विचार

आगोबाट हुने क्षति किन देखिँदैन ?

राम अधार प्रसाद यादव |
मंसिर २५, २०७९ आइतबार २०:२४ बजे

आगलागी जुनसुकै बेलामा हुन सक्छ । सामान्यतया आगलागी सुक्खा र गर्मी मौसममा बढी हुने गर्दछ । यस वर्षको मंसिर महिनामा भएको आगलागीको घटनाको तथ्यांक हेर्ने हो भन्ने अन्य वर्षभन्दा यसपालि सुखा मौसममा हुने आगलागीको घटना बढ्न सक्ने अनुमान सहजै गर्न सकिन्छ । यसका लागि हामी समयमै सावधानी अपनाउन जरुरी हुन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस भन्ने प्रचलित भनाइ आगलागी लगायत अन्य विपद्हरूमा समेत लागू हुन्छ । अहिलेको स्थितिमा सरकारसँग कडाइका साथ कुनै पनि मापदण्ड कार्यान्वयन गर्ने नैतिक बल देखिएको छैन ।

तसर्थ सरकारले आगालागी रोकथामका लागि कुनै कदम नचालेको अवस्थामा पनि आफ्नो जनधनको सुरक्षाका लागि नागरिक आफैँ सचेत हुनुपर्छ । औसत नेपाली नागरिकको जीवनभरको कमाइ अनि कतिपय अवस्थामा पुस्तौंदेखिको कमाइले घर बनाउने प्रचलन छ । यसरी बनाइएको घर जलेर नष्ट हुँदा उक्त घरका सदस्यहरूलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर पर्ने गर्छ । घरसँगै घरभित्र रहेका सम्पूर्ण सम्पत्ति र महत्वपूर्ण कागजात खरानी हुन्छन् । आगलागीले घरसँगै प्रभावित प्रत्येक व्यक्तिको सपना र जीविकोपार्जनको रणनीतिसमेत नष्ट हुन्छ । यस प्रकारको बज्रपातबाट सामान्य अवस्थामा आउन वर्षौं लाग्न सक्छ । अर्थात् आगलागी नियन्त्रण भन्दा पनि आगलागी हुन नदिने उपाय अपनाउनु जरुरी हुन्छ ।


मंसिर महिनामा तेह्रथुम, रुकुम पश्चिम, जुम्ला, जाजरकोट, रुकुम पूर्व, धादिङ, बझाङ, गोर्खा, लमजुङ, बाजुरा, रौतहट लगायत देशका विभिन्न स्थानमा आगलागी भई लाखौँ बराबरको धन सम्पत्ति नष्ट भएको खबर सुनिएको छ । सरकार तथा गैरसरकारी संघसंस्थाहरूले आगलागी न्यूनीकरणको दीर्घकालीन योजना भन्दा पनि विपद्पश्चात् दिइने राहत र सहयोग गरी आफ्नो कर्तव्य निर्वाह गरेको भ्रममा छ भन्ने यहाँका नागरिक पनि आगलागी नियन्त्रणबारे संवेदनशील देखिएका छैनन् । 

आगलागीबाट बाँच्न अपनाउनुपर्ने सावधानीहरू

आगो मानव जीवनका लागि नभई नहुने चिज हो । यसको सदुपयोग र व्यवस्थापन गर्न सकिएन भन्ने आगलागी हुन्छ । जसको परिणाम स्वरूप हामी जिउज्यान तथा धन सम्पत्ति गुमाउन बाध्य हुन्छौँ । कमजोर तथा अव्यवस्थित वायरिङका कारण बिजुलीको तार सट हुनु, असावधानीका कारण भान्साबाट आगो अनियन्त्रित हुनु, खाना पकाउने ग्यास लिक हुनु, घरमा आगो र हिटर बालेर बाहिर हिँडनु, एक स्थानबाट बलेको आगो अन्यत्र सल्किनु, सलाई, लाइटरको लापरवाही पूर्ण प्रयोग, बिँडी चुरोट राम्ररी ननिभाएर फाल्नु, लामखुट्टे धपाउन धुप असावधानी तरिकाले बाल्नु, सवारी साधनमा अचानक आगो लाग्नु, खेतबारी तथा वन जंगलमा आगो बाल्नु, बच्चाहरूको पहुँचमा सलाई, लाइटर लगायतका प्रज्ज्वलनशील पदार्थ राख्नु, चट्याङलगायत अन्य कैयौं कारणहरूबाट आगलागी हुने गर्दछन् ।

त्यसैले आगलागीका घटनाहरूबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ जस्तैः सलाई, लाइटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्ने, चुरोटका ठुटा र सलाइका काँटी राम्ररी निभाएर फाल्न विशेष ध्यान दिने, घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरूमा Smoke Detector राख्ने, अनिवार्य रूपमा घरमा Fire Extinguisher राख्ने तथा प्रयोग कसरी गर्ने भन्ने कुरा परिवारका सवै सदस्यहरूलाई जानकारी गराउने, खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, यथासम्भव ग्याँस सिलिण्डरलाई भान्सा कोठाभन्दा बाहिर नै राख्ने, सिलिण्डरको पाइप, सिलिन्डरको अवधि समय समयमा जाँच गर्ने, खाना बनाइ सकेपछि ग्याँसको रेगुलेटर बन्द गर्ने तथा समय समयमा ग्याँस सिलिन्डर र पाइपको सरसफाइ गर्ने, ग्याँस सिलिन्डर धेरै गन्हाउने भएमा (लिक भएको शंकास्पद) प्रयोग नगर्ने, घरमा भएका विद्युत्् उपकरणहरू सही अवस्थामा छ छैन नियमित जाँच गर्ने, नाङ्गो तार, टुटेफुटेका स्विच, एक्सटेन्सन कर्डलाई मर्मत् वा परिवर्तन गर्ने, एक्सटेन्सन कर्डमा धेरै विद्युत् खपत गर्ने (आइरन, हिटर, फ्रिज, ओभन, मोटर) तथा अन्य धेरै उपकरण जोडेर एकैचोटि प्रयोग नगर्ने, टु पिन स्विचको बदलामा सिधै नाङ्गो तार सकेटमा पसाएर विद्युतीय सामग्री प्रयोग कहिल्यै नगर्ने, प्रयोग नभएको अवस्थामा विद्युतीय सामग्रीहरू सकेटबाट निकालेर अलग राख्ने, राति सुत्ने बेलामा वा घर छाडेर बाहिर जानुपर्दा सम्पूर्ण विद्युत्ीय उपकरणहरू बन्द गरेर मात्र जाने (यसले तपाईंलाई आगलागीबाट सुरक्षा मात्र होइन, बिजुलीको खपतमा कमी ल्याउन पनि सहयोग पुर्याउँछ), हावा चलेको अवस्थामा खुला स्थानमा आगो नबाल्ने, घरमा पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण नगर्ने, आगोजन्य सामग्री केटाकेटीको पहुँच हुने स्थानमा नराख्ने आदि ।

हामीले सतर्कता र सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै कुनै बेला आगलागी हुन सक्दछ । त्यस्तो बेलामा आगो नियन्त्रण गर्ने उपायका साथै सूचना प्रणालीमा ध्यान दिनुपर्छ । आगलागी भएको अवस्थामा घरभित्र नबसी तुरन्त परिवारका सबै सदस्यहरूलाई बाहिर निकाल्नुपर्छ, धुवाँ भएको स्थानबाट बाहिर निस्कँदा घोप्टो परेर वा घिस्रेर निस्कने, लगाएको कपडामा आगोले भेट्यो भने कदापि नदौडिने, दौडिँदाखेरि आगो अझ बढी बल्ने हुँदा कपडामा लागेको आगो निभाएर मात्रै दौडिने र आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीहरूलाई जानकारी गराउनु पर्दछ ।

आगलागीका पूर्वतयारी 

    आपतकालीन अवस्थामा काम लाग्ने टेलिफोन नम्बरहरू जस्तै वारुण यन्त्र (दमकल), एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको सूची तयार गरेर राख्नु पर्दछ । 
    घरमा रहेका पानीका ट्याङ्की पूर्ण रूपमा रित्तो हुञ्जेल प्रयोग गर्नु हुँदैन । आकस्मिक अवस्थाका लागि केही मात्रामा पानी जोहो गरेर राख्नु पर्दछ ।
    व्यक्तिगत घर तथा कार्यालयहरूमा आगलागीबाट सुरक्षाका लागि अनिवार्य रूपमा फायर एक्स्टिङ्गुसर, फायर ब्ल्याङ्केट राख्नु पर्दछ र यसको प्रयोग विधि परिवारका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराउनु पर्दछ । 
    घरमा सिटी, टर्चलाइट, खन्ती, झम्पल, मार्तल जस्ता सामग्रीहरू सदैव तयारी अवस्थामा सुरक्षित साथ राख्नुपर्छ, जसको सहयोगले आकस्मिक अवस्थामा झ्याल, ढोका फोडेर बाहिर निस्किन मद्दत मिल्छ ।
    आगलागी जोखिम क्षेत्रको पहिचान गरी नक्सांकन गर्नु पर्दछ र त्यहाँसम्म सहज तथा सुरक्षित रूपमा दमकल तथा उद्धार टोली समयमै पुग्न सकिने बाटोको पहिचानसमेत गर्नु पर्दछ । 
    कच्ची तथा फुसको घरमा खाना पकाउँदा तथा आगो बाल्दा पूर्ण सावधानी अपनाउनु पर्छ । खाना पकाउँदा वा आगो बाल्दा अनिवार्य रूपमा बाल्टीमा पानी भरेर राख्नु पर्दछ ताकि आगलागी भई हालेमा तुरन्त निभाउन सकिन्छ ।
    युवाहरूलाई खोज तथा उद्धार तालिम, प्राथमिक उपचार तालिम, सूचना संकलन तथा राहत व्यवस्थापन जस्ता क्षमता विकास तालिम सञ्चालन गरी आपतकालीन अवस्थामा प्रतिकार्यमा सहज हुन्छ ।
    झटपट झोला बनाउने तरिका तथा झटपट झोलामा अनिवार्य रूपमा राख्नुपर्ने सामग्रीहरू तथा उपकरणहरूको व्यवस्थापन, प्रयोग विधि तथा महत्वबारे जानकारी गराउनु पर्दछ । 

आगलागी भइहालेमा के गर्ने ?

आगलागी हुन नदिन सावधानी अपनाउँदा अपनाउँदै पनि संयोगवश आगलागी हुन गएमा वा आगलागी भएको देखिएमा सर्वप्रथम तत्काल छेउछाउमा रहेका अन्य व्यक्तिहरूलाई जानकारी गराई आगलागी नियन्त्रणमा सहयोगका लागि आग्रह गर्नु पर्दछ । आगो फैलन सक्ने तथा आगो नियन्त्रणमा आउने सम्भावना छैन भने तत्काल वारुण यन्त्र र स्थानिय प्रहरीलाई जानकारी गराउनु पर्दछ । आगलागी कसरी भएको हो सोको कारण पत्ता लगाउनुपर्छ । विद्युत्बाट आगो लागेको शङ्का लागेमा घरमा रहेको मेनस्विच तत्काल बन्द गर्नुपर्दछ । साथै आफूसमेत सुरक्षित भई नजिकै जे छ माटो, बालुवा, पानी, हरियो सेउलाले आगो निभाउने प्रयास गर्नु पर्दछ । आगो निभाउँदा सबैजना एकै ठाँउमा नझुमेर चारैतिरबाट निभाउने कोसिस गर्नुपर्दछ ।

आगो घरभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गरी दिनुपर्दछ । यसले आगोलाई सहज रूपमा फैलन दिँदैन । अग्नि नियन्त्रक टोली, खोज तथा उद्धार टोली, प्राथमिक उपचार टोली, प्रहरी तथा सुरक्षाकर्मीबाहेक अनावश्यक भिडभाडलाई घटना स्थलमा प्रवेश गर्न दिनु हुँदैन र बारुण यन्त्र तथा उद्धार टोलीलाई आगलागी भएको ठाउँमा पुग्ने छिटो र सजिलो बाटो देखाउन मद्दत गर्नु पर्दछ ताकि आगलागी स्थलमा छिटो पुग्न सकियोस् । घटना स्थलबाट बालबालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक र अशक्त अपांग भएका व्यक्तिहरूलाई सबैभन्दा पहिला सुरक्षित स्थानमा पुर्याई मानवीय क्षतिलाई घटाउन सकिन्छ । आफूलाई सुरक्षित राख्दै आगलागीबाट केही सामग्री जोगाउन सकिन्छ भने त्यसलाई निकालेर सुरक्षित स्थानमा राख्नु पर्दछ । 

सरोकारवालाको भूमिका

आगलागी रोकथाम तथा नियन्त्रण हामी सबैको साझा जिम्मेवारी हो । कुनै एक पक्षको सक्रियताले मात्र यसको न्यूनीकरण वा रोकथाम गर्न असम्भव जस्तै छ । आगलागी रोकथाम तथा नियन्त्रण गर्न सर्वप्रथम समुदायलाई सक्रिय, संवेदनशील र जागरुक हुन जरुरी छ । यसका लागि गर्मी वा सुख्खा मौसम सुरु हुनुभन्दा अगावै सामुदाय स्तरमा भेला भई आगलागीबाट सावधानी अपनाउन तथा जागरुकताका लागि सतर्क रहन खबरदारी गर्नु पर्दछ । खुला वा सार्वजनिक स्थानमा जथाभावी रूपमा आगो बालेर हेलचक्राइँ गर्नेलाई सामाजिक रूपमा दण्डित गर्ने भनेर पूर्वचेतावनी दिनु पर्दछ ।

विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था, सामुदायिक संस्था, टोल सुधार संस्था तथा उपभोक्ता समिति लगायतका विकास साझेदार संघसंस्था र स्थानीय तहले आगलागी रोकथामका उपाय र पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदायलाई सचेत बनाउन जरुरी छ । अहिले बढ्दो प्रविधि युगमा सञ्चारका माध्यमहरू एफएम रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा सामाजिक सञ्जालहरूको आगलागी नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहन्छ ।

गर्मी तथा सुख्खा मौसम सुरु हुनुभन्दा अगावैदेखि नै आगलागीबाट बच्न अपनाउनुपर्ने सावधानीबारे श्रव्यदृश्य प्रचारप्रसार सामग्री प्रकाशन प्रसारण गरी समुदायलाई सचेत गराउनुपर्ने आवश्यकता मुख्य आवश्यकता रहेको देखिन्छ । आपतकालीन प्रतिकार्यका लागी सुरक्षा टोली, दमकल र एम्बुलेन्स चालकहरू तयारी अवस्थामा रहि प्रतिकार्य कार्यलाई छिटो र सहज बनाई हुन सक्ने क्षतिलाई कम गर्न सकिन्छ । यसका साथै उद्योग, व्यवसाय, कलकरखाना, पेट्रोल पम्प, ग्यास बितरक, मल, निजी तथा सार्वजनिक भवनहरू र सपिंग सेन्टर लगायतको स्थानहरूमा अनिवार्य रूपमा Fire Extinguisher राखेर आगलागीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । 

(लेखक यमुनामाई गाउँपालिका, रौतहटमा विपद् व्यवस्थापन शाखा प्रमुख पदमा कार्यरत छन् ।)


 


Author

थप समाचार
x