विचार

सम्बन्धको पञ्‍च तत्व ‘हर्ट’

नारायणराज अधिकारी |
बैशाख १५, २०७८ बुधबार १७:१२ बजे

आजको मानव जीवनको पारिवारिक तथा व्यावसायिक सम्बन्धमा सामीप्यभन्दा बढी खटपटका समाचार सामाजिक सञ्‍जालमा भाइरल भइरहेको देख्‍न सकिन्छ । आफ्नो परिवार, ईष्टमित्र, साथीभाइ तथा छरछिमेकमा जुन किसिमको हार्दिक सम्बन्ध हुनुपर्ने हो, त्यो कायम हुन नसकेर विभिन्‍न किसिमका सामाजिक अपराधका घटना/दुर्घटना बढ्दै गइरहेको तथ्यांकले अखबारका पाना भरिएका पाइन्छन् । जुनसुकै सम्बन्ध चाहे त्यो नितान्त घरेलु/पारिवारिक होस् या व्यावसायिक संघ-संगठनमा आबद्ध सहकर्मीहरूबीच होस् अथवा देशको राष्ट्रिय राजनीतिमा संलग्‍न राजनीतिज्ञहरूको सम्बन्धलाई नियालेर हेर्ने हो भने त्यसमा सामीप्यभन्दा बढी तिक्तता बढ्दै गइरहेका उदाहरण छ्यापछ्याप्ती देख्‍न पाइन्छ । 

मानव जीवन स्वार्थले यति अन्धो भएको छ कि आफ्नो सीमित स्वार्थसँग मेल खाने व्यक्ति विशेषबाहेक अन्य सबैलाई शत्रुभावको नजरले हेर्न पछि परेको छैन । एक अर्काबीचको सम्बन्ध सुमधुर बनाउनुको साटो टुटाउनका लागि उद्यत बन्दै गइरहेको देखिन्छ । जता हेर्‍यो त्यतै सम्बन्धहरूमा बेचैनी र अशान्ति व्याप्त हुँदै गइरहेको देख्‍न सकिन्छ । एकले अर्कोलाई दोषारोपण गर्दे जुनसुकै किसिमको सम्बन्धविच्छेद गर्ने परम्परा बस्न थालेको देखिन्छ । सम्बन्धमा संवेदना हराउन थालेको हो कि भन्‍ने आभास पाइन्छ । 


कुनै पनि सम्बन्ध चाहे व्यक्तिगत होस् या व्यावसायिक, त्यो आफैँमा एक संवेदनशील विषय हो । जुनसुकै किसिमको सम्बन्धमा आबद्ध व्यक्ति विशेषले पनि सम्बन्धप्रति बफादार हुनुका साथै केही महत्वपूर्ण सर्त पालना गरेको खण्डमा मात्र बलियो रूपमा टिकाउ हुने विश्‍वास गरिन्छ । यस्ता सर्त सम्बन्धको किसिमअनुसार आ-आफ्नै प्रकृतिको हुन सक्छ । ठ्याक्कै यही हुनुपर्छ भन्‍ने त्यस्तो कुनै सर्वमान्य सिद्धान्त फेला परेको देखिँदैन । तर जीवन भोगाइका क्रममा हाम्रा पूर्वजहरूले एवं महान् दार्शनिकहरूले व्यक्त गरेका केही अनमोल वाणीहरूलाई मनन गर्दा केही आवश्यक सर्तलाई भने पालना गर्नुपर्ने देखिन्छ । 

एकले अर्कोलाई दोषारोपण गर्दै जुनसुकै किसिमको सम्बन्धविच्छेद गर्ने परम्परा बस्न थालेको देखिन्छ । 

जसरी सनातन धर्मअनुसार मानव शरीर पञ्‍चतत्वले निर्माण भएको विश्वास गरिन्छ, त्यसैगरी सुमधुर सम्बन्धका लागि आवश्यक केही सर्तहरूलाई पनि मानव शरीरकै महत्वपूर्ण अंग मुटुको अंग्रेजी शब्द हर्टबाट खोजी गर्ने प्रयास गरिएको छ । मानव शरीरमा भएका विभिन्‍न अंगहरूको आ-आफ्नै विशेषता र महत्व रहेको हुन्छ तर मुटु जसलाई अंग्रेजीमा हर्ट भनिन्छ- लाई अत्यन्त महत्वपूर्ण अंगको रूपमा लिइन्छ किनकि यसैले शरीरमा रक्तसञ्‍चार प्रवाह गर्ने गर्छ । जतिवेला मानव शरीरमा मुटुले काम गर्न छोड्छ तत्काल रक्तसञ्‍चार प्रवाह बन्द हुन गई मानव शरीरको समेत इहलीला समाप्त हुन्छ ।

मुटु जसलाई अंग्रेजीमा हर्ट भनिन्छ, जसमा पाँच अक्षर समावेश भएर एचईएआरटी बनेको हुन्छ । यिनै पाँच अक्षरबाट बन्‍ने शब्दलाई नै मानव जीवनमा स्थापित हुने विभिन्‍न सम्बन्धहरूलाई आवश्यक पर्ने महत्वपूर्ण सर्तहरूको पञ्‍चतत्वका रूपमा विश्लेषण गर्न खोजिएको छ । हर्टमा भएको पहिलो अक्षर एचबाट हाई लेबल अफ अन्डरस्ट्यान्डिङ अर्थात् कुनै पनि सम्बन्ध चाहे त्यो व्यक्तिगत होस् या व्यावसायिक होस् त्यसमा एकअर्काको बीचमा उच्च तहको समझदारी हुनु अत्यन्त जरुरी हुन्छ । 

एकअर्काले गरेका क्रियाकलापप्रति दुवै पक्ष समझदार हुन सकेमात्र सम्बन्ध सुमधुर बन्‍न सक्छ भन्ने विषयलाई महत्वपूर्ण तत्वका रूपमा स्वीकार गरिएको छ । दोस्रो अक्षर ईबाट इम्प्याथी अर्थात् सहानुभूति । कुनै पनि सम्बन्धमा एक अर्काका बीच गहिरो सहानुभूति हुनुपर्छ । भएन भने एकले अर्कोलाई राम्रोसँग बुझ्‍न सक्दैन र सम्बन्ध पनि सुमधुर हुन सक्दैन भन्ने एक अर्को महत्वपूर्ण तत्वलाई समावेश गरिएको छ ।

जता हेर्‍यो त्यतै सम्बन्धहरूमा बेचैनी र अशान्ति व्याप्त हुँदै गइरहेको देख्‍न सकिन्छ । एकले अर्कोलाई दोषारोपण गर्दे जुनसुकै किसिमको सम्बन्धविच्छेद गर्ने परम्परा बस्‍न थालेको देखिन्छ ।

तेस्रो अक्षर एबाट एप्रिसियसन अर्थात् प्रशंसा । मानव जाति स्वभावैले हरेक पल आफ्नो तारिफ सुन्‍न चाहन्छ यसर्थ एकअर्काले गरेका क्रियाकलापप्रति दुवै पक्षले प्रशंसा गर्नु अत्यन्त जरुरी हुने गर्छ । एक अर्कालाई प्रशंसा गर्ने बानी बसाल्नुपर्ने विषयमा पनि महत्वपूर्ण तत्वको रूपमा समावेश गरिएको छ ।

चौथो अक्षर आरबाट रेडी टु लिसन अर्थात् सधैँभरि आफूमात्र प्यारप्यार बोलिरहने मात्र होइन, अर्कोको पनि कुरा सुन्न तयार हुनुपर्छ भन्ने अर्को एक महत्वपूर्ण तत्वलाई समावेश गरिएको छ । अन्त्यमा, पाँचौँ अक्षर टिबाट टेकिङ कियर अर्थात् एकअर्काप्रतिको हेरचाह । सुखको मात्र होइन, सम्बन्ध दुःखको पनि हो भन्‍ने सोचेर एकअर्काको हेरचाह गर्नुपर्छ भन्ने अत्यन्त महत्वपूर्ण तत्वलाई पञ्चतत्वका रूपमा समावेश गरिएको छ ।

आजको मानव समाजलाई नजिकबाट नियालेर हेर्ने हो यहाँका हरेक व्यक्ति विशेषका अनेकनथरी समस्या देख्‍न पाइन्छ । ती अनेकन् समस्याको जड के हो त भनेर मनन गर्ने हो भने आफूले गरेका प्रत्येक क्रियाकलाप सबै ठीक अरूले गरेका जतिसुकै राम्रा क्रियाकलाप पनि सबै बेठीक भन्ने प्रवृत्ति नै रहेको निष्कर्ष निकाल्न सकिन्छ । आजको मानिस अरुले आफ्नो कुरा बुझिदियोस् भन्ने चाहन्छ तर अरुको कुरा आफूले कहिल्यै बुझ्‍ने कोसिस गर्दैन । यसैबाट असमझदारी उत्पन्‍न हुन्छ र सम्बन्धमा तिक्तता उत्पन्न हुन थाल्छ । आफूलाई परेको पिरमर्का अरुले बुझिदियोस् भन्‍ने चाहन्छ तर अरुलाई परेको पिरमर्कामा नुनचुक छर्न बाँकी राख्दैन । 

सम्बन्धमा संवेदनशील बन्ने कोसिस गर्दैन अनि दरारको दोषारोपण अर्कोलाई थोपर्ने गर्छ । आफ्नो हरेक क्रियाकलापमा अरुले तारिफ गरिदिऊन् भन्ने चाहन्छ तर अरु कसैको प्रशंसा गर्ने त के सुन्न पनि तयार हुँदैन अनि सम्बन्धमा फाटो यसै कारणले आएको हुनसक्छ भन्‍ने कहिल्यै महसुस पनि गर्न सक्दैन । आफ्ना कुरा अरुलाई सुनाएर दंग पर्छ तर अरुका कुरा रत्तिभर पनि सुन्‍न चाहँदैन । आफूलाई सबैले माया गरून् भन्ने चाहन्छ तर अरुको पनि हेरचाह गर्नुपर्छ भन्ने कर्तव्यबाट पन्छिने गर्छ । 

यी सब प्रवृत्ति मानव जीवनका अनिवार्य आनीबानी हुन्, यस्ता प्रवृत्तिमा नियन्त्रण गर्नेहरूको सम्बन्ध सुमधुर हुने गरेको पाइन्छ भने नगर्नेहरूको सम्बन्धमा तुषारापात आएको देख्‍न पाइन्छ । जीवन काँडा कि फूल भन्ने विषय जति गहिरो छ, सम्बन्धलाई सुमधुर बनाउने पञ्‍चतत्वको विषय पनि त्यति नै गहिरो छ । कतिसम्म गहिराइमा पुगेर आफ्नो सम्बन्ध टिकाउने भन्ने विषय कुनै पनि व्यक्ति विशेषको नितान्त व्यक्तिगत स्वविवेकीय अधिकारमा निर्भर हुने गर्छ ।

हेड क्रेडिट रिस्क, कर्पोरेट/कन्सोर्टियम/एस.एम.ई युनिट, सिटिजन्स बैंक इन्टरनेसनल लि., हेड अफिस, नारायणहिटी पथ । 

[email protected]


Author

थप समाचार
x