विचार

चीन-नेपाल रेल्वेको ‘युटोपिया’बाट कहिले बाहिर आउने ?

शौरभ राज पन्त |
कात्तिक २४, २०७९ बिहीबार ८:३ बजे

नेपालको प्रगतिका लागि चीनतिर झुक्दा नेपाली वामपन्थी नेताहरूलाई भावनात्मक र मनोवैज्ञानिक सहुलियत प्राप्त हुन्छ । यो उनीहरूको दलमा ‘माओ’ नाम जोडिएर होला । राणाकाल होस् वा पञ्चायत काल शासकहरूलाई थाहा थियो कि नेपाल भारतबाट तीन दिशाले घेरिएको छ र यो तीन दिशाको भौगोलिक सुगमता उत्तरको सिमानाभन्दा बढी सहज छ भनेर ।

जसले गर्दा उनीहरूले बाध्य भएर दक्षिणतिरबाट पारवाहन गर्नुपर्ने भयो । अचम्म के छ भने नेपाली वामहरूलाई केपी शर्मा ओलीले चीनसँग पारवाहन सन्धि गरेर नेपालको त्यो भौगोलिक यथार्थ भत्काए भन्ने लाग्छ । तर त्यो भ्रम मात्र होला । भूगोल र प्रकृतिसँग लड्न सक्ने विषयमा मानवको आफ्नै सीमितता छ । त्यो हामीले बुझ्‍न जरुरी छ । विशेषत: अन्तर्राष्ट्रिय सम्बन्धमा यसको प्रभाव व्यापक हुन्छ । त्यसैले रोबर्ट डि क्यापलान्ले ‘द रिभेन्ज अफ ज्योग्राफी : वाट् द म्याप टेल्स अस एबाउट’ नामक पुस्तक लेखे । 


चीन–नेपाल रेल्वे
नेपालमा चीनको रेल आएर राताराता कायापलट हुन्छ भनेर नेपाली वामहरूले जनतालाई रन्भुल्लमा पारिरहेका छन् । वास्तविकता अर्कै छ । दक्षिण एसियाली अध्ययन केन्द्रका अध्यक्ष समेत रहेका फुडान विश्वविद्यालयका प्राध्यापक झाङ जियाडोङले आफ्नो एक लेखमा चीन–नेपाल रेलमार्ग अहिलेको अवस्थामा सम्भव नभएको स्पष्ट पारेका छन् । उनी भन्छन्, सिगात्सेसम्म रेल सञ्चालन भइसकेको छ र यहाँबाट नेपालको सीमासम्मको कुल दूरी ५०० किलोमिटर छ । प्रस्तावित रेल हिमालयको दुर्गम भूभागबाट गुज्रनुपर्नेछ जसले गर्दा चीन–नेपाल रेलमार्ग निकै महँगो बनिरहेको छ ।

प्राध्यापक जियाडोङका अनुसार सन् २०२१ मा नेपाल र चीनबीचको व्यापार १२ अर्ब ७७ करोड युआन रहेको छ । चीनबाट कुल आयात १२.५८ अर्ब युआन थियो जसमा ताजा फलफूलदेखि मोबाइल फोनसम्म समावेश छ ।

नेपालले चीनमा १७ करोड युआन मात्र निर्यात गरेको थियो । जसरी भए पनि चीन–नेपाल रेलमार्ग खुल्यो भने चीनबाट आयात बढेसँगै नेपालका लागि यसले धेरै फरक पार्छ तर चीनका लागि अहिलेको सडक यातायात नै पर्याप्त छ ।

नेपालका लागि फरक भनेको त्यही नेपालले आयात बढाउने नै हो । चीन–नेपाल रेल्वेले भारतको जस्तो पूर्व, पश्चिम र दक्षिण क्षेत्रबाट नेपाललाई पार्ने प्रभाव यस रेल्वेले गर्न नसक्ने उनको भनाइ छ । हाल नेपालमा वाम शक्तिले भने जस्तो नेपालको व्यापार विकेन्द्रीकरण हुने योजना यस रेल्वे आएसँगै हुनेछैन ।

उच्च जोखिम, उच्च लगानी र कम प्रतिफल
उनका अनुसार चीन–नेपाल रेलमार्ग निर्माणमा आठ अर्ब डलरभन्दा बढी खर्च हुनेछ । यो सुरुको लागत समयसँगै मूल्य वृद्धिको कारण वृद्धि हुनेछ । उनले केही वर्षअघि ल्हासा–सिगात्से रेल्वे खण्ड खोल्दा ल्हासा–सिगात्सेको ३३ प्रतिशत सुरुङसहित प्रति मिटर करिब ५० हजार युआन खर्च भएको बताए । सुरुङ बढ्दै जाँदा लागत बढ्दै जान्छ । यस सिगात्से बिन्दुबाट, चीन–नेपाल रेल्वेले यसको कुल लम्बाइमा ९० प्रतिशत सुरुङ बनाउनुपर्ने प्रारम्भिक अनुमान छ । यसले चीन–नेपाल रेल्वे धेरै नै महँगो हुने देखिन्छ ।

दोस्रो, जब रेल सिगात्सेबाट छुट्छ, यो चार हजार मिटरको उचाइमा हुन्छ । हिमालय परिक्रमा गर्दा करिब ६ हजार मिटरमा जान्छ र नेपाल प्रवेश गर्दा करिब दुई हजार मिटरमा झर्छ । साथै, यी क्षेत्र भूकम्प, माटो खस्ने जस्ता प्राकृतिक प्रकोपहरूको जोखिममा छन् ।

यसले रेल्वे निर्माण र सञ्चालनमा दीर्घकालीन र अपरिहार्य प्रभाव पार्नेछ । ४ हजारदेखि ६ हजार र त्यसपछि २ हजार मिटरको उचाइमा यात्रा गर्दा लेक लाग्ने सम्भावना अत्यधिक हुनसक्छ । यात्रुहरूलाई अक्सिजन मास्क दिनुपर्ने हुन सक्छ । यदि तराईको यात्रुले यो नेपाल–चीन रेल्वेमा यात्रा गर्न खोज्यो भने उसको कस्तो किसिमको व्यवस्था गर्नुपर्ला ? पक्कै पनि समस्या हुन्छ । 

यदि यो रेल्वे बनाएर केही समयपछि भारत समर्थक सरकार नेपालमा आयो भने यस लगानीलाई जोखिममा राखेर यो रेल्वे लाइन काट्यो हो भने के हुन्छ भन्ने आशंका पनि प्राध्यापकले राखेका छन् ।

उनको भनाइमा समग्रमा चीन–नेपाल रेल्वे परियोजनाले आर्थिक प्रतिफल दिँदैन । उच्च जोखिम, उच्च लगानी, कम प्रतिफलको पूर्वाधार परियोजना हो । भौगोलिक जोखिम र भारतको भूराजनीतिक फाइदालाई ख्याल गर्ने हो भने चीन–नेपाल रेलमार्ग आयोजनालाई हतारमा अघि बढाउनुभन्दा बढी सोच्नुपर्ने उनको भनाइ छ । यदि रेल्वे बनाइयो भने पनि प्रसिद्ध चिनियाँ भनाइअनुसार ‘मासु आफ्नै भाँडोमा सड्नेछ ।’ अर्थात् प्रतिफल नआउने योजना हात हाल्नुभन्दा नहाल्नु नै बुद्धिमानी हो भनेर प्राध्यापक जिकिर गर्छन् । 

आगामी मार्ग 
यो चिनियाँ प्राध्यापकको भनाइ हो । यो विशुद्ध चिनियाँ धारणा हो । यो कुनै भारतीय पक्षलाई समर्थन गर्ने भनाइ होइन । हामी नेपालीहरू चीन–नेपाल रेल्वेको ‘यूटोपिया’बाट बाहिर आउनुपर्छ  । नेपाल–चीनबीच सम्भावित साझेदारीका अन्य क्षेत्रहरू धेरै छन् । जस्तै : टेक स्टार्टअपका लागि किन वकालत नगर्ने ? शेन्जेन–नेपाल टेक स्टार्टअप सम्भावित साझेदारी गर्न कुनै भौगोलिक, आर्थिक वा भूराजनीतिक अवरोध हुँदैन । नेपाल–चीन स्टार्टअप साझेदारीका लागि एक्सेलेरेसन, इन्क्युबेसन, लगानी र नेटवर्किङअन्तर्गत साझेदारीको खाका अगाडि बढाउन सकिन्छ । 


Author

थप समाचार
x