सरकार, बिहे गर्ने उपयुक्त उमेर कति हो ?
झन्डै डेढ/दुई महिनाअघिको कुरो हो । एकदिन अचानकएउटी १८ वर्षकी सुन्दर किशोरी आफू पढ्न बसिरहेको घरको कुनै पनि सदस्यलाई खबरै नगरी अचानक हराइन् । उनकी दिदीले गाउँमा आमालाई साथ/सहयोग चाहिएको हुँदा बहिनी गाउँमै फर्किएकी बताइन् । उनको कुरा कानबाट त सुनेँ, तर मनले भने पटक्कै मानेन । राम्रो अध्ययनका लागि काठमाडौँ राखेर पढाइ राखेकी छोरीलाई एघार पास नै नगराई घरको काममा सहयोगका लागि कुन स्वस्थ र सुसूचित आमाले बोलाउँथिन् र ?
त्यसमाथि उनीभन्दा सानी बहिनीलाईसमेत काठमाडौँमै ल्याई पढाउने कुरो चल्दै थियो । उनको काठमाडौँ बसाइ र अध्ययनमा धेरथोर सहयोग हुने ठानेर मैले उनका लागि नोकरीको समेत व्यवस्था गरिसकेकी थिएँ । यसरी अचानक विनाजानकारी घरबाट हिंडेकोमा मुटुमा कताकता कसैले नराम्रोसँग चिमोटी दिएझैँ लाग्यो । अलिअलि मन पनि दुख्यो र चिन्ता पनि लाग्यो ।
तर एकदिन अचानक ती किशोरीलाई विवाहित युवतीको भेषमा फेसबुक वालमा देखँे । उनीले विवाहअघि र पछि आफ्नो मान्छे याने पहिलेका प्रेमी र हालका पतिसँग खिचेका सुन्दर फोटोहरू मन खोलेर पोष्ट गरेकी रैछन् ।
आजकलका केटाकेटीहरू किन यति धेरै भावुक हुँदा रैछन् ?किन यति छिटो प्रेमलाई विवाहमा परिणत गर्न हतारिन्छन् ? आफ्नो अध्ययन, भावी सन्तान र बिवाहित जीवनलाई अझ सुन्दर र सुनिश्चित गर्न विवाहलाई अलि पर धकेल्न किन धैर्य गुमाउँछन् ? सहरमा बसेर पढिरहेकै थिइन् । कचकच गर्ने अभिभावक पनि सँगै थिएनन् । कुरा काट्ने गाउँले पनि आसपासमा थिएन । आफ्नो अध्ययन र प्रेमलाई सँगसँगै सुन्दर भविष्यतिर डोर्याउँदै लगेको भए कति राम्रो हुनेथ्यो ? यौवन र त्यसको चाहनामा अहिलेका युवापिँढी कति चाँडो कमजोर हुन्छन् ? दुःख लाग्छ ।
तर यी किशोरीको केस नेपालको पहिलो केस भने पक्कै होइन । उनी नेपालको विद्यमान परिस्थितिको एक प्रतिनिधि पात्र मात्र हुन् । कतै मागी विवाह त कतै यस्तै अध्ययनका क्रममा प्रेम र मायाजालमा परेर नेपालको कानुनले तोकेको भन्दाकम उमेरमै विवाह गर्नेको संख्या नेपालमा लामै लर्को छ । वि.सं २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध–संहितामा विवाहका लागि पुरुष तथा महिला दुवैको उमेर २० वर्ष हुनुपर्ने प्रावधान छ ।
यदि २० वर्ष नपुगी विवाह गरिएमा त्यस्तो विवाह स्वतः बदर हुने ब्यवस्था छ । साथै तोकिएको उमेर नपुगी विवाह गर्ने तथा गराउने दुवै पक्षलाई ३ वर्ष कैद र ३० हजारसम्मका जरिवानाको सजायसमेत तोकिएको छ । यद्यपि अझै पनि नेपालमा २० देखि ४९ वर्षका १०० जना विवाहित महिला मध्ये झन्डै ३९ जनाको १८ वर्षभित्रैमा विवाह हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
विगत ३/४ वर्षदेखि बाँकेका महिलाहरूले १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गर्नाको साथै विभिन्न गाउँपालिका, जिल्ला प्रशासन, उपमहानगरपालिका र विभिन्न वडा कार्यालयहरूमा मागपत्र समेत बुझाएका छन् ।
देशको कानुन एकातिर, समाजको रीति–रिवाज, धर्म संस्कृति, परम्परा, आर्थिक अवस्था तथा सामाजिक परिवेश अर्कातिर भएको कारण समाजमा धेरै दुःख र समस्याहरू निम्त्याइरहेका छन् भन्दै देशको ठाउँ–ठाउँबाट बेलाबखत विवाहको उमेर हद घटाउनुपर्ने माग उठिरहन्छन् । विगत ३/४ वर्षदेखि बाँकेका महिलाहरूले १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गर्नाको साथै विभिन्न गाउँपालिका, जिल्ला प्रशासन, उपमहानगरपालिका र विभिन्न वडा कार्यालयहरूमा मागपत्र समेत बुझाएका छन् ।
यी माथि उल्लेखित कारणले हो या विवाहको उमेर हद २० वर्ष हुँदाहुँदै देशमा १८ वर्षभित्रै विवाह गर्नेको संख्या उल्लेखनीय भएकाले हो, गत वर्ष २०७८, असोज ४ गते सोमबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विभिन्न पार्टीका सांसदहरूले विद्यमान विवाहको उमेर हद घटाउनुपर्नेमा पैरवी गरे ।
बैठकमा सांसदहरूले विवाहका लागि २० वर्षको उमेर हद सामाजिक मूल्य, मान्यतासँग तालमेल नमिलेको तर्क राखे । लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसदले मधेसमा २० वर्षभन्दा कम उमेरमै विवाह हुने परम्परा यथावत् रहनाले विवाह दर्ता र बालबालिकाको जन्मदर्ता समेत हुन नसकिरहेको समस्या उजागर समेत गरेका थिए ।
यस वर्ष फेरि संसदमा विवाह गर्ने उमेर हद घटाउने विषयमा बहस सुरु भयो । गतअसार १ गते बुधबार, २०७९ मा संसदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले बिहेको उमेर हद २० वर्ष भएको प्रावधानले समाजमा अपराध बढाउने काम भइरहेको दाबी गरे । मन्त्री शर्माले देशमा १६ वर्षमा ब्यक्तिले नागरिकता पाउने, १८ वर्षमा भोट हाल्न मिल्ने, तर विवाह गर्न भने २० वर्षसम्म कुर्नुपर्ने अवस्थामा कुनै ‘स्ट्यान्डर्ड’नभएकाले उक्त कानुनको समीक्षा आवश्यक देखिएको हुँदा कानुन मन्त्रालयले समीक्षाको प्रक्रिया थालिसकेको ब्यहोरासमेत अनुरोध गरे ।
झट्ट सुन्दा र पढ्दा सुरुमा माथि उल्लेखित माग र भनाइहरू तर्कसंगत नै लागेको थियो । किशोर किशोरीहरू स्कुल/कलेज पढ्दा पढ्दै एक–अर्कासँग अर्कासित हुन्छन् । प्रेम गर्छन् । अनि सँगै जीवन बिताउने चाह राख्छन् । तर देशको कानुनले गर्दा अभिभावकले उनीहरूको प्रेम सम्बन्धलाई मन्जुरी दिँदैनन् । कोर्टमा उनीहरूको विवाह दर्ता हुने सवाल नै भएन । आफू खुसी बिहे गरे जेलपर्ने जस्ता डरले किशोर किशोरीहरू आत्तिएर अन्त्यमा निरास भई आत्महत्याको बाटो रोज्छन् ।
केही महिना अघि मात्र स्कुल पढ्दै गरेका दुई किशोर–किशोरीले निर्माण हुँदै गरेको भवनबाट कुदेर आत्महत्या गरेको खबर पढ्नमा आएको थियो । कसै कसैको सानै उमेरमा एक अर्कासित मन मिल्छन् । प्रेम हुन्छन् । तर हाम्रो देशमा विकसित राष्ट्रमाझैँ अभिभावकको स्वीकृतिले स्वतन्त्र रुपले ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड बनाएर हिंड्ने वातावरण अझै बन्न सकेको छैन, जसले गर्दा समय–समयमा यस्ता नराम्रा दुर्घटना देखापर्छन् ।
जहाँ छोरा र छोरीबीच भेदभावको खाडल गहिरो छ र छोरीलाई बोझको रुपमा हेर्ने संस्कार छ, त्यही समाजमा सानो उमेरमा विवाह गरिदिने प्रचलन अत्यधिक हुने गर्छ ।
जहाँ किशोर–किशोरीको प्रेम सम्बन्ध दुबै परिवारलाई मन्जुर हुन्छ, त्यहाँ कानुन बाधा बन्दैन । उनीहरूको धुमधामले विवाहहुन्छ । तर जहाँ दुईमध्ये कुनै एक परिवारलाई उनीहरूको प्रेम सम्बन्ध स्वीकार्य हुँदैन, तब त्यहाँ प्रेमी प्रेमिकालाई अलग्याउन अनेक प्रपञ्च खडा हुन्छ । पुलिस केस गर्ने, जेल चलान गर्ने, इज्जतका लागि शारीरिक आक्रामणका साथै ज्यानसमेत लिने काम हुन्छन् । यस्तो केस धेरै जस्तो बिरादरी, जात, वर्ग, धर्म आदि नमिल्ने केसमा हुन्छन् ।
अझै क्यानाडा, बेलायत, जापानलगायत अमेरिका (अधिकांश राज्यहरूमा) जस्ता विकसित मुलुकहरूमा पनि विवाहको कानुनी उमेर हद १८ वर्ष नै कायम छ । अझ जापानमा त २०२२ बाटमात्र केटाकेटी दुवैको कानुनी उमेर हद १८ वर्ष कायम गरेको हो । योभन्दा पहिले केटीको उमेर हद १६ वर्ष मात्र थियो । यति मात्र नभई दक्षिण एसियाका अधिकांश देशहरूमा पनि विवाहको उमेर हद १८ वर्ष नै हो । यी सबै कुराहरूलाई मध्य नजर गर्दा नेपालको उमेर हद घटाउने विषय सुरुमा सान्दर्भिकझैँ लागेको थियो ।
तर विषय–बस्तुलाई अलि गहिरो ढंगबाट सोच्दा सरकारको यो निर्णय गलत भएको निष्कर्षमा पुगेँ म । छोरी मानिसको विवाह छिटो हुँदा उनीहरूले जीवनमा अनेक किसिमका समस्याहरू झेल्नुपर्ने विषयलाई दृष्टिगत गरी छिमेकी राष्ट्र भारतले गत वर्ष सन् २०२१ म छोरी मान्छेको उमेर हद १८ वर्षबाट बढाएर छोरासरह २१ वर्ष कायम गरेको छ । यस्तै अर्को छिमेकी राष्ट्र चीनमा पनि पुरुषको विवाहको कानुनी उमेर हद २२ वर्ष र महिलाको २० वर्ष कायम गरिएको छ । यति मात्र नभई चीनले जनसंख्या बढीलाई सीमित गर्न कानुनले निश्चित गरेको उमेर हद भन्दा पनि ढिलो विवाह गर्न आफ्ना नागरिकलाई उत्पे्ररित गरेका छन् ।
जहाँसम्म विवाहको औसत उमेरको कुरा गर्ने हो भने हामी यसमा पनि आफ्नो छिमेकी देशहरूभन्दा धेरै पछाडी छौं । भारतमा महिलाको विवाहको औसत आयु २२.१ वर्ष छ । चीनको त झन् पुरुषको ३१.८९ र महिलाको ३०.७९ वर्ष छन् । यस्तै,श्रीलंकामा पनि पुरुषको २७.३ र महिलाको २४.१ वर्ष छन् । पाकिस्तान जस्तो मुस्लिम राष्ट्रमा पनि विवाहको औसत आयु १८.६ वर्ष छ । सहरी क्षेत्रमा त झन् औसत आयु १९.१ वर्ष छ । जबकि नेपालको औसत आयु मात्र १७.९ वर्ष छ ।
जहाँ गरिबी, अशिक्षा, अज्ञानता र बेरोजगारी ब्याप्त छन् । जहाँ रोग, भोक र शोकबाट जनता आक्रान्त छन् । जहाँ समाज आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिछडिएका छन् । जहाँ छोरा र छोरीबीच भेदभावको खाडल गहिरो छ र छोरीलाई बोझको रुपमा हेर्ने संस्कार छ, त्यही समाजमा सानो उमेरमा विवाह गरिदिने प्रचलन अत्यधिक हुने गर्छ ।
यसैले विवाहको कानुनी उमेर हदको समीक्षा होइन सरकार ! देशमा छोरा–छोरीलाई समान शिक्षाको अवसर प्रदान गर्ने, रोग र भोक हटाउन रोजगारीको अवसर बढाउने, महिलाहरूका लागि विभिन्न सीपको विकास गर्ने, छोरा–छोरीबीच भएको भेदभावको गहिरो खाडलपूर्ण सामाजिक चेतना फैलाउने आदि, जस्ता विषयमा अत्यन्त सुक्ष्म ढंगले समीक्षा हुनुपर्यो । यस कार्यका लागि सांसद, मन्त्रीहरूको मात्र नभई सम्बन्धित विषयका विशेषज्ञहरूको साथ सहयोग र परामर्श लिनुपर्यो । अब २/३ महिनाभित्रै नयाँ सरकार बन्दैछ । देशमा जुनसुकै पार्टीको सरकार बनोस् । तर देशको समस्याको सही समीक्षा गर्नसक्ने सक्षम सरकार बनोस् । मेरो यही कामना र ईश्वरसित प्रार्थना छ ।
प्रतिक्रियाका लागि : [email protected]
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया