जनताको मत पाएका कांग्रेसी सांसदहरूको मत कता ?
नेपाली राजनीतिमा सिद्धान्त, मूल्य, मान्यता र विचारधाराको अवसान भइसकेको छ । यो सबै संसदीय लोकतान्त्रिक व्यवस्था सुहाउँदो राजनेता नहुँदाको परिणाम हो । भर्खरै सम्पन्न संघीय र प्रादेशिक निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाई पनि सकिएको छ ।
निर्वाचन दलीय व्यवस्थाअनुसार भए पनि दल हारिरहेको छ भने अधिकांश सिद्धान्तहीन र विचारहीन व्यक्तिको जत्थाले जितेको छ । ठूला दल नै पहिलो र दोस्रो भएका छन् कसरी दलले हार्यो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । किनकि निर्वाचन दलीय प्रतिस्पर्धा, सिद्धान्त र विचारधाराका आधारमा भएन ।
सिद्धान्त र विचारधारालाई मृततुल्य बनाएर व्यक्तिविशेषलाई सत्तामा पुर्याउने लक्ष्यकै साथ निर्वाचन भयो, परिणाम पनि तदनुकुल आयो । प्रधानमन्त्री र मन्त्री पनि दलकै आवरण लगाएका पात्र हुनेछन् । हामीले अपनाएको दलीय व्यवस्थामा दल हार्ने तर व्यक्ति जित्ने निर्वाचन परिणाम चाहना होइन ।
यतिबेला दलहरू सरकार निर्माणको खेलमा व्यस्त छन् । ठूला भनिएका दललाई लागेको छ, सत्ता जसरी पनि कब्जा गर्नुपर्छ । सत्ता कब्जापछि हिँड्ने बाटोबारे भने अनविज्ञ छन् । सत्ता जसरी चलिरहेको छ त्यसरी नै चलिहाल्छ भन्नुबाहेक उनीहरूसँग मुलुक निर्माणको ठोस कार्यनीति र योजना केही पनि छैन । कार्यनीति र योजना भएका पात्र अघि बढेको हेर्न र देख्न पनि चाहँदैन ।
दलको कथित दोस्रो पुस्ताका नेताहरू यही प्रवृत्तिमा मात्र आफ्नो भविष्य सुरक्षित देखिरहेका छन् । मुलुक, दल र लोकतन्त्र संस्थागत गर्ने संस्थाको क्षयीकरणप्रति कोही कसैको चासो र चिन्ता छैन । कार्यपालिकाको कार्यशैली, व्यवस्थापिकाको घट्दो वजन र न्यायपालिकामा भएको नांगो नाचप्रति कसैको दृष्टि पुगेको छैन । झन् चुनावपछि हुँदै गरेको सत्ता निर्माणमा विदेशीको चासो र घरदैलो अभियानले स्वाभिमान नेपालीको नूर गिर्नुपर्ने होइन र ?
हो, छिमेकीको चासो र चिन्ता स्वाभाविक हुन्छ, सहयोग पनि लिनुपर्छ तर मुलुक निर्माणको बहस र एजेन्डामा, सत्ता निर्माणमा होइन । सत्ता निर्माण प्रक्रियामा मुलुक निर्माणको एजेन्डा हुनेलाई पराजित गर्नुलाई मात्र विजय मान्ने राजनीतिले मुलुकको जित कहिल्यै पनि हुँदैन । आज त्यही भइरहेको छ । हामीसँगैका मुलुक कहाँ पुगे भन्ने चेत किन पलाउँदैन ? बेलायतमा जोन मेजरपछि कति प्रधानमन्त्री भए ? हामी जोन मेजरकालीन वृद्धलाई बोकेर युवा भन्दै सहर घुमाउँदैछौं ।
आज कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ । दलको नेता छान्न निर्वाचन गर्ने सौन्दर्य बाँकी रहे पनि आन्तरिक लोकतन्त्रको अवसान भएको भने धेरै भइसकेको छ । मुुलुक र दललाई समयसुहाउँदो गतिमा अघि बढाउनुपर्छ भन्ने अग्रगमनकारी शक्तिलाई कसरी पराजित गराउने भन्ने एकसूत्रीय योजनाबाहेक दलका ठेकेदारसँग कुनै एजेन्डा छैन । प्रधानमन्त्री पदमात्रै भए जुनसुकै सम्झौता मान्य हुने अवस्थाले कांग्रेसको भविष्य अन्धकार बनाइँदैछ । कथित दोस्रो पुस्ताले त्यो परिस्थितिलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाउँदैछ किनकि त्यो पुस्तासँग संघर्षको इतिहास छैन ।
यसै प्रसंगमा आज यहाँ एउटा शालीन, भद्र र राजनीतिक संस्कार बोकेको एउटा पात्रको बारेमा बहस चलाउन उचित सम्झेको छु । उक्त पात्र हो अर्जुननरसिंह केसी । केसी झन्डै ४६ वर्षअघि प्रजातन्त्र स्थापनाका उद्देश्यसहित राजनीति शास्त्रको प्राध्यापकबाट निष्काशित भएपछि राजनीतिमा होमिएका थिए । वि.सं २०३८ सालमा नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि सुरु भएको उनको राजनीतिक यात्रा अविचलित छ । आज उमेरले ७५ वर्षमा हिँड्दै गर्दा पनि राजनीतिक चेत र क्रियाशीलतामा कुनै कमी आएको छैन । केसी भर्खरै सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा भारी मतान्तरले विजयी भएका छन् ।
राजनीतिक विश्लेषणमा केसीको प्रसंग उठाउनुको कारण बेग्लै छ । उनी देउवा र पौडेलका समकक्षी राजनीतिज्ञ पनि मानिन्छन् । सत्ताको शिखरमा नपुगे पनि आधार शिविरमा उनको स्थान गर्व गर्न लायक छ । राजनीतिमा संस्कारको उच्च महत्व हुन्छ । आफूलाई कांग्रेसको नेता भन्नेहरू पार्टी सत्तामा होस् वा शासन सत्तामा हुँदा अधिकांशमा अब मलाई कोही पनि चाहिँदैन जस्तो व्यवहार गरेको देखिन्छ । अर्जुननरसिंहले कहिल्यै कसैलाई पनि त्यस्तो व्यवहार गरेनन् । जुनसुकै विचारधारा राख्ने मान्छेलाई पनि समान दृष्टिकोणले हेरे । मुलुकका सबैजसो विचारधारा अँगाल्ने बुद्धिजीवीसँग उनको राम्रो सम्बन्ध छ । सबैलाई समान दृष्टिकोण हेर्ने उनको गर्व गर्न लायक बानी हो ।
हिमाल, पहाड होस् वा तराई सबैप्रतिको उनको समान सम्मानभाव छ । त्यसैले त पार्टीका हरेकजसो निर्वाचनमा उनलाई कार्यकर्ताले उचित स्थान पनि दिँदै आए । अर्जुननरसिंहका पनि विरोधी भन्दा समर्थक बढी भएको यही व्यवहारकै कारण हुनुपर्छ । राजनीतिमा सफलोन्मुख आजको युवापुस्ताले अर्जुननरसिंहबाट धेरै कुरा सिकेको छ ।
निर्वाचन जितेर आएपछि केसीले नयाँ परम्पराको विकास गरेका छन् । उनले निर्वाचनमा जितेका हरेक पार्टीका शीर्षनेतासँग भेटवार्ता गरे । शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर,उपेन्द्र यादव, चित्रबहादुर केसीसँग केसीको भेटवार्ता भएको छ ।
धेरैले अनुमान लगाए अर्जुननरसिंह सभामुख वा मन्त्री पद पक्का बनाउनका लागि नेताहरू रिझाउन घरघरमा पुगेका हुन् । केसीले भने हराउँदै गएको राजनीतिक संस्कार जगाउन यो अभ्यासको थालनी गरेको बताउँदै आएका छन् । मुलुकको अवस्था दयनीय हुँदै गएको छ । आर्थिक अवस्था निकै कमजोर छ । नेपालजस्तो कमजोर कूटनीति सायदै कुनै मुलुकको होला । राजनीतिक दल र नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन । आवरणमा देखिने लोकतन्त्रले ‘सामाजिक लोकतन्त्र’ को मर्यादा कायम राख्न सक्दैन । पद प्राप्ति मात्र सबैथोक होइन । भन्ने मूल मन्त्रसहित आफूले नेतृत्वलाई यही भावनाअनुसार अघि बढ्न सुझाएको केसीको भनाइ छ ।
केसीले मुलुकलाई शीरमा राखेर आम नागरिकमा सामाजिक लोकतन्त्रको अनुभूति दिलाउन एउटा सांसदले खेल्नुपर्ने भूमिका आफूले खेल्ने बताउँदै आएका छन् । भावी पुस्तालाई सग्लो मुलुक र कांग्रेस पार्टीले बोकेको सिद्धान्त र विचारधारा अर्को पुस्तालाई सुरक्षित बुझाउन एउटा विधायकले संसद्मा खेल्नुपर्ने भूमिकामा आफू केन्द्रित रहने बताउँदै आएका छन् ।
हो, केसीको चाहनाअनुसार सबैले आआफ्नो भूमिका निर्वाह गर्ने हो भने कांग्रेसको गिर्दो पहिचान सुरक्षित गराउन सकिनेछ । पदका लागि जुनसुकै हतकण्डा प्रयोग गर्ने शैली छाड्नुपर्छ । पुरानो पुस्ता अभिभावक भएर नयाँ पुस्तालाई पार्टी र सत्ताको साँचो बुझाउनुपर्छ साँच्चिकै पार्टी र मुलुकको भविष्य सुरक्षित देख्ने हो भने ।
कांग्रेस संसदीय दलको नेता चुन्नुअघि हरेक सांसदले मनन गरुन्, मैले राजनीति गरेको कसैलाई सत्तामा पुर्याउन अंकगणितको सहारा बन्न मात्र हो कि मेरो विवेकको मतले मुलुक र नागरिकको भविष्य पनि सुरक्षित बनाउन सकोस् भन्ने हो ? भन्ने प्रश्न आफैंसँग सोध्नुपर्छ । मेरो विवेकको मतले मुलुकलाई समृद्ध र नागरिकलाई समुन्नत बनाउन सघाउँछ भने किन अग्रगमनको पक्षमा नलाग्ने भन्ने चेत पलाउन जरुरी छ । कुनै व्यक्तिको चाहना पूरा गर्नु ठूलो कि मुलुकको भविष्य सोच्ने विषय ठूलो ? आज कांग्रेस सांसदको हैसियत मापन गर्ने दिने पनि हुनेछ । यथास्थितिमा चल्दैन, चल्नु पनि हुँदैन । मतदानका बेला विकल्प दिइएन भने त्यो पार्टी र मुलुककै लागि दुर्भाग्य मात्र हुने छैन भोलि ठूलो मूल्य चुकाउनुपर्ने छ ।
कांग्रेसभित्रको विचार र जनमत बढी भएको प्रतिपक्षी समूहले गगन थापालाई संसदीय दलको नेतामा उठाउने संकल्पले कांग्रेस र यसका समर्थकमा नयाँ आशाको सञ्चार गराएको छ । कांग्रेसका नवनिर्वाचित सांसदहरूले मुलुक र नागरिकको भविष्य बदल्ने कार्यक्रमसहित मैदानमा उत्रिएका गगनलाई मत दिएर नयाँ इतिहास निर्माण गर्ने छन् । विश्वप्रकाश शर्मा, धनराज गुरुङ र प्रदीप पौडेल एक ठाउँमा उभिएर हामी एकसाथ मिलेर अघि बढ्ने जुन संकल्प गरेका छन् यसले धेरै सांसदलाई सोच्न बाध्य बनाउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया