतिजा तथा तिनको विश्लेषण, समीक्षा सार्वजनिक चासोका मुख्य विषय पक्ष हुन् । जुनसुकै समस्याबाट निकास दिन विविहरूले परीक्षा तथा अभिलेखबाट जनविश्वास लिन सक्नु पर्ने हुन्छ । तर यी सम्बन्धमा यथेष्ट विवरण विविहरूबाट प्राप्त हुन नसकेको तथ्यांक संकलन अवस्थाबाट स्पष्ट हुन्छ र विविहरूको संवेदनशीलतामाथि प्रश्न उठाउने माध्यम बनेको छ । 

-  शैक्षिक गुणात्मकताको मुख्य आधार कुल नतिजा, परीक्षा फल, उत्तीर्ण दर, श्रेणी सिकाइ क्षमता विश्लेषण र अभिलेख व्यवस्थापनमा चुस्तता अपरिहार्य हुनु पर्दछ तर अध्ययनमा विविहरूले यो विवरण नै उपलब्ध नगराएकाले, लगानी र प्रतिफल विश्लेषण गर्न नसक्ने अवस्था देखायो । 

- विद्यार्थी उपलब्धि नतिजा तथा मूल्याङ्कनको अवस्था सार्वजनिक गर्ने तथा निकाय र अध्ययन अध्यापन गर्ने निकायबीच वा सिधैभन्दा विश्वविद्यालय र अध्ययन संस्थान, संकाय र परीक्षा नियन्त्रण कार्यालयका बीचमा कुनै प्राविधिक तथा व्यवस्थापकीय समस्या हुनु हुँदैन तर परीक्षा नतिजा प्राप्त नहुनुले यो समस्या छ भन्ने स्पष्ट पार्‍यो । 

- विश्वविद्यालयका संरचनाभित्र आपसी समन्वय, सहकार्य र आपसी विश्वासपूर्ण सद्भाव तथा सहयोग आदान प्रदानमा समस्या निराकरण वैज्ञानिक हुने गरी अभिलेख व्यवस्थापनमा ध्यान दिन आवश्यक छ भन्ने कुरा विवरणको अपूर्णता, खालीपन तथा उदासीनताले समग्र विश्वविद्यालयहरूको शिक्षण सिकाइ र मूल्याङ्कनबीचको दूरीलाई उजागर गरेको छ र यसमा रूपान्तरण आवश्यक हुन्छ भन्ने अध्ययनले निचोड निकाल्यो । 

शैक्षिक उत्पादन आर्थिक लागत र सिकाइ उपलब्धि समीक्षा संस्कृति अपरिहार्य 
- राज्यसँग सीमित साधन स्रोत छ । शिक्षा पहुँच, गुणस्तर अभिवृद्धि तथा लोक कल्याणकारी राजनीति पछ्याउँदै सरकारको शिक्षामा ठूलो आर्थिक लगानी हुने गरेको छ तर उच्च शिक्षाको लगानी खुम्चिँदो छ । 

- आर्थिक लगानी र विद्यार्थी सिकाइ उपलब्धिबीचको तादात्म्य अति महत्वपूर्ण तथा समीक्षाका विषय हुन् । लागत र नतिजाका सूचकहरूको अध्ययन, विश्लेषण र सर्त पालना गर्न, गराउन तथा त्यस अनुरूपका उत्पादित जनशक्तिको गुणात्मकता तथा प्रतिविद्यार्थीमाथि हुने, गरिने आर्थिक लगानी र हासिल नतिजाको ठूलो सम्बन्ध हुने गरी शैक्षिक संस्थाहरूको मूल्यांकन हुनुपर्नेमा त्यसो गरिएको देखिएन । 

-  जनशक्ति विकासमा आर्थिक लगानी र उपलब्धि विश्लेषण तथा समीक्षा गरी आमूल रूपान्तरण, सुधार तथा परिमार्जनका पक्षमा संबोधन हुन र उचित निकास दिन विविहरू लाग्नुपर्ने तर नेपालमा त्यस्तो देखिएन । 

- मानव संसाधन विकास तथा जनशक्ति विकास, उत्पादन तथा प्रयोगका क्षेत्र निर्धारण गरी शिक्षा प्रणालीमा आर्थिक लगानी हुने र नतिजा तुलना गरिने पद्धतिको वैज्ञानिक अभिलेख प्रणाली विकास र व्यवस्थापन गर्न विविहरूले योजना बनाएको तथा त्यसअनुसार विद्यार्थी भर्ना र बजारमा पठाएर गुणात्मक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनको थालनी भएको पाइएन ।

- शैक्षिक उत्पादनमा खर्च र परिणामको तुुलना गर्ने, लाभ लागतको विश्लेषण गर्ने, समालोचनात्मक सामथ्र्यले असल संस्कृति र संस्कारका नागरिक उत्पादन हुँदा पदाधिकारी वर्गमा जवाफदेहिता बढ्ने हुन्छ तर मुलुकमा हरेक क्षेत्रमा सुशासन कायम गर्न सकिने गरी विश्वविद्यालयका संस्थान तथा संकायहरूलाई अगाडि बढाउने कुनै योजना बनेको देखिएन । 

- विद्यार्थी उपलब्धिको योग्यतामूलक शैक्षिक प्रमाणपत्रको विवरणलाई चुस्त दुरुस्त राख्ने र सबै यथार्थपरक अभिलेखबाट सार्वजनिक गर्ने तथा एकीकृत गरी शैक्षिक गुणस्तर तथा सिकाइको मापनमा आम सरोकारवालाबाट समीक्षा गर्न, गराउन विविहरूले सक्नुपर्ने हो तर नेपालका विविहरू त्यो पक्षमा कमजोर देखिए । 

- शैक्षिक संस्थाबाट जनशक्ति विकास, उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने गरी विकास र अनुसन्धानलाई जोड्न पर्नेमा नागरिक दक्षताको सवाल तथा विश्वप्रतिस्पर्धी र जवाफदेहिता सुनिश्चित गर्न, गराउन विविहरू संवेदनशील हुनुपर्नेमा विविहरू कमजोर तथा योजनाविहीन देखिए ।

- हरेक विषय क्षेत्रका सक्षम जनशक्ति विकास गर्न कक्षाकोठाबाट प्रश्नकर्ता, अध्येता जन्माइनु पर्ने हुन्छ र विद्यार्थी वर्गलाई सन्तुष्ट पार्न सक्ने वैज्ञानिक योजना तथा मापदण्ड सिकाइमा प्रारम्भ गर्ने र सबै जिज्ञासा तथा प्रश्नको हल खोज्ने शैक्षिक नागरिकहरू उत्पादन गर्न प्रोत्साहित गर्ने शिक्षा प्रणाली विकासमा विविहरू लाग्नुपर्ने हुन्छ तर जी हजुरीका दास मात्र उत्पादन गर्‍यौँ वा विदेशप्रति आकर्षण बढाउने शिक्षा पढायौँ, सिकायौँ भन्ने अध्ययनले देखायो । 

- विश्वविद्यालयहरू तथा शैक्षिक क्षेत्रको आर्थिक लगानी, शैक्षिक जनशक्ति उत्पादनमा सरकारी, गैरसरकारी, वैयक्तिक लागत र समग्र संस्थागत आर्थिक लगानीको चित्र सार्वजनिक गर्नुपर्ने नीति लिएर मात्र आर्थिक लाभ लागतका आधारमा विद्यार्थीहरूको समग्र शैक्षिक सिकाइको उपलब्धि मापनको गुणात्मकताका परीक्षण गर्ने, गराउने अभ्यासमा विविहरू जानुपर्ने हुन्छ तर त्यतातिर हाम्रा विविहरू ध्यानाकर्षण भएको अध्ययनले देखाएन ।

-  विद्यार्थी उत्तीर्ण दर, श्रेणीगत उत्तीर्ण दरको वैज्ञानिक विभाजन गरी आफ्नो सेवाको मूल्याङ्कन गर्न विविहरू उत्सुक र जिम्मेवार हुनुपर्ने हुन्छ । शिक्षण उपलब्धि तथा नतिजामाथि संस्थागत जवाफदेहिता तथा विश्वसनीय आधार निर्माण हुने, गर्ने विविहरूको दायित्व हुने गर्दछ तर त्यो अभ्यासमा विविहरू लागेको देखिएन । 

- संस्थागत  उपलब्धि र विद्यार्थी सिकाइमा प्राध्यापक संख्या, कर्मचारी व्यवस्थापक संख्या, आफ्ना कुल भर्ना विद्यार्थी र परीक्षामा सहभागी हुनेको संख्या, उत्तीर्ण संख्याका आधारमा आर्थिक लगानीको लाभ लागतको अवस्था सार्वजनिक गर्ने र विषयगत तथा प्राविधिक क्षेत्रमा समेत सम्भव भएसम्म श्रेणीगत उपलब्धि) का आधारमा प्रशस्त आर्थिक लागत तथा सिकाइ गुणात्मकता जस्ता पक्षमा विश्लेषण, समीक्षा गर्नु, हुनु विविहरूको प्राज्ञिक कर्तव्य हुने गर्दछ तर हाम्रो नेतृत्वको चासो त्यो पक्षमा नरहेको अध्ययनले देखायो ।

-  शैक्षिक सुधारका लागि नीति, योजना, कार्यक्रमका साथ जनशक्ति विकास, उत्पादन र प्रयोगको नयाँ नयाँ क्षेत्र विविहरूले निर्धारण गर्नु आवश्यक हुने हो तर अध्ययनले हाम्रा विश्वविद्यालयहरू विद्यार्थी नतिजा, सिकाइ उपलब्धि र आर्थिक लगानीका आधारमा लाभ–लागतको विश्लेषण गरी शैक्षिक नीति, योजना तथा कार्यक्रमबाट शैक्षिक सुधारप्रति संवेदनशील हुन आवश्यक देखिएनन् । यस्तो अवस्थामा उच्च शिक्षा सुधार कसरी प्रश्न उठाउनुपर्ने अध्ययनले देखायो । 

- विविहरूले परीक्षा तथा नतिजाका विषयमा अपूर्ण गाँजेमाजे विवरण मात्र उपलब्ध गराए । त्यसको उपलब्धता र शैक्षिक गुणात्मकताको प्रभाव तथा सर्त विद्यार्थीहरूको सिकाइ उपलब्धि हो भन्ने कुरामा आमूल परिर्वतन हुनुपर्ने देखिन्छ तर हामी चुकिरहेको र नेतृत्वले जिम्मेवारी बहन नगरेको अध्ययनले ठहर्‍याय‍ो । 
- परीक्षा, नतिजा तथा उत्तीर्ण प्रतिशत तथ्यांक व्यवस्थापन र विश्लेषणमा विविहरूको उदासीनता नहट्ने तथा  उच्च संवेदनशीलता नहुने हो भने विश्वविद्यालय शिक्षाको गुणात्मकता र सुधार सम्भव छैन भन्ने देखायो । 

- समग्रमा सबै विविहरूको परीक्षा अभिलेख र श्रेणीबद्धताको स्पष्टतामा धेरै वैज्ञानिक प्रणालीको सुनिश्चितता हुनुपर्ने हुन्छ र विविहरूभित्र शैक्षिक गुणात्मकताको पक्षको अध्ययन विश्लेषणमा संवेदनशीलता पूर्वक सचेततासाथ काम गरी वैज्ञानिकता कायम गर्न अति आवश्यक हुने देखियो, अन्यथा नेपालको शिक्षा प्रणालीको विकास र प्रगतिमा बाधा हुने मात्र होइन, सर्वसाधारणको विश्वास गुम्ने र पूर्ण धराशयी हुने निश्चित छ ।
(उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।) 


Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
x