विचार

सिम्रौनगढको ऐतिहासिक पृष्ठभूमि एवं धार्मिकस्थल

परशु घिमिरे |
असोज २६, २०७९ बुधबार १६:२२ बजे

बारा जिल्लाअन्तर्गतको दक्षिण पूर्वी कुनामा पर्ने भू–भाग सिम्रौनगढ (सिमरावनगढ) क्षेत्र र बारागढीलाई नै जिल्लाको प्रमुख ऐतिहासिक स्थलहरू मान्नुपर्ने बाध्यता छ । किनभने नेपाली इतिहासमा यस क्षेत्रको अस्तित्व धेरैजसो सिम्रौनगढ र केही मात्रामा बारागढीले प्रतिनिधित्व गरेको छ । २०१९ सालमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित नेपाल उपत्यकाको मध्यकालीन इतिहासमा ई.सं.१०९७ मा सिम्रौनगढ तिरुहत राज्यको राजधानीको रूपमा रहेको थियो भन्दै दक्षिण भारतबाट कर्णाटक वंशी नान्यदेव यहाँका प्रथम राजा थिए भनी उक्त पुस्तकको पृष्ठ २८ देखि ३३ सम्म उल्लेख भएको छ । सुरुमा यो राज्य सायद दक्षिण भारतका चालुक्य सम्राटका भारदारीको रूपमा शासित थियो ।

त्यसपछि ई.१०९७ तिर उनले स्वाधीनताको घोषणा गरेका थिए भनी १९७० मा प्रकाशित हिस्ट्री अफ नेपालमा विक्रम जीतले लेखेका छन् । राइट वंशावलीका अनुसार नान्यदेवले तत्कालीन नेपाल उपत्यकामा हमला गरी भक्तपुरलाई आप्mनो राजधानी बनाए भनी भारतबाट प्रकाशित सुशील गुप्तद्वारा लिखित नेपालको इतिहास नामक पुस्तकको पृष्ठ १०० मा लेखिएको छ । तर नान्यदेवले उपत्यका विजय गरी राज्य गरे भन्ने कुराको ऐतिहासिक प्रमाण अहिलेसम्म भेटिएको छैन । इतिहास संशोधन नम्बर ३९ मा इतिहासकार धनबज्र बज्राचार्यको भनाइअनुसार सिम्रौनगढका तिरहुतियाहरूले नेपाल उपत्यकाभित्रको आन्तरिक वातावरण आप्mनो निम्ति उपयुक्त लागेपछि बराबर हमला गर्ने गर्दथे ।


तर पहिलेका खस तथा मुसलमान जातिका आक्रमणकारीहरूले नसके जस्तै तिनीहरूले पनि उपत्यकामा आप्mनो अधिपत्य जमाइराख्न सकेनन् । तसर्थ, नान्यदेवपछिका शासकहरू क्रमशः गंगा देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपाल सिंह, हरिसिंह देवले सिम्रौनगढमै राजकाज गरेका थिए । यसको प्रमाणका लागि तिब्बती तीर्थयात्री धर्मस्वामीले रामसिंह देवलाई ई.सं. १२३४ मा तिरहुतका राजा भनी लेखेको रिसर्चर केपी जयसवालले आप्mनो बायोग्राफी अफ धर्म स्वामीमा लेखेका छन् । सन् १९५९ (६३ वर्षअघि) पृष्ठ ५७ देखि ६० सम्म र ९८ देखि १०० सम्म उल्लेख गरेका छन् । गोपाल वंशावलीलगायतले पनि नान्यदेव र उनका सन्तान काठमाडौंका राजा भनी उल्लेख गरेका थिएनन् ।

त्यसपछिका शासक हरिसिंह देवले सिम्रौनगढमै रही शासन चलाएको कुरा इतिहासकारहरूले दर्शाएका छन् । तर सन् १३२४ ई. मा तत्कालीन दिल्लीका शासक तुगलक वंशी सुल्तान गयासुद्दीनले बंगालमाथि आक्रमण गरी फर्कदा स्थानीय राजाले तिनीहरूमाथि आक्रमण गरेका थिए । तर सुल्तानको फौजले ती राजालाई पराजित गरी जंगलको बाटो लखेट्दै जाँदा एउटा ठूलो किल्ला फेला परेको थियो । र, त्यहाँ ठूलो लुटपाटपछि तिरहुतको शासन एउटा अहमद खाँको हातमा छोडी गए भनी २०२२ सालमा प्रकाशित भएको बालचन्द्र शर्माले लेखेको नेपालको ऐतिहासिक रूपरेखा पुस्तकको पृष्ठ १३२ देखि १३५ सम्म उल्लेख गरिएको छ । इतिहासकार धनबज्र बज्राचार्यका अनुसार उक्त गयासुद्दीन तुगलक बंगालमाथिको आक्रमणपछि तिरहुतको बाटो फर्केर त्यहाँ गयासुद्दीन र हरिसिंह देवको बीचमा युद्ध भई हरिसिंह देव नेपालको पहाडी भागतिर लागेका थिए भनी इतिहासकारहरूले बताएका छन् । एउटा भनाइअनुसार गयासुद्दीनको उक्त अभियान बौद्ध र हिन्दू सभ्यताको पूर्ण संहारका लागि गरिएको थियो । यो कुरा सिम्रौनगढमा रहेका देवताका मूर्तिहरूलाई जुन तरिकाले क्षति पु¥याइएको छ त्यसबाट पुष्टि हुन्छ ।

यो विषयमा एउटा किंवदन्ती पनि छ । एकदिन अवधका सूर्यवंशी राजा रामसिंहका छोरा हरिसिंहलाई तुलजा (तलेज्य) भवानीले आपूmलाई साथ लिई पहाडतिर लाग्ने आज्ञा दिइन् । आज्ञाअनुसार हरिसिंह (रानी देवल देवी) ले उक्त तलेज्यूलाई साथ लिई भादगाउँमा आइपुगे र स्थानीय राजाले आप्mनो राजगद्दी हरिसिंहलाई छाडिदिए भनिएको छ, तर कतैबाट पनि पुष्टि हुनसकेको छैन ।

राजा हरिसिंहले तलेज्यूको निम्ति दरबारमा एउटा भव्य मन्दिर बनाइदिए, जहाँ तिनलाई अद्यावधि पूजा गरिन्छ । हरिसिंह देव नेपाल उपत्यकातिर लागेपछि त्यहाँ कसको शासन चल्यो भन्ने सिलसिलामा इतिहासकार बालचन्द्र शर्माले एउटा मिथिला जनश्रुति पनि उल्लेख गरेका छन् । सोहीअनुसार हरसिंह देव (अथवा हरिसिंह देव) लाई दिल्लीका सुल्तानले पराजित गरेपछि ती सुल्तानले उनका महेश्वर ठाकुर नाम गरेका ब्राह्मण मन्त्रीलाई मिथिलाको राजा बनाएका थिए । यिनैको पालादेखि सुगौना राजवंशको स्थापना भयो । यसै वंशमा शिवदेव राजा भए, जसको दरबारी कवि महाकवि विद्यापति थिए भनी बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रूपरेखा नामक पुस्तकको पृष्ठ १३३ मा लेखेका छन् । आजकल पनि सिम्रौनगढमा स्थानीय जनश्रुतिअनुसार सेवसिंह भन्ने राजाको राज्य थियो भनिन्छ । यसको संकेत सायद उही शिवदेवलाई गरिएको हुन सक्छ ।

तर यी शासकहरूको उल्लेखपछि धेरै समयसम्मका लागि सिम्रौनगढसम्बन्धी जानकारी प्राप्त भएको छैन । सोझै ईश्वीको सोह्रौं शताब्दीमा पाल्पाली सेन वंशका राजा मुकुन्द सेन (प्रथम) का कान्छा छोरा लोहाङ सेनले पूर्वी तराईहरू जित्दै लगी पूर्वमा महानन्दासम्म पुगेको इतिहासमा उल्लेख छ । यसक्रममा उनले पूर्वी तराईको विजय गर्न हिँड्दा अधवारा (अधावार) नदी तर्नासाथ मगरातको एउटा सानो रियासत उनको हात पर्‍यो । त्यसपछि उनले मोहन ठाकुर भन्नेलाई हराएर वर्तमान महोत्तरी जिल्लाको भागमा दख्खल जमाएका थिए ।

तत्पश्चात्  क्रमशः कोसी क्षेत्रका सानातिना स्वतन्त्र रियासतहरूउपर दख्खल जमाउँदै उनी कोसीको किनारसम्म पुगे भनी अन एकान्ट अफ दी किङ्डम अफ नेपालको पृष्ठ २०१ र २३२ देखि २३६ सम्म इतिहासविद् ह्यामिल्टनले लेखेका छन् । यसरी सिम्रौनगढ क्षेत्रमा त्यतिबेला लोहाङ सेनसित कुनै खास मुठभेड भएको उल्लेख नभएको र यस इलाकामा भन्दा अगाडिको भू–भाग सानातिना स्वतन्त्र रियासतहरू भएकाले सिम्रौनगढलगायत यस इलाकामा सानातिना निर्बल रियासतहरू मात्र थिए कि भन्ने अनुमान गर्न सकिन्छ ।

उनको शेषपछि यस विशाल क्षेत्रमा उनका छोरा राघव सेन र त्यसपछि हरिहर सेन राजा भएका थिए । उनको पालापछि उनका दुई भाइमा राज्य विभाजन हुँदा कोसीभन्दा पश्चिमको इलाका कान्छा छोरा शुभ सेनको भागमा परेको थियो । शुभ सेनलाई आप्mनो राज्यकालमै आप्mना मन्त्रीहरूको षड्यन्त्रबाट राज्यबाटै हात धुनुपरेको थियो । पछि विद्याचन्द्र राईको सहायताले शुभ सेनका दुई छोराहरूमा आप्mनो पैतृक राज्यको विभाजन हुँदा कमला नदीभन्दा पश्चिमको भाग कान्छा छोरा मणिक सेनको हातमा पर्न गयो । मणिक सेनको पनि चार भाइ छोरा थिए । र, बीस वर्षको राज्यकालपछि राज्य विभाजन हुँदा जेठो छोरा हेमकर्ण सेन मकवानपुरको पैतृक गद्दीको हकवाला बनेका थिए । उनका दोस्रा भाइ जगत सेनलाई राज्यका किरात मन्त्रीहरूले कमला र कोसीको बीचमा एउटा सानो रियासत (चौदण्डी) को राजा बनाएका थिए । यसरी वर्तमान बारा जिल्ला हेमकर्ण सेनको मकवानपुरको राज्यभित्र पर्न गएको थियो ।

हेमकर्ण सेनले आप्mनी छोरी इन्द्रकुमारीको विवाह त्यसबेला गोरखाका युवराज पृथ्वीनारायण शाहसँग गरिदिई सम्बन्ध कायम गरेका थिए । हेमकर्ण सेनको शेषपछि दिग्बन्धन सेन मकवानपुरका राजा भए । एकातिर गोरखाका राजा पृथ्वीनारायण शाहको आप्mनो ससुरालीसितको सम्बन्ध खराब रहेको र अर्कोतिर काठमाडौं उपत्यकालाई नाकाबन्दी गर्ने योजनाको निमित्त पनि आवश्यक परेकाले सन् १७६२ ई. मा पृथ्वीनारायण शाहका तीनजना भाइ कीर्तिमोहन शाह, दलपति शाह र दलजित शाहको नृतृत्वमा फौज पठाई मकवानपुर हात पारे र यसरी बारा जिल्लाको वर्तमान इलाका पनि गोरखाली राज्यमा मिल्न पुग्यो । पराजित राजा दिग्बनधनको आह्वानमा बंगाल र बिहारका नवाव कासिम अलि खाँ (मिरकासिम) ले मकवानपुरमा सन् १७६३ मा आक्रमण गरेका थिए । तर गोरखालीको हातबाट ती नवावका फौजले ठूलै नोक्सानीको साथ पराजित हुनु परेको थियो । यसरी बारा जिल्लासमेत वडियादेखि कमलासम्मका सम्पूर्ण इलाका वर्तमान नेपालको एक भाग हुन पुग्यो भनी इतिहासविद् बाबुराम आचार्यले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग–३ को पृष्ठ ४०१ देखि ४०९ सम्म उल्लेख गरेका छन् ।

त्यसपछि नेपालको इतिहास क्रममा बारा जिल्लाको सिम्रौनगढ इलाकाको नाम एकचोटि फेरि उल्लेख हुन पुग्यो भनी इतिहासविद्हरूले लेखेका छन्। पृथ्वीनारायण शाहविरुद्ध काठमाडौंका जयप्रकाश मल्लको सहायताको निम्ति सन् १७६७ मा इस्ट इन्डिया कम्पनीद्वारा पठाइएको कप्तान किन्लोकको नेतृत्वमा २,४०० सिपाही सहितको ब्रिटिस सेनाले सिन्धुलीगढीमाथि आक्रमण गर्दा पृथ्वीनारायण शाहको सेनाले यस आक्रमणलाई नराम्रोसँग विफल गराई किन्लोकको सेनाको ठूलो नोक्सानी गराएको थियो । यो नोक्सानीको बदला लिन र त्यसको परिपूर्तिसमेत गर्न उक्त अफिसरले मकवानपुरको तराई इलाकालाई कब्जामा लिएर रकम उठाउने काममा लगाएका थिए । दुई वर्षसम्म यहाँको उठ्ती उठाइसकेपछि सो इलाकालाई पुनः नेपालको राजालाई फर्काइयो ।

त्यसबेला सिम्रौनगढको प्रसन्नाअन्तर्गत नन्नोर र रौतहट भन्ने दुई टप्पाहरू थिए, जसमध्ये उक्त इलाका फर्काउने बेलामा रौतहट टप्पा मात्र फर्काई नन्नोरका बाइसवटा गाउँहरू कम्पनीले आप्mनै कब्जामा राखेको थियो । यसबाट नेपालीहरूलाई चित्त नबुझेकाले त्यतिबेला कम्पनी सरकारका प्रशासक वारेन ह्यास्टिङ्सले यस कुराको पुनरावलोकन गरे, तर उक्त नन्नोर इलाका कम्पनीकै अधीनमा रहने निर्णय लिएका थिए भनी १९७० मा प्रकाशित हिस्ट्री अफ नेपाल, हसरत र विक्रम जीतले पृष्ठ २५४ मा उल्लेख गरेका छन् । तर वारेन ह्यास्टिङ्सको उक्त निर्णयबाट गोरखालीहरू हतोत्साहित नभएको देखिन्छ, किनभने ए.क्याम्पवेलको वर्णनमा तत्कालीन तिरहुतका मेजिस्ट्रेटले सन् १७८७ देखि १८१३ सम्ममा नेपालीहरूले कुनै न कुनै बहानामा दुई सयभन्दा बढी गाउँ कब्जा गरिसकेका छन् भनी कम्पनी सरकारसमक्ष प्रतिवेदन पठाएको कुरा उल्लेख गरिएको छ ।

नेपालको विषयमा अंग्रेजी लेखक फ्रान्सिस ह्यामिल्टनले सन् १८०२ मा नेपालको भ्रमणपछि लेखेको पुस्तकमा बारा जिल्लामा पर्ने इलाकाको बारेमा उल्लेख गरेका छन् भनी एकान्ट अफ दी किङ्डम अफ नेपाल पुस्तकको पृष्ठ १६७ देखि १६९ सम्म ह्यामिल्टनले लेखेका छन् । उनको भनाइबमोजिम त्यसबेलाको जिल्ला पूर्वमा रातु नदी, पश्चिमा त्रिशूली गंगा र गण्डकी, उत्तरमा रोशी र सुनकोसी, दक्षिणमा कम्पनीको इलाका यति चार किल्लाभित्र एउटा जिल्ला मकवानपुर पर्दथ्यो । सो भनाइबमोजिम उक्त मकवानपुर जिल्ला वर्तमान बागमती प्रदेशमा पर्दछ ।

त्यसबेला यो जिल्ला सुब्बाको मातहतमा थियो, जो गर्मीको समयमा मकवानपुरगढी र जाडोको समयमा बारागढीमा बस्दथे । तत्कालीन बासिन्दाहरूमा मुख्यतया थारुहरू र अनिवारहरू थिए भनी इतिहासविद्हरूले लेखेका छन् । मानिसहरू साह्रै दुःखी, टाटीको झोपडीमा बस्ने र भाषा, पोसाक, शरीर चालचलन उत्तर बिहारका मानिसहरूसँग मिल्ने भनी वर्णन गरिएको छ । उक्त जिल्लाको ठूलो भू–भागमा कुनै पनि ठूलो बस्ती थिएन । बारागढी त्यसबेला समथर स्थान भए पनि सो ठाउँमा ३० देखि ४० वटा छाप्राहरू मात्र थिए भनी कर्कपैट्रिकले गरेको वर्णनलाई नै ह्यामिल्टनले पनि उल्लेख गरेका छन् । तर यो जिल्लाबाट सरकारलाई प्रत्येक वर्ष डेढ लाख जति उठ्ती हुने गरेको थियो । यसै कारणले गर्दा यो इलाका महत्वपूर्ण नै मानिएको थियो ।

ह्यामिल्टनको लेखाइमा सिमाना सम्बन्धमा झगडा उल्लेख नभए पनि कम्पनीसँगको सिमानासम्बन्धी कुरालाई लिएर अंग्रेजहरूसँग मतभेद हुँदै गएको पाइन्छ । यसै नन्नोर प्रगन्नाको २२ गाउँको कुरालाई लिएर बेतियाका मानिसहरूले सन् १८११ मा नेपालतर्फको सब्बा लछंगिर भन्नेलाई मारिदिएको कुरा इतिहासविद्हरूले उल्लेख गरेका छन् ।

यसै प्रकार पूर्वदेखि पश्चिमसम्मको सिमानाको कुरालाई लिएर नेपालको अंग्रेजसित युद्धको वातावरण तयार हुँदै गएको थियो । सन् १८१४ नोभेम्बरमा अंग्रेजले युद्धको घोषणा गरेको थियो । युद्धको समयमा अंग्रेजले नेपाललाई चार ठाउँबाट आक्रमण गर्दा बारा जिल्ला भई मकवानपुर र त्यहाँबाट काठमाडौंमा आक्रमण गर्न मेजर जनरल मार्लेको नेतृत्वमा ले.क. ब्राडसा र पछि मेजर जनरल अक्टरलोनी यही क्षेत्रबाट गएका थिए । उनीहरूको अभियानमा प्रयोग भएका गढीमध्ये बारा जिल्लाको उमजन र बारागढी पनि एउटा थियो । एक वर्षको लडाइँपछि सन् १८१५ नोभेम्बर २८ का दिन सुगौली सन्धि भयो, तर अरु कारणहरूमध्ये सो सन्धिअनुसार सम्पूर्ण तराई भाग अंग्रेजहरूलाई छाडिदिनुपर्ने भएकाले नेपालतर्फबाट उक्त सन्धिमा सही गर्न गुरु गजराज मिश्रले अंग्रेजलाई दिएको बचनको विपरीत नेपालको राजाबाट उक्त सन्धिको औपचारिक समर्थन प्राप्त भएन ।

त्यसपछि सन् १८१६ फेब्रुअरीमा सर अक्टरलोनीको नेतृत्वमा बीस हजार फौजलाई चार भागमा विभाजन गरी अंग्रेजले नेपालमाथि पुनः आक्रमण ग¥यो । धेरै भीषण युद्धहरू भएपछि सुगौलीको सन्धिपत्रलाई नेपाल सरकारले लालमोहर लगायो । उक्त सन्धिअनुसार तराईको भागलाई लिएर फेरि झगडा भइराख्ने सम्भावना देखेर तराईसम्बन्धी केही बुँदाहरूमा परिवर्तन गरिएको थियो । उक्त सन्धिको सुरुको प्रस्तावमा तराईको सम्पूर्ण भू–भाग अंग्रेजले लिने र सो लिएबापत नेपाल सरकारतिरका जुन जुन भारदारहरूको त्यस इलाकामा जागिर थियो, उनीहरूलाई क्षतिपूर्तिको निम्ति कम्पनीले सालना दुई लाख रुपैयाँ दिने व्यवस्था गरियो । तर त्यस इलाकाबाट त्यत्रो ठूलो रकम नउठ्ने कुरा उनीहरूले पत्ता लगाइसकेका थिए ।

अर्कोतिर नेपाल सरकारसँग परेको सो लडाइँ लड्न सुरुमा लखनउको नवावसँग अढाई करोड रुपैयाँ लिइसकेका थिए । लडाइँ सुरु भएपछि सोही नवाव बजीरसँग पुनः एक करोडको ऋण लिनुपरेको थियो । त्यसैले गर्दा नेपालसँगको लडाइँमा अंग्रेजहरूलाई पनि ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने भएकाले राप्ती नदीभन्दा पूर्वको तराई भू–भाग नेपाल सरकारलाई नै फर्काउने निर्णय भयो । दुवैतिरबाट सिमाना निर्णायक समितिहरू पठाई दुवै देशको बीचमा जमिनका एउटा पातलो पट्टी छोडी सीमा रेखांकन भएको थियो । यसरी अरु जिल्लाको साथै बारा जिल्लाको वर्तमान दक्षिणी सिमाना निश्चित हुन गएको थियो ।


Author

थप समाचार
x