विचार

हजार सपनाहरूबीच भक्तराज आचार्यको जीवन

कृष्ण कञ्चन |
असोज ६, २०७९ बिहीबार १६:२५ बजे

सोसल मिडियामा सक्रिय ‘मुभी लभर्स’ पेजले भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को विशेष प्रदर्शन गरेको छ । ‘आचार्य’ आजभन्दा एक दशक पहिले सन् २०११ मा रिलिज भएको सिनेमा हो । उतिबेला राम्रो व्यापार गर्न नसकेको यो सिनेमाले अहिले भने विशेष सोमा हल भरिभराउ देख्न पायो । फिल्मकै भाषामा भन्नुपर्दा हाउसफुल भयो । 

भजनशिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित यो सिनेमामा भक्तराजको जीवनका अनेक पाटाहरूलाई केलाइएको छ । उनको संघर्षको जीवन, उनले भोगेका दुःख र उनले पाएको सफलता सिनेमामा प्रस्तुत गरिएको छ । सिनेमाको प्रमुख नायकमा भक्तराजका जेठा छोरा संगीतज्ञ सत्यराज रहेका छन् । उनले आफ्ना पिता भक्तराज बन्ने प्रयास मात्रै गरेका छैनन् पात्रको भूमिकालाई न्याय पनि गरेका छन् । सायद सत्यले भक्तराज आचार्यको पीडा महसुस गरेकाले हुन सक्छ, अभिनयमा न्याय गरेका छन् । भक्तराजलाई स्पर्श गरेका छन् । आँखाले देखेका छन् । मनले बुझेका छन् । एउटै छानामुनि बसेर सुख र दुःख बाँडेका छन् । यसै कारणले पनि भक्तराज बनेको सत्यको स्वरुप प्रभावकारी देखिन्छ ।


श्रोताले गायक मात्रै चिन्छन् । अझै भनौं स्वर मात्रै चिन्थें होला जतिबेला रेडियो नेपालबाट लाइभ गायन हुने गर्दथ्यो । तर एउटा गायकको जीवनमा के के बित्छ ? एउटा गायक हुन उसले कति संघर्ष गर्छ भन्ने कुरा श्रोतालाई ज्ञान नहुन पनि सक्छ । गीत सुनेर मन परेका गायक तथा कलाकारको जीवनी पढेपछि, हेरेपछि अझै प्रेम बढ्न सक्छ । मन नपरेको मान्छे पनि मन पर्न सक्छ । मन परेको मान्छे असाध्यै मन पर्न सक्छ । यसकारण पनि एकपटक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमा ‘आचार्य’ हेर्नुपर्ने देखिन्छ ।

पूर्वी नेपालमा रोगको महामारी फैलिएपछि डुम्सीपाडा भारतमा बसाइँसराइ हुन्छ, उनको परिवारसहित गाउँ नै ।  भक्तराजको सङ्घर्षको जीवनको कथा सुरु हुन्छ । भक्तराज सानो हुँदा नै उनका पिताको देहावसान हुन्छ । उनकी आमाले चिया बगानमा मजदुरी गर्छिन् ।

एकजना गायक उनको डुम्सीपाडामा आएपछि भक्तराजमा पनि संगीतको मोह जाग्छ । उनकी आमाले मजदुरी गरेर पठाएको स्कुल छोडेर उनी सङ्गीत सिक्न थाल्छन् । आमाको इच्छा हुन्छ, छोरा पढेर राम्रो मान्छे होस् तर गीत गाउने काम नगरोस् तर भक्तराजको सपना भने गायक बन्ने नै हुन्छ । एउटा मान्छेभित्र अनेक मान्छेले सपना देख्छन् तर भक्तराजले आफ्ना सपनाको पछाडि दौडिरहन्छन् ।

भक्तराजले चिया बगानमा गीत गाए । कहिले नारायण गोपालको ‘गल्ती हजार हुन्छन् यहाँ होस गुमेको बेला’ सुनेर रोए । आफ्नो गायक बन्ने सपना बोकेर काठमाडौं आउँदा काँधमा हार्मोनियम र एउटा टिनको बाकस बोकेर काठमाडौं पसे । उनले एउटा सानो कोठाका, चिसो कोठाका भित्तालाई गीत सुनाए । घरबेटीलाई गीत सुनाए । घरबेटीको पसलमा आउनेलाई रक्सीसँग झुम्म हुने गरेर गीत सुनाए । गीत गाएर केही पार नलागेपछि चिया बगानमा मजदुरी गरेर बोकेर आएको पैसा सकिएपछि, भोको पेट भएपछि घरबेटीलाई तिनुपर्ने केही पैसा बुझाएर हार्मोनियम बोकेर भक्तराज पुनः सपनाहरूलाई काठमाडौंमै छोडेर डुम्सीपाडा भारत फर्किन्छन् । 

हजार सपनाको माया लागेर आउँछ 
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ 

डुबर्सको चिया बगानमा मात्रै सीमित रहेको भए भक्तराज आज भक्तराज हुने थिए या थिएनन्, त्यो अज्ञात कुरा नै भयो । काठमाडौंबाट फर्किएको केही समयमा दिदीको घरमा केही कुरा नमिलेपछि उनी फेरि हार्मोनियम बोकेर काठमाडौं छिर्छन् । काठमाडौं आउँदै गर्दा उनले बाटोमा भन्छन्, ‘सबैलाई भनिदिनू भक्तराज आचार्य बस चढेर सपना पूरा गर्न हिँड्यो ।

उनका कति सपना पूरा भए, कति सपना अधुरा रहे त्यो भक्तराजलाई नै थाहा होला । २०३० सालमा अधिराज्यव्यापी गीत प्रतियोगितामा भने उनले प्रथम स्थान हासिल गरे । उनीलाई नै थाहा थिएन उनले स्वर्ण पदक जितेको उनी अभावको खाडलमा भासिएका थिए । बिरामी थिए । सायद भोकभोकै बन्द कोठामा रुमल्लिरहेका थिए । अभावको अगाडि स्वर्णपदक के गर्नु, उनले ६०० रुपैयाँमा त्यो पनि बेच्छन् ।

उनलाई रङ्गकर्मी सुनील पोखरेलले अन्तर्वार्ता लिइरहेका छन्, भक्तराज आफ्नो अतीत ओकलिरहेका छन् ।

रेडियो नेपालको अधिराज्यव्यापी गीतमा स्वर्ण जितेपछि रेडियो नेपालमा नै करारमा जागिर खान थाल्छन् भक्तराज । यहाँबाट पारिवारिक जीवनमा केही सुखद क्षण आएको देखिन्छ । दरबारमा गीत सुनाउँछन् तर व्यवस्थापक अरु नै हुन्छ । पैसा उनको भागमा थोरै पर्छ । करारको रेडियोको जागिर, डेराको बासमा जीवन जेनतेन चलिरहेको हुन्छ । 

‘माया मेरी साँझ बनी डोली चढी आउँछिन् 
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्’

भक्तराजले गाएको गीत जसरी नै उनको बिहे भयो । उनले दुई हजार रुपैयाँ ऋण गरेर नै डोली चढे भनौं बिहे गरे । डेरामा लिएर आए । भक्तराजको जीवनले नयाँ मोड लियो । अब यो काठमाडौंको बिरानो सहरमा उनी एक्लै भएनन् । मन लागेपछि गीत सुनाउने भित्ता मात्र रहेनन् उनकी श्रीमती पनि भइन् आधारातमा सङ्गीत फुर्दा उनको अलाप सुन्ने । 

‘जति चोट दिन्छौ देऊ मायालु 
मुटुभित्र साँचेर राख्नेछु’

कहीँ साँघुरो र चिसो कोठा भएको हुनाले भक्तराज डेरा सरे । कहीँ घरबेटीको साँझ–बिहानको गन्थनले डेरा सरे । बिहे गरेपछि त उनी डेरा सरी नै रहे । हार्मोनियम र त्यो टिनको बाकस पनि भक्तराजसँगै सरिरह्यो । एकपटक आधारातमा भक्तराजलाई संगीत फुर्छ उनी हार्मोनियम बजाउन थाल्छन् उठेर उनकी श्रीमतीले भन्छिन्, ‘म दुई जिउकी भएकी छु सक्दिनँ है अब अन्त डेरा सर्न ।’ भक्तराज श्रीमतीले ओढेको सिरक सर्लक्क तानेर सिरक ओढेरै बजाउँछन् । आदतले मान्छेलाई के के बनाउँछ, कतिसम्म गर्छ उनलाई संगीतको आदत बसेको थियो । 

जीवन भन्नु त घात छ 
मृत्यु भन्नु त सास छ 
न बास छ न सास छ 
मान्छेहरूकै त्रास छ । 

भक्तराजले गाएको यो गीत जस्तै यहाँ मान्छेहरूकै त्रास छ । उनीलाई पनि त्यस्तै भयो । उनीमाथि सामूहिक हमला भयो एक रात । जुन रात उनले गुलाम अलीलाई भेटेर आएका थिए । गुलाम अलीका गीत सुनेर आएका थिए । गुलाम अलीलाई गीत सुनाएर आएका थिए । गुलाम अलीले उनीसँग फोटो खिचेका थिए । फर्किंदै गर्दा उनी र उनको एकजना साथी प्रसन्न हुन्छन् कारण गुलाम अलीलाई भक्तराज आचार्यले गीत सुनाएका थिए । हिँड्दै गर्दा भट्टी आइपुग्छ, उनीसँग भएका साथीले केही पिऊँ खुल्ला छ भनेर अनुरोध गर्छन् । भक्तराज आज नपिउने, रात धेरै बितेको कुरा गर्छन् । साथी एक्लै भित्र छिर्छन् र पिउँछन् । त्यहाँ अरु कोही पनि हुन्छन् विपीन कार्कीको अनुहार यति बेला देख्न सकिन्छ । भित्रछिरेका साथीले आफूसँग पैसा नभएको र पैसा भएको साथी बाहिर कुरिरहेको छ भनेपछि बाहिर आएर आक्रमण गरिएको देखाइएको छ । के भक्तराजलाई बाहिर नै आक्रमण गरिएको थियोे त ? के त्यो दिन भक्तराजले पिएका थिएनन् होला ? यो कुरा स्वयं भक्तराजलाई नै थाहा होला । आक्रमण गर्ने मान्छे समातियो उपचार खर्च पनि गर्यो तर ऊ को थियो किन कारबाही भएन किन अज्ञात राखियो यो कुरा उनको पारिवारिक स्रोतलाई नै थाहा होला ।

टाउकोमा गहिरो चोट लाग्यो सयवटा टाँका लागे यो कुरा आचार्यको प्रदर्शनमा आएका उनका छोरा सत्यले नै भनेका छन्, एउटा इन्टरभ्युमा । बुवालाई आक्रमण गर्ने मान्छे हाँसिरहेको स्टेजमा चढिरहेका भेटिन्छन् । भगवानले उनीहरूलाई हेर्नेछन् । भगवानले नै हेर्ने भए हामीले के भन्नु ! 

आक्रमणपछि भक्तराजको जिब्रोमा सेतो दाग देखिन्छ, डाक्टरले क्यान्सर भएको घोषण गरेपछि सुरिलो त्यो स्वर हामीमाझबाट हराउँछ । उनको जिब्रो काटिन्छ । जीवन भन्नु त घात छ । मृत्यु भन्नु त सास छ, भक्तराजले आफ्ना लागि नै गाएको जस्तो बन्यो यो गीत पनि । 

भक्तराज स्वरविहीन बने । आवाजविहीन बने । उनको स्वर हुँदा खचाखच भरिने उनको घर सुनसान बन्यो । मान्छेहरू आउन छोडे । सिनेमाको अन्त्यतिर उनले आत्महत्याको प्रयास गरेको देखिन्छ डोरीले पर्खिरहेको हुन्छ । उनकी श्रीमती त्यो भन्दा केही समय अगाडि पुग्छिन् र भेटाउन दिन्नन् पर्खिरहेको डोरी । र भक्तराज इतिहास बनेर आज पनि हाम्रो सामु उभिएका छन् । 

रोशन राईले निर्माण र प्रशान्त रसाइलीले निर्देशन गरेको यो सिनेमामा सत्यराज आचार्य, गुलाम अली, नवराज लम्साल, सुनील पोखरेल, विपीन कार्की, सौगात मल्ल लगायत अन्य कलाकारलाई देख्न सकिन्छ ।

‘आचार्य’ इतिहास बोकेको सिनेमाका रुपमा देख्न सकिन्छ । भक्तराज आचार्यका सबल पक्षलाई मात्रै प्रस्तुत गरिएन कतै ? उनको अभाव र सङ्घर्षलाई मात्रै कतै चित्रण गरिएन भन्ने कुरा दर्शकको मनमा उब्जिने केही प्रश्न हुन । जीवनी आत्मकथामा व्यक्तिका गुन मात्रैको धेरै चर्चा गरेको देखिन्छ यो पनि यस्तै त भएन ? भक्तराजमा के एउटा पनि नराम्रो कुरा आदत थिएन होला र ती कुरालाई पनि समेटेको भए ? ‘आचार्य’ अझै जीवन्त हुने थियोे होला । भक्तराज को हुन् भन्ने कुरा छर्लङ्ग हुने थियोे । खैर तैपनि सकारात्मक मात्रै सोच्ने हो भने अन्यत्र ध्यान नदिने हो भने राम्रो छ । 

आज भक्तराजको बाटोलाई पछ्याउँदै उनका दुई सुपुत्र सत्य र स्वरूप अगाडि बढिरहेका छन् । यो भक्तराज र नेपाली सङ्गीत जगत्का लागि महत्त्वपूर्ण कुरा हो । भक्तराजले अब गाउन नसके पनि उनले गाएका कालजयी गीत सधैं अमर छन् र अमर रहिरहनेछन् ।

आचार्य सिनेमा पुनः प्रदर्शन हुने भन्ने कुरा छ आशा छ पुनः प्रदर्शन होस् र सफलता हासिल गरोस् । विशेष प्रदर्शनमा जस्तै हाउसफुल होस् । सबैले एउटा इतिहास भक्तराज आचार्यको जीवनी हेर्न पाऊन् । सकिन्छ भने कसैले भक्तराजको जीवनी नामक पुस्तक पनि प्रकाशन गरुन् । 
प्रिय गायक ! भक्तराज आचार्यलाई स्वास्थ्यलाभ तथा दीर्घायुको कामना । 
 


Author

थप समाचार
x