नयाँ नेताहरूमा सदाचार र साहसको ‘सागर’ भेटियोस्
महानिर्वाचन २०७९ मङ्सिर ४ सम्पन्न भयो । यो निर्वाचनमा मतदाताले विगत पाँच वर्षको सत्ता तथा प्रतिपक्षीको हरकतको समीक्षा गरेको देखियो ।
पुराना स्थापित राजनीतिक दलका छोटे राजा बनेका शीर्षस्थ नेतृत्वको अविवेकी, उन्मतापूर्ण र आमजनतालाई भेडा–बाख्रा र पार्टीका नेता, कार्यकर्तालाई बुख्याँचा बनाउने शैलीप्रति आमजनतामा चरम असन्तुष्टि पाइयो ।
पार्टीको जिम्मेवारी बहन गर्ने पद, सरकारी सार्वजनिक पद र जिम्मेवारी वा कानुन निर्माण गर्ने संसद्को समानुपातिक पद सबैमा आफन्तवाद, गुटबन्दी, धनवाद, लेनदेनवादको अप्रजातान्त्रिक शैली अपनाएको प्रति आक्रोश देखियो ।
स्वाभिमानी नेता, कार्यकर्ताको मुखमा निरङ्कुशताको बुजो लगाएर बुँख्याचावादी संस्कृति भित्र्याएर देश लुटिएको र अराजकताको ताण्डव नृत्य मच्चाएका नेताहरूको इतिहास समीक्षा र पुनरावलोकन गरेको अनुभव गरियो ।
२०७४ को संघीय र प्रादेशिक प्रत्यक्ष र दलीय समानुपातिकमा पाएको मतको संघीय तथा प्रदेशका छ वटा सरकारलाई झण्डै दुई तिहाइको सत्ता दिएका र जनताले तिमीहरू लोकतन्त्र र सङ्घीय राजनीतिक प्रणाली विकासमा लाग भनी दिएको प्रतिपक्षी भूमिकाको के कति सदुपयोग तथा दुरुपयोग गरियो ? सार्वजनिक भएको छ ।
राजनीतिक नालायक प्रवृत्तिको कब्जामा फसेका शीर्षस्थ नेताहरूको कथनी र करणीको झुट तथा लुटको यो चुनावमा राम्रो विश्लेषण गरियो ।
उत्साहहीन र निराश वातावरणमा सम्पन्न महानिर्वाचनमा आम जनताले मिश्रित परिणाम दिने गरी ६० प्रतिशतको हाराहारीमा गरेको मतदान तथा नेतृत्व चयन र दलीय छनोटको परिणाम नतिजा देशव्यापी फटाफट आइरहेको छ ।
सर्वप्रथम २०७९ मंसिर ५ गते नै प्रतिनिधि सभाको सदस्य बनेका नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहको जम्मा ७ हजार हाराहारीको मतको राजधानीको मुटुस्थल विजय अनुमोदनले मतदाताहरूको चरम निराशा र आक्रोश दुवै उच्च रहेको सङ्केत गर्याे ।
राष्ट्रिय प्रजातान्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र सुशासन पार्टीका बीचमा मुलभूत मुद्दामा एकता तथा रवीन्द्र मिश्रले अझ बढी मेहनत गरेको भए, राजनीतिमा गणेशमानको छोरा भन्ने पहिचानबाहेक अन्य कुनै विशिष्ट योगदान दिन नसकेका प्रकाशमान सिंहको चुनावी हबिगत के हुँदो हो ? बजारमा चर्चा चलिरह्यो र आगामी पाँच वर्ष चलिरहनेछ ।
निर्वाचनको मुखमा निर्वाचन आयोगको सबैभन्दा तलको सूचीमा राजनीतिक पार्टीको नाम दर्ता गरी चुनावी मैदानमा उत्रिएको ४०/४५ दिनको शिशु राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनरुझान र मत परिणामले मुलुकको तेस्रो वा चौथो शक्तिशाली दल बन्ने निश्चित गर्याे ।
राजनीतिमा युवा प्रतिभाको प्रवेश र देश निर्माणको योजनासहित उदाएका पार्टीका नेता हुनाले रविको नेतृत्वप्रति जनआकांक्षा उच्च आशावादी छ ।
प्रतिनिधि सभामा गरिमामय संसद्मा युवाहरूको उपस्थिति राष्ट्रिय राजनीतिमा विचारका दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ र रवि नेतृत्व पहिलो शक्ति साबित हुनेछ भन्ने मत पाइन्छ ।
सामूहिक नेतृत्वका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सोच अगाडि बढाउने र चुनावी नेतृत्व गर्ने तथा पुराना पार्टी र स्थापित नेताहरूसंग प्रतिस्पर्धामा विजित हुने राष्ट्रिय स्वतन्त्र पार्टी तथा पुराना पार्टीका नवयुवा विजित तथा उपविजेता सबै उम्मेदवारलाई हार्दिक बधाई ।
सागर ढकाललाई विशेष सलाम
विगत तीन दशकदेखि राजनीति र विचारमा असफल, भ्रष्ट तथा लोभीपापी पार्टीका बूढा नेताको चाकरी गरी आफूलाई पूर्ण बुख्याँचा प्रवृत्तिमा रमाएको र विवेकशील विद्रोहका साथ पार्टीलाई सही मार्गमा हिँडाउन नसकेको मुर्दासरह तन्नेरी हुँ भन्नेहरूलाई झटका दिने सागर बन्दनीय छन् ।
राजनीतिमा युवा ऊर्जा र देशभक्ति यस्तो हुनुपर्दछ भनी अमूल्य ज्ञान र शिक्षा दिने गुल्मी ग्रामीण क्षेत्रको सन्तान सागर ढकाल नेपाल र नेपालीका ढुकढुकी बने, उनको साहसलाई बधाई दिनु नागरिक कर्तव्य ठान्दछु ।
साधारण नागरिक सागर ढकालले असाधारण कार्य सम्पादन गरे । पार्टी सङ्गठनविना स्वतन्त्र हैसियतमा बिरानो जिल्ला र ठाउँमा एक्लै साहससाथ भिडे ।
उनले डडेलधुरा पुगेर प्रतिनिधि सभा संसद् निर्वाचनका लागि मनोनयन गरी २०४८ पछि निरन्तर सत्ता, शक्ति र राज्यको साधनस्रोतमा डुबुल्की लगाइरहेका एक असामान्य तथा सुदूरपश्चिमका विकास र समृद्धिका मसिहा ठानिने व्यक्तिको सामना गरे ।
पहिचानविहीन, साधारण नागरिकले अपरिचित जिल्लामा पाँच पटक प्रधानमन्त्रीको हैसियतमा भएको र बहालमा रहेका सत्ताधारी पार्टीका सभापति शेरबहादुर देउवालाई चुनावी मैदानमा बाकस थापेर चुनौती गर्नु कम जोखिम होइन, चेतना भया ।
अझ स्पष्ट भन्दा, शेरबहादुरले पाएको २५ हजार मतको ५२ प्रतिशत १३ हजार बढी मत ४०/४५ दिनको मेहनतमा जुटाएर धक्का हान्ने हिम्मत गरे । सागरको आमजनताको विश्वास जित्ने र तिम्रो नेता, मुलुकको प्रधानमन्त्री असल नेता होइनन् भन्ने सन्देश छर्ने राष्ट्रिय हिरो सागर ढकालले साबित गरे ।
सागरलाई प्रतिनिधि सभाको चुनावमा हारेर पनि सांसद पदको होइन राष्ट्रिय राजनीतिक संस्कारको अनुपम योगदान तथा पार्टीहरूका बुख्याँचाहरूलाई आफूभित्रको विवेक र आत्म स्वाभिमान जगाउन एवम् शिक्षा दिन सफल भएकामा उच्च सम्मान गर्दा गर्व अनुभव गर्दछु र इतिहासमा यसको गौरवपूर्ण मूल्याङ्कन हुने विश्वास राख्दछु ।
नेपालको राजनीति तथा शासनसत्तामा विभेद छ । आम नेपाल र नेपाली, त्यसमा पनि मधेस प्रदेश, सुदूरपश्चिम, कर्णालीका आदिवासी र पिछडिएका वर्गको शोषण भइरहेको छ । मुठ्ठीभरका राजनीतिक नेता, शासक, प्रशासक र शासक वर्गको पीडादायी व्यवहारबाट जनता आजित छन् । गुणस्तरहीन जीवनस्तरबाट आमजनताको मुक्तिका लागि पूर्वको कोशी किनारमा उदाएको जनमत पार्टी र सुदूरपश्चिमको कर्णाली किनारमा उदाएको नागरिक उन्मुक्ति पार्टीको विजय थालनी सामाजिक न्यायको आधार बनोस् ।
यी पार्टीका नेता र जनप्रतिनिधिहरूलाई देश र जनमत जित्न सफलता मिलोस् शुभकामना दिन चाहन्छु । राजनीतिक अगुवा सीके राउत र रेशम चौधरीको सामाजिक न्यायको मुद्दाले सफलता पाउन सकोस् ।
राजनीति यस्तै निर्मम हुँदोरहेछ, गुल्मीकी चेली बहिनी रामकुमारी झाँक्री जस्ता सङ्घर्षशील योद्धा धेरै छन् ।
जीवनभरको राजनीतिक योगदान एकातिर तर समयक्रममा राजनीतिक घटनाक्रम र दुर्घटनामा परी बाध्यतापूर्वक अर्कोतिर लाग्नुपर्ने र प्रतिस्पर्धामा उत्रिएर झिनो मतान्तरमा असफल हुनेहरू धेरै छन् । ती सबै राजनीतिक प्राणीहरूलाई धेरै विपरीत घेराबन्दीमा पनि उत्साहजनक मत प्राप्तिको सम्मान गर्ने नैतिक बलको कामना तथा पराजयका लागि सान्त्वनासहित धैर्यको कामना गर्दछु ।
संसदीय राजनीतिक प्रतिस्पर्धामा चार पाँच दशक पुराना, एक महिनाका नयाँ र परिपक्व तथा अपरिपक्व एवम् संसदीय विकृति, सुकृति र राजनीतिक तथा अराजनीतिक हरेक किसिमका खेलबाट सभासद्मा विजयी हुनुहुने सबै राजनीतिक पार्टी विजयी तथा पार्टीका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई देशको नेतृत्वदायी भूमिकामा पुगेकामा हार्दिक बधाई दिन चाहन्छु ।
राजनीतिक नेतृत्व, जनप्रतिनिधि र राजनीतिक कार्यकर्तामा देश, जनता र राजनीतिक निष्ठामा इमानदार हुने शिक्षा दीक्षा र संस्कृति विकास गर्न र कम्तीमा आधारभूत शिक्षा र स्वास्थ्य राज्यको अधीनमा राख्न अनुरोध गर्दछु । साथै सुशासन र भ्रष्टाचारमुक्त समाजको सपना साकार पार्न विनम्र आग्रह गर्दछु ।
लोकतान्त्रिक प्रजातन्त्रमा राजनीतिक मार्ग र हिँडाइ अन्तिम हुँदैन । यसर्थ पराजित र आफ्ना विचार मूल्यमान्यता स्थापित गर्न चाह्ने राजनीतिक नेता, कार्यकर्ता र समर्थकहरूले अथक रूपमा इमानदार भएर जनता र देशको हितमा निरन्तर लागिरहन र राजनीतिलाई पेसा नबाउन र सत्तामा समर्पण नगर्न तथा नेतृत्वकोसामु बुख्याँचा नबन्न आग्रह गर्दछु ।
२०७९ महानिर्वाचनमार्फत नेपाली जनताको राजनीतिक पार्टीहरूलाई गरिएको खबरदारीको राजनीतिक सम्मान गर्न र आफूलाई सच्याएर पुराना राजनीतिक पार्टी तथा तिनका नेतालाई आफू मालिक होइन, सेवक हुने राजनीतिक संस्कार विकास गर्न दिइएको चुनौतीलाई आत्मसात गरून् ।
नयाँ पुराना राजनीतिक पार्टी र नेताहरूमा सद्बुद्धि पलाओस् । मुलुकले सुख शान्ति समृद्धि हासिल गरोस् ।
(लेखक नेपाल सरकार, शिक्षा मन्त्रालयमा उपसचिव छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया