विचार

राणा भएर पनि राजपाठ त्याग्ने हजुरससुराका पञ्चायत जति लामा हजुरज्वाइँ

विमल आचार्य |
पुस ६, २०७९ बुधबार १९:५६ बजे

समाचारका ताजा शीर्षक छन्— देउवाको जित, गगनको हार । 

तर, मलाई भने किन किन यी शीर्षक ‘बेठीक’ लागिरहेछ । मेरो मन मैलाई सोध्छ— यो देउवाको जितै हो त ?  


‘माइतीघर’मा जयदेवको संगीत, मन्ना डेको स्वर र किरण खरेलको शब्द भन्छ— जिन्दगीलाई जित हैन, हारले स्वागत गरी... । 
गगन–गुटले जिन्दगीलाई हारले स्वागत गरेको छ । गगन टिमले प्रहार गरेको पेनाल्टी गोलपाेस्टको फ्रेममै परेन । यसले रूपमा त हार नै दिएको छ । तर, सारमा भने हार मात्र दिएको छैन । यसले जित पनि दिएको छ । के–के जित दिएको छ त ? 

लोकतन्त्रलाई जित दिएको छ । ‘निर्विरोध’ पद (पदको अर्थ शब्द पनि हो) लाई जित्दिएको छ । आन्तरिक लोकतन्त्रले आँ गरेर मुख बाउन पाएको छ । बहुलता र फरक मतको व्यावहारिक पाठ प्रस्तुत भएको छ । ‘उहाँको विकल्प छैन’ भन्ने नेता-दलहरूलाई खेलमा 'सब्सिच्युट' पनि हुन्छन् है भन्ने देखाएको छ । मैदानमा खेल्ने खेलाडी मात्र भएको टिम बलियो मानिन्न । टिम बलियो हुन बक्समा पनि  उत्तिकै भरपर्दा खेलाडी चाहिन्छ । कमसेकम हार्दा हार्दै पनि गगन बक्समा छन् है भन्ने कुराले पनि फ्यानहरुलाई सन्ताेक दिएको हुनुपर्छ । अन्य दलका गगनवयी ‘दास’ युवा खेलाडीहरूलाई ‘म कतै मरिसकेको पो छु कि’ भनेर चिमटेर चेक गर्न अह्राएको पनि होला । 

अनि मुख्य कुरा त पाँच पटक प्रधानमन्त्री, सात पटक सांसद र अनि तीसौँ वर्षदेखि दल–सत्ताको दाइँमा रिंगिरहेका गुरुले २५ जना नै सही, पार्टीभित्रै प्रतिपक्षी पाएका छन् । यसले देउवालाई पनि नाफा भएको छ । उनी आफ्ना समकक्षी ओली–दाहाल–नेपाल अर्थात् ओदाने (कम्युनिस्ट शिविरमा ‘ओदाने’ले रुदाने याने रुपचन्द्र विष्टको भन्दा ठीक फरक हामपन्थी प्रतीकको काम गर्छ) भन्दा पार्टीभित्र धेरै शक्तिशाली बनेका छन् । किनकि कमजोर नेताले तीसौँ वर्ष चुनावै गर्दैन, विरोधीलाई पार्टीबाटै निकाल्दिन्छ, आलोचकलाई टिकटै दिँदैन । देउवा जस्तो बलियो नेताले चाहिँ चुनाव फेस गर्छ । त्यसैले देउवाको आत्मविश्वास समकक्षीत्रय ‘ओदाने’हरूभन्दा सबल छ ।

देउवालाई डडेल्धुरामा ‘सागर’मा डुबाउन खोजियो, काठमाडौँमा ‘गगन’मा उडाउन खोजियो तर देउवा न डुबे, न उडे । त्यसैले देउवा महान् हुन् । देउवा शक्तिशाली हुन् । देउवा सतिसाल हुन् । हनुमानहरूले घेरिनुपर्ने ‘श्रीरामचन्द्र’लाई उल्टै हनुमान बनाउन सक्ने देउवा खत्रै खेलाडी हुन् । मेसीभन्दा खत्रा !

देउवा महाधिवेशन जित्ने, आमनिर्वाचन जितिरहने, संसदीय दलको नेता जित्ने तर आलोचकहरूको मन कहिल्यै नजित्‍ने ? बिचरा ​देउवाका दु:ख । 

आफ्ना समकक्षी ओदानेहरूबाट सिकेर देउवाले आफ्ना आलोचकहरूलाई सामूहिक रुपमा बढार्ने–थेचार्ने महान् काम कहिले गर्छन्, म यसको तीव्र प्रतीक्षामा छु । चितवनको ‘जाली पाठ’ सिकेर गोप्य मतदानमा फोटोको प्रभाव ग्रहण गरेकामा बधाइ छ, शेरबहादुरज्यू । ओदानेहरूबाट थप शिक्षा ग्रहण गर्दै जानुहोला, शुभकामना छ । 

मतदाता नागरिकदेखि मतदाता सांसदहरूसम्मको स्वविवेकलाई अपमान गरेको अभियोगमा देउवाले आफ्ना आलोचकहरूविरुद्ध किन अहिलेसम्म मुद्दा नचलाएका होलान् ? के यी विषयमा ओदानेहरूले तपाईंलाई मिटिङमा केही सिकाउँदैनन् ?

मार्कसिट हेर्दा देउवा गणित विषयमा पास भएको देखिन्छ । तर, उनको सर्टिफिकेटमा भने चार तारा छन् । देउवा चार तारे नेता अवश्यै हुन् । नैतिक र राजनीतिशास्त्र, शिक्षा र सामाजिक शास्त्र विषयमा उनले ताराहरू बोकेका छन् । तारा आज मात्र बोकेका होइनन् । तीन दशकदेखिका उनका काम–कुराको योगफल हुन्छ— उनी तारैतारायुक्त असफल प्रधानमन्त्री हुन् । 

कुलपति देउवाले शैक्षिक प्रमाणपत्र दिँदा हामीलाई दुइटा कागज दिनुहुन्छ— ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट । 

कुलपति स्वयंको ट्रान्सक्रिप्टमा चार तारा भए पनि प्राविधिक पास नै मानिएको छ तर सेवाग्राही आम नागरिकले उनलाई क्यारेक्टर सर्टिफिकेट दिँदा हुन् त त्यहाँ स्पष्ट लेखिँदो हो,  'कुलपति मिस्टर देउवाको चरित्र सन्तोषजनक छैन ।'

के सांसदहरूको निर्णय-इच्छा-बाध्यता-लोभ-मत-आस-त्रासले जनताको प्रतिनिधित्व गर्छ ? सांसदहरू भन्नुहोला, ‘कसैको प्रलोभनमा नपरी स्वनिर्णय गरेका हौँ ।’ हो, स्व–निर्णय कसरी हुन्छ त जन–निर्णय ? तपाईंहरू स्वप्रतिनिधि कि जनप्रतिनिधि ?

उसो त ज्ञानेन्द्रजस्ता अधम राजाबाट अक्षम (अक्षमलाई असक्षम भन्ने राजा स्वयं अक्षम) उपाधि थाप्ने मनुवा असल हो कि भनेर सोच्नु नै हाम्रो कारुणिक आशावाद हो । ज्ञानेन्द्रतन्त्रमा समेत अयोग्य पात्र लोकतन्त्र–गणतन्त्रमा अझै दृश्यवान् हुनु नेपालको अभिशाप नै हो ।

देउवातन्त्रले देश र देशवासीलाई केही नदिने पनि होइन । धेरै दिन्छ । देउवाशासनमा नेपालमा सधैँ तीनवटा सगरमाथा हुन्छन् । एउटा त उही चोमोलोङ्मा भइहाल्यो । अरु दुई सगरमाथा चाहिँ अस्थिरता र आर्थिक अनियमितताका सगरमाथा । देउवाका पारिवारिक–पराजित-टीके भारदारहरूले गर्ने नीतिगत–बजेट–कार्यक्रम भ्रष्टाचारको पैसा एक ठाउँ थुपार्ने हो भने सगरमाथालाई नै माथ गर्ने गरी चुचुरो चुलिन्छ ।

पदलोपुपतामा देउवालाई श्रीरामचन्द्रले पनि माथ गर्न सकेका छैनन् । सुशीला कार्कीलाई महाभियोगदेखि चोलेन्द्रलाई मन्त्री भाग दिने देउवा प्रश्नबाट सधैँ भाग्दिने गर्छन् । तर, उनले नचाहे पनि उनको चाना (निधार)मा प्रचण्डको हँसियाभन्दा ठूलो याँमान्को प्रश्नचिह्न सधैँ नै छ । 

हुनलाई देउवा लोकतान्त्रिक भनिने दलका नेता हुन् तर चिनिजान्नेहरू भन्छन्— पद पाउँछस् भनेपछि देउवा तेस्रो नेत्र मात्र खोल्दैनन्, कट्टु नै खोलेर सहर्ष सहर परिक्रमा गरिदिन सक्छन् ।

देउवाको कोटमा लोकतन्त्र होला तर कोटभित्र मुटुमा ‘राणातन्त्र’ छ । देउवा स्त्रीलम्पट श्री ३ महाराज जुद्धशमशेरका पैसालम्पट भारदारबीच च्यापिएका पदलम्पट नेता हुन् । देउवाको नसा–नसामा पैसा मात्र बग्छ । र, देउवालाई पदको नशाले हर्दम बेहोसै बनाएको छ । देउवा बेहोसपछि होसमा आउँदा देशलाई क्या दामी हुने थियो !

देउवाका हजुरससुरा राणा नै भए पनि बरु राजपाठ त्यागेर हिँडेका थिए । तर, हजुरज्वाइँको शासनले हजुरससुराको शासनलाई नै माथ गरेको छ । परिवारका सदस्यले नै मार्छन् भन्ने डरले भागेका थिए, जुद्ध । तर, देउवा ?

सुसुरा राणाभन्दा जब्बर तपाईं कसरी लोकतान्त्रिक दलको नेता ? पार्टीको साइनबोर्ड बदलेर नेपाली कांग्रेस (राणावादी) राखे कसो होला ? 

दोष देउवाको मात्र होइन । सबैभन्दा बढी त देउवाकै हो । देउवाका नाममा नायवी शासन चलाउनेहरूको स्वार्थ देउवाले कहिले बुझ्छन् ? लोकतन्त्रमा ‘आस्थावान्’ दलले मतदानको गोप्यतामाथि हमला गर्न मिल्छ ? पाँचपटक प्रधानमन्त्रीको अवसर पाएर पनि देउवाले के गर्न सकेनन् र अब के गर्न प्रधानमन्त्री हुँदैछन् ? नागरिकको करलाई हड्डी सम्झेर चुस्‍ने टिममा बसेर देउवाले नागरिककै टिमलाई हराउन बल खेलिरहेका छन्, यो म्याच कस्तो म्याच हो ? 

उठेको सारा करबाट तलब–भत्ता खुवाउनै नसक्ने गरी देश भ्वाङ परेको छ । भ्वाङमा पनि कतै केही टाँसिएको छ कि भनेर उनी र्‍याल चुहाइरहेछन् । उनलाई कसले सम्झाइदिने, यसरी र्‍याल ​चुहाएको स्याललाई सुहाउँछ, शेरलाई हैन । सुहाएको त छँदै छैन । अझ तपाईं त शेर मात्र हो र, बहादुर शेर हो नि ।  

जनप्रतिनिधि भएर आएका सांसदले देउवालाई जिताए । यो उनीहरूको निर्णय भयो । तर, सांसदलाई जनप्रतिनिधि भन्न मिल्छ ? के सांसदहरूको निर्णय-इच्छा-बाध्यता-लोभ-मत-आस-त्रासले जनताको प्रतिनिधित्व गर्छ ? गरिरहेको छ ? सांसदहरू भन्नुहोला, ‘कसैको प्रलोभनमा नपरी हामीले स्वनिर्णय गरेका हौँ ।’ हो, स्व–निर्णय कसरी हुन्छ त जन–निर्णय ? तपाईंहरू स्वप्रतिनिधि कि जनप्रतिनिधि ? 

आधा लोकतन्त्रको यो अवधारणामा अब छलफल हुनैपर्छ । छलफल संसद्‌मा हुनुपर्छ ।

शासनको सर्वाेच्च आसनमा अब प्रविधि छ । प्रविधिको प्रयोगमार्फत प्रत्यक्ष लोकतन्त्रको अभ्यास हुनुपर्छ । प्रत्यक्ष लोकतन्त्र पहिला पहिला ‘असम्भव’ र खर्चिलो थियो होला तर २१औँ शदीको यो २२औँ सालमा यस्तो निर्वाचनशैली नर्फेने दलले देशको मुहार कसरी फेर्छन् ? युवाबहुल देशमा युवेच्छाको शून्य प्रतिनिधित्व हुन्छ भने त्यो लोकतन्त्र कसरी सहभागितामूलक, कसरी प्रतिनिधिमूलक, कसरी उन्नत ? व्यक्तिको चालक यौनेच्छा भएजस्तै देशको चालक युवेच्छा हुनैपर्छ । 

देउवा बेहोसपछि होसमा आउँदा देशलाई क्या दामी हुने थियो !  

आफूले तिरेको कर हसुरेर आफूमाथि शासन गर्ने मान्छे आफूले छान्न पाइँदैन भने त्यो लोकतन्त्र भयो त ? स्थानीय सरकारका ‘प्रधानमन्त्री’ आफैँ छान्न पाएजस्तै संघीय सरकारको प्रधानमन्त्री आफैँ छान्न पाउनुपर्छ । पाउनैपर्छ ।   

‘आफ्नाद्वारा आफूले आफ्नैका लागि गर्ने शासन’ लोकतन्त्र होइन, देउवातन्त्र-‌ ओदानेतन्त्र नै हो । लोकतन्त्रको अर्थ र परिभाषामा त देउवाकै भाषणशैलीमा तीनपटक ‘जनता, जनता, जनता’ चाहिन्छ । तर, हाम्रा सरकारहरूका काम–कुरा–निर्णयमा जनता कहाँ छन् ? जनताको हित कहाँ छ ? जनताको चासो, सरोकार र गुनासो कहाँ छ, जनता जान्न चाहन्छ ।  

समानुपातिक निर्वाचन प्रणालीको चरम दुरुपयोग गर्ने दलमा कांग्रेसको नाम रोल नम्बर एकमा स्वर्ण अक्षरले अंकित छ । बधाइ छ ।

बधाइ बिचरा आरजु र मन्जुलाई भन्दा बढी दाजुहरूलाई । सबैभन्दा पिछडिएको महिला आरजु, सबैभन्दा पिछडिएको मधेसी विमलेन्द्र, सबैभन्दा पिछडिएको खस आर्य पूर्व बहुमन्त्री डा. प्रकाशशरण महत । वाह क्या गजप !

यसले समानुपातिक/आरक्षणको बहसलाई भने गजपको टेवा पुगेको छ । किनभने अब यी दीनदुःखी महाराज–महारानीहरूबाट पहिला जस्तो ‘समानुपातिक/आरक्षण/सकारात्मक विभेदले मेरिट सिस्टम ध्वस्त भयो’ भन्ने ल्याङल्याङ अब सुन्नुपर्ने छैन । प्रगतिशील रूपान्तरणको एलिटीकरण हुँदा झुक्केरै सही केही राम्रो चाहिँ हुने रहेछ । समावेशिताका प्रवक्ता अब राणाद्वय पशुपतिशमशेर राणा र आरजु राणा हुनेछन् । एकनाथ ढकाल र प्रकाशशरण महत हुनेछन् । साँच्चैका सर्वहाराहरूको मनमा रहेको ‘समावेशितामा प्रतिगमन हुने हो कि’ भन्ने त्रास अब खलास भएको छ । आफूले अवसर नपाए पनि मेरो देशमा समावेशिताको नीति छ भनेर गरिब जो मख्ख पर्ने भो अब । बधाइ देउवा । बधाइ ओदानेहरू । 

मलाई लाग्छ, समानुपातिक शब्दको यस्तो व्यावहारिक अर्थ र परिभाषा कांग्रेसले जे प्रतिपादन गरेको छ, त्यो राजनीतिशास्त्रको कोर्समा पढाइनुपर्छ । अक्सफोर्डको गफ गर्ने सागर ढकाललाई देउवाले आफ्नो यो मौलिक ‘सिद्धान्त’ अक्सफोर्डमा पढाएर सागरलाई देखाइदिनुपर्छ ।

(लेखको विषय कांग्रेस भएकाले यसमा ‘कम्युनिस्ट’ दलसमेत सोझै बुझिनेछ । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र फरक मत निषेध गर्ने हिसाबले मात्र यी दल कम्युनिस्ट हुन् । यो एउटा कारणबाहेक कम्युनिस्ट नभन्दा हुने ९९ कारण भएकाले कम्युनिस्ट शब्दलाई माथि ‘’ ले घेरेर 'कम्युनिस्ट’ लेखिएको हो ।) 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x