विचार

काेभिड- १९ संक्रमण जोखिम

अहिले छोराछोरीलाई आइसक्रिम खुवाउने बेला छैन

डा. युवानिधी बसौला, वरिष्ठ बाल रोग विशेषज्ञ |
बैशाख ६, २०७८ सोमबार १७:५६ बजे

कोभिड–१९ को संक्रमण बालकालिकामा पनि देखिन थालेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि यो संख्या बढ्दै गइरहेको छ । नेपालमा पीसीआर टेस्ट गर्नेमध्येमा १० प्रतिशत बालबालिकामा कोभिडको संक्रमण भएको देखिएको छ । नौ महिनाको बच्चामा पनि संक्रमण भएको देखिएको छ । भरतपुर अस्पतालमा केही समयअघि  मात्रै तीन वर्षको बच्चामा पनि कोभिड संक्रमण देखियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि ३६ सयभन्दा बढी बालबालिकालाई कोभिड–१९ भएको देखाएको छ । 

बालबालिकामा ठूला मानिसहरूमा जस्तो जिउ दुख्ने, ज्वरो आउने गरेको देखिंदैन । उनीहरूमा रुघाखोकी, श्वास फेर्न गाह्रो, पखाला, बान्ता जस्ता लक्षण देखिएका छन् । ठूलो मानिसले आफूले अनुभव गरको कुरा भन्न सक्छन् । तर, बालबालिकाले आफूलाई भएको कुरा भन्न सक्दैनन् । अभिभावकले कतिपय अवस्थामा कोभिड–१९ भएको अड्कल समेत काट्न सकिरहेका हुँदैनन् ।


तर, अस्पताल ल्याएर परीक्षण गर्दा उनीहरूमा कोभिड–१९ देखिन्छ । बालबालिकामा रोगसँग लड्ने क्षमता पनि कम हुने भएकाले तुरुन्तै रोगले आक्रमण गरिहाल्छ । बालबालिकाले हात नै राम्ररी धुन सक्दैनन् । स्यानिटाइजर प्रयोग त झन् उनीहरूले प्रभावकारी ढंगले गर्नै सक्दैनन् । यसमा उनीहरूलाई परिवारका सदस्यले सहयोग गर्नुपर्छ । १८ वर्षभन्दा मुनिकालाई लगाउने भ्याक्सिन पनि आएको छैन । तर, यो भ्याक्सिन नभए पनि आफ्नो बच्चाले जन्मेदेखि लगाउनुपर्ने भ्याक्सिन लगाएको छ कि छैन त्यसको पनि ख्याल राख्नुपर्छ ।  

देशका मुख्य सहरमा स्कुल बन्द भए पनि अन्य ठाँउका स्कुल खुला छन् । बालबालिकालाई कोभिडबाट कसरी बच्ने भन्नेबारे थाहा हुँदैन । स्कुलको गेटबाट भित्र छिराएपछि अभिभावकले स्कुलको जिम्मा हो भनेर छाडिदिन्छन् । स्कुलमा बालबालिकाले दिनभरि मास्क लगाउँदैनन् । समूहमा बस्छन् । मास्क साटेर लगाउँछन् । खाजा पानी साटेर खान्छन् ।

यसले गर्दा बालकालिकामा छिटो कोभिड सरेको देखिएको छ । उनीहरू घरमा आएर आमाबुवा, हजुरबुवा, हजुरआमासँग बस्छन् । उनीहरूलाई पनि सार्छन् । स्कुल बन्द भएपछि धेरै अभिभावकले बालबालिकालाई घुमाउन लैजान्छन् । सुपर मार्केट लैजाने, आइसक्रिम खुवाउने गर्छन् । अहिले बालकालिकालाई भाटभटेनी घुमाउने आइसकक्रिम खुवाउने अवस्था छैन । स्कुल बन्द हुँदैमा बालबालिका कोभिडबाट सुरक्षित छन् भन्न सकिदैन । जबसम्म उनीहरू भीडभाडमा जाँदैनन् र सतर्क रहदैनन् तबसम्म घरमै बसे पनि कोभिड लाग्न सक्छ । 

कसरी बचाउने बालबालिकालाई कोभिडबाट

–    भिडभाडमा नलैजाने
–    दुईवर्षभन्दा माथिको बच्चालाई बाहिर लिएर जाँदा अनिवार्य मास्क लगाइदिने
–    अभिभावकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न बालबालिकालाई सहयोग गर्ने
–    लामो समय रुघा लाग्यो खोकी निको भएन, श्वास फेर्न गाह्रो भयो भने नजिकैको अस्पताल लैजाने 
–    झोलिलो, तातो र पोषिलो खानेकुराहरू खुवाउने

(इकागजसँगको कुराकानीमा आधारित ।)


Author

थप समाचार
x